ऋतु परिवर्तन: पृथ्वीको रमाइलो झुकाव र हाम्रो बदलिँदो मौसम

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि पृथ्वीमा कतिबेला असैह्य गर्मी र कतिबेला ठिहिर्‍याउने जाडो कसरी हुन्छ? धेरै मानिसहरूको मनमा एउटा साझा धारणा छ– जब पृथ्वी सूर्यको नजिक पुग्छ तब गर्मी हुन्छ र जब टाढा जान्छ तब जाडो हुन्छ। सुन्दा निकै तार्किक लागे पनि यो बुझाइ पूर्णतया गलत हो। सूर्यको दूरीकै कारण मौसम परिवर्तन हुने हुन्थ्यो भने पृथ्वीको सबै भागमा एकैपटक गर्मी र एकैपटक जाडो हुनुपर्ने थियो। तर वास्तविकता त्यस्तो हुँदैन; जब नेपालमा चर्को गर्मी भइरहेको हुन्छ, ठीक त्यही समयमा अस्ट्रेलियाका मानिसहरू हिउँदको जाडो सामना गरिरहेका हुन्छन्।

त्यसोभए यो मौसमको चक्र कसरी चल्छ त?

यसको वास्तविक रहस्य लुकेको छ पृथ्वीको आफ्नै बनोट र अन्तरिक्षको एउटा विशेष अवस्थितिमा। हाम्रो पृथ्वी ब्रह्माण्डमा सीधा अवस्थित रहेको छैन, बरु यो आफ्नो अक्ष (axis) मा २३.५ डिग्रीले एकातिर ढल्किएको छ। पृथ्वीको यही अनौठो झुकाव नै संसारमा ऋतु परिवर्तन गराउने मुख्य कारक तत्व हो। पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गरिरहँदा यो झुकावका कारण वर्षभरि सूर्यको किरणहरू पृथ्वीको विभिन्न भूभागमा फरक–फरक कोणबाट खस्न पुग्छन्।

यही अक्षीय झुकावले नै गर्मी र जाडोको जन्म गराउँछ। वर्षको निश्चित समयमा पृथ्वीको उत्तरी गोलार्द्ध (Northern Hemisphere) सूर्यतर्फ बढी ढल्किएको हुन्छ। यसो हुँदा त्यस क्षेत्रमा सूर्यको प्रकाश सीधा र लामो समयसम्म पर्छ, जसका कारण दिनहरू लामा हुन्छन् र त्यहाँ गर्मी महसुस हुन्छ। यसको ठीक विपरीत, वर्षको अर्को समयमा जब सोही गोलार्द्ध सूर्यबाट टाढातिर ढल्कन पुग्छ, तब त्यहाँ सूर्यको किरणहरू छड्के पर्छन्। छड्के किरणमा तापक्रम कम हुने र दिन पनि छोटो हुने भएकाले त्यस क्षेत्रमा जाडोको मौसम सुरु हुन्छ।

यसको अर्थ यो होइन कि सूर्य र पृथ्वीबीचको दूरी सधैं एउटै रहन्छ। पृथ्वीले सूर्यलाई घुम्ने बाटो पूर्ण रूपमा गोलो नभई अलिकति अण्डाकार वा दीर्घवृत्ताकार (elliptical) छ। यसले गर्दा वर्षमा दुईवटा यस्ता रोचक बिन्दुहरू आउँछन्, जसलाई विज्ञानको भाषामा 'पेरिहेलियन' र 'एफेलियन' भनिन्छ। 'पेरिहेलियन' (Perihelion) भन्नाले पृथ्वी सूर्यको सबैभन्दा नजिक पुग्ने बिन्दु हो। अचम्मको कुरा के छ भने, पृथ्वी सूर्यको सबैभन्दा नजिक जनवरीको सुरुवाततिर पुग्छ, जुन बेला नेपाल लगायतका उत्तरी गोलाद्र्धका देशहरूमा कठाङ्ग्रिने जाडो भइरहेको हुन्छ। यसले दूरीको सिद्धान्तलाई गलत प्रमाणित गरिदिन्छ।

त्यस्तै, अर्को बिन्दु हो 'एफेलियन' (Aphelion) । यो बेला पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको दूरीमा रहन्छ। यो अवस्था जुलाईको सुरुतिर आउँछ, जुन बेला हाम्रोतिर भीषण गर्मी भइरहेको हुन्छ। कतिपयले झुक्किएर यो टाढाको अवस्थालाई 'हिलियम' भन्ने गरेको पाइन्छ, तर यसको वास्तविक वैज्ञानिक नाम 'एफेलियन' नै हो। यी दुवै अवस्थाले के स्पष्ट पार्छन् भने, सूर्यको दूरी घटबढ हुनुको प्रभाव पृथ्वीको मौसममा नगन्य हुन्छ।

अन्ततः, हाम्रो धर्तीमा देखिने हरियाली, वर्षा, हिउँ र शितल हावापानीको यो सुन्दर चक्र सूर्य र पृथ्वीबीचको दूरीमा भन्दा बढी पृथ्वीको २३.५ डिग्रीको अक्षीय झुकावमै निर्भर गर्दछ। ब्रह्माण्डको यही सानो झुकावले संसारभरि सूर्यको प्रकाश र तापलाई न्यायोचित तरिकाले वितरण गर्छ र हामीलाई प्रकृतिका विभिन्न ऋतुहरूको अद्भुत अनुभव लिने अवसर जुराउँछ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।