वामआन्दोलनका लागि पूर्वाधारका काम

 देशको राजनीतिमा यतिबेला फेरि आन्दोलनको हुंकार सुनिँदैछ । आम निर्वाचन पछि  कुनै एक दलले   विधायिका संसदमा झन्नै दुईतिहाइ बहुमत ल्याए पनि राजनीतिक घटनाहरुले  देशमा राजनीतिक अस्थिरता र उथलपुथल चलिरहेको अनुभव नागरिकहरुले गरिरहेका छन् । राजतन्त्रबाट प्रजातन्त्र हुँदै अहिलेको लोकतन्त्रसम्म आइपुग्दा पनि देशमा राजनीतिक अस्थिरता कम हुनसकेन । संक्रमण काल सकिएको औपचारिक घोषणा भए पनि देशले संक्रमण काल भोगिरहेको छ । संसदमा दुईतिहाइ  बहुमत वा कुनै एक दलको प्रबल बहुमत आउँदैमा राजनीतिक स्थिरता आउन सक्ने रहेनछ भन्ने कुरा त २०१६, २०४८, २०७४का चुनावपछिका राजनीतिक संकटहरुले नै स्पष्ट पारिसकेका छन् ।  अहिलेको कुनै एक दलको प्रबल बहुमत पनि ती पुराना बहुमतको अपवाद हुने कुनै लक्षण देखिएको छैन । सत्ताधारी दलभित्र बढ्दै गएको आन्तरिक द्वन्द्व र मनमुटावका चर्चापरिचर्चाले सरकारप्रति नागरिकको अविश्वास निरन्तर कायम रहेको छ । यसको प्रत्यक्ष प्रमाण देशमा पूँजी लगानीले  कुनै प्रगतिको बाटो नलिनु र देशमा उत्पादन र उत्पादकत्वमा कुनै परिवर्तनको संकेत नमिल्नु नै हो । देशले रोजगारी अभिबृद्धिको  कुनै कार्यक्रम पाएको छैन । भ्रष्टाचार ठगीधन्दामा कुनै कमी आएको छैन । राज्यका सुविधाबाट वञ्चित ठूलो गरीव वर्ग अझै विकासबाट अछुतो नरहने गरी कुनै कार्यक्रम ल्याइएको छैन । यस्तो अवस्थामा देशमा पहिलेदेखि रहेको भताभुङ्गे स्थितिमा कसले कसरी परिवर्तन ल्याएर सधार गर्न सक्ला भनेर नागरिकहरु आआफ् योग्यता र क्षमताअनुसार ध्यान दिएर हेरिरहेका छन्, पर्खिरहेका छन् ।

गतवर्षको जेन्जी विद्रोह पछि देशको सत्ता सम्हालेको झन्नै दुईतिहाइको सरकारले समातेको राजनीतिक भविष्यको र देश विकासको बाटो हेर्दा देखिने चित्र हो यो । त्यसैले यसको विकल्पकाबारेमा पनि सचेत नागरिकहरुले सोच्नैपर्ने अवस्था आएको छ । विकल्पका बारेमा दुइटा पक्षको तत्कालका संभावना देखिन्छन् । एउटा पहिले सत्तासीन भइसकेका राजनीतिक दलको शासनको पुनस्र्थापना गर्नका लागि आन्दोलनको हुङ्कार गरिरहेका नेताहरुले हिडाउनचाहेको बाटो र अर्कौ गैरनागरिक प्रशासनको जङ्गी शासनको बाटो ।  पहिलो विकल्पको बाटोको विकल्प भनेको श्रमिक वर्गीय संगठनको नेतृत्वमा आम मध्यमवर्गीय जनता सहभागी हुने आन्दोलनबाट स्थापित पूजीवादी जनवादी सरकार हुनेछ भने दोश्रो विकल्पको विकल्प बाह्यशक्तिकेन्द्रहरुद्वारा स्थापित जनविरोधी कठपुतली सरकार बन्ने छ ।

 यहाँचर्चा गर्न खोजिएको विषय हो आन्दोलन गरेर वर्तमान सरकारलाई पदच्यूत गराउन र आफ्नो शासन पुनस्र्थापित गर्न चाहनेहरुले के गर्न आवश्यक देखिन्छ  भन्ने हो । खासगरी नेपालको आर्थिक र सामाजिक स्थितिमा  परिवर्तन ल्याएर नेपाललाई उन्नत राष्ट्र वनाउने संकल्प गरेर सत्तामा पुगिसकेका  आफुलाई वामपन्थी हुँ भनेर दावी गर्ने दलका नेताहरुले  आफुहरुमाथि जनविश्वास गुमेको कुरा सर्बप्रथम स्वीकार गर्नैपर्दछ । हामीविरुद्ध षड्यन्त्र भयो भनेर जनताको सहानुभूति बटुल्ने टालटुले कुरा गरेर हुदैन । जनता नेताहरुले जे भने तिनका लठैतलेजस्तो होमा हो मात्रै गर्ने अवस्थामा छैनन् । जनताले पनि कुरा बुझेका छन् । यसैले आम नागरिक एकथरी भताभुङ्गेलाई फालेर अर्काथरी भताभुङ्गेलाई कुर्सीमा विराजमान गराउन आन्दोलनमा सहभागी हुने छैनन् । आन्दोलनको लागि जनताले अथवा आम मध्यम र निम्नमध्यम वर्गका नागरिकलेसमेत बुझ्नेगरी अझ आन्दोलनलाई दह्रोसँग संचालन गर्न तल्लोतहको श्रमिक वर्गलाईसमेत संगठित गरी कुन कुन कुरामा जनताका पक्षमा  ठोसकाम कसरी कहाँ कसले गर्ने हो भन्ने योजना प्रस्तुत गरेर मात्रै  जनविश्वास हासिल गर्नसक्नुपर्दछ । हिजो गल्ती कहाँ भए त्यसबारे म आत्मआलोचना गर्छु मात्र भनेर हुदैन  संगठनका कार्यकर्ता र जनसभाहरुमासमेत छलफल र बहस गरेर त्यसलाई सुधार्ने कार्ययोजना नै वनाउनु पर्दछ । विरोधीले षड्यन्त्र गरे भन्ने कुरामा पनि षड्यन्त्र किन कसरी कसले गर्यो ?  आफै सत्तामा रहेकाबेला षड्यन्त्रकारी कसरी किन सफल भए ? त्यो किन पत्ता लागेन, किन असफल पार्न सकिएन? यसको उत्तर जनताई दिएर त्यसको उत्तरदायित्व लिनुपर्दैन र ?  । भ्रष्टाचार र घुसखोरीका बारेमा चलाइएका कारवाहीको श्रेय लिन तँछाड मछाड गरिएको छ तर त्यस्ता कारवाहीको परिणमबाट भ्रष्टाचारमा कमी आउनुको वदला झन् झन् बढेको महसुस आम नागरिकले किन गरेका छन् कतै त्यसबारे सोचिएको छ ? कतै दुई प्रतिस्पद्र्धी भ्रष्टाचारीको प्रतिस्पद्र्धामा सरकारी कारवाहीले एउटा पक्षबाट फाइदा उठाउने काम मात्र गरेको त होइन ? नागरिकका यस्ता आशङ्का सत्य पनि ठहरिएका छन् ।

सबभन्दा वढी प्राथमिक सुधारको विषय त नेताहरुले हामीले जनताका लागि राम्रो काम गरिदिइरहेका थियौं,  षड्यन्त्रकारीले सत्ता खोसेर हामीलाई काम गर्नबाट रोके, तसर्थ हामीलाई आन्दोलनमा साथ दिएर लोकतन्त्रलाई बचाउनोस्, हामीलाई फेरि सत्तामा पु¥याउनोस्  भनेर कार्यकर्ता र जनता समक्ष भन्नु नै गलत हो ।  नेताहरुले त कार्यकर्ता र आम समर्थक शुभेच्छुक जनतालाई महँगी, वेरोजगारी र दुःशिक्षा र देशको पछौटेपन हटाउन आफैं सक्रिय हुनुपर्छ, भनेर संगठित र प्रशिीक्षत तुल्याउने हो ।  मलाई सत्तामा पुर्‍याऊ भनेर रुने होइन । अहिले आम नागरिक र जनताले मात्र होइन वाम पार्टीका कार्यकर्तालेसमेत  ठूल ठूला जेलनेल भोगेका र धेरै कठोर संघर्ष गरेका भनेका नेताहरुले पनि यसरी रोएको महसुस गरेका छन् र आफैंप्रति लज्जाबोध गरेका छन् । यो हुन भएन । अन्य कुराहरुमा आफ्ना पार्टीका कार्यकर्ता बनेर धन कमाउन र ठूलोठालु हुन आएका विचौलियाको लहैलहैमा  देशको प्रगतिका ठोसकाममा भन्दा अर्थौपार्जनमा बढी ध्यान दिएको महसुस जनताले गरेका छन् त्यसको निवारण अत्यन्त जरुरी भएको छ । नेताका यिनै कमजोरीलाई अहिले पनि तिनका विरोधीले वारम्बार उछालेका छन् भन्ने बुझ्नुपर्दछ । यसैगरी भौतिक योजना, ठेक्कापट्टा, श्रम र सैवा क्षेत्रका शिक्षा,स्वास्थ्यजस्ता काममा पनि  के के कमी भए र अव के सुधार गर्न आवश्यक कदम चालिने हो, त्यसबारे विशेषज्ञबाटै अध्ययन सर्वेक्षण गरेगराएर कार्यदिशापत्र सार्वजनिक गर्नुपर्दछ । त्यसरी गर्दा पनि जनताले पहिले नै तस्करी र भ्रष्टाचारको काम गरेको भनी पहिचान गरिसकेका नेता कार्यकर्तालाई नेतृत्वको जिम्मेवारीबाट अलग राख्न सक्नुपर्दछ ।

आम नागरिक र सामान्य मध्यमवर्गीय जनताका सचेत अगुवाहरुले के कुरामा ध्यान पुर्‍याएर सोचिरहेका हुन्छन् भने सत्ताको विरोध गरिरहेका परिवर्तनकामी राजनीतकर्मीहरुको आक्रोश र असन्तुष्टि  जायज भए पनि यिनीहरु आफै सत्तामा गएपछि यिनले पनि गर्ने  त उही त हो नि  । विद्यमान सत्ताकोभन्दा बढी के हुन सक्ला र ? किन भने यिनको पनि आफ्नो संयन्त्र त केही छैन । केही मानिस सत्ता परिवर्तन भयो भने लूटपाट बढ्ला, अराजकता होला र अहिलेको स्थितिभन्दा पनि खराव स्थिति होला र जीविका नै नचल्ला कि भनेर डराएका हुन्छन् । हुन पनि सत्तामा नपुगेका सधै फुटिरहने र  ठूलठूला क्रान्तिका गफ हाँक्ने नेताहरुलाई जनताले कहिल्यै साथ दिदैनन् किनभने तिनले सत्ता पाए नै भने पनि राज्य संचालन गर्ने जिम्मेवारी संभाल्न सक्तैनन् भन्ने बच्चाले महसुस गरिरहेका हुन्छन् । जनता यस्ता नेतालाई नादान नै ठान्दछन् । यस्ता कुरामा जनतालाई आश्वस्त पार्नसकेमा  जनता आन्दोलनमा सरिक हुनसक्छन् । जनता सरिक नभई पार्टीका कार्यकताको आन्दोलनले मात्र सत्ता पभावित हुदैन भन्ने त धेरैपटक सिद्ध भैसकेको छ भने अहिलेको खुकुलो वातावरणमा संगठनको फौजी रुप र संघर्षको युद्धरुप पनि  अनावश्यक र असंभव छ ।

 अहिलेकोजत्तिको खुल्ला वातावरणमा  कुनै पार्टीलाई पनि होलटाइमर कार्यकर्ता पाल्न निकै गाहारो हुन्छ । त्यसैले कुनै न कुनै पेशाको काम गरिरहेको कार्यकर्ताको  पार्ट टायम लिएर काम चलाउनु व्यवहारिक हुन्छ ।  यसको लागि त्यो कार्यकर्ताले आफ्नो मुक्ति र देशको प्रगतिका लागि  यो पाटीमा काम गर्नुको अर्को विकल्प छैन भन्ने महसुस गरेको हुनुपर्दछ । त्यो भावना मध्यम र निम्न मध्यमवर्गीयमा भन्दा तल्लो श्रमिक वर्गमा बढी हुनु स्वाभाविक हुनजान्छ ।किनभने उसलाई नै मुक्तिको पनि बढी खाँचो हुन्छ ।  तल्लो वर्गका श्रमिकको संगठन र माक्र्सवादी, ऐतिहासिक भौतिकवादी शिक्षण प्रशिक्षणका काम नितान्त जरुरी हुन् नै । यो काम नियमित हुनैपर्दछ । 

 यी यस्ता दीर्घकालीन आवश्यक काममा बामपार्टीहरुले पहिले कम ध्यान दिएका छन् । माले कालमा र  मसालको  पनि पञ्चायतको उत्तराद्र्धमा यस्ता शिक्षणप्रशिक्षणमा जोड दिइए पनि पार्टी प्रवेश गर्ने ढोका खुकुलो पारेपछि वामपार्टीमा घुसपैठिया त बढे नै,  साथै शिक्ष्ण प्रशिक्षणमा व्यापक कमी आयो र भएका कार्यक्रम पनि फगत औपचारिक र आफ्नो गुटभन्दा अर्को गुटका नेताको निन्दानै  प्रशिक्षणको प्रमुख विषय हुनथालेको थियो । गणतन्त्र पछि त वर्गीय कक्षा समाप्त नै भएर गए । हुँदा हुँदा पार्टीमा योग्य प्रशिक्षक नभएर एमाले पार्टीले त नेपाली कांग्रेसका नेता प्रदीप गिरीबाट कार्यकर्तालाई प्रशिक्षण दिलाउने गरेको थियो ।  यस्तो लज्जाजनक अवस्था हुन भएन ।