वामपन्थको पुनरागमन : सम्भावना कति ?

नेपालको वामपन्थी आन्दोलन अहिले एउटा अनौठो विरोधाभासको सामना गरिरहेको छ। समाजमा वामपन्थी राजनीतिका लागि आवश्यक सामाजिक तथा आर्थिक आधारहरू छन्, तर ती आधारलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्नुपर्ने कम्युनिस्ट पार्टीहरू भने जनताबाट टाढिँदै गएका छन्। समाजमा असन्तुष्टि छ, आर्थिक असमानता छ, श्रमको अवमूल्यन छ, किसानका समस्या छन्, शिक्षा र स्वास्थ्यमा वर्गीय विभाजन छ, जातीय तथा लैङ्गिक विभेद कायमै छन्। रोजगारी र अवसरको अभावले ठूलो जनसङ्ख्याको भविष्य अनिश्चित छ। तर यी समस्याबाट जन्मिएको असन्तुष्टिले वामपन्थी राजनीतिको पक्षमा स्वतः संगठित शक्ति निर्माण गरिरहेको छैन।

वामपन्थी आन्दोलनले अहिले भोग्नु परेको संकट समाजमा वर्गीय अन्तरविरोध समाप्त भएर आएको होइन। बरु समाजमा विद्यमान अन्तरविरोधलाई राजनीतिक रूपमा अभिव्यक्त गर्नुपर्ने आन्दोलन आफैँ यथास्थितिको संरक्षक बन्दै गएको कारणले आएको हो।

किन यस्तो भइरहेको छ ? यो प्रश्नको उत्तर खोज्न नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै इतिहास, नेतृत्व, विचार, राजनीतिक व्यवहार र राज्य सञ्चालनको अनुभवमाथि निर्मम समीक्षा गर्नुपर्छ। वामपन्थी आन्दोलनले अहिले भोग्नु परेको संकट समाजमा वर्गीय अन्तरविरोध समाप्त भएर आएको होइन। बरु समाजमा विद्यमान अन्तरविरोधलाई राजनीतिक रूपमा अभिव्यक्त गर्नुपर्ने आन्दोलन आफैँ यथास्थितिको संरक्षक बन्दै गएको कारणले आएको हो।

कम्युनिष्ट अस्वीकार्य हुनुको कारण

२०८२ भदौ २३ र २४ को युवा आन्दोलनले नेपालको राजनीतिक व्यवस्थासामु गम्भीर प्रश्न खडा गर्‍यो। त्यसपछिको फागुनमा सम्पन्न निर्वाचनले परम्परागत राजनीतिक दलहरूको जनाधार र वैधतामाथि अर्को कठोर फैसला सुनायो। नेकपा एमाले, नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीजस्ता लामो समयदेखि राज्यसत्ताको केन्द्रमा रहेका दलहरू रक्षात्मक अवस्थामा पुगे।

यो परिणामलाई केवल नयाँ पुस्ताको आवेग, सामाजिक सञ्जालको प्रभाव वा पुराना दलविरुद्धको क्षणिक आक्रोश भनेर बुझ्नु पर्याप्त हुँदैन। राजनीतिक असन्तुष्टिको पछाडि लामो समयदेखि सञ्चित आर्थिक, सामाजिक र संस्थागत समस्या थिए। जनताले राजनीतिक परिवर्तनको अपेक्षा गरेका थिए, तर उनीहरूको दैनिक जीवनमा परिवर्तनको अनुभूति पर्याप्त भएन। राज्यमा पहुँच हुनेहरूको अवसर विस्तार भइरहँदा सर्वसाधारणका लागि आधारभूत सेवा, सम्मानजनक रोजगारी र सुरक्षित भविष्य सुनिश्चित हुन सकेन।

जनताको असन्तुष्टि कम्युनिस्ट विचारको अन्त्यको प्रमाण होइन। यो विचार र व्यवहारबीचको दूरीमाथि गरिएको राजनीतिक प्रश्न हो। तर यस प्रश्नबाट उम्किन पनि सजिलो भने छैन।

कम्युनिस्ट पार्टीहरूले लामो समय नेपाली समाज र अर्थतन्त्रको नेतृत्व गर्ने अवसर पाए। उनीहरूले सरकार चलाए, राज्यका प्रमुख संस्थाहरूमा प्रभाव जमाए र विकास तथा समृद्धिका अनेकौँ प्रतिबद्धता व्यक्त गरे। त्यसैले उनीहरूको असफलताको मूल्याङ्कन विपक्षमा बसेको दलको भन्दा फरक हुन्छ। त्यसैले  जनताले उनीहरूलाई केवल वाचा गर्ने दलका रूपमा होइन कि आफ्नो विचार कार्यान्वयन गर्ने अवसर पाउँदा समेत त्यसो गर्न नसक्ने शक्तिका रूपमा मूल्याङ्कन गरे।

त्यसैले यहाँ बुझ्नुपर्ने कुरा के हो भने जनताको असन्तुष्टि कम्युनिस्ट विचारको अन्त्यको प्रमाण होइन। यो विचार र व्यवहारबीचको दूरीमाथि गरिएको राजनीतिक प्रश्न हो। तर यस प्रश्नबाट उम्किन पनि सजिलो भने छैन। आफूलाई श्रमिक, किसान र उत्पीडित वर्गको प्रतिनिधि भन्ने पार्टीले राज्यसत्तामा पुगेर पनि उनीहरूको जीवनमा अपेक्षित परिवर्तन ल्याउन सकेन भने त्यो पार्टीको बैचारिक धरातल र त्यसको  राजनीतिक नेतृत्व माथि नै जनताले प्रश्न उठाउँछन्। यहाँ भएको पनि त्यहि नै हो। तर, जनताले विद्रोह र मतादेश मार्फत देखाएको असन्तुष्टिलाई अरूले फैलाएको भ्रम भनेर पन्छाउनु भनेको अनुहारको कालो पुछ्नुको सट्टा ऐनालाई दोष दिनुजस्तै हो।

नेतृत्वको अनुहार नै समस्या

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको वर्तमान संकटलाई नीतिगत असफलतामा मात्रै सीमित गरेर हेर्न मिल्दैन। यसको एउटा महत्त्वपूर्ण पक्ष नेतृत्वको सार्वजनिक विश्वसनीयता पनि हो। दशकौँदेखि पार्टी र राज्यका विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वले आफ्नो क्षमताको परीक्षा पटकपटक दिइसकेका छन्। उनीहरुको पुरानो योगदान महत्त्वपूर्ण हुन सक्छ तर योगदानको इतिहास वर्तमान नेतृत्वको स्थायी औचित्यपत्र बन्न सक्दैन। कुनै समय क्रान्तिकारी भूमिका खेलेको व्यक्ति वा समूहले पछिसम्म पनि उही क्षमता, उही दृष्टि र उही राजनीतिक वैधता कायम राख्छ भन्ने हुँदैन।

के कुरा बुझ्नु जरुरी छ भने राजनीतिमा अनुभव आवश्यक हुन्छ तर अनुभव आफैँमा योग्यता होइन। अनुभवबाट सिक्ने क्षमता, बदलिँदो समाजलाई बुझ्ने दृष्टि र गल्ती सच्याउने साहस भए मात्रै अनुभव राजनीतिक पुँजी बन्छ। नत्र त्यही अनुभव सत्तामा टिकिरहने दाबीको आधार मात्र बन्छ। र, अन्ततः आम मानिसको घृणाको कारण पनि त्यही बन्छ।

नेतृत्व परिवर्तन भन्नाले पुरानो पुस्तालाई निषेध गरेर नयाँ पुस्ताको एकाधिकार स्थापना गर्नु पनि होइन। यसको अर्थ पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै निर्णय गर्ने अधिकार, जिम्मेवारी र अवसर नयाँ नेतृत्व तथा नयाँ विचारलाई हस्तान्तरण गर्नु हो।

एमालेमा केपी शर्मा ओली र माओवादी पृष्ठभूमिसहितको नेपाली कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाल तथा अन्य पुराना नेताहरूको भूमिकामाथि बहस गर्दा उनीहरूको ऐतिहासिक योगदानलाई अपमान गर्ने गरिएको छ । जुन गर्नु आवश्यक छैन। तर, यहाँ  प्रश्न अपमानको होइन, राजनीतिक उत्तराधिकारको हो। प्रश्न कसले कति वर्ष पार्टी चलायो भन्ने होइन, पार्टीले समाजलाई कहाँ पुर्‍यायो भन्ने हो। जसको जवाफमा हामि पाउँछौ कि समाज त्यहीँ छ जहाँ यो नेतृत्वले सत्ता सम्हाल्दा बखतमा थियो ।

फेरि के भुल गर्नु हुँदैन भने नेतृत्व परिवर्तन भन्नाले पुरानो पुस्तालाई निषेध गरेर नयाँ पुस्ताको एकाधिकार स्थापना गर्नु पनि होइन। यसको अर्थ पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै निर्णय गर्ने अधिकार, जिम्मेवारी र अवसर नयाँ नेतृत्व तथा नयाँ विचारलाई हस्तान्तरण गर्नु हो। किनकि निरन्तरता आवश्यक छ तर निरन्तरताको नाममा नेतृत्वको स्थायीकरण भने स्वीकार्य हुन सक्दैन।  यसो किन भनिएको हो भने राजनीतिक दल कुनै व्यक्तिको निजी सम्पत्ति होइन। पार्टीको भविष्य एउटा अध्यक्षको भविष्यसँग र देशको भविष्य एउटा नेताको राजनीतिक अस्तित्वसँग गाँसिएको छ भन्ने मान्यता स्वयंमा राजनीतिक संकटको सूचक हो।

यही कारण अहिले वामपन्थी दलहरूले अनुहार फेर्ने मात्र होइन, नेतृत्व निर्माणको विधि बदल्ने मार्गमा हिँड्नु आवश्यकता छ। अब पार्टीका हरेक व्यक्ति, विशेषगरी नेतृत्वले पार्टीभित्र फरक मत राख्ने व्यक्तिलाई शत्रु ठान्ने, नेतृत्वलाई चुनौती दिने सदस्यको राजनीतिक सम्भावना समाप्त गर्ने र प्रतिस्पर्धालाई गुटगत षड्यन्त्रका रूपमा व्याख्या गर्ने संस्कृतिबाट बाहिर निस्किनुपर्छ। नेतृत्व चुन्ने अधिकार नेतृत्वले आफैँले रोजेका उत्तराधिकारीहरूको होइन, पार्टीका सदस्यहरूको हुनुपर्छ । खुला बहस, प्रतिस्पर्धात्मक निर्वाचन, नीतिगत विकल्प र असहमतिलाई संस्थागत मान्यता नदिई अनुहार परिवर्तन गरियो भने पुरानै राजनीतिक सम्बन्ध नयाँ अनुहारबाट पुनरुत्पादन हुन सक्छ।

वामपन्थी दलहरूले अनुहार फेर्ने मात्र होइन, नेतृत्व निर्माणको विधि बदल्ने मार्गमा हिँड्नु आवश्यकता छ। अब पार्टीका हरेक व्यक्ति, विशेषगरी नेतृत्वले पार्टीभित्र फरक मत राख्ने व्यक्तिलाई शत्रु ठान्ने, नेतृत्वलाई चुनौती दिने सदस्यको राजनीतिक सम्भावना समाप्त गर्ने र प्रतिस्पर्धालाई गुटगत षड्यन्त्रका रूपमा व्याख्या गर्ने संस्कृतिबाट बाहिर निस्किनुपर्छ।

ग्राम्सीको विचार र नेतृत्वको वर्चस्व

इटालियन मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीको विचारबाट नेपालको कम्युनिस्ट पार्टीभित्रको संकटलाई बुझ्न सकिन्छ। ग्राम्सीका अनुसार कुनै शक्ति केवल बल वा संस्थागत नियन्त्रणका आधारमा टिक्दैन। मानिसलाई त्यही व्यवस्था स्वाभाविक र अपरिहार्य हो भन्ने विश्वास दिलाएर पनि आफ्नो वर्चस्व कायम राखिन्छ।

नेपालका कम्युनिस्ट पार्टीभित्र पनि यस्तै प्रवृत्ति देखिन्छ। अमुक नेताविना पार्टी चल्दैन, पुरानो नेतृत्व हटे संगठन कमजोर हुन्छ र नेतृत्वलाई चुनौती दिनु पार्टीकै अहित गर्नु हो भन्ने धारणा स्थापित गरिएको छ। यसले नेतृत्वको विकल्प खोज्ने सम्भावना कमजोर बनाएको छ। पार्टीको भविष्य एउटा व्यक्तिको निरन्तरतासँग जोडिनु संगठनात्मक समस्या मात्र होइन, वैचारिक समस्या पनि हो। नेतृत्व परिवर्तन भयो भने पार्टी समाप्त हुन्छ, पुरानो नेताविना आन्दोलन चल्दैन, नेतृत्वलाई चुनौती दिँदा संगठन कमजोर हुन्छ भन्ने धारणा विस्तारै संस्थागत हुँदै गएको छ। नेतृत्वप्रतिको व्यक्तिगत निष्ठालाई संगठनात्मक स्थिरतासँग र नेताको निरन्तरतामाथिको प्रश्नलाई पार्टीविरोधी गतिविधिसँग जोड्ने प्रवृत्तिले वैकल्पिक नेतृत्वको विकास रोक्छ।

नेतृत्व परिवर्तन भयो भने पार्टी समाप्त हुन्छ भन्ने होइन, नेतृत्व परिवर्तन गर्न नसक्ने पार्टी आफैँ कमजोर हुन्छ। पार्टीको शक्ति कुनै एक नेतामा होइन, विचार, संगठन र सदस्यहरूको सामूहिक क्षमतामा निहित हुनुपर्छ। यही कारण नेतृत्व परिवर्तनको औपचारिक घोषणाभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको वर्चस्व निर्माण गर्ने प्रक्रियामा परिवर्तन गर्नु हो।

खुला बहस, प्रतिस्पर्धात्मक निर्वाचन, नीतिगत विकल्प र असहमतिलाई संस्थागत मान्यता नदिई अनुहार परिवर्तन गरियो भने पुरानै राजनीतिक सम्बन्ध नयाँ अनुहारबाट पुनरुत्पादन हुन सक्छ। त्यसैले वामपन्थी पुनर्गठनका लागि नेताको अनुहार फेर्नु मात्र पर्याप्त छैन; नेतृत्वलाई प्रश्न गर्न, फरक मत राख्न र प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्न सक्ने संस्कार विकास गर्नु आवश्यक छ।

जब नेतृत्वको निरन्तरता नै संगठनको अस्तित्वको सर्त बनाइन्छ, तब पार्टी परिवर्तनको माध्यम नभएर यथास्थितिको संरक्षक बन्न थाल्छ। नेपालको कम्युनिस्ट आन्दोलन यही मानसिकता र संगठनात्मक संरचनाबाट मुक्त हुन सके मात्र पुनर्गठनको वास्तविक बाटो खुल्छ।

पुरानो नेतृत्वले आफ्नो ऐतिहासिक योगदानको सम्मान पाउनुपर्छ, तर त्यसका आधारमा अनिश्चित कालसम्म नेतृत्वमा रहिरहने अधिकार पाउनु हुँदैन। जब नेतृत्वको निरन्तरता नै संगठनको अस्तित्वको सर्त बनाइन्छ, तब पार्टी परिवर्तनको माध्यम नभएर यथास्थितिको संरक्षक बन्न थाल्छ। नेपालको कम्युनिस्ट आन्दोलन यही मानसिकता र संगठनात्मक संरचनाबाट मुक्त हुन सके मात्र पुनर्गठनको वास्तविक बाटो खुल्छ।

तर ख्याल गर्नुपर्ने कुरा के हो भने हरेक असहमति स्वतः प्रगतिशील हुँदैन र हरेक नयाँ अनुहार स्वतः परिवर्तनकारी हुँदैन। नयाँ पुस्ताका नाममा पुरानै स्वार्थ, अवसरवाद र सत्तामुखी प्रवृत्ति भित्रियो भने नेतृत्व परिवर्तनले संकटको बाहिरी रूप मात्रै बदल्छ। त्यसैले नेतृत्वको प्रश्नसँगै विचार, कार्यक्रम र राजनीतिक आचरणको प्रश्न जोडिनुपर्छ।

बैचारिक अस्पष्टता

नेपालको वामपन्थी आन्दोलनको अर्को गम्भीर समस्या वैचारिक अस्पष्टता हो। कम्युनिस्ट पार्टीको नाम राख्ने, मार्क्सवादको इतिहास सम्झिने र समाजवादलाई अन्तिम लक्ष्य बताउने तर वर्तमान अर्थतन्त्र, राज्यव्यवस्था र सामाजिक संरचनासम्बन्धी नीतिमा आफ्नो स्पष्ट वामपन्थी दृष्टिकोण प्रस्तुत गर्न नसक्ने अवस्थाले नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्यमाथि प्रश्न उठेको छ । कम्युनिष्ट पार्टीको कार्यक्रम र दिशा श्रम बेचेर जीविका चलाउने मानिसका पक्षमा कि श्रमबाट सिर्जित मूल्यको ठूलो हिस्सा नियन्त्रण गर्ने पुँजीका पक्षमा छ ? साना किसानका पक्षमा कि भूमिसम्बन्धी असमानता यथावत् राख्ने शक्तिका पक्षमा छ? सार्वजनिक शिक्षा र स्वास्थ्यको विस्तारका पक्षमा कि आधारभूत सेवाको पहुँचलाई व्यक्तिको क्रयशक्तिमा निर्भर बनाउने व्यवस्थाका पक्षमा छ ? उत्पादनमूलक अर्थतन्त्रका पक्षमा कि सम्पत्ति र अवसरको केन्द्रीकरणबाट लाभ लिने सीमित समूहका पक्षमा छ?

जवसम्म नेपालका कम्युनिस्ट पार्टीहरूले उनीहरू वास्तवमा कसको पक्षमा राजनीति गरिरहेका छन् भन्ने आधारभूत प्रश्नको जवाफ दिंदैनन्, तबसम्म समस्या यथावत रहन्छ र कम्युनिष्ट पार्टीको औचित्यता पुष्टि हुन नसक्ने अस्वथा समेत कायमै रहन्छ । यी प्रश्नको जवाफ दिनु भनेको सबै निजी उद्यमको विरोध गर्नु वा सम्पत्तिको अस्तित्वलाई नै अस्वीकार गर्नु होइन। यसको अर्थ अर्थतन्त्रमा पुँजी, श्रम र राज्यबीचको सम्बन्धलाई कुन सामाजिक उद्देश्यअनुरूप व्यवस्थित गर्ने भन्ने स्पष्ट पार्नु हो।

जबसम्म नेपालका कम्युनिस्ट पार्टीहरूले उनीहरू वास्तवमा कसको पक्षमा राजनीति गरिरहेका छन् भन्ने आधारभूत प्रश्नको जवाफ दिंदैनन्, तबसम्म समस्या यथावत रहन्छ र कम्युनिष्ट पार्टीको औचित्यता पुष्टि हुन नसक्ने अस्वथा समेत कायमै रहन्छ ।

वामपन्थी हुनु भनेको केवल एउटा ऐतिहासिक राजनीतिक पहिचान धारण गर्नु होइन। यसको अर्थ आर्थिक असमानता घटाउने, श्रमिकको अधिकार सुनिश्चित गर्ने, उत्पादनमा व्यापक सामाजिक सहभागिता बढाउने, सार्वजनिक सेवाको पहुँच विस्तार गर्ने र शक्ति तथा स्रोतको असमान वितरणलाई चुनौती दिने नीतिमा उभिनु हो।

कुनै पार्टीले आजै साम्यवाद स्थापना गर्न नसक्नु समस्या होइन। समस्या समाजवादको लक्ष्य बताउँदै गर्दा आजको शिक्षा नीति, स्वास्थ्य नीति, कृषि व्यवस्था, श्रम नीति, कर प्रणाली, सामाजिक सुरक्षा र सार्वजनिक लगानीका सम्बन्धमा आफ्नो छुट्टै दृष्टिकोण प्रस्तुत गर्न नसक्नु हो।

मार्क्सवादको वैचारिक सारलाई व्यवहारमा उतार्ने कामको अभाव छ जुन नेपालका कम्युनिष्टहरुले गर्नैपर्ने भएको छ। यसको अर्थ प्रत्येक नीतिको शास्त्रीय व्याख्या खोज्नु पर्छ भन्ने पनि होइन। विचारले संगठनको प्राथमिकता, राज्यको निर्णय र नेताहरूको व्यक्तिगत राजनीतिक आचरणलाई दिशानिर्देश गर्नुपर्छ। सिद्धान्त भाषणमा मात्र रहने र व्यवहारमा त्यसको उल्टो चल्ने हो भने विचार राजनीतिक सजावटमा सीमित हुन्छ। यहि सिमितताले नै आजको प्रमुख बैचारिक समस्यालाई उद्घाटित गर्छ।

अझै छ वामपन्थको सामाजिक आधार

नेपालमा वामपन्थी आन्दोलन कमजोर हुनुको कारण वामपन्थी राजनीतिका लागि आवश्यक सामाजिक प्रश्नहरू समाप्त भएर होइन। बरु ती प्रश्नको राजनीतिक प्रतिनिधित्व कमजोर भएको कारण यस्तो अवस्था निर्माण भएको हो।

श्रमको असुरक्षा, बेरोजगारी, वैदेशिक रोजगारीप्रतिको बाध्यात्मक निर्भरता, कृषिको न्यून उत्पादकत्व, भूमिसम्बन्धी असमानता, कमजोर सार्वजनिक सेवा र बढ्दो जीवनयापन खर्चले समाजको ठूलो हिस्सालाई प्रभावित गरेको छ। आम्दानीको केही स्रोत गुम्दा वा परिवारमा स्वास्थ्यसम्बन्धी ठूलो खर्च पर्दा मध्यमवर्गीय परिवारसमेत आर्थिक जोखिममा पर्न सक्छन्। शिक्षा र स्वास्थ्यको कमजोर पहुँचले मानिसको वर्तमान जीवन मात्र होइन, सन्तानको भविष्यसमेत अनिश्चित बनेको अवस्था छ।

जसले आफ्नो श्रमबाट परिवारको जीवन धान्छ, तर शिक्षा, स्वास्थ्य, आवास र भविष्यको सुरक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्छ, उसले भोग्ने असुरक्षा वामपन्थी राजनीतिको महत्त्वपूर्ण सरोकारको बिषय हुँदा यो नै सर्वाधिक बलियो आधार क्षेत्र पनि हो।

त्यसैले वर्गीय प्रश्नलाई गरिब र धनीबीचको सरल विभाजनमा मात्रै सीमित गर्नु हुँदैन। आर्थिक असुरक्षा, अवसरको असमानता र सामाजिक गतिशीलताका अवरोध एकअर्कासँग जोडिएर एउटा सामाजिक परिस्थिति निर्माण गरिरहेका छन् । जसले आफ्नो श्रमबाट परिवारको जीवन धान्छ, तर शिक्षा, स्वास्थ्य, आवास र भविष्यको सुरक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्छ, उसले भोग्ने असुरक्षा वामपन्थी राजनीतिको महत्त्वपूर्ण सरोकारको बिषय हुँदा यो नै सर्वाधिक बलियो आधार क्षेत्र पनि हो।

यसमा जातीय विभेद, लैङ्गिक असमानता, क्षेत्रीय उपेक्षा र धार्मिक वा सांस्कृतिक आधारमा हुने वञ्चितीकरण पनि जोडिन्छन्। यी सबैलाई वर्गीय प्रश्नको छायामा राखेर बेवास्ता गर्न मिल्दैन। आर्थिक शोषण र सामाजिक विभेदका स्वरूपहरू एकअर्कासँग जोडिन सक्छन्, तर तिनको आफ्नै विशिष्ट इतिहास र संरचना पनि हुन्छ।

नेपालको वामपन्थी आन्दोलनले यही जटिल सामाजिक यथार्थलाई बुझ्नुपर्छ। श्रमिकको अधिकारको कुरा गर्दा महिलाको अवैतनिक श्रम र लैङ्गिक विभेदलाई पनि सम्बोधन गर्नुपर्छ। किसानको कुरा गर्दा भूमिहीनता, साना उत्पादकको बजार पहुँच र कृषि उत्पादनको लागतलाई बुझ्नुपर्छ। समानताको कुरा गर्दा जातीय विभेद र क्षेत्रीय असमानतालाई केन्द्रमा राख्नुपर्छ। विकासको कुरा गर्दा प्रकृतिको विनाश र जलवायु परिवर्तनले कमजोर समुदायमाथि पार्ने असमान असर पनि समेट्नुपर्छ। यस्तो कार्यक्रमले मात्र वामपन्थलाई पुरानो पार्टी संरचनाको सीमित पहिचानबाट बाहिर निकालेर समकालीन समाजको वास्तविक आवश्यकता सम्बोधन गर्ने राजनीतिक शक्तिमा बदल्न सक्छ।

तर सामाजिक असन्तुष्टि आफैँमा वामपन्थी जनमत होइन। असन्तुष्ट मानिसहरू वामपन्थी, दक्षिणपन्थी, उदारवादी वा कुनै नयाँ राजनीतिक विकल्पतर्फ जान सक्छन्। उनीहरूको असन्तुष्टिलाई कुन राजनीतिक विचारले व्याख्या गर्छ र कुन संगठनले विश्वसनीय समाधान दिन्छ भन्ने कुरा निर्णायक हुन्छ। वामपन्थको सामाजिक आधार बाँकी हुनु र वामपन्थी पार्टीले त्यसलाई प्रतिनिधित्व गर्नु दुई अलग कुरा हुन् भन्ने कुरा बामपन्थी नेतृत्वले बुझ्नुपर्छ। अनि बामपन्थी शक्तिको पुनर्गठनमा ध्यान केन्द्रित गर्नुपर्छ ।

आत्मालोचना कि अर्कै बहाना

वामपन्थी पुनर्गठनको सुरुवात आत्मालोचनाबाट हुनुपर्छ। तर आत्मालोचना भनेको चुनाव हार्नुको दोष मतदाता, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, नयाँ राजनीतिक शक्तिहरू वा बाह्य प्रभावमाथि थोपर्नु होइन। न त केही नेतामाथि कारबाही गरेर सम्पूर्ण राजनीतिक अभ्यासलाई निर्दोष प्रमाणित गर्नु नै समाधान हो।

अब विगतमा कम्युनिस्ट पार्टीहरूले गरेका उपलब्धि र असफलता दुवैको यथार्थपरक लेखाजोखा आवश्यक छ। उनीहरूले विस्तार गरेका सामाजिक अधिकार, राजनीतिक सहभागिता र संस्थागत अवसरलाई स्वीकार गर्नुपर्छ। त्यस्तै, भ्रष्टाचारका आरोपमाथिको कमजोर प्रतिक्रिया, सत्ताकेन्द्रित गठबन्धन, अवसरवाद, नीतिगत असंगति र संगठनभित्रको अलोकतान्त्रिक संस्कृतिले जनविश्वासमा पुर्‍याएको क्षतिको पनि समीक्षा गर्नुपर्छ।

वामपन्थी राजनीतिले पुँजी र श्रमबीचको सम्बन्धमा आफ्नो पक्षधरता स्पष्ट गर्नुपर्छ। यसको अर्थ व्यवसायी वा निजी क्षेत्रसँग कुनै सम्बन्ध नराख्नु भन्ने होइन। उत्पादन, लगानी र रोजगारी निर्माणमा निजी क्षेत्रको भूमिका हुन सक्छ। तर लगानीको नाममा श्रमिकको अधिकार कमजोर पार्ने, सार्वजनिक स्रोतमा सीमित समूहको पहुँच बढाउने वा राजनीतिक शक्तिलाई निजी हितको साधन बनाउने अभ्याससँग सम्झौता गर्न मिल्दैन।

वामपन्थी राजनीतिले पुँजी र श्रमबीचको सम्बन्धमा आफ्नो पक्षधरता स्पष्ट गर्नुपर्छ। यसको अर्थ व्यवसायी वा निजी क्षेत्रसँग कुनै सम्बन्ध नराख्नु भन्ने होइन।

राजनीतिक नैतिकताको प्रश्न पनि यहीँ जोडिन्छ। नैतिकता भनेको व्यक्तिको निजी जीवनमाथि अनावश्यक निगरानी गर्नु होइन। यसको अर्थ सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउनु, राजनीतिक निर्णयमा स्वार्थको द्वन्द्व नियन्त्रण गर्नु, संगठनभित्र जवाफदेहिता कायम गर्नु र आफूले घोषणा गरेका मूल्यअनुरूप व्यवहार गर्नु हो।

वामपन्थी पार्टीले आफ्ना सदस्य र नेतृत्वका लागि स्पष्ट आचरणगत मापदण्ड बनाउनुपर्छ। गल्ती गर्ने नेतृत्वमाथि कारबाही गर्ने विधि हुनुपर्छ। आर्थिक स्रोत, उम्मेदवार छनोट र राजनीतिक नियुक्तिमा पारदर्शिता हुनुपर्छ। समानताको भाषण गर्ने नेतृत्वको आफ्नै संगठनमा विशेषाधिकारको संरचना कायम छ भने त्यो विरोधाभासले विचारको विश्वसनीयता नष्ट गर्छ। त्यसैले आफ्ना राजनैतिक, बैचारिक, सांस्कृतिक ब्यबहार र आचरणको निर्मम आत्मसमीक्षा र आत्मालोचनाले मात्रै बामपन्थी राजनीतिको पुनर्गठनको वातावरण सम्भव बनाउँछ ।

कांग्रेसको पुनर्गठन र वामपन्थीका लागि पाठ

नेपाली कांग्रेसको पछिल्लो पुनर्गठनले नेपालका बामपन्थीलाई समेत कम्तीमा एउटा प्रश्न माथि सोच्न अवसर दिएको छ । स्थापित राजनीतिक दलले आफ्नो नेतृत्व संरचना र प्रतिनिधित्वको शैली बदल्दा नयाँ वर्ग तथा व्यावसायिक समूहलाई आकर्षित गर्ने सम्भावना बढ्छ कि बढ्दैन? भन्ने प्रश्नमा घोत्लिंदा नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनलाई आधार बनाउन सकिन्छ ।

पुँजीपति वर्गको प्रतिनिधित्व कांग्रेसतर्फ केन्द्रित हुन सक्ने अवस्था त्यो महाधिवेसनले नेपाल कै सर्वाधिक धनि व्यक्तिलाई पार्टीको उपसभापतिमा निर्वाचित गरेको घटनाले देखाउछ । यस्तो विश्लेषणले नेपालको समकालीन वर्गीय राजनीतिबारे थप बहसको आवश्यकता किन पनि देखाउँछ भने राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सुरुमा केही व्यावसायिक समूहले राखेको अपेक्षा र त्यसपछिको राजनीतिक दूरी बढेको यथार्थताबारे पनि वामपन्थीले विचार गरेर आफ्नो वर्गीय स्वार्थलाई नै सबैले केन्द्रमा राख्छन् र राख्नुपर्छ भन्ने कुरा पुनर्पुष्टि भएको बुझ्नुपर्छ । तर यी तथ्यहरुलाई दृष्टान्तका रूपमा लिन पनि व्यापक आर्थिक तथा राजनीतिक अध्ययन आवश्यक हुन्छ।

मुख्य प्रश्न कांग्रेस कुन दिशामा जाँदैछ भन्ने होइन। वामपन्थी पार्टीहरूले बदलिँदो सामाजिक संरचना, नयाँ व्यावसायिक समूह र युवा पुस्तासँग कसरी सम्बन्ध स्थापित गर्छन् वा गर्दैनन् भन्ने हो। स्थापित पार्टीभित्र नयाँ व्यक्तिको प्रवेश, नेतृत्वमा नयाँ अनुहार र बहसका लागि ठाउँ खुल्नु उपयोगी हुन सक्छ तर संगठनमा नयाँ मानिस प्रवेश गराउँदैमा त्यसले वैचारिक परिवर्तनको सुनिश्चितता गर्दैन भन्ने कुरापनि हेक्का चाहिँ राख्नुपर्छ।

मुख्य प्रश्न कांग्रेस कुन दिशामा जाँदैछ भन्ने होइन। वामपन्थी पार्टीहरूले बदलिँदो सामाजिक संरचना, नयाँ व्यावसायिक समूह र युवा पुस्तासँग कसरी सम्बन्ध स्थापित गर्छन् वा गर्दैनन् भन्ने हो।

वामपन्थी पार्टीले पनि नयाँ पुस्तालाई केवल चुनावी प्रचार, सामाजिक सञ्जाल सञ्चालन र सभामा भीड बढाउने भूमिकामा सीमित गर्नु हुँदैन। उनीहरूलाई नीति निर्माण, नेतृत्व प्रतिस्पर्धा र संगठनात्मक निर्णयमा वास्तविक अधिकार दिनुपर्छ। तर, नयाँ पुस्ता भन्ने पदवी आफैँमा पर्याप्त छैन। उनीहरूमा राजनीतिक समझ, सार्वजनिक जवाफदेहिता र वर्गीय तथा सामाजिक प्रश्नप्रतिको प्रतिबद्धता विकास गर्ने वातावरण पनि चाहिन्छ।

पुनरागमनको सर्त

नेपालको वामपन्थी आन्दोलन फेरि बौरिन सक्छ? यसको उत्तर सम्भावनाको भाषणमा होइन यो आन्दोलनले गर्ने राजनीतिक पुनर्गठनमा निर्भर गर्छ। यसका लागी केहि अनिबार्य सर्तहरु छन् जसलाई टारेर वा नजरअन्दाज गरेर नेपालमा वामपन्थी आन्दोलनको पुनरागमन सम्भव छैन ।

पहिलो, नेतृत्वलाई प्रतिस्पर्धाका लागि खुला गर्नुपर्छ। पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय सदस्यहरूको वास्तविक प्रतिस्पर्धाबाट हुनुपर्छ। लामो समय नेतृत्व गरेका व्यक्तिहरूले पनि आफूभन्दा नयाँ पुस्ताले नेतृत्व गर्न सक्ने अवस्थालाई स्वीकार गर्नुपर्छ। पुरानो अनुभव र नयाँ दृष्टिकोणबीचको सम्बन्ध संरक्षणवादबाट होइन प्रतिस्पर्धा तथा सहकार्यबाट तय हुनुपर्छ ।

वामपन्थी एजेन्डा भनेको केवल समाजवादको घोषणा होइन। श्रमिकको न्यूनतम अधिकार, उत्पादनमूलक रोजगारी, कृषि सुधार, गुणस्तरीय सार्वजनिक शिक्षा, सुलभ स्वास्थ्य सेवा, प्रगतिशील कर प्रणाली, सामाजिक सुरक्षा र सार्वजनिक स्रोतको न्यायपूर्ण वितरणबारे मापन गर्न सकिने प्रतिबद्धता आवश्यक छ।

दोस्रो, विचारलाई कार्यक्रममा बदल्नुपर्छ। वामपन्थी एजेन्डा भनेको केवल समाजवादको घोषणा होइन। श्रमिकको न्यूनतम अधिकार, उत्पादनमूलक रोजगारी, कृषि सुधार, गुणस्तरीय सार्वजनिक शिक्षा, सुलभ स्वास्थ्य सेवा, प्रगतिशील कर प्रणाली, सामाजिक सुरक्षा र सार्वजनिक स्रोतको न्यायपूर्ण वितरणबारे मापन गर्न सकिने प्रतिबद्धता आवश्यक छ। ती प्रतिबद्धताको कार्यान्वयन कसरी गर्ने, खर्च कहाँबाट जुटाउने र उपलब्धिको मूल्याङ्कन कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्छ।

तेस्रो, पार्टीभित्रको लोकतन्त्रलाई व्यवहारमा उतार्नुपर्छ। फरक मतलाई शत्रुता ठान्ने प्रवृत्ति अन्त्य नभएसम्म पार्टीले समाजको लोकतान्त्रिक रूपान्तरणको दाबी विश्वसनीय ढङ्गले गर्न सक्दैन। खुला वैचारिक बहस, नेतृत्व चयनको प्रतिस्पर्धात्मक विधि र जिम्मेवारीको पारदर्शी वितरण संगठनको आधार बन्नुपर्छ।

चौथो, पुराना राजनीतिक गल्ती स्वीकार गर्ने साहस चाहिन्छ। विगतमा गरिएका काम सबै गलत थिए भन्नु आवश्यक छैन। तर भएका कमजोरीलाई उपलब्धिको सूचीले छोप्न पनि मिल्दैन। जनतासँगको सम्बन्ध पुनर्निर्माण गर्न उनीहरूको जीवनमा परिवर्तन ल्याउने प्रतिबद्धता र त्यसको प्रमाण दुवै आवश्यक छन्।

पाँचौँ, पार्टीको राजनीतिक नैतिकता संस्थागत हुनुपर्छ। सार्वजनिक पद, आर्थिक स्रोत र संगठनात्मक अधिकारलाई सीमित व्यक्तिको लाभका लागि प्रयोग गर्ने अभ्यासविरुद्ध वास्तविक नियन्त्रण हुनुपर्छ। विचार र व्यवहारबीचको दूरी घटाउने काम नेतृत्वबाटै सुरु हुनुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, वामपन्थले आफ्नो राजनीतिक परियोजना आजको समाजका प्रश्नबाट निर्माण गर्नुपर्छ। विगतको क्रान्तिकारी इतिहासको ब्याज खाने कुरा अब मान्य हुँदैन । अनि त्यसले भविष्यको राजनीतिक औचित्य आफैँ प्रमाणित गर्दैन। नयाँ पुस्ताले पुरानो आन्दोलनको इतिहास विरासतमा पाए पनि उसले पुराना नेताको आज्ञाकारिता विरासतमा लिनुपर्ने कुनै कारण र बाध्यता  छैन।

संकट अवसरमा बदलिन सक्छ?

नेपालमा वामपन्थी आन्दोलन पुनर्जीवित हुन अझैपनि असम्भव छैन। तर यसको पुनरागमन अनिवार्य पनि छैन। समाजमा असमानता छ भन्दैमा असमानताविरुद्धको राजनीति स्वतः वामपन्थीको हातमा आउँदैन। जनतामा असन्तुष्टि छ भन्दैमा त्यस असन्तुष्टिको नेतृत्व कम्युनिस्ट पार्टीले नै गर्छ भन्ने पनि हुँदैन।

वामपन्थी राजनीति पुनर्जीवित हुनका लागि पहिले आफ्नै राजनीतिक असफलताको कारण बुझ्नुपर्छ। नेतृत्वको निरन्तरतालाई आन्दोलनको निरन्तरता ठान्ने भ्रमबाट बाहिर निस्किनुपर्छ। विचारलाई औपचारिक घोषणाबाट निकालेर सामाजिक तथा आर्थिक नीतिमा व्यक्त गर्नुपर्छ। वर्गीय प्रश्नलाई जातीय, लैङ्गिक, क्षेत्रीय र पर्यावरणीय न्यायका प्रश्नसँग जोड्नुपर्छ। अनि जनताको दैनिक जीवनमा देखिने परिणाममार्फत आफ्नो राजनीतिक विश्वसनीयता पुनः निर्माण गर्नुपर्छ।

वामपन्थी राजनीति पुनर्जीवित हुनका लागि पहिले आफ्नै राजनीतिक असफलताको कारण बुझ्नुपर्छ। नेतृत्वको निरन्तरतालाई आन्दोलनको निरन्तरता ठान्ने भ्रमबाट बाहिर निस्किनुपर्छ।

कम्युनिस्ट पार्टीहरूका लागि अहिलेको संकट केवल चुनावी पराजय होइन। यो आफ्नो प्रतिनिधित्वको दाबी पुनः प्रमाणित गर्नुपर्ने ऐतिहासिक क्षण हो। उनीहरूले आफ्नो संगठन, नेतृत्व र नीतिमा परिवर्तन गर्न सके भने आजको असफलता नयाँ राजनीतिक यात्राको सुरुवात बन्न सक्छ। नसके जनताको असन्तुष्टिलाई  अन्य शक्तिले आफ्नो राजनीतिक परियोजनामा समेट्नेछन् र वामपन्थी पार्टीहरू आफ्नै इतिहासको गौरव  सुनाउँदा सुनाउँदै वर्तमानबाट क्रमशः अप्रासङ्गिक बन्दै जानेछन्।

राजनीतिमा कुनै विचार केवल पुरानो भएकाले मर्दैन। त्यो आफ्नो समयका प्रश्नको उत्तर दिन नसक्दा कमजोर हुन्छ। त्यस्तै, कुनै विचार केवल आफ्नो नाम र इतिहासका आधारमा पुनर्जीवित हुँदैन। त्यसले जनताको जीवनसँग नयाँ सम्बन्ध स्थापित गर्नुपर्छ।

नेपालको वामपन्थी आन्दोलनको पुनरागमनको सम्भावना आफ्नै विगतको छायाबाट बाहिर निस्केर वर्तमान समाजका वास्तविक अन्तरविरोधको पक्षमा उभिने साहसमा मात्र छ । आज नेपाली जनताले खोजेको पुरानो कम्युनिस्ट पार्टीको पुनरावृत्ति होइन, उनीहरूको जीवन, श्रम, अवसर र सम्मानका प्रश्नको उत्तर दिन सक्ने नयाँ राजनीतिक शक्ति हो। वामपन्थले यो भिन्नता बुझ्न सकेन भने संकट अझ गहिरिनेछ। बुझ्न सक्यो भने आजको राजनीतिक पराजय नै पुनर्गठनको पहिलो पाठ बन्न सक्छ।

(वामबौद्धिक एवं राजनीतिक विश्लेषक झलक सुवेदीसँग दायित्वबोधका लागि सीताराम भट्टराईले गरेको कुराकानीमा आधारित)