लु सुनको निबन्ध ‘चिनियाँहरूले आफ्नो आत्मविश्वास गुमाएका छन्?’ र नेपाली सन्दर्भ
चिनियाँ साहित्यकार तथा लेखक लु सुन (Lu Xun) ले सन् १९३४ मा ‘चिनियाँहरूले आफ्नो आत्मविश्वास गुमाएका छन्?’ (Have the Chinese Lost Their Self-Confidence?) शीर्षकमा एउटा प्रसिद्ध निबन्ध लेखे। यो निबन्धले चिनियाँ बौद्धिकहरूको दिमाग राम्रैसँग निचोर्यो। यो बौद्धिक लेख र निबन्धको ताकत मिसाइलभन्दा बढी थियो। यदि कुनै रचना समाजको ‘सूक्ष्म र दूरदृष्टि’ (माइक्रोस्कोपिक र टेलिस्कोपिक) दृष्टि प्रयोग गरेर लेखिएको हो भने त्यसले समाजको सुर बदल्छ, लय बदल्छ र संरचना बदल्छ।
चिनियाँ साहित्यकार लु सुनले चिनियाँ समाजलाई ‘माइक्रोस्कोपिक र टेलिस्कोपिक’ दुवै आयामबाट हेरेका थिए, यस निबन्धमा। आज नेपालमा नेपाली समाजलाई यसरी नै हेर्ने क्षमताको खडेरी छ। नेपाल हल्लामा चलेको छ। घृणाको संस्कार र परपीडाको आदत बसेको छ। सबै संस्था मासेर राज्य चल्दैन भनेर कसैले भन्दैन। यो सामाजिक संरचना भत्किएको छ, त्यसको निर्माण नयाँ ढङ्गले गर्नु आवश्यक छ भन्ने कुरामा सोच्न पनि कोही तयार छैन। हरेकलाई ‘कि त पद कि त अरूसम्बन्धी सर्वनाश चाहिएको छ।’ १९३० को दशकको चीनमा पनि यस्तै थियो। त्यही कारण उनले ‘पागलको डायरी’ शीर्षकको कथा पनि लेखेका थिए।
आज नेपालमा नेपाली समाजलाई यसरी नै हेर्ने क्षमताको खडेरी छ। नेपाल हल्लामा चलेको छ। घृणाको संस्कार र परपीडाको आदत बसेको छ। सबै संस्था मासेर राज्य चल्दैन भनेर कसैले भन्दैन। यो सामाजिक संरचना भत्किएको छ, त्यसको निर्माण नयाँ ढङ्गले गर्नु आवश्यक छ भन्ने कुरामा सोच्न पनि कोही तयार छैन।
‘चिनियाँहरूले आत्मविश्वास गुमाएका छन्?’ निबन्ध भनेको ‘सङ्कटकालीन समयमा राष्ट्रभित्र उत्पन्न निराशा, पलायनवाद र उग्र अन्धविश्वासको खण्डन गर्दै साँचो आत्मविश्वास कहाँ र कसरी बसेको हुन्छ भनी देखाउने’ एक ऐतिहासिक दार्शनिक दस्तावेज नै हो। यो निबन्ध पढ्दा ‘नेपालको यथार्थ पनि उस्तै देखिन्छ।’ यहाँ अहिले आत्मविश्वास मर्दै गएको छ। मानिसको सोच छरपस्ट छ। परविश्वास र आत्मवञ्चना (सेल्फ डिसेप्सन वा आत्मछलछाम) ले नेपालीका दिमागमा रजगज गरिरहेको छ।
लु सुनले ‘आत्मविश्वास’ कि ‘तसल्ली वा अन्यमाथिको विश्वास’ भन्ने प्रश्न गर्दै तत्कालीन चिनियाँ शासक र समाजका सम्भ्रान्तहरूका संकथनहरूको पोल खोल्छन्। उनी लेख्छन्: ‘पहिले हामी ‘भूमि’ (आफूआफ्ना राज्य, जस्तै हान, उइ, छि, छु आदि) माथि विश्वास गर्थ्यौं, त्यसपछि ‘वस्तु’ (सुन, चाँदी, रेशम) माथि विश्वास गर्थ्यौं, पछि हामीले ‘राष्ट्रसङ्घ (League of Nations)’ माथि विश्वास गर्यौं (पहिलो विश्वयुद्धपछि चीनका विदेशी कब्जाका भूभाग फिर्ता होलान् भनेर)। तर हामी चिनियाँहरूले कहिल्यै ‘आफैंसँग’ विश्वास गरेनौं। यदि यसलाई पनि एक किसिमको ‘विश्वास’ (कन्फिडेन्स) मान्ने हो भने, के भन्न सकिन्छ भने चिनियाँहरूमा ‘पर-विश्वास (confidence on others)’ मात्र थियो।’ जब राष्ट्रसङ्घप्रति निराशा छायो, तब त्यो पर-विश्वास पनि गुम्न पुग्यो।
जबसम्म कुनै देशका नागरिकले आफैँमाथि भरोसा र आत्मविश्वास निर्माण गर्दैनन्, उनीहरूले न त आफ्नो देशको स्वाभिमानको न त आफ्नो समृद्धिको निर्माण गर्न सक्छन्। आज हाम्रो दशा हेरौं।
लु सुनको तात्पर्य के हो भने जबसम्म कुनै देशका नागरिकले आफैँमाथि भरोसा र आत्मविश्वास निर्माण गर्दैनन्, उनीहरूले न त आफ्नो देशको स्वाभिमानको न त आफ्नो समृद्धिको निर्माण गर्न सक्छन्। आज हाम्रो दशा हेरौं। कोही कसैले देशको सुरक्षा र प्रगतिको कुरा गर्यो भने त्यसमाथि ‘अरूको लालनपालन र दानापानी खानेहरू’ जुरुक्कै उठेर उनीमाथि खनिन्छन्, किनकि उनीहरू आफ्नै देश र आफ्नै नागरिक बन्धुहरूमाथि विश्वास गर्दैनन्। उनीहरू परविश्वासका आफैँ आदती भएका छन्। नेता, बौद्धिक, व्यवसायी, व्यापारी—जहाँ तहाँ परविश्वासको रजगज छ।
लु सुनको भनाइमा यस्तो परविश्वास वा परनिर्भरतामा आफ्ना होइन, अरूका कुरा र वस्तुमा लिप्त मानिसहरू आत्मवञ्चना वा आत्मछल (सेल्फ डिसेप्सन) र अन्धविश्वासको प्रवृत्तिबाट कुण्ठित भएका हुन्छन्। लु सुन भन्छन्, ‘जब उनीहरूले पर-विश्वास गुमाउँछन्, वा अरूमाथिको निर्भरता गुमाउँछन् तब उनीहरू निराश हुन्छन् र उनीहरूको मनमा शङ्काले शासन गर्न थाल्छ।’ उनी थप्छन्, ‘यस्तो बेला आफ्नो पुरानो सोच वा दिमाग बदलेर केवल ‘आफैँमाथि विश्वास गर्नु’ एउटा नयाँ बाटो हुन सक्थ्यो, तर दुर्भाग्यवश चिनियाँहरूले त्यसलाई झन् रहस्यमय र आडम्बरपूर्ण बनाउँदै लगे...। उनीहरू त पूजापाठ, आराधना र मन्दिरमा प्रार्थना पो गर्न थाले। यसरी जब मानिसहरू आफ्ना समस्याको सम्बोधन गर्न देवीदेवताको पूजा, प्रार्थना र भाकलतिर लाग्छन् र सत्यको खोजी गर्न छोड्छन्, तब उनीहरूको झूटो विश्वास वा भ्रम झन् रहस्यमय र बेतुकको बन्छ र यसले मानिसहरूलाई लामो समयसम्म लठ्याइरहन्छ।’
लु सुन भन्छन्, ‘सत्यको खोजीबाट टाढा पुगेका टाठाबाठा, पढेलेखेका, कथित बौद्धिक र सम्भ्रान्त चिनियाँहरू अहिले ‘आत्म-वञ्चनाको शक्ति (self-deception)’ लाई बढाइचढाइ गरिरहेका छन्।’
यथार्थमा यी सम्भ्रान्त चिनियाँ समाजको प्रतिनिधित्व गर्ने मानिस नै होइनन्। यिनीहरू भ्रमित र अन्धविश्वासको बन्द घरभित्र बाँचिरहेका स्वार्थी मानिस मात्र हुन्। उनीहरूको कथित विदेशी शिक्षा र पुर्खादेखि लुटेको धनले आँखा बन्द गरिदिएको हुँदा उनीहरू समाजलाई बुझ्न नै सक्दैनन् र भ्रममा रुमल्लिएर अनापससनाप बोल्छन्।
नेपालमा सामाजिक सञ्जाल हेर्यो भने मानिस पागल हुन्छ। राजनीतिक नेतृत्वलाई हेर्यो भने दिक्दार लाग्छ। राज्यका संस्था चलाउनेहरूलाई हेर्यो भने दिक्क लाग्छ। देशको उत्पादन, उत्पादनमुखी शिक्षा, राष्ट्रको अस्तित्व, नागरिक पलायनको समस्या—अनेक समस्याका बारेमा कोही सोच्दैन। किन?
के फरक छ र नेपालको अवस्था? नेपालमा सामाजिक सञ्जाल हेर्यो भने मानिस पागल हुन्छ। राजनीतिक नेतृत्वलाई हेर्यो भने दिक्दार लाग्छ। राज्यका संस्था चलाउनेहरूलाई हेर्यो भने दिक्क लाग्छ। देशको उत्पादन, उत्पादनमुखी शिक्षा, राष्ट्रको अस्तित्व, नागरिक पलायनको समस्या—अनेक समस्याका बारेमा कोही सोच्दैन। किन? किनभने हामी परविश्वास र आत्मछलमा बाँचेका छौं।
लु सुन लेख्छन्, ‘यस अन्धकारको घेराबन्दीबीच पनि ‘आत्मविश्वास नगुमाएका चिनियाँहरू छन्।’ चीनमा प्राचीन कालदेखि नै चुपचाप कडा मेहनत गर्ने मानिसहरू, ज्यान दिएर कडा सङ्घर्ष गर्ने मानिसहरू, जनताका लागि न्याय माग्नेहरू र सत्य तथा ज्ञानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने मानिसहरू चुपचाप चीनको रक्षा गरिरहेका छन्, ज्ञानको निर्माण गरिरहेका छन्, श्रम गरिरहेका छन् र देशको प्रतिरक्षा र परिवर्तनका लागि लडिरहेका छन्...। यी व्यक्तिहरू नै यथार्थमा चीनका मेरुदण्ड हुन्। यदि कोही चिनियाँहरूले आत्मविश्वास गुमाएका छन् भनी कसैले भन्छ भने, ती आत्मविश्वास गुमाउने त शासक वा केही सीमित वर्गका मानिस मात्र हुन्। यदि यो कुरा सम्पूर्ण चिनियाँ नागरिकमाथि थोपरिन्छ भने त्यो सरासर बेइमानी र कलङ्क हो। त्यसैले चिनियाँहरूको मूल्याङ्कन गर्दा सतहमा शासक र सम्भ्रान्तहरूले छरेका आत्म-छलबाट भ्रमित हुनु हुँदैन।’
कोही चिनियाँहरूले आत्मविश्वास गुमाएका छन् भनी कसैले भन्छ भने, ती आत्मविश्वास गुमाउने त शासक वा केही सीमित वर्गका मानिस मात्र हुन्। यदि यो कुरा सम्पूर्ण चिनियाँ नागरिकमाथि थोपरिन्छ भने त्यो सरासर बेइमानी र कलङ्क हो।
सन् १९३४ को आसपास चिनियाँ राष्ट्र र समाज जापानी साम्राज्यवादी आक्रमण, आन्तरिक राजनीतिक अस्थिरता र भ्रष्टाचारको महामारीबाट गुज्रिरहेको थियो। त्यतिबेलाका केही बौद्धिक र अखबारहरूले लेखे, ‘चिनियाँहरूको राष्ट्रिय आत्मविश्वास पूर्ण रूपमा समाप्त भयो।’ यसरी उनीहरू निराशा फैलाइरहेका थिए, जसरी आज नेपालमा यस्ता अनेक भ्रमहरू छरिएका छन्। आज नेपालमा केही मानिस नियोजित ढङ्गबाट देश बर्बाद भइसकेको, अब नेपाल बन्दैन, यो देशको भविष्य केही छैन, कस्तो सतीले सरापेको देश रहेछ भनी अलाप गर्छन् तर यो दशा बदल्न केही गर्दैनन्। कसैले केही गर्न लाग्यो भने खिसीट्युरी गर्छन्। अनेक बेतुका कुराबाट थाक्दैनन्। तर यस समय र सङ्कटबाटै विचारसहितको आमूल परिवर्तनको युग सुरु हुन्छ भन्ने मानिस पनि छन्। अहिलेको अवस्था भनेको ब्वाँसोहरूले घेरेको सिंहको अवस्था हो।
आज नेपालमा कतै भनिन्छ— अब जान्नेलाई छान्ने बेला हो। कतै भनिन्छ— अब भ्रष्टाचारीलाई कारबाही हुन्छ, पाता कसिन्छ। कतै भनिन्छ— अब देश नर्क हुन्छ। यी सबै भनाइमा ‘हृदयमा सिंहासन’ बसेको छ। जे होस, हिजो र आज दुवै समयमा व्यवस्था भने उही छ र केवल व्यक्तिको परिवर्तन खोजिएको रहेछ भन्ने देखिन्छ। देशको मूल समस्या यही भ्रममा रहेको छ। वर्तमान प्रणाली थारो गाई हो। त्यसैले देश असल शासक नभएर विकास नभएको हो भन्ने संकथन एउटा दुष्ट भ्रम हो। आज पनि देशमा मानिसको खोजी भइरहेको छ, ‘विचार र रणनीतिको होइन।’ त्यति मात्र होइन, समस्याको कारण पनि खोजिंदैन। तर तथ्यबाट सत्य स्थापित नगरी परिवर्तनको मार्ग भेटिंदैन।
देश पलायनको चंगुलमा छ। दिमाग र श्रम दुवै पलायन भइरहेका छन्। समाजवादको वकालत गर्ने दलहरूको विचार पुँजीवाद छ र परिवर्तन खोज्ने चाहिँ ‘व्यवस्था चाहिँ ठीक छ, अवस्था बदल्नु पुग्छ’ भन्छन्।
आज देशमा निराशा व्याप्त छ र त्यो भ्रष्टाचारले गर्दा हो भनिएको छ। तर देशमा केही उत्पादन हुँदैन र श्रमको निर्यात गरिन्छ। देश पलायनको चंगुलमा छ। दिमाग र श्रम दुवै पलायन भइरहेका छन्। समाजवादको वकालत गर्ने दलहरूको विचार पुँजीवाद छ र परिवर्तन खोज्ने चाहिँ ‘व्यवस्था चाहिँ ठीक छ, अवस्था बदल्नु पुग्छ’ भन्छन्। थुप्रै बौद्धिकहरू चाहिँ ‘हो हो’ भन्छन्। दलहरूमा व्यक्ति फेर्ने माग छ तर विचार नष्ट भएकोमा गुनासो कतै छैन। यथार्थमा यी संकथनहरू गलत छन्। राष्ट्रको राजनीतिमा विचार क्षय भएको छ। अनुशासन र मर्यादाका सबै सिमाना भत्किएका छन्। समाज परपीडक भएको छ। अर्थतन्त्र विसर्जन भएको छ। राज्यका संस्थाहरू पतनको संघारमा छन्। परविश्वास र परनिर्भरतामा हाम्रा आदतहरू निर्माण भएका छन्। यी आदत नै आज देशको बर्बादीको मुख्य कारण हुन्, नेता र उनीहरूका एजेन्सी वा दल त केवल कर्ता माध्यम मात्र हुन्।
आज देशमा निराशा छ, त्यसको मुख्य कारण थारो अर्थतन्त्र हो। ‘बिजुली विदेशीलाई बेचेर धन कमाउन सकिन्छ भन्ने, सम्पत्ति वा आम्दानीभन्दा कर धेरै लगाएर वा नागरिक मासेर देश धनी हुन्छ भन्ने, नागरिक बेचेर कमाएको आम्दानीले अर्थतन्त्र समृद्ध हुन्छ भन्ने, अनि विदेशी ऋण लिने कुलतलाई विकासको स्रोत मान्ने तर उत्पादन र उद्योगलाई बेवास्ता गरेर देश बन्छ भन्ने भ्रमले आज देश ध्वस्त बनाइएको छ।’ हाम्रो मूल समस्या यही नै हो।
चीनमा निराशावादी भाष्यमाथि कडा प्रहार गर्दै लु सुनले भनेका छन्: ‘आत्मविश्वासको पतनको समस्या समग्र समाजको, समग्र चिनियाँ नागरिकको होइन, बरु शासक वर्ग र त्यसले बोकेको परनिर्भरताको परम्पराको हो।’ लु सुनले औँल्याएका छन्: ‘चिनियाँहरूले पहिले जमिन र भौतिक वस्तुहरूमा भर परे, त्यसपछि विदेशी शक्ति वा राष्ट्रसङ्घमाथि भरोसा गरे। जब त्यो भरपर्दो आधार टुट्यो, तब उनीहरूले यथार्थको सामना गर्नुको साटो भूतप्रेत, अन्धविश्वास र धर्मको आडमा आफूलाई भ्रमित (आत्म-वञ्चना) गर्न थाले।’
कोही मानिस युवा प्रधानमन्त्री आएपछि देश स्वर्ग हुन्छ, र आजको समस्या उमेरको हो भन्ने सिद्धान्त अगाडि ल्याउँछन्। कोही मानिस राजा आएपछि आकाशबाट पैसा झर्छ भन्छन्।
नेपालमा पनि त्यही भइरहेको छ। कोही मानिस युवा प्रधानमन्त्री आएपछि देश स्वर्ग हुन्छ, र आजको समस्या उमेरको हो भन्ने सिद्धान्त अगाडि ल्याउँछन्। कोही मानिस राजा आएपछि आकाशबाट पैसा झर्छ भन्छन्। कोही ‘राजा र हिन्दू धर्म संविधानमा लेखेपछि देश बन्छ’ भन्छन्। कोही संस्कृति र सभ्यता मास्नु, भाषा मास्नु र जातीय विभाजन गर्नुलाई धर्मनिरपेक्षता भन्दै तीन हात उफ्रन्छन्।
लु सुनले यसलाई बौद्धिकताको नष्ट वा टाट पल्टाइ हो, र समस्याबाट पलायन गर्ने दुष्प्रवृत्ति हो भनेका छन्।
लु सुनको मुख्य सार के हो भने— ‘जबसम्म नागरिक नै राष्ट्रका आधार हुन् भन्ने सोच र विचार बन्दैन र समृद्धिले मात्र नागरिकलाई स्वाभिमानी र देशभक्त बनाउँछ भन्ने दिमागमा घुस्दैन, देश बन्दैन।’ लु सुन भन्छन्, ‘इतिहासका नायक’ भनिने राजाहरू, मन्त्रीहरू वा कथित सर्वोत्कृष्ट विद्वानहरूका लेखोट राष्ट्रको क्षमता मापन गर्ने आधार होइनन्। राष्ट्रको क्षमता राज्यको स्वनिर्णयको अवस्थाबाट मापन गर्नुपर्छ। यथार्थमा ‘जमिनमुनि फैलिएका जराझैँ मौन रहेर इमानदारीपूर्वक काम गर्ने, उत्पीडन सहेर पनि न्याय र मुक्तिका निम्ति निरन्तर लडिरहने आम श्रमिक तथा देशभक्त योद्धाहरू मात्रै ‘राष्ट्रका मेरुदण्ड’ हुन्।’ सचेत बौद्धिक देशभक्तहरू र समाज बदल्ने आँट भएका अभियन्ताहरूले मात्र देशलाई सही बाटोमा डोर्याउन सक्छन्।
लु सुनको यो रचना केवल १९३४ को चीनको राजनीतिक सन्दर्भमा मात्र सीमित छैन; यो जुनसुकै देश वा कालखण्डमा सङ्कट पर्दा राष्ट्रलाई भित्रैबाट बचाउने साँचो शक्ति कहाँ हुन्छ भन्ने कुरा देखाउने एक शाश्वत मार्गदर्शक निबन्ध हो।
नागरिकको समृद्धिबिना देश बन्दैन। नागरिकको समृद्धि नागरिकप्रति समर्पित सिद्धान्त र विचारले गर्छ, ‘कुनै व्यक्तिको चमत्कारले होइन।’
हामीले भुलेको कुरा यही हो। नागरिकको समृद्धिबिना देश बन्दैन। नागरिकको समृद्धि नागरिकप्रति समर्पित सिद्धान्त र विचारले गर्छ, ‘कुनै व्यक्तिको चमत्कारले होइन।’ नेपालले खोजेको आत्मनिर्भर कृषि र औद्योगिकीकरण हो। त्यसका लागि देशको राज्यव्यवस्था ‘नागरिक सर्वोच्चता’ बोक्ने मौलिक लोकतन्त्र हो, जिसे सामुदायिक नागरिकतन्त्र भनिन्छ। पपुलिजम, एल्गोरिदमको छल, विदेशी सहायताको दुर्व्यसन, दलभित्र व्यक्तिको निरङ्कुशता, श्रमको निर्यात र वस्तुको आयातले देश बन्दैन; झन् बिग्रन्छ।
लु सुनको यो निबन्ध माओले सन् १९३५ मा ‘जुनि’ भन्ने ठाउँमा पढेका थिए र लङ मार्चको नेतृत्व गरे। आज चीन संसारको सबैभन्दा सफल अर्थतन्त्र हो। परिवर्तन नै हाम्रो सही मार्ग हो, जो विचारबाट निर्देशित हुन्छ।
तर परिवर्तनको बाटो क्रूर र पीडादायी हुन्छ। हो, एकता राख्न सकियो, सँगै हिँड्न सकियो भने बाटो सजिलो हुन्छ, परिवर्तन पनि लक्ष्यमा पुग्छ। तर हामीले के बुझ्नुपर्छ भने ‘पहाडहरू हिउँ पर्ला भनेर डराउँदैनन्।’ मानिसमा कति हो कति प्रतिभा हुन्छन्, कति हो कति बुद्धिमानी मानिस हुन्छन्। नेपाली नागरिकमा कति हो कति अंशुवर्मा, कति हो कति बिसे नगर्ची छन्, जो चुपचाप देशको पक्षमा उभिएका छन्। यदि काम समन्वयमा गर्न सकियो भने जे पनि सफल गर्न सकिन्छ।
हाम्रो गाउँमा एउटा चलन छ— ‘एउटाले हैंसे भन्छ अनि सबैले हैंसे भन्छन् र भारी उठाउँछन्।’
‘हाम्रो राज्यव्यवस्थाको स्व-निर्णयको सामर्थ्य निर्माण गर्नु’ हाम्रो वैचारिक सार हुनुपर्छ।
प्रतिक्रिया