मण्डेलादेखि मोर्सीसम्म : इमरान खान र पाकिस्तानी राज्यसत्ताको क्रूर परपीडक चरित्र
इमरान खानलाई राजनीतिक रूपमा समाप्त पार्ने उद्देश्यले पाकिस्तानका शासकहरूले उनलाई जेलमा कोचे। तर त्यसको ठीक उल्टो, उनीहरूले एउटा यस्तो क्रान्तिकारी प्रतीक निर्माण गरिदिएका छन्, जसको राजनीतिक कद अहिले उनीहरूको नियन्त्रणभन्दा निकै माथि पुगिसकेको छ। उनको राजनीतिक इच्छाशक्ति तोड्न असफल भएपछि अब उनीहरू उनको शरीर नै गलाउने प्रयासमा लागेको देखिन्छ। उनीहरूले रिहा गर्न डराएका त्यो मानिस अब उनीहरूको हिरासतमा नै मर्न सक्ने अवस्था सिर्जना भएको छ।
नोभेम्बर १६ मा खानका वकिल सलमान सफदरले पाकिस्तानका सर्वोच्च न्यायिक अधिकारीहरूसमक्ष एउटा गम्भीर र मर्मस्पर्शी अपिल सार्वजनिक गरे। पाकिस्तानका ७४ वर्षीय पूर्वप्रधानमन्त्री खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको, परिवारका सदस्य र कानुनी प्रतिनिधिहरूसँगको सम्पर्कमा कडा प्रतिबन्ध लगाइएको, दाहिने आँखाको दृष्टि ८५ प्रतिशत गुमेको र रक्तचाप १९३ सम्म पुगेको बताएका छन्। उनका अनुसार चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव हुने, मुटुको धड्कन अचानक बन्द हुने तथा मुटुमा पहिले नै देखिएको क्षति थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्। उनकी पत्नी बुशरा बीबीको पनि थप शल्यक्रिया नगरिए दृष्टि स्थायी रूपमा गुम्न सक्ने जोखिम रहेको बताइएको छ।
पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानका लागि स्वतन्त्र नेत्ररोग विशेषज्ञको उपस्थितिसमेत कुनै आक्रमणकारी सेनाभन्दा बढी खतरनाक बनेको छ।
पाकिस्तानी अधिकारीहरूले खानका आरोपहरू अस्वीकार गर्दै उनलाई आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराइएको दाबी गरेका छन्। तर खानका अनुसार, उपचारका लागि उनलाई शिफा इन्टरनेसनल अस्पताल लैजान र परिवारसँगको सम्पर्क पुनःस्थापित गर्न सर्वोच्च अदालतले अगस्ट १८ मा दिएको आदेश अझै कार्यान्वयन गरिएको छैन।
यस्तो लाग्छ, पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानका लागि स्वतन्त्र नेत्ररोग विशेषज्ञको उपस्थितिसमेत कुनै आक्रमणकारी सेनाभन्दा बढी खतरनाक बनेको छ।
तर सबैभन्दा डरलाग्दो आरोप खानको आँखाको दृष्टि वा मुटुसँग सम्बन्धित छैन। उनका अनुसार, जेलका कर्मचारीहरूलाई उनले अभिवादन गर्दा त्यसको जवाफ दिनसमेत निषेध गरिएको छ। उनले कुरानका आयतहरू पाठ गर्दा पनि कुनै प्रतिक्रिया नदिन उनीहरूलाई आदेश दिइएको छ।
यो केवल थुनामा राख्नका लागि दिइने सजाय होइन, यो अपमानित गर्ने, मनोवैज्ञानिक रूपमा चकनाचुर पार्ने र अन्ततः व्यक्तिलाई नै ध्वस्त पार्ने उद्देश्यले तयार पारिएको दण्ड हो।
यदि यी आरोपहरू पुष्टि भए भने, यो क्रूरताको यस्तो रूप हो, जसलाई प्रशासनिक नीतिकै रूपमा संस्थागत गरिएको छ। एकान्त कारावासले कैदीलाई समाजबाट अलग्याउँछ भने जबर्जस्ती थोपरिएको मौनताले उसको मानवीय अस्तित्व नै मेटाउने प्रयास गर्छ। यो केवल थुनामा राख्नका लागि दिइने सजाय होइन, यो अपमानित गर्ने, मनोवैज्ञानिक रूपमा चकनाचुर पार्ने र अन्ततः व्यक्तिलाई नै ध्वस्त पार्ने उद्देश्यले तयार पारिएको दण्ड हो।
यसले पाकिस्तानका शासकहरूभित्र रहेको असाधारण असुरक्षा र भयलाई पनि उजागर गर्छ।
फिल्ड मार्सल असीम मुनीर विश्वकै सबैभन्दा ठूला सैन्य प्रतिष्ठानहरूमध्ये एकको नेतृत्व गर्छन्। शरीफ र भुट्टो–जरदारी वंशका राजनीतिक परिवारहरूले पनि सैन्य संरक्षणको छत्रछायाँमुनि नागरिक सत्ताका विशेषाधिकार उपभोग गरिरहेका छन्। यी शक्तिकेन्द्रहरूको संयुक्त नियन्त्रणमा जेल, प्रहरी, गुप्तचर निकाय, मन्त्रालयहरू र राजनीतिक दमनको सम्पूर्ण संयन्त्र छ।
एउटा वृद्ध कैदीले सत्ताको यो सम्पूर्ण संरचनालाई त्रसित बनाएको छ। किनकि खान कुनै साधारण राजनीतिक प्रतिद्वन्द्वी होइनन्।
तर एउटा वृद्ध कैदीले सत्ताको यो सम्पूर्ण संरचनालाई त्रसित बनाएको छ। किनकि खान कुनै साधारण राजनीतिक प्रतिद्वन्द्वी होइनन्।
पाकिस्तानमा खानजस्तो राष्ट्रिय जनसमर्थन र अन्तर्राष्ट्रिय पहिचान एकसाथ हासिल गरेको अर्को कुनै पनि समान कदको राजनीतिज्ञ छैन। राजनीतिमा प्रवेश गर्नुअघि उनी विश्वकप विजेता क्रिकेटका महान् खेलाडी र चर्चित परोपकारी व्यक्तित्व थिए। उनका प्रशंसकहरू पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको सीमाभन्दा बाहिर, पाकिस्तानको सीमाभन्दा बाहिर, मुस्लिम समुदायको सीमाभन्दा बाहिर र भारतसम्म फैलिएका छन्। भारतमा समेत खेलकुदप्रतिको सम्मानले यस क्षेत्रका सबैभन्दा कट्टर वैचारिक विभाजनहरूलाई समेत छिचोल्ने गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गज खेलाडीहरूले पनि सार्वजनिक रूपमै उनलाई मानवीय व्यवहार गर्न माग गरेका छन्।
पाकिस्तानभित्र र प्रवासी पाकिस्तानी समुदायका लागि उनी संस्थागत भ्रष्टाचार र सेनाको राजनीतिक संरक्षकत्वविरुद्धको प्रतिरोधका प्रतीक हुन्। कश्मीरी र प्यालेस्टिनी समुदायका उनका प्रशंसकहरूका लागि उनीहरूको अधिकारको पक्षमा उनले खुलेर उठाएको आवाजको विशेष महत्त्व छ। अमेरिकी ड्रोन आक्रमण, इस्लामोफोबिया, प्यालेस्टिनीहरूप्रति इजरायली नीति र मुस्लिम राष्ट्रहरूको राजनीतिमा बाह्य शक्तिले थोपर्ने हस्तक्षेपको विरोध गरेर उनले पश्चिमा साम्राज्यवादी स्वार्थ र इजरायलको संरक्षण गर्ने क्षेत्रीय राजनीतिक व्यवस्थालाई चुनौती दिने एक असाधारण रूपमा चर्चित व्यक्तित्वको पहिचान बनाएका छन्।
मण्डेला त्यस्ता कैदीका प्रतीक हुन्, जसलाई जेलको सजायले पराजित गर्न सकेन। मोर्सी त्यस्ता कैदीका प्रतीक हुन्, जसलाई जेलकै कारण विनाशतर्फ धकेलियो।
यही कारण उनको कारावास अन्तर्राष्ट्रिय स्तरमै एउटा गम्भीर नैतिक कलङ्क बनेको छ। र यही कारण नेल्सन मण्डेला तथा मोहम्मद मोर्सीसँग गरिने तुलना यति चिन्ताजनक बनेको हो। मण्डेला र मोर्सी राजनीतिक दृष्टिले एकअर्काभन्दा बिल्कुलै फरक व्यक्तित्व थिए। उनीहरूका आन्दोलन, समर्थक आधार र उपलब्धिहरूलाई एउटै तुलामा राख्न मिल्दैन। तर उनीहरूको कारावासले अधिनायकवादी दमनका दुईवटा परिणामलाई स्पष्ट पार्छ।
मण्डेला त्यस्ता कैदीका प्रतीक हुन्, जसलाई जेलको सजायले पराजित गर्न सकेन। मोर्सी त्यस्ता कैदीका प्रतीक हुन्, जसलाई जेलकै कारण विनाशतर्फ धकेलियो।
२७ वर्षको कारावासले मण्डेलालाई प्रतिरोधका एक नेताबाट अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनको प्रतीकमा रूपान्तरण गर्यो। उनका जेलरहरूले उनको भौतिक जीवनमाथि नियन्त्रण त कायम गरे, तर अन्ततः उनले प्रतिनिधित्व गरेको राजनीतिक आन्दोलनलाई दबाउन असफल भए। उनी जेलबाट बाहिर निस्कँदा रंगभेदको व्यवस्था पतन भइसकेको थियो।
मोर्सीको यात्रा भने यसको ठीक विपरीत रह्यो। इजिप्टका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोर्सीलाई सन् २०१३ मा सेनाले सत्ताच्युत गर्यो। लामो समयदेखि उनको थुनाको अवस्था र स्वास्थ्य उपचारप्रति गम्भीर चिन्ता व्यक्त भइरहेका बेला उनलाई जेलमा राखियो र सन् २०१९ मा अदालतमा सुनुवाइका क्रममा उनको मृत्यु भयो। उनी कहिल्यै स्वतन्त्र भएर जेलबाट बाहिर निस्कन पाएनन्। उनको मृत्युपछि उनलाई हिरासतमा राख्नेहरूको जिम्मेवारीलाई लिएर गम्भीर प्रश्नहरू उठे। अहिले खान पनि यिनै दुई सम्भावनाको बीचमा उभिएका छन्।
तर मोर्सीकै सन्दर्भमा जस्तै, खानको स्वास्थ्य अवस्था खस्किँदै गएको भन्ने विवरणले पनि एउटा भयावह सम्भावना जन्माएको छ—राज्यले आफूले आवाज दबाउन नसकेको कैदीको मृत्युकै जिम्मेवारीसमेत बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
यहाँ अर्को महत्त्वपूर्ण भिन्नता पनि छ। मोर्सीको मुस्लिम ब्रदरहुडले गहिरो रूपमा विभाजित इजिप्टेली समाजको सामना गरिरहेको थियो। तर खानको जनसमर्थन असाधारण रूपमा व्यापक छ। उनको खेलकुद र परोपकारी कार्यबाट आर्जित प्रतिष्ठाले उनको राजनीतिक जीवनभन्दा धेरै अघिदेखि नै जनमानसमा स्थान बनाएको थियो, जसको प्रभाव पाकिस्तानको सीमाभन्दा धेरै टाढासम्म फैलिएको छ।
पाकिस्तानका शासकहरूले आफ्नो व्यवहारबाट मण्डेलासँग सम्बन्धित राजनीतिक विडम्बना त सिर्जना गरिसकेका छन्। अब उनीहरू मोर्सीको जस्तै दुःखद नियति दोहोरिने जोखिम मोलिरहेका छन्।
इतिहासको विडम्बना अत्यन्तै क्रूर छ। कल्याणकारी राज्य, भ्रष्टाचारविरोधी अभियान र राजनीतिक स्वाधीनतासँग जोडिएका एक सुधारवादी–राष्ट्रवादी राजनीतिज्ञलाई निरन्तरको उत्पीडनले पाकिस्तानको सैन्य प्रभुत्वमा आधारित सत्ता व्यवस्थाविरुद्धको प्रतिरोधको सबैभन्दा ठूलो प्रतीकमा रूपान्तरण गरिदिएको छ।
स्पष्ट छ, जनताले आफ्नो मताधिकार प्रयोग गरेर सत्ताको समीकरणलाई चुनौती नदिएसम्म मात्रै लोकतन्त्र पवित्र मानिन्छ।
अन्यत्र हुने स्वेच्छाचारी गिरफ्तारी, विदेशी कब्जा र अधिनायकवादविरुद्ध चर्को आवाज उठाउने पश्चिमा सरकारहरू तथा मुस्लिम बौद्धिक संस्थाहरूले खानमाथि भइरहेको उत्पीडनको विषयमा भने प्रायः देखिने गरी सतर्क र मौन व्यवहार अपनाएका छन्।
यो पाखण्ड पाकिस्तानमा मात्रै सीमित छैन। अन्यत्र हुने स्वेच्छाचारी गिरफ्तारी, विदेशी कब्जा र अधिनायकवादविरुद्ध चर्को आवाज उठाउने पश्चिमा सरकारहरू तथा मुस्लिम बौद्धिक संस्थाहरूले खानमाथि भइरहेको उत्पीडनको विषयमा भने प्रायः देखिने गरी सतर्क र मौन व्यवहार अपनाएका छन्।
जेलरको राष्ट्रियताले कैदीको अधिकारलाई बदल्दैन। न त जेलरको राजनीतिक अनुकूलताले विश्वव्यापी सिद्धान्तको पक्षमा उभिएको दाबी गर्नेहरूलाई मौन बस्ने छुट दिन्छ।
पाकिस्तानलाई थाहा छ—कुनै नेताको भौतिक अस्तित्व समाप्त पार्दैमा उनीसँग जोडिएको राजनीतिक स्मृतिलाई मेटाउन सकिँदैन। जुल्फिकार अली भुट्टोको मृत्युदण्ड र बेनजिर भुट्टोको हत्याले पाकिस्तानको इतिहासमा निर्णायक अध्यायको रूप लिएका छन्।
तर अब यो विषय भूराजनीतिक बहसमा मात्रै सीमित छैन। यो जीवन र मृत्युको प्रश्न बनिसकेको छ। पाकिस्तानलाई थाहा छ—कुनै नेताको भौतिक अस्तित्व समाप्त पार्दैमा उनीसँग जोडिएको राजनीतिक स्मृतिलाई मेटाउन सकिँदैन। जुल्फिकार अली भुट्टोको मृत्युदण्ड र बेनजिर भुट्टोको हत्याले पाकिस्तानको इतिहासमा निर्णायक अध्यायको रूप लिएका छन्।
मण्डेलाले कारावासको सामना गरे, जीवित रहे र अन्ततः आफ्ना उत्पीडकहरूको पराजय देख्न पाए। मोर्सीको भने हिरासतमै मृत्यु भयो र उनको मृत्युसँग जोडिएका परिस्थितिको जवाफदेहिता उनका जेलरहरूमाथि छाडेर गए।
खानले न सत्ता मागिरहेका छन्, न कुनै विशेषाधिकार। उनी केवल स्वास्थ्य उपचार, आधारभूत मानवीय सम्मान र न्याय प्राप्तिका लागि जीवित रहन पाउने अवसर मागिरहेका छन्। पाकिस्तानका शासकहरूले आफ्नै व्यवहारबाट उनलाई मण्डेलाजस्तै प्रतिरोधको प्रतीक बनाउन ठूलो भूमिका खेलिसकेका छन्। अब उनीहरूले उनलाई पाकिस्तानको मोर्सी बन्न दिनु हुँदैन।
खानको मृत्यु भयो भने इतिहासले उनका जेलरहरूलाई मात्रै कठघरामा उभ्याउने छैन। संयुक्त राष्ट्रसंघ, मानवअधिकारवादी संस्थाहरू, पाकिस्तानी तथा मुस्लिम नेताहरू र प्रगतिशील अभियन्ताहरूलाई पनि कठघरामा उभ्याउनेछ।
किनकि यदि खानको मृत्यु भयो भने इतिहासले उनका जेलरहरूलाई मात्रै कठघरामा उभ्याउने छैन। संयुक्त राष्ट्रसंघ, मानवअधिकारवादी संस्थाहरू, पाकिस्तानी तथा मुस्लिम नेताहरू र प्रगतिशील अभियन्ताहरूलाई पनि कठघरामा उभ्याउनेछ। उनीहरूसँग बोल्ने शक्ति थियो, हस्तक्षेप गर्न सक्ने प्रभाव थियो र कदम चाल्ने अवसर पनि थियो तर उनीहरूले मौनता रोजे। न्यायको उपदेश दिने तर व्यवहारमा मौनता साँध्ने, अन्यत्र हुने उत्पीडनको निन्दा गर्ने तर यहाँ त्यसलाई स्वीकार गर्नेहरूले पनि यस्तो दुःखद घटनाको नैतिक जिम्मेवारी बोक्नुपर्नेछ, जुन उनीहरूले चाहेको भए रोक्न सक्थे।
अफ्रिकन नेसनल कंग्रेसको पतन
एपेकको कार्यसूचीका लागि ग्लोबल साउथको एउटै साझा माग : ऋण मिनाहा
इजरायललाई अमेरिकी सहायता बन्द गर्ने ट्रम्पको घोषणा
अमेरिकी मध्यावधि निर्वाचनमा 'निलो लहर' र ट्रम्प प्रशासनमाथिको ठूलो धक्का
रूस–युक्रेन युद्ध: चार वर्षपछि पनि किन टुंगिन सकेको छैन यो युद्ध?
इरान युद्ध र तेस्रो विश्वयुद्धको बहस: विश्व साँच्चै कता जाँदै छ?
तेस्रो विश्वयुद्धको संघारमा विश्व : इरानमाथि आणविक हमलाको खतरा
प्रतिक्रिया