सङ्गीत अन्वेषणमा गहकिलो पाइला

भगवान् शिवको डमरुवादन र सामवेदबाट सुरु भएको मनिने सङ्गीत आज पूर्णत डिजिटल युगमा आइपुगेको छ । आज हुँदाहुँदा सीडी र अडियो क्यासेट पनि विस्मृत भइसकेको छ । आज गीत सङ्गीत हेर्ने वस्तुका रूपमा विकसित भएको छ । यसका आफ्ना सहजता होलान् तर मूलभूत रूपमा सङ्गीतको मर्मचाहिँ आज विलुप्त भएको स्थिति छ । कानले सुनेर मुटुले स्पर्श गर्ने सङ्गीत आज हेर्ने वस्तु हुँदा नै यसको अन्तर्यको मर्ममा घात हुन थालेको हो । 

साहित्यका क्षेत्रमा बग्रेल्ती पुस्तकहरूको लहर दैनिक छाइरहेको आजको अवस्थामा गीतसङ्गीत विषयक ग्रथहरूको भने निकै खडेरी रहेको छ । आजसम्मकै यो क्षेत्रको अवस्था हेर्दा १०० भन्दा मुनि नै यस्ता ग्रन्थहरू सार्वजनिक हुन सकेका छन् । यस्तो अनिकालको अवस्थामा नीलकमलले सुरसङ्गीतका केही साधकका नाममा चौबिस जना गायक, गीतकार तथा सङ्गीतकारका विषयमा तयार पारेको पुस्तक पाठकका सामु आइपुगेको छ । नेपाली गीत रेकर्डिङका क्षेत्रका सर्वप्रथम स्रष्टा आदिगायक सेतुरामदेखि मणिकमल क्षेत्रीसम्मका चौबिस स्रष्टाहरूको संक्षिप्त जीवनवृत्त रहेको यो कृतिमा लेखकले भूमिकामा नै उल्लेख गरेका छन् केही ओझेलमा परेका सुरकर्मीहरूलाई आजको पुस्तासित एकाकार गराउने यसको उद्देश्य हो भनेर । यस हिसाबले पनि नारायण गोपाल, प्रेमध्वज प्रधान, तारादेवी, शान्ति ठटाल, नातिकाजी आदि प्रवृत्तिका गायकहरू नरहेकोमा सोचे जति गुनासो मान्नु नपर्ला । बरु आम सङ्गीतका भावकहरूले बिर्सिसकेका नामहरू जर्जी व्याङ्क्स, जितेन्द्र बर्देवा, प्रमोद हमाल, दिलमाया खाती तथा रानुदेवी अधिकारी आदिको चर्चा गरेर लेखकले सार्थक कार्य गरेका मान्न सकिन्छ । सङ्गीतको क्षेत्रमा भएका आन्दोलन तथा अभियानहरू राल्फाली आन्दोलन, लेकाली समूह, देवकोटा सङ्गीत, प्रगतिवादी साङ्गीतिक आन्दोलन आदिको यथेष्ट चर्चा उनले आफ्नो भूमिका खण्डमा गरेका छन् । यस मानेमा सङ्गीतको पारख गर्नेहरूलाई केही सूचना पनि यो कृतिले दिन सकेको मान्न सकिन्छ ।

कृतिमा नेपालबाहिर दार्जीलिङका स्रष्टाहरू मूलभूत रूपमा बढी देखिएका छन् । हुन पनि हो अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, दिलमाया खाती तथा शान्ति ठटालहरू बिनाको नेपाली सुगम सङ्गीतको कल्पना पनि कसरी गर्ने ? एउटा कुरा यो हो भने अर्काे कुरा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा भूगोल र राजनीतिको सीमारेखाले कहिल्यै पनि छुँदैन । लैनसिंह वाङ्देलको मुलुक बाहिर, लीलबहादुर क्षेत्रीको बसाइँ तथा इन्द्रबहादुर राईको आज रमिता छ को चर्चा पनि नगरी  नेपाली उपन्यासको चिरफार गर्न सकिएला र ? यो कृतिको भाषा अत्यन्त सुन्दर रहेको छ अझ भनौँ शीर्षकले नै धेरै कुरा बोलेको छ । यस मानेमा लेखकलाई निकै तारिफ गर्नुपर्ने हुन्छ । आत्मपरक निबन्धका शैलीमा लेखिएका निबन्ध भन्न सकिने यी आलेखहरू यो क्षेत्रका अध्येताहरूका लागि निकै उपयोगी हुनेछन् भन्न सहजै सकिन्छ ।   

कृतिको सन्दर्भ दिने प्रक्रिया र शोधको नियममा केही कमीकमजोरीहरू देखिए पनि कृतिले मरुभूमि जस्तो रहेको यो क्षेत्रमा आशाको सिञ्चन भने गरेको छ । आज गुमनाम जीवन बिताइरहेका बच्चुकैलाश जस्ता सुगम सङ्गीतका प्रतिनिधि स्रष्टाको उत्खनन् यहाँ हुनु नै पनि एउटा सार्थक उपलब्धि हो । यहाँ सैद्धान्तिक विवेचना पटक्कै छैन तर केही गीतकार, सङ्गीतकार र गायकहरूको जीवनवृत्त छ, उनीहरूले भागेका जीवनका अथाह पाटाहरूको फेहरिस्त छ जसले गर्दा यी विधाका प्रेमीहरूलाई यो कृतिले केही खुराक भने अवश्य प्रदान गर्नेछ । केही अमर भइसकेका र केही आज पनि सङ्गीतमा सक्रिय रहेका स्रष्टाहरूको यहाँ अभिलेखीकरण भएको छ । अत्यन्त आकर्षक आवरण, सुन्दर छपाई र सान्दर्भिक फोटोहरूले सजाइएको यो कृतिको मूल्य केही महँगो लागे पनि आजको अवस्थामा यो प्रश्न ठूलो होइन । अत्यन्त कलात्मक भाषामा लेखिएको यो कृतिमा सानो आयतनमा फैलावट रहे पनि यो सानो आँखीझ्यालबाट सङ्गीतको ठूलो संसार चियाउने आधार मिल्ने सम्भावना देखिन्छ ।  

कृति:  सुरसङ्गीतका केही साधक

विधा: विवेचनात्मक जीवनीसङ्ग्रह

प्रकाशकद्वय: इन्दिरा सुवेदी र सुचेता नेपाल

पृष्ठ: १५४

संस्करण: पहिलो २०७९ 

मूल्य: ५००।