आफ्नै इतिहासको शिक्षा

१

‘... कोतपर्व र त्यसपछिका घटनाहरूले नेपालको राजनीतिमा ...नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्‍यो । ... तापनि ... एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्वपूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौँ गुणा हानिकारक सिद्ध भयो ।’ (त्रिरत्न मानन्धर)

२

‘सन् १७७० र सन् १९५१ को बिचमा (नेपालको) शासनसत्तामा कम्तीमा चार ठुला उथलपुथल भए । सन् १८४६ मा थापा परिवारले राजनीतिक सत्तामा झन्डैजसो एकछत्र वर्चस्व कायम गर्‍यो । सन् १८४६ मा राणा परिवारले लगभग त्यस्तै हैसियत कायम गर्‍यो । सन् १८८५ मा सत्ता राणा परिवारभित्रको शमशेर खलकमा स्थानान्तरण भयो । अनि, सन् १९३४ मा 'क' श्रेणीका राणाहरू सत्ताको सर्वोच्च कमान समात्ने स्थितिमा पुगे । तर यी कुनै पनि विकसित घटनाक्रमले राजनीतिक प्रणालीको ढाँचा, लक्ष्य या तरिकामा कुनै गम्भीर प्रभाव पार्न भने सकेनन् । तिनको सर्वोपरी चासो भनेकै आफ्नो राजनीतिक तथा आर्थिक भाग्य चम्काउनुमा रह्यो ।’ (Bhuwan Lal Joshi and Leo E. Rose, Democratic Innovations in Nepal, p 485/6) सत्ताधारीहरूको साझा चरित्र, जो परिवर्तन हुन सकेन । सन् १९५१ आइपुग्दा-नपुग्दै राणा शासन पनि गर्ल्यामगुर्लुम ढल्न पुग्यो । यसमा अर्को पनि सत्य उद्घाटन भएको छ : सत्ताको घेरा जसै साँघुरो बन्दै जाँदा, जस्तो कि राणा परिवारबाट शमशेर खलक, शमशेर खलकबाट त्यसको पनि 'क' श्रेणीका राणामा सत्ता सीमित हुँदा अर्थात् सत्ताको केन्द्रीकरण बढेको अनुपातमा सत्ताको आयु पनि त छोटिँदो रहेछ ।

३

जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना भाइ, छोरा, भतिजा र नातिहरूलाई उत्तराधिकारीको रूपमा रोलक्रम मिलाइदिए । सिको उनले पनि राजतन्त्रकै विरासतको गरे, खालि फरक के भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने यहाँ उनले त्यो दायरा आफ्नै जहान परिवारभित्रै अलिक फराकिलो बनाइदिए । दुइटैको साझा मान्यता चाहिँ राज्य पारिवारिक बपौती हो, रैतीको महत्ता त फगत कर/तिरो तिर्नमा छ, बस् । तर भइदियो के भने पालो पर्खिने धैर्यता भएन । छिटो गद्दीमा आसिन हुन भित्रभित्रै तरबारमा धार लाउँदै बस्ने र मौका पाउनासाथै गर्धन छिनाउन थाले । सबैका टाउकामाथि डामोक्लिसको तरबार झुन्डिएको छ, छ । कालगतिले मर्न पनि नपाउने । को कता डाँडा कटाइएको छ, को कता लखेटिएको छ । यही उथलपुथलमा १०४ वर्ष बिते, एउटा सानो घेरामा ।

४

राणा गए । राजा खोपीबाट बाहिर निस्के । अब उनलाई देखिने मात्र भएर पुगेन, बोलिने र सुनिने पनि हुनुपर्‍यो । (यसको गवाही पछि ज्ञानेन्द्र शाहले शब्दशः दिएका हुन् ।) त्यसको निम्ति उनीहरूलाई श्रीपेच पहिरिएर मात्रै पुगेन । उनीहरू छत्रे टोपीमा सैनिक वर्दीमा ठाँटबाँटसहित सजिन पनि पछि पर्दैनथे । सोझासाझा जनता त्यसै छुलुमुतु ।

५

राजा पनि गए । नागरिक सर्वोच्चताको शासन आयो । केही राणाबाट सिके, केही राजाबाट । थोरै डेन्टिङ-पेन्टिङ गरेर । रोलक्रममा आफ्ना आफन्त, आफ्ना गुटका, आफ्ना जजमानका मानिस भर्ती गरियो । विमति राख्यो कि सिध्याइहाल्यो, आफ्नै साथीभाइको मूलोच्छेदन गरिहाल्यो । उता विमति राख्नेहरूमा पनि अलिक दिन अर्कालाई कुर्सीमा सञ्चले बस्न दिने उदारता पनि छैन । किसुनजीलाई ७ दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई २ दिन पर्खिएन । मतभिन्नता सुन्ने/सुनाउने न धैर्यता छ, न प्रभावकारी मञ्च नै । सम्बन्धको सुपर ग्लु स्तुति र चाकरीको परम्परागत आधार कत्तै शिथिल भएन । तिनले लगाउने गरेको फूलको मालाको भारी, अघिपछि हिँड्ने सुरक्षाकर्मीको एस्कर्टिङ, हुँदाहुँदा तलतल पिर्कामा उभिएर लिइने सलामी, आफ्नै सहकर्मीलाई यसलाई लाउन-खान पनि आउँदैन भनेर होच्याउने कुराले केको सङ्केत गर्छन् ? दमित सामन्ती शान । आफू कुलीन घरानामा दरिन हुने गरेका उठबस, खानपिन र भविष्यको निम्ति जोहो गर्न अपनाइएका तरिकाहरूसित आफैँले पैरवी गर्दै आएको सामाजिक मिसन (राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता र सामाजिक न्यायसहितको विकास) कसरी मेल खान्छ ? राजनीति नै यही हो भनेर बुझाउन खोजिँदै छ । राजनीतिक प्रणाली टुङ्गो लागिसकेपछि आर्थिक-सामाजिक विकासलाई निष्ठापूर्वक प्राथमिकतामा राखेर चल्नुको साटो नेतृत्व सत्ता र सुविधाको ध्याउन्नमा चुकेकै हो । पार्टी पन्थ/संरचनामा फेरिएका छन् । संसार कहाँबाट कहाँ पुगिसक्यो ?! हामी कहाँको कहाँ छौँ !

६

‘धेरैजसो नवअभिजातहरूको निम्ति राजनीति साध्यको निम्ति साधन नभएर त्यो आफैँमा साध्य भएको छ । धेरैको निम्ति यो अनन्य पेसा भयो, र राजनीतिक हैसियतले तिनको आर्थिक चकाचौध निर्धारण गर्न थाल्यो । स्थितिको यही परिवेशले गर्दा नै परम्परागत नेपाली राजनीतिमा अवसरवादको उच्च चाप पर्ने गरेको छ । नेताहरू घरिघरिजस्तो आफ्नो राजनीतिक आदर्शलाई शुद्ध आर्थिक आवश्यकतासँग सम्झौता गर्न पुगेका छन्, र उपलब्धि र दीर्घकालीन लक्ष्यमा भन्दा धोखाधडीको राजनीति र झिनामसिना लाभमा लिप्त हुने गरेका हुन्छन् ।’ (भुवनलाल जोशी र लियो रोज, Democratic Innovations in Nepal)

७

उपयुक्त राजनीतिक प्रणाली त चाहिन्छ नै, त्यससँग सङ्गति राख्ने ‘ढाँचा, लक्ष्य र तरिका’/ रणनीति, सङ्गठनात्मक प्रणाली र संरचना’ पनि चाहिँदा रहेछन्; पुरानै ढङ्गको बहावमा हेलिएर होइन । सर्वोपरि रूपमा विचार, शील र साधनाको सङ्गतिपूर्ण योग चाहिन्छ । लोकतन्त्र त साझा भविष्यको निम्ति सामूहिक सुझबुझ र सामूहिक प्रयत्नको आधारभूमि हो, तलैबाट उठेको । नेतृत्व सामूहिक संज्ञानको वारिस हुनुपर्ने थियो तर त्यो पुरानो शासनको अधिनायकको सिको गर्नमै लिप्त रह्यो । यसलाई ट्र्याकमा ल्याउन पनि हामी अझै लामो यात्रा गर्न अभिशप्त छौँ । उसो त लोकतन्त्र आफैँमा लामो उकाली-ओराली भएको यात्रा न हो ।