इतिहास लेखनको दृष्टिकोणमाथि गम्भीर प्रश्न: अज्ञात
इतिहासका सन्दर्भमा बेलाबखत विभिन्न प्रश्नहरू उठ्ने गर्छन् । के इतिहास वास्तवमै विगतको यथार्थ विवरण हो ? के यसले तथ्य र सत्यलाई निष्पक्ष रूपमा प्रस्तुत गर्छ ? इतिहास किन शासक वर्गको नियन्त्रण र स्वार्थको विषय बन्यो ? इतिहासलाई जस्ताको त्यस्तै स्वीकार्ने कि त्यसका तथ्य, दृष्टिकोण र व्याख्यामाथि प्रश्न गर्दै पुनर्लेखन गर्ने ? यी प्रश्नहरू जटिल भए पनि इतिहाससम्बन्धी विमर्शमा महत्वपूर्ण छन् । र, गम्भीर विमर्शको माग पनि गर्दछन् ।
इतिहास र साहित्यको सन्दर्भमा एउटा भनाइ प्रचलित छ, इतिहासमा नाम र तिथिमिति बाहेक सबै कुरा झुटो हुन्छ, तर आख्यानमा नाम र तिथिमिति बाहेक सबै कुरा सत्य हुन्छ । यो भनाइ पूर्णतः प्रश्नरहित नभए पनि सान्दर्भिक छ । गुल्मी जन्मथलो भएका र अमेरिकामा बसोबास गर्ने लेखक केशवराज ज्ञवालीको ऐतिहासिक उपन्यास अज्ञात पढिसक्दा मभित्र पनि यस्तै अनेक प्रश्नहरू उब्जिए । विशेषगरी इतिहास लेखनमा देखिने शासककेन्द्रित दृष्टिकोण र त्यसमा लुकेको राजनीतिक पक्षधरतालाई उपन्यासले सशक्त रूपमा प्रश्न गरेको अनुभूति भयो ।
अज्ञात उपन्यास मुख्यतः वि.स. १८४० देखि १८७१ सम्मको नेपाली राजनीतिक तथा सामाजिक परिवेशमा आधारित छ । हाम्रो इतिहास लेखनमा राजा, महाराजा, सेनानायक र युद्धका घटनाहरूले प्रमुख स्थान पाउँदै आएका छन् । तर युद्धमा सहभागी साधारण सिपाही, श्रम गर्ने मानिस र तिनका परिवारका कथाहरू प्रायः ओझेलमा परेका छन् । बेलायति मार्क्सवादी इतिहासकार तथा History from Below विचारका प्रवर्तक इ.पी. थम्पसन भन्दछन्, “इतिहासमा राजा, शासक, पुँजीपति र राजनीतिक नेताहरुको मात्र भूमिका हुँदैन । इतिहास निर्माणमा साधारण श्रमिक, किसान, मजदुर र उत्पीडित मानिसहरुको पनि सक्रिय भूमिका रहन्छ ।” यस उपन्यासको सबैभन्दा उल्लेखनीय पक्ष यही हो । यस उपन्यासमा शासक र सेनानायकलाई केन्द्रमा नराखी आम मानिसका जीवन, सङ्घर्ष र योगदानलाई कथाको मूल विषय बनाइएको छ ।
उपन्यासको मुख्य पात्र मन्या हो । कमारोको जीवन बिताइरहेको मन्या गोर्खाली सिपाही र एक कमारीको सन्तान हो । आफ्नो जन्म र सामाजिक अवस्थाका कारण उसले अनेक विभेद र कठिनाइ भोग्नुपरेको छ । परिपक्व बन्दै गरेको मन्याले एकदिन आफ्नो बुवा र आमाको बारेमा सुन्दछ । त्यसपश्चात बुवाको खोजीमा कुमाउँ–गढवालको एउटा गाउँबाट निस्किएको ऊ ऋषिकेश नजिकै चन्द्रभङ्गा नदीको भेलमा पल्लोतिरमा जानकालागि हामफाल्दछ । मृतप्रायः अवस्थामा पुगेको उसलाई एक जोगीले उद्धार गर्दछन् । त्यसपछि त्यही जोगीको सहारामा हरिद्वारको गुफामा लुकेर बसेका बुवालाई भेट्न पुग्दछ । तर उसको यात्रा त्यतिमै सकिँदैन । भारतका विभिन्न ठाउँ हुँदै नेपालका अनेक भूभागमा आमाको खोजीमा निस्किएको मन्याले भोगेका दुःख, भोक, पीडा, आँसु र सङ्घर्ष नै उपन्यासको मूल कथावस्तु हो । मन्याकै यात्रामार्फत लेखकले तत्कालीन नेपाली समाजको सामाजिक संरचना, वर्गीय विभेद, दासप्रथा, आम मानिसको जीवनशैली र शासकीय चरित्रलाई चित्रण गरेका छन् । यस अर्थमा उसको व्यक्तिगत सङ्घर्ष एउटा पात्रको कथा मात्र नभएर तत्कालीन समाजको असमानता र मानवीय पीडाको प्रतिनिधि कथा पनि हो ।
एकीकरण अभियान अथवा गोर्खा राज्यको विस्तारसंग जोडिएका अमरसिंह थापा, बलभद्र कुँवर र भीमसेन थापाजस्ता चर्चित व्यक्तित्वहरूबारे हामी धेरै जान्दछौँ । नेपालको इतिहास भनेर जे उपलब्ध सामग्री छन् ती पढ्दा यी नामहरु पढ्नु अनिवार्य जस्तै छ । तर उनीहरूको अभियान र युद्धमा सहभागी हुने साधारण मानिसहरू को थिए ? युद्धमैदानमा लड्ने, बन्दुक र झोला बोक्ने, खानापानी जुटाउने र आफ्नो जीवन जोखिममा राख्ने मानिसहरूको कथा कहाँ छ ? इतिहासमा उनीहरूको योगदान किन पर्याप्त रूपमा समेटिएन ? उपन्यासले हामीलाई यी यस्ता प्रश्नहरु सोंच्न बाध्य बनाउँछ ।
देश र राज्य निर्माण कुनै एक व्यक्ति वा शासकको प्रयासबाट सम्भव हुँदैन । आज हामीले आफ्नो सीमा र सार्वभौमिकताका रूपमा बुझिरहेका उपलब्धिहरूका पछाडि लामो राजनीतिक सङ्घर्ष, युद्ध, श्रम र असङ्ख्य मानिसहरूको योगदान जोडिएको छ । तर इतिहासका पानामा प्रायः नेतृत्व गर्नेहरूको नाम सुरक्षित हुन्छ, योगदान गर्ने धेरै मानिसहरू अज्ञात रहन्छन् । अज्ञात ले यही छुटेको इतिहासतर्फ हाम्रो ध्यान आकर्षित गर्छ ।
युद्धमा जाने एउटा सिपाहीको परिवारले के भोगिरहेको हुन्छ ? ऊ युद्धमैदानमा हुँदा उसका छोराछोरी, श्रीमती र बाबुआमाको जीवन कस्तो हुन्छ ? युद्धमा जाने व्यक्तिको वीरता र बलिदानको चर्चा त हुन्छ, तर उसको परिवारले भोगेको अभाव, प्रतीक्षा र पीडाको कथा विरलै लेखिन्छ । अथवा भनौ त्यो लेखनको विषय नै बन्दैन । उपन्यासले यस्ता मानवीय पक्षलाई पनि महत्व दिएको छ । यसले इतिहासलाई केवल राजनीतिक घटना र युद्धको विवरणमा सीमित नराखी आम मानिसको जीवनसँग जोडेर हेर्न प्रेरित गर्छ ।
उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष यसको पात्रप्रतिको दृष्टिकोण हो । यसले कुनै शासकलाई अनावश्यक रूपमा खलनायक र कुनै अज्ञात पात्रलाई आदर्श नायक बनाउने प्रयास गरेको छैन । बरु ऐतिहासिक पात्रहरूलाई उनीहरूको समय, परिस्थिति र मानवीय सीमासहित प्रस्तुत गर्न खोजेको छ । यसले इतिहासलाई एकपक्षीय प्रशंसा वा आलोचनाभन्दा माथि उठेर बुझ्न सहयोग गर्छ ।
आज पनि हामी कुनै पुल कसले बनायो, कुन विश्वविद्यालय कसले खोल्यो, कुन सडकमा कुन नेताको योगदान बढी छ वा कुन राजमार्ग कसको नाममा राख्ने भन्ने बहसमा अल्झिरहेका छौँ । विकास निर्माणका कामलाई पनि कुनै एक नेता वा व्यक्तिको उपलब्धिका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति छ । तर कुनै पनि संरचना निर्माण हुनुका पछाडि योजनाकार र नेतृत्वसँगै श्रमिक, प्राविधिक र आम नागरिकको श्रम जोडिएको हुन्छ । त्यसैले सामूहिक योगदानलाई बेवास्ता गरेर कुनै एक व्यक्तिलाई मात्र जस दिनु यथार्थपरक हुँदैन ।
समग्रमा, अज्ञात केवल ऐतिहासिक परिवेशमा लेखिएको उपन्यास होइन; यो इतिहास लेखनको प्रचलित दृष्टिकोणमाथि प्रश्न गर्ने साहित्यिक प्रयास पनि हो । इतिहास केही चर्चित व्यक्तिहरूको जीवनी वा विजयगाथा मात्र होइन । इतिहास अब शासकको आँगनबाट बाहिर निस्किनुपर्दछ भन्ने आह्वान हो । यो त समयको निर्माणमा सहभागी भएका अनगिन्ती मानिसहरूको सामूहिक कथा हो । इतिहासका पानामा नाम लेखिएका व्यक्तिहरू जति महत्वपूर्ण छन्, नामसमेत नलेखिएका मानिसहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । इतिहासलाई अझ समावेशी र यथार्थपरक बनाउन हामीले यिनै अज्ञात मानिसहरूको कथा खोज्न र लेख्न आवश्यक छ ।
प्रतिक्रिया