मालश्री धूनको ध्वनिविज्ञान

असत्य माथि सत्यको विजय एक अकाट्य प्राकृतिक नियमको सिद्धान्त हो। बडादसैँ पूजाको नभएर आराधनाको पर्व हो। यसको साइनो ज्ञान प्राप्ति मार्फत मुक्ति पथको अवलम्बन गर्नु संग मात्र छ। पूजामा असीम श्रद्धाका साथ भगवान् संग आफ्नो भन्नु पर्ने, सुनाउनु पर्ने, माग्नु पर्ने, असन्तोषको भड़ास निकाल्नु पर्ने, भाकल, प्रतिज्ञा गरिने आदि कुराहरू समावेश हुन्छ। आराधनामा आफ्नो जीवनमा आफूले प्राप्त गरेको सम्पूर्ण अवसर प्रति धन्य बनेर सबै प्रति अनुग्रहरत बनिन्छ। त्यहाँ आफ्नो भन्नु पर्ने, सुनाउनु पर्ने केही हुँदैन। मान्यजन, आफन्त, विभिन्न शक्तिकेन्द्र तथा देवदेवीकाहरू संग धन्य बन्ने र उनीहरूको आशीर्वाद थाप्ने र उनीहरूको भनाई प्रतिक्रिया बहिन रहेर सुन्ने मनन गर्ने गरिन्छ।

 बडादशैंको शास्त्रीय धुन मालश्री (मालसिरी) हो। शरद ऋतुसँगै बजाइने ऋतुपरक धुन मालसिरी मालश्री शब्दको अपभ्रंश रूप हो। उस्तै उस्तै अर्थ दिने माला र मालिकामा, मालाको अर्थ फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु भन्ने लाग्दछ। मालिकाको अर्थ देवीभगवती, पंक्ति, लहर, सानो खालको माला, कण्ठहार आदि हुन्छ। ‘श्री’ को अर्थ विद्या, बुद्धि, सम्पन्नता, धनसम्पत्ति, ऐश्वर्य हो। देवीमा फूल र शब्दको माला समर्पित गर्ने गरिन्छ। उक्त अवसरको उत्सव प्रसाद ग्रहण गरेर मनाइन्छ।

आफ्नो प्रगतिको यात्रामा सहयोग गर्ने संग त प्राय: अनुग्रहरत भइन्छ नै। शत्रुता भावले असहयोग गरेर जीवनमा दर्द र दुःख दिने व्यक्ति, परिस्थिति र समयको सकारात्मकता समेतको महत्त्व अनुभूति गरी सबै संग धन्य हुन नै वैदिक अनुष्ठान र कार्यहरूमा हाम्रो आराधना गर्ने चलन छ।

अन्दाजी ११ देखि १७ औँ शताब्दीको मालश्री धून बारे भेटिएको सबैभन्दा पुरानो अभिलेख नेपाल भाषामालेखिएको सङ्गीत चन्द्र हो। सङ्गीतले मनोविज्ञान सकारात्मक राख्ने, रक्तचाप नियन्त्रण गर्ने, हृदयको गति जरुरत अनुसार कम वा अधिक गर्ने, चिन्ता कम गर्न, पाचन प्रक्रियामा सुधार गर्ने आदि कुरा वैज्ञानिक परीक्षणहरू वाट नै पुष्टि भएको छ।

आधुनिक साङ्गतिक क्षेत्रमा व्यक्तिहरूले ४४० हर्ट्जको ट्युनलाई प्राय: रोज्ने गरेकोले ४४० हर्ट्जको ट्युन लामो समय देखि आधुनिक स्टुडियोको पूर्वनिर्धारित मास्टर पिचको मानक वनेको छ। अन्वेषकहरूले पुष्टि गरे अनुरूप ४४० हर्ट्जमा आधारित सङ्गीत निरन्तर सुन्दा त्यसले नजानिँदो पाराले शरीर भित्रको ऊर्जा प्रवाह बिथोलिएको अनुभूति पैदा गरिदिन्छ। ४३२ हर्ट्जमा आधारित सङ्गीत सुन्दा भने मनले शान्त, खुसी र अधिक आनन्द महसुस गर्दछ। आधुनिक स्टुडियोको पूर्वनिर्धारित मास्टर पिचको मानकलाई ८ हर्ट्जले घटाएर कम्पोज गरिएको म्युजिकको मानिसलाई थप आनन्दित र आरामदायी बनाउने गरेको पुष्टि भएको छ।

मनमा खासै धेरै कुराहरू नखेलाई जति बेला तपाईँ चुपचाप आराम गरिरहनु भएको हुन्छ त्यो समयमा तपाइको दिमाग वाट निस्कने कम्पनलाई मस्तिष्कको अल्फा तरङ्ग भनिन्छ। अल्फा तरङ्गहरू ८ देखि १२ हर्ट्जको स्पेक्ट्रमको बिचमा पर्दछ। धेरै गहिरो आरामको अवस्थामा पुग्दा तपाइको मस्तिष्क अटोपायलट मोडको पुगेको हुन्छ। त्यसलाई सुषुप्ति अवस्था भनिन्छ। सुषुप्तिमा दिमागको विस्तृत सर-सफाइ समेत हुने गर्दछ।

सुतिरहेको तर अटोपायलट मोडमा नपुगेको मस्तिष्क कि त सपना देखि रहेको हुन्छ, कि भर्खरै सुत्न लागेको वेला वा ब्युँझनु अघिको अर्ध निन्द्रामा हुन्छ। अर्ध निन्द्राको समय र सुषुप्तिको समयमा मस्तिष्कले थीटा तरङ्गहरू उत्पादन गर्छ। थीटा तरङ्गहरूले मस्तिष्कमा सूचनाहरू प्रशोधन गरी स्मरणहरू निर्माण गर्ने गर्दछन्।

थीटा ब्रेन वेभ र अल्फा ब्रेन वेभको बिचको तरङ्गहरू ४ देखि ८ हर्ट्जको स्पेक्ट्रमको बिचमा पर्दछ। सानो हर्ट्जको अल्फा ब्रेन वेभको स्पेक्ट्रममा मस्तिष्क अटोपायलट मोडमा जान्छ। थीटा ब्रेन वेभ र अल्फा ब्रेन वेभको बिचको ८ हर्ट्जको स्पेक्ट्रमको मस्तिष्कलाई आरामदायी राख्दै सचेत र सहज ज्ञानको लागि खुला गराउने भूमिकामा हुने भेटिएको छ।

मिऊजीकल इन्स्ट्रुमेन्ट ४३२ हर्ट्जमा ट्युन गर्दा सी नोट २५६ हर्ट्जमा भेटिन्छ। उक्त तालमेलले दिने अनुनादको (रिसोनेन्स) ओभरटोन्सको कारण अर्को सीले ठ्याक्कै ८ हर्ट्जको स्पेक्ट्रम उत्पादन गर्दछ। पृथ्वीको कम्पन ७.८३ हर्ट्ज हुने गर्दछ।

उक्त ८ हर्ट्जको स्पेक्ट्रमको नयाँ ज्ञानको लागि मस्तिष्कलाई खुला र सचेत राख्दै आरामको अवस्थामा पुर्‍याउन सक्ने क्षमता हुने अनुभवी वाद्यवादक हरुको अनुभूति छ। वैज्ञानिक दृष्टि वाट समेत यो कुरामा विश्वास गर्न सकिने आधारहरू भेटिन्छ। जुन आराधनाको उद्देश्य प्राप्तिको लागि मस्तिष्कलाई तैयारी अवस्थामा लैजाने अत्यन्त प्रभावकारी परिस्थिति हो।

सङ्गीतको गणितीय सिद्धान्त अनुसार ८ हर्ट्जले ४३२ हर्ट्जको आधार बनाउने गर्दछ। त्यसैले साङ्गीतिक रूपमा ए-४३२ हर्ट्ज ब्रह्माण्डको कम्पन मैत्री कम्पन हुन पुग्दछ। ४३२ हर्ट्जको फ्रिक्वेन्सी प्रकृतिको कम्पन तथा ॐ जपको प्रधान आवृत्तिसँग समेत मिल्दछ। सन् २००८ मा इन्टरनेशनल जर्नल अफ कम्प्युटर साइन्स एन्ड नेटवर्क सेक्युरिटीमा प्रकाशित वैज्ञानिक अनुसन्धानका अनुसार संस्कृत दिव्य ध्वनि ॐको जप तनावग्रस्त दिमागलाई शान्त र स्थिरता गर्न सफल बनेको वैज्ञानिक निष्कर्ष छ।

ॐ लाई ब्रह्माण्डको आधारभूत आवाज मानिन्छ। मालश्री धुनको ध्वनि कम्प्युटर सफ्टवेयरले मापन गर्दा त्यसको कम्पन ब्रह्माण्डको आवृत्ति मैत्री ॐ जपको ए ४३२ हर्ट्ज प्रधान आवृत्तिसँग मिल्दोजुल्दो भेटिन्छ। ब्रह्माण्डको आवृत्ति मैत्री कम्पन जैविक प्रणाली संग प्राकृतिक रूपमै अनुनाद भएको हुन्छ। ॐ जप गर्दा हाम्रो शरीरवाट निस्कने ध्वनिको फ्रिक्वोंईन्सि ११०.७६, १७०.६६ र २८९.१३ हर्ट्ज हुने गर्दछ।

११०.७६ हर्ट्ज गामा-किरणको फ्रिक्वोंईन्सिको भाग रहेकाले यसले दिमागमा पुगेको गामा-ब्रेन-वेब पैदा गर्दछ। गामा-ब्रेन-वेबको अन्य भन्दा तेज गतिको २५ देखि १०० हर्ट्ज फ्रिक्वोंईन्सि युक्त असिलेट हुने गर्दछ। फलतः यसले दिमागको मानसिक गतिविधिमा सुधार ल्याउने, संज्ञानात्मक (कगनिटिब) वृद्धि गर्ने, मानसिक विकृतिबाट मुक्ति दिलाउने, विषय बस्तुमा केन्द्रित हुने शक्ति बढाउने, सिक्ने क्षमता र सूचनाको प्रशोधन गर्ने क्षमता बढाउने गर्दछ। छोटो अवधिको स्मरण शक्ति अभिवृद्धि गर्ने, टाउको दुख्ने आदि रोगको रोकथाममा समेत सहयोग गर्दछ। 

१७०.६६ हर्ट्ज फ्रिक्वोंईन्सि १७४ हर्ट्ज फ्रिक्वोंईन्सिको ज्यादै नजिक देखिन्छ। जसले प्राकृतिक एनेस्थेटिकको काम गर्छ। कायाकल्प र दुखाई कम गर्न सहयोगी हुन्छ। १७४ हर्ट्ज सुरक्षाको अनुभूति दिलाउने गुण हुन्छ। २८९ हर्ट्ज फ्रिक्वोंईन्सि २५५ हर्ट्ज फ्रिक्वोंईन्सिको नजिक देखिन्छ। २५५ हर्ट्ज फ्रिक्वोंईन्सि बहु-आयामिक जागरूकता सन्तुलित गर्दछ।

अडियो र भिडियो वाट मालश्री धुन बज्दै गर्दा रिकर्ड गरिएको ध्वनिको फ्रिक्वोंईन्सि ३५, ६०, ३००, ५०० हर्ट्जको चमत्कारिक रेन्जमा भेटिन्छ। जसमा झन्डै सत्तरी प्रतिशत फ्रिक्वोंईन्सि ए-४३२ हर्ट्ज केन्द्रित देखिने गर्दछ। वैज्ञानिक अध्ययनका अनुसार उदार भावना विकास गर्ने ९५ हर्ट्ज, धन्य महसुस गराउने ४५ हर्ट्ज, गहिरो धन्यको अनुभूति दिने १४० हर्ट्ज, आफन्त सँगको एकात्मकता र मिलनको भावना जागृत गर्ने १४४ हर्ट्ज रेन्ज, अनुकम्पा दिने १५० हर्ट्ज, दया-मायाको महसुस गराउने ५० हर्ट्ज, प्रेमको अनुभूति दिने १५० हर्ट्ज रेन्ज, निस्स्वार्थ प्रेमको अनुभूति दिने २०५ वा माथि हर्ट्ज रेन्जको सबै तरङ्ग मालश्री धुनले सम्प्रेषण गर्दछ।

मालश्री धुनको यस प्रकारको चमत्कारिक क्षमताले हामीलाई हाम्रा पुर्खाले आराधनाको उद्देश्य प्राप्तिको लागि मस्तिष्कलाई अत्यन्त प्रभावकारी अवस्थामा लैजाने अत्यन्त वैज्ञानिक धुनको रूपमा मालश्री धुन विकास गर्न सकेको रहेछन् भन्ने आत्मविश्वास र गर्व दिने गर्दछ। विज्ञानको तर्क बुझे पनि नबुझे पनि हामी हाम्रो गाउँ घरमा दसैँ मनाउँदै गर्दा चमत्कारिक मालश्री धुनले दिने दैविक आनन्दमा फुर फुर हुँदै रमाउने गर्दछौ।

असोज वाट मध्य कार्तिक सम्म चल्ने शरद ऋतुमा पर्ने दसैँ चाड भौतिक देहको पूर्वाधार निर्माण गर्न र आध्यात्मिक पक्षको दरिलो जग निर्माणको खातिर चलनमा आएको सहजै बुझ्न सकिन्छ। दसैँको चाडमा भौतिक देह निर्माणको खातिर पोषण र तागत वर्धक खानपानमा रमाउने र आध्यात्मिक जगको निर्माणमा विभिन्न शक्ति केन्द्रको भूमिका महसुस गरी प्रशंसा गर्ने गरिन्छ।

पहिले आफूले आफूलाई नै सुखी र खुसी राख्न औषधीय गुणको खानपान गर्न, स्वास्थ्य र प्रफुल्ल रहने, आध्यात्मिक ऊर्जाको विकासको लागि जरुरी हुने भौतिक कायाकल्पमा ध्यान दिने आदि गरिन्छ। त्यसपछि जीवनका दश खराबीहरूबाट छुटकारा लिँदै शरीर, मन र आत्मा शुद्धिमा विशेष गृहकार्य गरिन्छ। अहङ्कार वाट मुक्ति लिँदै अज्ञानतालाई ज्ञानले प्रतिस्थापन गरी सांसारिक दर्द र पिडा अर्थात् सफरिङ्ग वाट आफ्नो जीवनलाई मुक्त गर्ने क्षमताको निर्माण गरिन्छ।

हाम्रो जीवनमा हामीलाई दानवीय गुण बोकेको मानवको रूपमा राख्ने वा मानवीय गुणयुक्त मानवमा परिवर्तन गर्ने भन्ने कुरा हाम्रो सबैभन्दा करिबको साथि मस्तिष्क अर्थात् मानव इन्टेलीजेन्सले हाम्रो पक्षमा काम गरिरहेको छ वा विपक्षमा काम गरिरहेको छ भन्ने कुराले निर्धारण गर्दछ।

मस्तिष्कको पाँच इन्द्रियहरू: आँखाको दृष्टि, नाकको गन्ध, छालाको स्पर्श, जिब्रोको स्वाद, र कानको श्रवण मार्फत एकै साथ हजारौँ हजारौँ सेन्सरि (संवेदी) सूचनाहरू जानकारीमा लिएर प्राप्त सेन्सरि पल्स अर्थात् कम्पनहरूको प्रशोधन, तर्कसङ्गत विश्लेषण र व्याख्याको आधारमा अनुभूति बनाउने र सम्पूर्ण शरीर तथा दिमागको गतिविधिहरू सञ्चालन गर्न र नियन्त्रणमा लिन जरुरत अनुरूपको निर्णयहरू लिने क्षमता हुन्छ। 

आध्यात्मिक रूपमा हाम्रो मस्तिष्कको संरचना बारे जान्न वेदको मान्यता संग मिल्दोजुल्दो न्यूरोवैज्ञानिक पाउल म्याक्लिनले सन् १९६० मा दिएको तिन तहको मस्तिष्कको संरचनाको सिद्धान्त सहयोगी हुनेछ। न्यूरोवैज्ञानिक म्याक्लिनको अनुसार मानव मस्तिष्क तीन वटा मस्तिष्कको संयुक्त रूप हो। जीवनको विकास हुने क्रममा विकसित हुँदै गरेको मानव मस्तिष्कमा भित्री रेप्टेलियन (घस्रने जनवार) मस्तिष्क तह, त्यो भन्दा बाहिर म्याममालियन (स्तनधारी) मस्तिष्कको तह र सबै भन्दा बाहिर न्यु ब्रेनको (नयाँ मस्तिष्क) तह हुने गर्दछ।

सबै भन्दा भित्रको आर - कम्प्लेक्स अर्थात् आदिम मस्तिष्क भनिने रेप्टिलियन ब्रेन मस्तिष्कको सबैभन्दा पहिले विकसित आधार भाग हो। आफू बाँच्नको लागि जरुरी हुने आधारभूत गतिविधिका पक्षहरू मस्तिष्कको यो भाग वाट सञ्चालन हुने हुँदा यसलाई सर्भाईवल ब्रेन (बाँच्ने प्रयोजनको मस्तिष्क) समेत भनिन्छ।

आनुवंशिक रूपमा नै आदिम मस्तिष्क खानपिन र प्रेमालापको लागि घुमफिर र खोजीमा लाग्ने, मन परेको वा जरुरतको चिजमा स्वामित्व खोज्ने, नियन्त्रण गर्ने, कामुकता प्रकट गर्ने, सम्भोग गर्ने, सन्तान उत्पादन गर्ने, लाडिने गरी कोडिङ भएको हुन्छ। विपरीत परिस्थितिमा लुकेर आक्रमण गर्ने, डर र त्रासमा भाग्ने, लुक्ने, आक्रमण गर्ने जस्ता आफ्नो अस्तित्व कायम राख्ने गतिविधिहरू सञ्चालन गर्ने यसको काम हो। त्यसैले खाना र वासस्थानको जोहो गर्ने, कमसल संग भिड्ने, आक्रमण गर्ने, बलिष्ठ संग भाग्ने, लुक्ने, आत्तिने र स्वजातिको विपरीत लिङ्गी संग सम्भोगमा लिप्त हुने, बर्तिने, रमाउने, मात्तिने, पात्तिने जस्ता आफ्नो अस्तित्व कायम राख्न अनिवार्य रहेका पशुगत चरित्रहरू रेप्टिलियन ब्रेनको कार्य क्षेत्र हुने गर्दछ।

मध्य मस्तिष्कको रूपमा रहेको स्तनधारी मस्तिष्कलाई लिम्बिक ब्रेन भनिन्छ। सबै स्तनधारी प्राणीहरूमा भेटिने मस्तिष्कको लिम्बिक ब्रेनको भाग सबै व्यवहारिक र मनोवैज्ञानिक पक्षहरूको निर्माण गरी भावना र सोचहरू निर्माणमा भूमिका खेल्दछ। त्यसैले यसलाई भावनात्मक मस्तिष्क समेत भनिन्छ। सन्तानलाई दूध र आहारा खुवाउने, बाँच्ने कला सिकाउने, आरामदायक गूढ वा वासस्थान बनाउने, सन्तान सुरक्षा, माया, प्रेम, करुणा, आरामी आदि जस्ता स्वभाव निर्माणमा लिम्बिक ब्रेन संलग्न हुन्छ।

सबै भन्दा बाहिरी नियोकोर्टेक्स ब्रेन भनिने नयाँ मस्तिष्कलाई स्मार्ट मस्तिष्क भन्ने गरिन्छ। मानिसको मस्तिष्कको यही नियोकोर्टेक्स भाग मानिसलाई अन्य प्राणी भन्दा स्मार्ट बनाउने भूमिकामा हुन्छ। मानिसको जटिल तथा अग्रिम सोच, कल्पना, तर्क, सृजनात्मकता, तर्क, भाषण, विवेक आदि जस्ता कौशलहरूलाई अद्वितीय बनाउनको लागि नियोकोर्टेक्स जिम्मेवार छ। नियोकोर्टेक्सको कारणले नै मानिस अन्य जनावरहरू भन्दा पृथक् र चातुर्य हुन सकेको हो।

मानिसको सेन्सरि अनुभव र अनुभूतिले विकास गरेका भावना, मूल्य मान्यता तथा आफ्नो सांस्कृतिक चलन, मान्यता, ट्रान्सेंडैंटल विश्वास आदि समेतको पक्षहरूले उसको व्यक्तित्व निर्माण गर्दछ। उसको व्यक्तित्व संग गाँसिएको जीवनको अर्थ, अन्य सँगको भावनात्मक सम्बन्ध, आस्था, विश्वास, निजी मान्यता र मूल्य आदिले उसमा बृहत् आध्यात्मिक र दार्शनिक जटिलताको निर्माण गरिदिन्छ। नियोकोर्टेक्स ब्रेनको फ्रन्टल लोब भन्दा ठिक पछाडि मध्य भागमा रहेको प्यरीटल लोबको क्षेत्र विभिन्न प्रकारका आध्यात्मिक अनुभवहरू प्रशोधनमा संलग्न चेतना तथा आध्यात्मिक अनुभवको क्षेत्र हो। अगाडिको फ्रन्टल लोभ स्मरण, भावना, आवेग नियन्त्रण, समस्या समाधान, सामाजिक अन्तरक्रिया, गतिशीलताका गतिविधिहरू सञ्चालन गर्दछ।

हाम्रोमा आत्मा ज्ञान अर्थात् वैदिक पारा ज्ञान लाई हामी विद्या भन्दछौ। व्यवहारिक सांसारिक ज्ञान लाई हामी अविद्या भन्दछौ। वेदले अविद्याको सम्पूर्ण रूपमा वैज्ञानिक सदुपयोग गर्दै विद्या प्राप्तिमा जोड दिन्छ। शक्तिको केन्द्र भनेको विद्या प्राप्ति गर्ने मध्यम हो। शक्ति केन्द्रको सहयोग लिँदै आध्यात्मिक ज्ञान मार्फत हामीले विद्या प्राप्ति गर्न सक्दछौ। वैदिक अवधारणाका अनुसार बडादसैँमा पुजिने सबै नौ दुर्गाहरू यथार्थमा मानव ब्रेनको फरक फरक हालतका नियन्त्रणका प्रतीक हुन्।

मानव ब्रेनको फरक फरक हालत मानिसमा मद होस (मद) Pride, लोभ Greed, क्रोध Anger, वासना (यौन आशक्ति, Lust), माया (भ्रम) Delusion, ईर्ष्या (द्वेष) Jealousy, स्वार्थ Selfishness, घृणा Hatred र अहङ्कार Ego जस्ता नौ प्रकारका नकारात्मकताको विकास गरिदिन्छ। त्यसको निराकरण मानिसले आफ्नो बुद्धिमत्ता मार्फत गर्नु पर्दछ। उक्त बुद्धिमत्ता मानिसले उसको नियोकोर्टेक्स ब्रेनको (स्मार्ट मस्तिष्क) फरक फरक क्षमता अर्थात् मानव ब्रेनको फरक फरक हालतका नियन्त्रण गर्न सक्षम हुने नव दुर्गा रुपी नौ शक्तिहरुको उपयोग गरी सफल बन्न सुझाइन्छ। 

हाम्रो परम्परागत वैदिक ज्ञान अनुरूप नव दुर्गा देवीहरू शक्तिका केन्द्र हुन्। ब्रह्मचारिणी देवी बाहेक सबै देवीहरूको कुनै न कुनै जनावरमा सवार भएको अर्थात् वाहन देखाइने गरिन्छ। त्यसको साथै हरेक देवीहरूको आ-आफ्नो शक्ति प्रयोगको एकै वा फरक फरक प्रकारको अस्त्र समेत हुने गर्दछ। ब्रह्मचारिणी अविवाहित छन्। बाँकी छ देवीका पति स्वयम् महादेव अर्थात् परमात्मा हुन् । यसको चुरो अर्थ हुन्छ देवीहरूले हाम्रो आत्मालाई परमात्मामा मिलाउन सहयोग गर्ने काम गर्दछन्।

परम्परागत वैदिक मान्यता अनुरूप वाहन रूपको जनवारले हालको विज्ञानको भित्री रेप्टेलियन (घस्रने जनवार) मस्तिष्कको तह, अस्त्रले त्यो भन्दा बाहिर म्याममालियन (स्तनधारी) मस्तिष्कको तह र देवी आफैले भने सबै भन्दा बाहिर न्यु ब्रेनको (नयाँ मस्तिष्क) तहको समकक्षी भूमिका खेलेको देखिन्छ।

हाम्रो शरीर सञ्चालनमा टाउकोमा रहेको मस्तिष्क बाहेक मेरुदण्डमा र शरीरको अन्य भागमा समेत मस्तिष्क हुने गर्दछ।जस्तै मुटुको आफ्नै लगभग चालिस हजार एकै किसिमका न्युरोनहरू मिलेर बनेको सानो हृदय मस्तिष्क हुन्छ। नियमित मुटुको डाईभर बनेर मुटु चलाउने हृदय मस्तिष्कले मस्तिष्क संग संयोजन गरेर काम गर्ने गर्दछ।

दुई पातलो तहमा खाना नली देखि मलद्वारसम्म फैलिएर बसेको सय मिलियन भन्दा बढी स्नायु कोशिकाहरू निर्मित मस्तिष्क हाम्रो आन्द्राको छुट्टै सानो मस्तिष्क हो । जसलाई "दोस्रो मस्तिष्क" भनिन्छ। दोस्रो मस्तिष्कले खाना पचाउन मद्दत गर्न , गल्ती हुँदा मस्तिष्कलाई सचेत गराउन, विभिन्न खाना, समान, रसायन र चिजबिजको हार्मोनी व्यवस्था गर्न सहयोग गर्दछ। यसले जरुरत पर्दा पेटमा क्रोध, चिन्ता, उदासी, उत्तेजना आदि जस्ता भावनाका लक्षणहरू पैदा गरी पेट चिसो पार्ने र सचेत गर्ने पनि गर्दछ।

खानपान जीवनको महत्त्व पूर्ण पक्ष रहेको र त्यसको परिचालन शरीरमा फरक किसिम वाट हुने गहिरो तथ्य लाई ध्यान दिँदै वैदिक अवधारणा भित्र नव दुर्गा मद्येको एक दुर्गा ब्रह्मचारिणीको परिकल्पना गरेको छ। उल्लेखित संरचनाहरू टाउको बाहिरको संरचना रहेकोले त्यस शक्तिको भूमिकाको प्रतिनिधि पात्रको रूपमा रहेकी ब्रह्मचारिणी न त विवाहित नै हुन् न कुनै वाहनको स्वर नै हुन्छिन्। उनको स्वतन्त्रता वा आफ्नो गोडा नै उनको वाहनको रूपमा देखाइएको छ। 

नवरात्रिको पहिलो तीन दिन, हामी कालीको (रेप्टेलियन ब्रेनको) आराधना गर्छौँ। आफ्नो जीवनमा गाँसिएर रहेका सम्पूर्ण नकारात्मकताको पहिचान गर्ने, त्यसलाई आफ्नो जीवन वाट हटाउने र पुनः त्यसलाई नअँगाल्ने वाचा वा प्रण गर्दछौ। 

अर्को तीन दिन हामी लक्ष्मीको (म्याममालियन ब्रेनको) आराधना गर्छौँ। आफ्नो जीवनमा रहेको सकारात्मकताको पहिचान गरी त्यसलाई जोगाउन कटीबद्ध बन्छौ।

बाँकी तीन दिनसम्म हामी ज्ञान दिने सरस्वतीको (स्मार्ट ब्रेनको) आराधना गर्छौँ। धर्म के हो ? अधर्म के हो ? भन्ने बोधको साथै आफू को हो? र आफ्नो जीवनको मानवीय जिम्मेवारी के के हुन? ती कुराहरू बारे गहिरो चिन्तन गर्दछौ। सृष्टिको नियम के हो? र आफ्नो अस्तित्वको कारण के हो? जीवनको उद्देश्य के हो? आदिको गहिरो चिन्तन गर्दछौ। ध्यान रुपी मेडिटेसन र आराधना मार्फत सकारात्मकताको ब्लिसको (Bliss) अनुभूतिले पहिलेको आफू भन्दा उत्कृष्ट आफूको रूपमा आफूलाई परिवर्तन गर्दछौ।

असत्य त्यागी सत्य मार्गमा पुगेको उत्सव स्वरूप दशमीको दिनमा मान्यजनको हात वाट टिका र आशीर्वाद थाप्न पुग्दछौ।

घटस्थापनामा जमरा राखी नवमीसम्म प्रत्येक दिन आराधना हुने नौ दुर्गा देवीको फरक फरक रूपहरू क्रमशः १ ) कालीको (रेप्टेलियन ब्रेन) - शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा; २) लक्ष्मी (म्याममालियन ब्रेन) - कुष्माण्डा, स्कन्दमाता, कात्यायनी; र ३) सरस्वती (स्मार्ट ब्रेन) -कालरात्रि, महागौरी, सिद्धिदात्रीको हुन्।

शैलपुत्रीको वाहन साँढे र अस्त्र त्रिशूल र कमल हो। शैलपुत्रीको अर्थ चेतनाको सर्वोच्च शिखर भन्ने हुन्छ। साढे एक अनन्त प्रतीक्षाको प्रतीक हो। प्रतिफलको आसा वा अपेक्षा विना निरन्तर ध्यानमा केन्द्रित हुन सक्ने ग्रहणशीलताको प्रतीकमा साँढे लाई लिइन्छ।

त्रिशूलले सत्त्व, रज र तम त्रि-गुणको प्रतिनिधित्व गर्ने चेतनाको जाग्रत्, सपना र निद्रा (सुषुप्ति) को अवस्था लाई सङ्केत गर्दछ।

कमलको फूल सौन्दर्य, समृद्धि र उर्वरताको प्रतीक हो। यसलाई कायाकल्प र सोम रस गुण दिने तत्त्वको सङ्केत गर्न उपयोग गरिन्छ। मूलतः नीलो कमल फूल परम्परागत रूपमा चिन्ता र अनिद्रा जस्ता विकारहरूको घरेलु उपचारमा औषधिको रूपमा प्रयोग हुन्छ। कमलको फुलले दिने साइकोएक्टिभ (लागु) गुण र औषधीय प्रभावहरू दिन यसमा पाइने मुख्य दुई यौगिकहरू एपोमोर्फिन र न्यूसिफेरिन धेरै जिम्मेवार हुन्छन्। एपोमोर्फिनले डोपामाइन एगोनिस्टको गर्दछ। त्यसको अर्थ यसले खुसी र उत्साहपूर्ण भावना जगाउने गर्दछ। न्यूसिफेरिन कम्पाउन्डले एन्टिसाइकोटिक औषधि हो विज्ञानले हाल सम्म बुझ्न नसकेको शरीरको संयन्त्रहरू मार्फत शान्त भावना उत्पन्न गर्ने गर्छ। यौन कार्यको लागि सक्रिय भएर तन्किने जरुरतको हदमा दह्रो नहुने लिङ्गको इरेक्टाइल डिसफंक्शनको लक्षण सुधार गर्ने समेत यसको प्रयोग हुन्छ।

ब्रह्मचारिणीको वाहन आफ्नै चरण हो र अस्त्र कमण्डलु र माला हो। ब्रह्मचारिणीको अर्थ प्रारम्भ र अन्त्य दुवै नभएको सर्वव्यापी असीमित चेतना भन्ने लाग्दछ। कमण्डलुलाई वैदिक अवधारणामा पानी रहेको कमण्डलु भन्ने ठानिन्छ। पानीले अमृतको प्रतिनिधित्व गर्छ। पानीको जग रुपी कमण्डलुले पूर्णता, उदारता र शुद्धतालाई जनाउँछ।

कमण्डलु लाई वैदिक अवधारणामा पानी रहेको कमण्डलु भन्ने ठानिन्छ। पानीले निर्मल, स्वच्छन्द अमृतको प्रतिनिधित्व गर्छ। पानीको जग रुपी कमण्डलुले पूर्णता, उदारता र शुद्धतालाई जनाउँछ।

आयुर्वेदमा दोष, धातु र मालालाई शरीरको आधार मानिन्छ। जहाँ माला शब्दले हाम्रो दैनिक क्रियाकलापको उप-उत्पादनको रूपमा शरीरमा पैदा हुने तर शरीरलाई काम नलाग्ने फोहर तत्त्व, चिज वा विचारमा विकारको अर्थ दिन्छ। यदि माला शरीरबाट उत्सर्जित भएन भने पहिले पाचन प्रक्रिया, त्यसपछि रगत, तन्तु र अन्ततः सम्पूर्ण शरीर बिग्रन्छ। त्यस्तै मन्त्र जप्ने माला विचार संग समेत सम्बन्धित छ। अज्ञानता र खराब बिचारले दिने नौ प्रकारका नकारात्मकताको ज्ञानको र त्यसको अभ्यासबाट नष्ट गर्न सकिन्छ। तसर्थ मालाको भौतिक र आध्यात्मिक दुवै विकारको उन्मुलनको सङ्केतको प्रतीक हो।  

चन्द्रघण्टाको वाहन सिंह र अस्त्र कमलको फुल हो। चन्द्रघण्टाको अर्थ मन लाई एकाग्र राख्न सक्ने सोम तत्त्व रस हो जसले नियम सङ्गत ध्यान र आराधना गर्ने शक्ति दिन्छ।

 वैदिक अवधारणामा सबै प्रकारको शक्तिको सन्तुलनको जरुरत रहेको कुरा सङ्केत गर्नु पर्दा सिंहको प्रतीकको प्रयोग हुन्छ। सिंहको समाजमा सिंहनी र सिंह दुवैको बराबरी महत्त्व स्थापित रहेको भेटिन्छ। सिंहनीहरू आफ्नो खाना आदि व्यवस्था गर्न मुख्य सिकारीको भूमिकामा रहन्छन् भने सिंहले आफ्नो क्षेत्रको रक्षा र सुरक्षा गर्ने जिम्मेवारी उठाउने गर्दछ। नारी र पुरुषको बराबरीको हक, अधिकार, इज्जत, जिम्मेवारी र उत्तर दायित्व पन नभएको समाजलाई वैदिक मान्यताले मानव समाजको रूपमा गर्व गर्न नसकिने, अस्वस्थ, कमजोर र रोगी समाज मान्दछ। शक्तिको प्रतीकको रूपमा देखिने सिंहले त्यसैले विशिष्ट भूमिकाको गौरवको सामाजिक संरचनाको लागि शक्तिको सन्तुलनको अनिवार्यता तर्फ सङ्केत गर्दछ।

कुष्माण्डाको वाहन सिंह र अस्त्र कमण्डलु, कमल-पुष्प, अमृतपूर्ण कलश, धनुष-बाण, चक्र तथा गदा हो। कुष्माण्डाको अर्थ अव्यक्त चेतना वा पुरुष लाई व्यक्त वा अभिव्यक्त भएको प्रकृतिमा रूपान्तरित गर्ने चाहनाको तागत अर्थात् इच्छा शक्ति हो। 

परम्परागत रूपमा धनुषलाई प्रेमको प्रतीकको रूपमा हेरिन्छ। धनुष बाण, स्नेह, प्रेम प्रभाव, एट्याचमेन्ट, प्राप्तिको इच्छा र प्रेमालापमा संलग्नताको आदिको प्रतीक हो। धनुष ११७ प्रक्षेपण गर्न सकिने बाण भएको युद्ध हतियार समेत हो। जहाँ बाणले पुरुष र धनुषले नारी शक्तिलाई जनाउँछ। बाणले प्रेमको शक्तिको सङ्केत गर्दछ। धनुषले सुधारिएको नयाँ निर्माणको नियतको ध्वंस वा त्यागको इच्छालाई जनाउने गर्दछ।

चक्रले नकारात्मकता तथा दुष्ट शक्ति लाई ध्वस्त र विनाश गर्ने प्राणको प्रतिनिधित्व गर्दछ। गदाले उद्देश्य प्राप्तिको लागि नियमित रूपमा मेहनत पूर्वक लगातार लड्ने योद्धाको क्षमताको प्रतिनिधित्व गर्दछ। पद्मले वैचारिक सुन्दरता र बुद्धिमत्ताको प्रतिनिधित्व गर्दछ।

स्कन्दमाताको वाहन सिंह र अस्त्र कमलको फुल हो। स्कन्दमातालाई गौरी पनि भनिन्छ। स्कन्दमाताको अर्थ ब्रह्मको सर्वत्र, सर्वव्यापी रहने प्राकृतिक ऊर्जाको गुण हो। चेतनाको रूपमा सर्वव्यापी रहने ब्रह्मबाट नै सम्पूर्ण मायावी संसार बनेको ज्ञान स्कन्दमाता वाट प्राप्त हुन्छ।

कात्यायनीको वाहन सिंह र अस्त्र कमल र तलवार हो। कात्यायनीको अर्थ हरेक चिज, घटना र प्रक्रियामा आसुरी नकारात्मकता र दैविक सकारात्मकता दुवैको अनिवार्य रूपमा हुने पर्ने प्राकृतिक नियमको द्वन्द्वात्मक गुप्त रहस्य भन्ने लाग्दछ। तरबारले ज्ञानको प्रतिनिधित्व गर्दछ। वैदिक अवधारणामा अज्ञानको भ्रमलाई विद्याको (ज्ञान, बुद्धि, विज्ञान, शिक्षा, विद्वता र दर्शन) मध्यम बाट नष्ट गर्ने अज्ञानताको विनाशकको प्रतीकको रूपमा तरबारको सङ्केत प्रयोग गरिन्छ ।

कालरात्रिको वाहन गधा र अस्त्र तरवार हो। कालरात्रिको अर्थ अज्ञानताको अँधेरो वाट ज्ञानको उज्यालो तर्फ डोर्‍याउन दुर्भाग्य पूर्ण अहङ्कारको जन्मदिने अज्ञानताको रुपी अँध्यारोको अन्त्य गर्नु भन्ने हुन्छ।

वैदिक अवधारणामा गधालाई दुष्टता, कामुकता र व्यभिचारको सङ्केत गर्न प्रयोग गरिन्छ। यसलाई फलको प्राप्तिको वा अल्प फलको प्राप्तिको सङ्केतको रूपमा समेत प्रयोग गरिन्छ। गधामाथिको सवार हुनु लाई दुष्टता, कामुकता र व्यभिचार नष्टगरी आफ्नो उद्देश्य प्राप्तिमा पूर्ण सफल हुने मार्गमा अघि बढ्नुको रूपमा लिने गरिन्छ।

महागौरीको वाहन गाई र अस्त्र त्रिशूल, डमरु, वरदान मुद्रा हो। महागौरीको अर्थ हरेक चिज, घटना र प्रक्रियामा अन्तर्निहित हुने अदृश्य पक्षलाई दृश्य पारि त्यसको सम्पूर्ण पक्षको अनुभूति गर्न सक्ने क्षमता बोकेको ज्ञानको ज्योति भन्ने लाग्दछ। गाईलाई सबै देवताहरूको आमा अदितिको रूपमा लिने गरिन्छ। अदितिको अर्थ असीमित, अपार र निर्दोष भन्ने हुन्छ। 

जगतका सम्पूर्ण जीवित र निर्जीव पदार्थहरूको निश्चित परिणाम र संरचनामा बाँधिएको ऊर्जाको उतार-चढाव वाट निर्माण, विगठन र पुनर्निर्माण बनेको हुन्छ। द्वन्द्वात्मक सकारात्मक र नकारात्मक चरित्रको सूक्ष्म संरचना वाट निर्माण र पुनः निर्माणको लागि विगठन हुने प्रक्रियाको प्रतीकमा डमरुलाई लिने गरिन्छ।

डमरुको आकार नियालेर हेर्दा एक छेउमा फुकेको हुन्छ, बिचमा पुन खुम्चिएको हुन्छ र फेरी अर्को छेउमा पुनः फुकेको इन्फिनिटी आकारको हुन्छ। यिनै दुई प्रक्रिया बिचमा हाम्रो गतिविधि लाई डमरुले दिने ध्वनि मार्फत अल्प कालिन खेल रहेको स्मरण गर्न हामीलाई सहयोग पुर्‍याउने गर्दछ। निर्माण, विगठन र पुनः निर्माणको नियमित जिरो, बाइनरी अङ्कको शून्य र एक तथा अनन्तताको सूचकको सङ्केत डमरुले दिने गर्दछ।

पृथ्वीमा रहेका मानिस बाहेकका चराचर अर्थात् जीवित जीवहरू र पर्यावरणलाई यहाँ अदितिको रूपमा लिइएको छ। मानव बाहेकका निर्दोष चराचर र पर्यावरणको मानव अस्तित्व, कल्याण र सुरक्षामा अत्यन्त अहम् भूमिका रहेको स्मरण गर्न वैदिक अवधारणामा गौ-माता मार्फत देवताहरूको आमा अदितिको स्मरण गरिन्छ।

प्रकृतिको सम्पूर्ण पर्यावरणको रक्षा, जीव र वनस्पतिको पालनपोषण, कल्याण, सुरक्षा आदिको ग्यारेन्टी विना मानव कल्याण असम्भवको विषय रहेको र त्यो विषय मानव जीवन र सहज जीविका निर्वाहको अपरिहार्य सर्तको रहेको सङ्केतको रूपमा वैदिक साहित्यमा प्रतीकको रूपमा गाईको चित्रको प्रयोग हुने गरेको छ। वरदान मुद्राले दया, माया र करुणाले भरिएर सफलताको आशिष दिने इच्छाले प्रकट हुनु भन्ने लाग्दछ। 

सिद्धि दात्रीको वाहन सिंह र अस्त्र कमल हो। सिद्धि दात्रीको अर्थ जीवनको लक्ष प्राप्ति गर्न त्यसको लागि जरुरी देखिएको सबै प्रकारका सिद्धिहरू प्राप्त गरी नियमित लक्ष प्राप्तिको पथमा अहिंसा पूर्ण नैतिक धर्ममा रहेर लीन हुन अनिवार्य हुन्छ भन्ने रहेको ठानिन्छ। 

शुक्ल पक्षको दशमी तिथिको दिन भगवतीले दानवी शक्तिमाथि तथा भगवान् रामले रावणको वध गरी असत्य माथि सत्यको विजय हुने तथ्य पुनः प्रमाणित गरिदिएको सन्दर्भ अनुरूप दशमीको दिनलाई विजया दशमी भन्ने गरिन्छ। आध्यात्मिक दृष्टि वाट हेर्दा नेपालीहरूको प्रमुख चाड बडादसैँ पर्वले समग्रमा काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी जस्ता दश प्रकारका पापहरू त्याग्न प्रेरणा दिन्छ ।

न जाडो छ, न गर्मीको शरद् ऋतु जति बेला खेतमा लहलह धानका बालाहरू झुलेका हुन्छन्, बारीमा तरकारीहरू, फलफूलहरू लटरम्म देखिन्छन्, घर आँगनमा ढकमक्क फूल फुलेका हुन्छन्, वर्षा थामिएको हुन्छ, कृषिको काम वाट हल्का फुर्सद लिन सकिने माहौल समेत बनाउन सकिन्छ त्यो बेला बडादसैँ पर्व मनाइने गरिन्छ।

फूलपाती लगायत नवरात्रमा नौ प्रकारका बिरुवा केरा, दारिम, धान, हलेदो, कर्कलो, आँप, बेल, अशोक र पाती गरी नौ प्रकारका नयाँ कोमल पातहरूको सामूहिक दुर्गा पूजा पूजा गरी घरघरमा भित्र्याइन्छ । कतिपयले अनार, अदुवा, कर्कलो, उखु पातहरू समेतको प्रयोग गर्दछन्। महासरस्वतीको रूपमा पुस्तक, कापी, कलम, मसी दानी आदिको समेत पूजा हुन्छ । किसानहरूले खेतमा गई चन्दन, अक्षता र फूल पातीले धानको बोटको पूजा गरी साङ्केतिक रूपमा बोट सहितको धानका बाला आफ्नो घरमा भित्र्याउने समेत चलन छ।

खगोल विज्ञानको हिसाब वाट नवरात्री र दशैँको समयलाई हेर्नु हुन्छ भने यो समयमा हाम्रो भौगोलिक वातावरणमा प्रचुर मात्रामा हामीमा सकारात्मकता रोपिदिने सहयोग गर्ने ब्रह्माण्डीय कस्मिक ऊर्जा भेटिने गर्दछ। हामी उक्त अवसरको समेत सदुपयोग गरी विजय दशमीको सबै उत्सवहरू मनाउने गर्दछौ।

आयुर्वेदिक पक्ष वाट गरिने सूक्ष्म अध्ययन वाट यो अवधिमा हाम्रो आध्यात्मिक शक्ति अधिक रहने देखिएकोले पाचन शक्ति कमजोर हुन्छ। त्यसैले दिनको महत्त्व अनुरूप एकादशीमा उपवास बस्ने तथा अन्य समयमा औषधीय गुणको मसला र हर्बल युक्त खानपान गर्न, स्वास्थ्य रहन, आध्यात्मिक ऊर्जाको लागि तैयारी रहन र भौतिक रूपमा कायाकल्पको सम्भावित अवसरको खोजी गरी दशैँको समयमा लाभ उठाउन आयुर्विज्ञान सिफारिस गर्ने गर्दछ।

हाम्रा उपनिषदहरूको सन्देश अनुरूप हाम्रा ऋषिहरूले समाजको विकास र उत्थानको नाममा भौतिक धन सम्पत्तिको मागमा आफूलाई सीमित गरेको देखिँदैन। तैत्तिरीयोपनिषदका मन्त्रहरूमा प्रस्ट गरिए अनुरूप जब सम्म मानिसमा मानवतामा हुनुपर्ने सबै महान् गुणहरूको पूर्ण रूपमा विकसित गर्न सकिँदैन तब सम्म समाजमा स्थायी शान्ति र वैभव कायम हुन सक्दैन।

ऋषिहरूको सन्देशको चुरो पक्ष के हो भने कुनै पनि ज्ञान, वस्तु र सेवा विशेषको मूल्य त्यति वेला सदुपयोगमा आउन सम्भव हुन्छ जब त्यो प्राप्त गर्ने व्यक्तिमा कम्तीमा हुनुपर्ने मानवीयताको विकास भएको हुन्छ। अन्यथा उपलब्ध ज्ञान, वस्तु र सेवा विशेषको मूल्य व्यक्ति लाई पाठ भ्रष्ट गर्ने, समाज र सम्पूर्ण चराचर जगतको वरवादी निम्त्याउन उपयोग हुन्छ।

हाम्रो वरपर यसका अनगिन्ती उदाहरणहरू हामी नियमित देख्ने गर्दछौ। त्यसैले नवरात्री हामीमा मानवताको विकास गर्ने नौ दिन हो भने दसरा प्राप्त मानवीय गुणबाट आफूलाई विचलित हुन नदिने दृढ संकल्प लिने उत्सव हो। 

यसरी समग्रमा हेर्दा मेरो गाउँको दसैँ कसैलाई रमाइलो गर्ने चाड, कसैलाई राम्रो लाउने मिठो खाने अवसर, कसैलाई भेटघाटको शौकको वरत्रको पर्वको रूपको आकर्षक बन्ने गरेको छ भने कतिपयले यसलाई वरत्र र परत्र दुवैको सहज पार गराउने सारथि। 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)