मानव स्वास्थ्य र प्रकृतिको अनौठो अचम्मको साइनो
प्रकृतिले हामीलाई जीवन निर्वाहका लागि मात्र नभई सम्पूर्ण शारीरिक तथा मानसिक स्वास्थ्यको सुरक्षाका लागि विभिन्न किसिमका खाद्य वस्तुहरू उपहारस्वरूप प्रदान गरेको छ। हाम्रो शरीरका विभिन्न अङ्गहरूको बनोट र तिनै अङ्गहरूसँग मिल्दोजुल्दो आकार भएका प्राकृतिक खाद्य पदार्थहरूबीचको अनौठो सम्बन्ध परापूर्वकालदेखिनै वैज्ञानिक र आयुर्वेदिक अध्ययनको विषय बन्दै आएको छ। आधुनिक चिकित्सा विज्ञान र पोषणसम्बन्धी आधिकारिक अनुसन्धानहरूले समेत यी खाद्य पदार्थहरूमा लुकेका औषधीय गुणहरूलाई पुष्टि गरेका छन्। प्रकृतिको यो अद्भुत सिर्जनालाई नजिकबाट नियाल्दा, हामीले खाने आहार र हाम्रा अङ्गहरूको संवर्धनबीच गहिरो तालमेल रहेको प्रष्ट हुन्छ।
हाम्रो शरीरको सबैभन्दा जटिल र महत्त्वपूर्ण अङ्ग मस्तिष्क हो, जसले सम्पूर्ण शरीरको सञ्चालन गर्दछ। ओखर (Walnut) को बाहिरी तथा भित्री बनोट निक्कै मिल्दोजुल्दो ढङ्गले मानव मस्तिष्कको दुई गोलार्ध (hemispheres) र सुरैरूपमा चाउरी परेको भागसँग मिल्दोजुल्दो हुन्छ। वैज्ञानिक अनुसन्धानहरूका अनुसार ओखरमा उच्च मात्रामा ओमेगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइन्छ, जसले स्मरणशक्ति बढाउन र मस्तिष्कको कार्यक्षमतालाई सबल बनाउन प्रत्यक्ष रूपमा सहयोग पुर्याउँछ। नियमित रूपमा ओखरको सेवन गर्दा उमेर ढल्किँदै जाँदा आउने मानसिक ह्रास तथा डिमेन्सिया जस्ता समस्याहरूको जोखिम कम हुने पोषणविद्हरू बताउँछन्।
त्यस्तै, मानव शरीरको सौन्दर्य र बाहिरी संसार हेर्ने महत्त्वपूर्ण माध्यम आँखा हो। बदाम र गाजरले आँखाको स्वास्थ्यमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छन्। बदाममा पाइने भिटामिन ई ले उमेरसँगै उत्पन्न हुने मक्युलर डिजेनेरेसन (macular degeneration) जस्ता गम्भीर नेत्र समस्याहरूको जोखिमलाई कम गर्न मद्दत गर्दछ। अर्कोतर्फ, गाजरलाई काट्दा देखिने रिङ र यसको केन्द्रभाग मानव आँखाको पुतलीसँग हुबहु मिल्छ। गाजरमा पाइने बिटा-क्यारोटिन र भिटामिन ए ले रेटिनालाई स्वस्थ राख्न तथा रातको समयमा स्पष्ट देख्न सहयोग पुर्याउँछ, जसले आँखाको ज्योतिलाई दिगो बनाउँछ।
शरीरको सौन्दर्य र बलियोपनको अर्को आधार केश र टाउकोको छाला हो। धनियाँ लगायतका हरियो वनस्पतिहरूले कपडाको जरालाई आवश्यक पर्ने पोषण तत्वहरू आपूर्ति गर्न ठूलो भूमिका खेल्छन्। टाउकोको छाला स्वस्थ राख्न र कपाल झर्ने समस्यालाई नियन्त्रण गर्न धनियाँमा पाइने विभिन्न खनिज तथा भिटामिनहरू अत्यन्तै उपयोगी मानिन्छन्। यसले कपालको जरालाई मजबुत बनाउँछ र टाउकोमा रगतको सञ्चारलाई तीव्र बनाउँछ।
मानव जीवनमा हाँसो र प्रसन्नताको ठूलो महत्व हुन्छ। केराको नियमित सेवनले मूडलाई प्रफुल्लित बनाउन मद्दत गर्दछ। यसको पछाडि मुख्य कारण केरामा पाइने भिटामिन बी९ (फलेट) हो, जसले शरीरमा एन्टी-डिप्रेसेन्ट गुणहरूलाई बढावा दिन्छ। यसले मानसिक तनावलाई कम गरी मानिसलाई खुसी र ऊर्जावान महसुस गराउँछ।
त्यसैगरी, कानको भित्री संरचनामा रहेका तीन वटा साना हाडहरूले ध्वनि तरंगलाई मस्तिष्कमा सञ्चार गर्न काम गर्छन्। च्याउमा पाइने भिटामिन डी ले हड्डीको सुदृढीकरणका लागि विशेष योगदान पुर्याउँछ, जसले गर्दा कानभित्र रहेका ती अति सूक्ष्म हाडहरूको स्वास्थ्य र कार्यप्रणाली सुरक्षित रहन्छ।
मानव जीवनको सञ्चालन गर्ने मुटुको स्वास्थ्यका लागि लसुन र गोलभेडा अचूक औषधि मानिन्छन्। लसुनको बनोट र यसको नियमित सेवनले रक्तसञ्चार प्रणाली र मुटुसँग सम्बन्धित धेरै रोगहरूलाई रोकथाम गर्न मद्दत गर्छ। लसुनले रक्तनलीहरूलाई सफा राख्न र रक्तचाप नियन्त्रण गर्न सघाउँछ। यसैगरी, गोलभेडालाई काटेर हेर्दा यसका कोठाहरू मानव मुटुको चेम्बरसँग मिल्छन्। गोलभेडामा पाइने लाइकोपीन नामक तत्वले खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा घटाउनुका साथै स्ट्रोकको जोखिमलाई न्यून बनाउँछ।
श्वासप्रश्वास प्रणालीको प्रमुख अङ्ग फोक्सो र अंगुर बीच पनि अनौठो सम्बन्ध रहेको छ। अंगुरका दानाहरूको झुप्पा फोक्सोभित्र हावा आदानप्रदान गर्ने वायुकोला (Alveoli) सँग मिल्दोजुल्दो हुन्छ। ताजा अंगुरको सेवनले फोक्सोको क्यान्सर र इम्फिसेमा (emphysema) जस्ता घातक श्वासप्रश्वासजन्य रोगहरूको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
शरीरको ढाँचा निर्माण गर्ने हाडहरूको बलियोपनका लागि सेलरीको सेवन अत्यन्त लाभदायक मानिन्छ। सेलरीमा प्राकृतिक सोडियमको मात्रा पाइन्छ, जसले कंकाल प्रणालीको आवश्यकतालाई परिपूर्ति गर्दै हाडलाई बलियो बनाउन प्रत्यक्ष रूपमा सहयोग गर्दछ। यसले जोर्नीहरूको दुखाइ र हड्डी खिइने समस्याबाट बचाउँछ।
महिलाहरूको स्वास्थ्य सन्दर्भमा स्याउ र अनारले स्तन क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छन्। स्याउमा पाइने फाइबर र फाइटोकेमिकल्सले स्तनको स्वास्थ्यलाई सुरक्षित राख्न र घातक कोषहरूको वृद्धि रोक्न मद्दत गर्छ। त्यस्तै, अनारको दानाहरूले महिलाको समग्र प्रजनन स्वास्थ्य र क्यान्सर रोकथामको आहारमा स्वादिष्ट एवम् स्वस्थकर विकल्प प्रदान गर्दछ।
पाचन प्रणालीको प्रमुख अङ्ग कलेजोको लागि नासपाती निकै उपयोगी हुन्छ। नासपातीमा पाइने पेक्टिन (Pectin) नामक प्रमुख यौगिकले कलेजोलाई बोसो र कोलेस्ट्रोल पचाउन सहज बनाउँछ। यसले कलेजोको कार्यक्षमतालाई सुदृढ पार्दै शरीरबाट विषालु पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।
अग्न्याशय वा प्यान्क्रियाजको स्वास्थ्यका लागि सख्खरखण्डको सेवन अति उत्तम मानिन्छ। सख्खरखण्डले प्यान्क्रियाजको कार्यप्रणालीलाई बढावा दिनुका साथै प्यान्क्रियाटिक क्यान्सरको जोखिमलाई ५० प्रतिशतसम्म कम गर्न सहयोग गर्ने विभिन्न अध्ययनहरूले औँल्याएका छन्।
पाचन प्रणालीलाई सहज बनाउन अदुवाको भूमिका अतुलनीय छ। पेट दुख्ने समस्या, अपच र ग्यासको समस्यालाई कम गर्न अदुवा अत्यन्त प्रभावकारी मानिन्छ। यसले पेटभित्रको असजिलोपनलाई हटाई पाचन रसहरूको स्रवणलाई नियन्त्रण गर्छ।
त्यस्तै, राजमा वा रातो सिमीले मृगौलाको स्वास्थ्यलाई सुदृढ पार्न महत्वपूर्ण योगदान दिन्छ। मृगौलाको आकारसँग मिल्ने रातो सिमीले शरीरको सन्तुलित आहारलाई पूर्णता दिनुका साथै समग्र मृगौलाको कार्यक्षमतालाई स्वस्थ राख्न सघाउँछ।
महिलाको प्रजनन अङ्गहरू जस्तै पाठेघर र अण्डाशयको सन्दर्भमा एभोकाडो, जैतुन र अन्जीरको विशेष महत्व छ। एभोकाडोको आकार पाठेघर र सर्भिक्ससँग ठ्याक्कै मिल्छ र यसले हर्मोनको सन्तुलन मिलाउन तथा प्रजनन क्षमता बढाउन 'फर्टिलिटी फुड' को रूपमा काम गर्छ। जैतुनको सेवनले अण्डाशयको क्यान्सरको जोखिमलाई घटाउँछ। प्राचीन ग्रिकहरूले समेत अन्जीरमा पाइने उच्च आइरन तत्वले स्वस्थ अण्डा र ओभुलेसनका साथै पुरुषको वीर्यको संख्या र गतिशीलता बढाउन मद्दत गर्ने विश्वास राख्थे।
हाडको बलियोपनका लागि भिन्डीमा पाइने भिटामिन के ले क्याल्सियम शोषण गर्न र ओस्टियोपोरोसिस जस्ता रोगबाट बचाउन ठूलो मद्दत पुर्याउँछ। प्याजमा पाइने फाइबर र फोलिक एसिडले शरीरमा स्वस्थ नयाँ कोषहरू निर्माण गर्न सघाउँछन्। आलुको पेस्टले मुहारको छालालाई सुन्दर बनाउन चमत्कारिक काम गर्छ भने ओट (Oat) ले छालाको सुख्खापन र एक्जिमा (eczema) जस्ता समस्याहरूलाई हल गर्न मद्दत पुग्छ ।
त्यसबाहेक सेतो सिमी, टोफु र नरिवल जस्ता खानेकुराहरु क्याल्सियमका राम्रा स्रोत हुन्, जसले शाकाहारी भोजन गर्ने मानिसहरूका लागि हाडको सुदृढीकरणमा ठूलो सहयोग पुर्याउँछन्। ब्रोकाउली (Broccoli) को बनोट क्यान्सरको कोषहरूसँग मिल्दोजुल्दो देखिन्छ र यसको नियमित सेवनले प्रोस्टेट क्यान्सरको जोखिमलाई ४५ प्रतिशतसम्म कम गर्न सक्ने अनुसन्धानले देखाएको छ। मानव शरीरको समग्र संरचना जस्तै देखिने एक विशेष जराजिनसिङ (Genseng) ले नियमित सेवनकर्ताहरूको मस्तिष्कलाई तन्दुरुस्त राख्न र शरीरलाई सम्पूर्ण रूपमा ऊर्जावान बनाउन एक समग्र उपचारको रूपमा काम गर्छ।
वास्तवमा प्रकृतिले हामीलाई स्वस्थ रहनका लागि निक्कै अनमोल उपहारहरू दिएका छन् । तिनलाई सही तरिकाले आफ्नो दैनिक आहारमा समावेश गर्न सकेमा हामी दीर्घजीवन र निरोगीता प्राप्त गर्न सक्छौं।
जलवायु परिवर्तन: सुक्खा क्षेत्र फैलिँदै, पृथ्वीको ४० प्रतिशत भूभाग प्रभावित हुन…
ओरिगेनो: एक शक्तिशाली जडिबुटी
रजनोवृत्ति र मस्तिष्क स्वास्थ्य: हर्मोन परिवर्तनको प्रभाव
अमेरिकामा तीब्र रुपमा फैलिइरहेको साइक्लोस्पोरा संक्रमण के हो ?
विश्वव्यापी जनस्वास्थ्य र मृत्यु तथा रोगको असमान वितरण
खाद्य अपव्यय: खेर फ्याँक्ने खानेकुराको विषय मात्र होइन, एउटा प्रणालीगत समस्या
जलवायु परिवर्तन: हाम्रा शासकहरूले धान्नै नसक्ने गरी बढेको गर्मी
प्रतिक्रिया