रक्सी खाएपछि हाम्रो शरीरमा के हुन्छ ?

रक्सी धेरै खाएर मातिदैँ हल्लेर हिँडेको मान्छे तपाईं आफैले पनि अवश्य पनि देख्नुभएको छ होला । रक्सी यस्तो प्रकारको पेय पदार्थ हो, जसले मानिसलाई विभिन्न तरिकाले असर पारिरहेको हुन्छ । उदाहरणको लागि कोही मानिस रक्सी खाएपछि एकदमै खुसी हुन्छन् त कोही एकदमै दुःखी हुन पुग्छन् । यसले तिनीहरुको बोल्ने र हिँड्ने तरिकामा केही फेरबदल हुने गर्छ । रक्सी खाएपछि तिनीहरु निर्बाध रुपमा हिँड्न सक्दैनन् । यस्तो बेला तिनीहरु सामान्य रुपमा बोल्न पनि सक्दैनन् ।
यसरी रक्सी खाएपछि मानिसको व्यवहारमा आउने परिवर्तन त हामी सबैले राम्ररी देखेका छौं । आखिर रक्सीले कसरी यस्तो असर पुर्याउँछ त ? यो धेरैको लागि चासो विषय हुन सक्छ ।
रक्सी के हो त ?
रक्सीले हाम्रो शरीरमा के कसरी असर पुर्याउँछ भनेर जान्नुभन्दा पहिले रक्सी के हो भनेर जान्नु जरुरी छ । वास्तवमा रक्सी भनेको सामान्य कोठाको तापक्रममा रहने एक प्रकारको तरल पदार्थ हो । रक्सीको घनत्व पानीभन्दा निकै कम हुन्छ । यो पानीको तुलनामा निकै कम तापक्रममा नै वाफमा परिणत हुने गर्छ । यही विशेषताको कारणले गर्दा पानी र रक्सीको मिश्रणबाट रक्सी छुट्टाइने गरिन्छ । यसको साथसाथै यो पानीमा पनि सजिलैसँग घोलिने गर्छ । यसलाई इन्धनको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
रक्सी मुख्य चार तरिकाहरुले बनाउन सकिन्छ ।
१. फलफूल र बालीको फर्मेन्टेसन् गरेर । (यो प्रक्रियाबाट बियर बनाइन्छ ।)
२. फलफूल र बालीको मिश्रणलाई डिस्टिलेसन् गरेर । (यो प्रक्रियाबाट ह्विस्की, रम, भोड्का र जिन जस्ता रक्सीहरुको निर्माण गरिन्छ ।)
३.. जमीनभित्र पाइने जिवाशेषलाई रासायनिक प्रक्रिया गरेर ।
(यो विधिबाट कलकारखाना आदिमा प्रयोग हुने रक्सीको निर्माण हुन्छ ।)
४. हाइड्रोजन र कार्बोन मोनोअक्साइडलाई रासायनिक प्रक्रियाबाट मिश्रण गरेर । यस तरिकाबाट निर्माण भएको रक्सीलाई मिथानोल वा काठको रक्सी पनि भनिन्छ ।
तर बजारमा सामान्य रुपमा खानको लागि प्रयोग गरिने रक्सी भनेको चाहिँ इथाइल अल्कोहल वा इथानोल हो ।
हामीले खाने हरेक मादक पदार्थमा शुद्ध रक्सी भने हुँदैन । किनभने शुद्ध रक्सीको केही मात्रा खायो भने पनि हाम्रो रगतमा रक्सीको मात्रा धेरै नै बढ्ने गर्छ, जसले हामीलाई निकै ठूलो हानी गर्न सक्छ । विभिन्न खाले मादक पदार्थमा पाइने रक्सीको मात्रा निम्न रहेको छ ।
१. बियर: ४ देखि ६ प्रतिशत
२. वाइन: ७ दखि १५ प्रतिशत
३. स्याम्पेन: ८ देखि १४ प्रतिशत
४. रम, जिन, भोड्का, विस्की आदि: ४० देखि ९५ प्रतिशत
तर हामीले बजारमा किन्ने रम, जिन, भोड्का, ह्विस्कीहरुमा भने केवल ४० प्रतिशत मात्र रक्सी पाइन्छ । धेरै मात्रा रक्सी भएको त्यस्ता मादक पदार्थहरु भने गैरकानुनी रुपमा मात्र भित्रिने गर्छन् ।
कसरी रक्सी हाम्रो शरीरमा छिर्ने र निस्कने गर्छ ?
जब एउटा मानिसले कुनै मादक पदार्थ खान्छ, त्यहाँ भएको २० प्रतिशत रक्सी उसको पेट र बाँकी ८० प्रतिशत रक्सीलाई सानो आन्द्राले सोस्ने गर्छ । रक्सी सोस्ने समय कति लाग्छ भन्ने कुरा विभिन्न कारणमा भरपर्छ । ती निम्न रहेका छन्:
१. मादक पदार्थमा जति धेरै रक्सीको मात्रा भयो, त्यति नै चाँडो हाम्रो शरीरले रक्सी सोस्ने गर्छ ।
२. मादक पदार्थमा कार्बोनेट छ भने पनि रक्सी निकै चाँडो सोसिने गर्छ ।
३. खाली पेट मादक पदार्थ खाँदा पनि रक्सी चाँडै सोसिने गर्छ । खानाले रक्सी सोस्ने गतिलाई नियन्त्रण गर्ने गर्छ ।
पेट र आन्द्राले रक्सीलाई सोसेपछि त्यो सिधै गएर हाम्रो रगतसँग मिसिने गर्छ । यसरी रगत सँगसँगै रक्सी पनि शरीरभरि फैलिन थाल्छ । विस्तारै रक्सी हाम्रो शरीरमा रहेको विभिन्न खाले कोषहरुमा रहेको पानीसँग मिसिन थाल्छ । तर यो बोसोयुक्त कोषसँग भने घोलिन सक्दैन । एकपटक हाम्रो कोषमा छिरेपछि रक्सीले विभिन्न असरहरु देखाउन थाल्छ । यो असर हाम्रो रगतमा रहेको रक्सीको मात्रासँग सम्बन्धित हुन्छ । यसलाई ब्लड अल्कोहल कन्टेन्ट (Blood Alcohol Content (BAC)) भनिन्छ । यसको मात्रा हामीले रक्सी खाएको करिब २० मिनेट भित्र बढ्ने गर्छ ।
शरीरले सोसेको रक्सी सधैँभरि हाम्रो शरीरमा भने रहँदैन । यो मुख्य तीन तरिकाबाट हाम्रो शरीरबाट निस्कने गर्छ ।
१) मृगौलाबाट करिब ५ प्रतिशत रक्सी पिसाबको रुपमा निस्कने गर्छ ।
२) हामीले सास फेर्दा पनि करिब ५ प्रतिशत रक्सी बाफ भएर उड्ने गर्छ ।
३) बाँकी रक्सीलाई भने कलेजोले एसिटिक अम्लमा परिवर्तन गर्ने गर्छ ।
औसतमा एउटा व्यक्तिले एक मिनेटमा करिब १५ मिलिलिटर रक्सी त्याग्न सक्छ । जसको अनुसार करिब ३५५ मिलिलिटरको बियरलाई पूर्ण रुपमा त्याग्न करिब १ घण्टा लाग्छ ।
रक्सीका असरहरु
यदि तपाईंले रक्सी खाएर मातेको कुनै मानिसलाई देख्नु भएको छ भने तपाईंलाई अवश्य नै रक्सीले गर्दा मानिसको व्यवहारमा आउने विभिन्न परिवर्तनहरुको बारेमा त थाहा नै होला । विभिन्न ब्लड अल्कोहल कन्टेन्टमा हाम्रो शरीरमा विभिन्न तरिकाको परिवर्तनहरु आउने गर्छन् ।
हाम्रो रगतमा रक्सीको मात्रा ०.०३ प्रतिशतदेखि ०.१२ प्रतिशत हुँदा हामीमा अलिक धेरै आत्मविश्वास आउन थाल्छ । हामी राम्ररी ध्यान दिन सक्दैनौ । हामी कुनै कुराको सही निर्णय दिन सक्दैनौ । हामी राम्ररी लेख्न वा हस्ताक्षर गर्न असमर्थ हुन्छौं । यो मात्रा ०.०९ देखि ०.२५ प्रतिशत भयो भने हामीलाई निद्रा लाग्न थाल्छ । हामी भर्खरै घटेको घटनाहरु पनि भुल्न थाल्छौं । हाम्रो हिँडने प्रक्रियाहरु सही रुपमा हुन छाड्छन् । हामी आँखा पनि राम्ररी देख्न छाड्छौं । हामी सही रुपमा सुन्न, स्वाद थाहा पाउन र केही कुरा महसुस गर्न पनि सक्दैनौं । ब्लड अल्कोहल कन्टेन्ट ०.२५ देखि ०.४ भयो भने हामी राम्ररी बोल्न पनि सक्दैनौं । हामी हिँड्न पनि सक्दैनौं । हाम्रो शरीरले प्रतिक्रियाहरु पनि जनाउन थाल्छ । हामी बान्ता गर्न थाल्छौं । हामी बेहोस पनि हुन सक्छौं । यदि यो मात्रा बढेर ०.५० पुग्यो भने हामी कोमामा पुग्छौं । यो बेला हाम्रो सास फेर्ने प्रक्रिया र मुटुको धडकन पनि ढिलो हुन्छ । रगतमा यो भन्दा पनि धेरै रक्सीको मात्रा भयो भने मानिस सास फेर्न छाड्छ र मर्न पुग्छ ।
रक्सीले मुख्य असर हाम्रो मस्तिष्कमा रहेका नसाहरुका कोषहरुमा गर्ने गर्छ । यसले गर्दा हाम्रा नसाका कोषहरु र अन्य कोषहरुबीच सम्बन्ध टुट्न पुग्छ । यसरी विभिन्न कोषहरुसँग सम्बन्ध टुटेपछि हाम्रो मस्तिष्कबाट आएका तरङ्गहरु अन्य कोषहरुमा पुग्न सक्दैनन् । यसले गर्दा तिनीहरुलाई हाम्रो मस्तिष्कले नियन्त्रण गर्न सक्दैन । त्यसैले रक्सी खाएपछि हामी असामान्य क्रियाकलापहरु गर्न थाल्छौं ।
यसले शरीरका अन्य भागहरुमा पनि असर पुर्याउने गर्छ । यसले हाम्रो आन्द्रा र पेटमा अवाञ्छित तनाव पैदा गर्छ । जसले गर्दा हामी बान्ता गर्न पुग्छौं । हाम्रो पेट र आन्द्रामा अरु बेलाभन्दा धेरै रगत पुग्ने गर्छ । जसले गर्दा पेट र आन्द्रामा अम्ल पनि धेरै उत्पादन हुन्छ । त्यसैगरी हाम्रो छालामा पनि रगत धेरै पुग्ने गर्छ । त्यही भएर हाम्रो छाला रक्सी खाएको बेला रातो हुन्छ । यस्तो बेला पसिना पनि धेरै आउँछ, जसले गर्दा शरीरको तापक्रम घट्ने गर्छ । कहिलेकाहीँ शरीरको तापक्रम सामान्यभन्दा पनि तल घट्ने गर्छ । यता हाम्रो माशंपेशीमा भने रगत कम पुग्ने गर्छ । यसले गर्दा रक्सी खाएपछि हाम्रो शरीर निकै थाक्ने गर्छ । हाम्रो शरीरबाट सम्पूर्ण रुपमा रक्सी ननिक्लेसम्म यस्ता असरहरु देखिने गर्छन् ।
मानिसहरु विभिन्न कारणले गर्दा रक्सी खाने गर्छन् । कोही दुःखमा परेर, कोही साथीको सङ्गतले गर्दा त कोही अरुलाई आफू विशिष्ट छु भनेर देखाउन । कारण जे भए पनि रक्सीले हाम्रो शरीरमा विभिन्न नकारात्मक असरहरु पुर्याउँछ । यसबाट हुने धनको नास त छँदैछ । त्यही भएर सकेसम्म यसको कुलतबाट बच्नु र त्याग्नु नै सबैको लागि फाइदाजनक हुन्छ ।
स्रोतः How stuff work

हाम्रो आमाशयलाई किन एसिडले क्षति गर्दैन !

प्राचीन उपलब्धिमध्येका एक खेतीपाती !

मानव सभ्यताका आधारशीला प्रारम्भिक आविष्कारहरू

किन मानिसका ३२ वटा दाँत हुन्छन्?

औंठा छापको प्रविधि कहिलेदेखि केका लागि प्रयोगमा ल्याइयो ?

ब्रम्हाण्डमा मानिसको हैसियत !

नाइल नदीका गोहीको स्वास रोक्न सक्ने अद्भूत क्षमता !

प्रतिक्रिया