अलिबिदा लियो !

मानवमैत्री मानव समेत नभएको ठाउँमा पशुमैत्री मानवको कल्पना गर्नु मेरो गल्ती त होइन ?

प्रिय लियो,

तिम्रो शरीरभरि घाउ छ, मेरो चाहिँ मुटु छियाछिया भएको छ ।

कुकुरले मान्छेलाई टोकेको खबर होइन मान्छेले कुकुरलाई टोकेको समाचार हो भन्ने गर्थे सञ्चार माध्यमका मेरा गुरुहरु । तिमीलाई मान्छेहरुले कुकुरले टोकाएर तिमीलाई मारेको चाहिँ खबर भएन । यसरी तिमीलाई मार्नेहरु अमानवीय भएका हुन् कि मान्छेलाई माया गर्ने पशु मानवीय भएका हुन् सोच्न बाध्य बनाएको छ ।  

तिमी–हामी बसेको स्थानमा तिमीजस्तो न्यायको पक्षमा उभिने मानवीय जिम्मेवार र इमान्दार मान्छे पाइनँ । तिम्रो जिम्मेवार र इमान्दार मानवीय व्यवहारले आफूलाई मान्छे भन्नेहरुलाई चिढ्यायो । तिमी हामी दलित परिवारमा आएकै कारण त्यहाँका मान्छे र तिनका कुकुरद्वारा आक्रमण तिमीलाई पटक पटक हत्या गर्ने–गराउने प्रयास भइरहयो ।

ठीक १ वर्षअगाडि एक दिन तिमी हाम्रो परिवारसँग खेतमा गएका थियौ । तिनीहरुले त्यतैतिर आफ्नो कुकुर लगेर तिमीमाथि पुनः आक्रमण गर्न लगाए । उनीहरुका २–२ वटा ठूलठूला कुकुर मिलेर तिमीमाथि आक्रमण गर्दा ज्यान बचाउन तिमीले कठोर संघर्ष गर्‍यौ । तिम्रो डेढ वर्षको शरीर रगताम्य हुँदा पनि ती कुकुरका मालिकहरु मूकदर्शक बनिरहे । तिम्रो होस पनि थिएन । मरिसक्यौ कि भनेर आस मार्दै हामीले घरमा लिएर आयौँ ।

छुटाउने क्रममा उनीहरुका कुकुरलाई अलिकति चोट लागेको रहेछ । तिम्रो औषधी उपचार गराउनु त कहाँ हो कहाँ, उल्टै कुकुरका मालिकहरुले बेलुका नै गाउँ–समाजलाई बैठक नै बसाले । 'कुकुर–कुकुरको लडाइँमा मान्छेले छुटाउने हो ? लड्न पो दिनुपर्छ, जो जित्छ जित्छ' भन्दै हामीहरुविरुद्ध शक्ति प्रदर्शन गरे अनि मेरी दिदीकी छोरी र बुहारीको चरित्रमाथि धावा बोल्दै तथानाम गालीगलौज गरे । बेहोस भएको तिमीलाई घरबाट बाहिर निकाल्छौ कि हामी मारेर फाल्छौँ कि तिमीहरु मारेर फाल्छौ भन्दै हाम्रो परिवारलाई धम्क्याए ।

गाउँ–समाजले पनि आफ्नो कुकुरको आफै उपचार गराउने फैसला गर्‍यो । तिमीलगायत तिमीमाथि पटक पटक आक्रमण गर्नेहरुलाई आआफ्नो घरमा बाँधेर राख्न निर्णय सुनायो । तिम्रो ज्यानको सुरक्षाका लागि हामीले तिमीलाई घरमा सधैँ बाँधेर राख्यौँ ।

तर पनि ती आक्रामक कुकुर र कुकुर मालिकहको धित मरेको रहेनछ । उनीहरुले आफ्ना कुकुरलाई छाडा छाडेर तिमी बाहिर समय ढुकेर बस्न लगाए । तिमी कति बेला निस्कन्छौँ र तिमीमाथि आक्रमण गर्न गराउन सकिन्छ भनी हाम्रो घरवरपर ती कुकुरलाई बस्ने बानी बसाले । तिनीहरु तिमीलाई निसाना साधेर बसिरहे । त्यसपछि कति पटक त तिमी हाम्रो घरको बरन्डामा हुँदाहुँदै पनि दिनदहाडै तानेर तिमीमाथि आक्रमण गरे । हामीले कुकुरका झगडा छुट्याईरहँदा पनि ती आक्रमक कुकुर मालिक र गाउँ मूकदर्शक बनिरहे । कुकुरको झगडा किन छुटाउन गएको भन्दै रमिता हेरिरहे ।

यही सेप्टेम्बर १२, २०२६ को विहान आठ बजेतिर पिसाब गर्न तिमी घरबाट बाहिर के गएका थियौ ती आक्रमक कुकुरहरुले पुनः आक्रमण गरे नराम्रोसँग । तिनका मालिकहरु मानौं केही नदेखेझैं–नसुनेझैं गरेर बसे । बेखबर भएर घरबाट बाहिर नै आएनन् । गाउँछिमेक मूकदर्शक बनिरहे । हामीले आक्रामकहरुबाट तिमीलाई छुटाउँदासम्म तिमी सिकिस्त घाइते भइसकेका थियौ ।

उपचारको लागि धेरै कोसिस गर्‍यौँ तर तिमीलाई बचाउन सकेनौं । हुन तत्कालै प्राथमिक उपचार दिन पाउने सुविधा थिए । गाउँमा नजिकै कुनै पशु अस्पताल छैन । करिब ५ किलोमिटर पर छ सरकारी पशु कार्यालय । त्यसमा पनि सरकारी नियमअनुसार शनिबार सार्वजनिक बिदा हुने दिन परेछ । नगरपालिकाले संचालन गरेको स्वास्थ्य सेवाअनुसार पनि पशुको डाक्टर आउने चलन नभएको हैन । फोन गर्दा उनी त शनिबार, आइतबार र तीज गरी ३ दिन बिदामा रहेछन् । उनले सीधै बाहिर लिएर जानुस् भने ।

लियो, तिमीलाई उपचारको लागि बाहिर लग्यौँ। उपचारका लागि हाम्रोतर्फबाट कुनै कमी राखेनौँ तर तिमीलाई बचाउन सकेनौं । त्यही आक्रमणले बेलुका छ बजेतिर तिम्रो ज्यान लियो । अनेक कोसिस गर्दागर्दै पनि हामी हार्‍यौं । एकपछि आक्रमण गर्ने आक्रान्ताहरूकै जित भयो । हुन त पशु भएरै होला, तिमीजस्ता पशुहरुको उपचारका लागि बिदाको दिन एमर्जेन्सी उपचार व्यवस्था नहुने रहेछ । होइन भने मानिसहरूको लागि त सरकारी अस्पताल पनि जुनसुकै बिदाको दिन भए पनि एमर्जेन्सी त खुलेकै हुन्छ । लियो, तिमी पशु भएरै त होला, कहिल्यै नफर्कने गरीकन गयौ । हाम्रा मनमा धेरै प्रश्न उठाएर गयौ । तिम्रो हत्यापछि धेरै तरिकाले सोच्दै छु, मन क्षतविछत भए पनि ।

तिमीजस्ता पशुहरूको लागि पनि राज्यबाट किन २४ सै घण्टा उपचार सेवा नगरिएको होला ?

के गैरदलित परिवारको पशु भएको भए तिमीमाथि यसरी नै पटक पटक आक्रमण भइरहन्थ्यो होला ?

दलितले पालेको जनावर भएरै होइन र, कुकुरहरुलाई त लड्न दिने हो, किन छुटाएको भन्दै मर्न मार्न दिइएको ?

तिमीलाई हामीले घरमा बाँधिँरहँदा तिनीहरुले किन आफ्ना कुकुरलाई साँढेझैं छाडेका होला ?

तिमीमाथि पटक पटक आक्रमण गराउँदै किन हत्या नै गरिएको वा गराइएको होला ?

तिमीले अन्यायमा कहिल्यै सम्झौता नगरेकै कारण तिम्रो हत्या भएको त होइन ?

यदि उनीहरु तिम्रो हत्यामा संलग्न थिएनन् भने किन समाजको निर्णयको पालना भएन ?

के तिम्रो हत्यामा संलग्न ती कुकुरहरू र कुकुरका मालिकहरूलाई पनि कानुन लाग्ला ?

मानवमैत्री मानव समेत नभएको ठाउँमा पशुमैत्री मानवको कल्पना गर्नु मेरो गल्ती र भूल त होइन ?

यी प्रश्नबारे सोच्दा कहिलेकाहीँ लाग्छ– यो देश, यो ठाउँ इमान्दारका लागि होइन रहेछ । लियो, तिमीबाट हामीले धेरै असल र सोचनीय कुरा सिकेका छौँ ।

लियो, तिम्रो माया, विचार र व्यवहारलाई जीवित राख्ने छौँ । तिमीलाई धेरै माया र सम्झना छ । हाम्रो खटिक परिवार सधैँ तिम्रो साथ रहने छ ।

अलिबिदा लियो !