वैश्विक यथा हाल
पुर्खाको सिको
हुन त इस्वी संवत ४७६ मा पश्चिमी रोमन साम्राज्यको पतन भयो । तैपनि रोमन साम्राज्यको प्रतिष्ठा भने धानिदै रह्यो ।
सम्राट पोपद्वारा चुनिन्थे र उनैबाट राज्याभिषेक गरिन्थे । पछि गएर यसलाई पवित्र रोम साम्राज्य भनिन थालियो तर स्वयं रोम शहर भने साम्राज्य भन्दा बाहिर थियो । यसका अतिरिक्त यो कुनै एकल देश न भएर यो युरोप भित्रका थुप्रै सानाठुला राज्यको एउटा महासंघ थियो । यो सामन्ती अधिरचना थियो । यसमा अन्तर्निहित विसंगति र यसको पतोन्मुख अवस्थालाई संकेत गर्दै भोल्तेयरले केसम्म भन्न पुगे भने, यो साम्राज्य न पवित्र, न रोमन, न त साम्राज्य नै छ (Neither Holy, nor Roman, nor an Empire) ।
प्रचलित विश्वव्यवस्था
आज प्रचलित विश्वव्यवस्थालाई पश्चिमाहरु 'नियममा आधारित उदार अन्तर्राष्ट्रिय व्यवस्था' (Rules-Based Liberal International Order) भन्न रुचाउँछन् । तर यथार्थ अर्कै तिर संकेत गर्दछ ।
कसका नियम ?
पश्चिमाका ।
कस्ले निर्माण गरेको ?
पश्चिमाले ।
साँच्चै उदार ?
अरुलाई भनिन्छ, " तिमिले अह्राएको, खटाएको काम गर्ने हो । हामी आउँदा तिमीले आफ्ना झ्याल ढोका खुला राख्नु पर्दछ । तर हामीकहाँ आउँदा भने नजराना लिएर आउनु पर्दछ ।"
साँच्चै अन्तर्राष्ट्रिय ?
अरुलाई सारमा भनिन्छ, "तिम्रो देश वृहत्तर संयुक्त राज्यको वैश्विक वित्तीय प्रणालीको आश्रित राज्य ( vassal state) मात्रै हौं । हाम्रो सभ्यता, हाम्रो राज्य प्रणालीको तिमिले सिको गर्नु पर्दछ किनभने तिम्रो निकम्मा छ । हाम्रा अनुचरले तिमीलाई शासन गर्छन् ।"
साँच्चै सुव्यवस्था ?
"अव्यवस्था नै सुव्यस्था हो । हामी निरन्तर युद्धमा छौं । भरसक हामी छद्म युद्ध लड्छौं, अन्तिम मान्छेसम्म लडाउँछौं । केही न लाग्दा आफैं भिड्छौं ।"
'नियममा आधारित उदार अन्तर्राष्ट्रिय व्यवस्था' पनि 'न पवित्र, न रोमन, न त साम्राज्य नै' रहेको रोमन साम्राज्य जस्तै ।
विशिष्टतावाद (exceptionalism)
'नियममा आधारित उदार अन्तर्राष्ट्रिय व्यवस्था'का सञ्चालकहरु आफूलाई वैश्विक व्यवस्थाका स्वीकृत मान्यता, कानुन र मर्यादाभन्दा माथि ठान्दछन् । सनकको भरमा अग्रिम कार्वाही (preemtive action) गर्न तम्सिहाल्ने - वैश्विक व्यवस्थाको अनुमोदन नचाहिने ।उनीहरुको भावभंगिमा र चर्तिकलाले भन्छ, 'हामी अरु कुनै पनि राष्ट्रभन्दा विशिष्ट छौं, भिन्न छौं र अद्वितीय छौं । हामी विश्वगुरु हौं । सबले हामीलाई साष्टाङ्ग दण्डवत गर्नु पर्दछ । हामीलाई कुनै वैश्विक विधि विधानले छुँदैन - त्यसको हामीलाई पर्वाह छैन । हाम्रो हुकुम तामेल नगर्नेमाथि गोला बारुद वर्षाइदिन्छौं । तिम्रो राष्ट्रपतिलाई बाघले बाख्रो घिसारे झैं घिसारिदिन्छौ, फाँसीको फन्दामा झुण्ड्याई दिन्छौ । तिम्रो धर्मगुरुको इहलिला समाप्त गरिदिन्छौं । बढ्ता झ्वाँक चलायौ भने तिम्रो सभ्यता नै छिनभरमा विनष्ट गरी दिन्छौ । कसैले हाम्रो अगाडि चुरिफुरि नदेखाए हुन्छ । त्यस्तालाई ठेगान लगाउनु पर्यो भने हामीसंग उपाय छन् । कसले के नाप्छ, हामी प्रतिबन्ध (sanction)लगाइदिन्छौं, भन्सार महसुल (tariff) बढाई दिन्छौ ।'
प्रतिधारा
यो पनि साँचो हो, तिनीहरु भित्रै अर्को धारा पनि छ । त्यो स्वतन्त्रता, समानता र भातृत्वको मूल्यमा हुर्केको छ । मानवीय पनि छ । तरक्की गरेको छ र बाढीचुँढी खाउँ पनि भन्छ ।
संक्रमण
एकल प्रभुत्वको युग सिद्धियो । त्यसको ठाउँ बहुध्रुवीयताले लिंदै छ । नयाँ संक्रमणले गति लिन थालेको छ - तर थिग्रिसकेको छैन । प्रशव पीडाको अवस्था हो यो । जब थिग्रिन्छ, अनि भने सहअस्तित्व, सार्वभौमिक समानता र साझा मानवीय समुन्नतिले यथोचित स्थान पाउँला । त्यसो भयो भने बहुध्रुवीयता क्षेत्रीय महाशक्ति बिचको प्रभाव क्षेत्रको बाँड्फाँड नभएर साना ठूला, विकसित अविकसित, सामुहिक पश्चिमका हुन् या वैश्विक दक्षिणका, सबै मुलुक वैश्विक व्यवस्थाका समान साझेदार हुनेछन् - कसैलाई ठालु पल्टने छुट हुने छैन ।
आधा कुरा बुझेर वा कुरै नबुझी विवाद चलाउनेहरु
सर्वेक्षणहरु अनुसार, अमेरिकीहरू समाजवादलाई निकै रुचाउँछन्
दुईटै खुट्टा टेकेर हिँड्दै: चिनियाँ आधुनिकीकरणको समाजवाद
‘ट्रान्जेक्सनल’ विश्वव्यवस्था
दुई वर्षभित्र एआईले हरेक क्षेत्रमा मानिसलाई उछिन्ने मस्कको दाबी
आधुनिकीकरणको अर्थ पुँजीवाद होइन
जलवायु न्याय : माग्दैमा पाइएला ?
प्रतिक्रिया