नगोगा चिम्पान्जी समुदायमा हिंसात्मक द्वन्द्व
प्रकृतिका थुप्रै रहस्यमय र कहिलेकाहीँ भयावह लाग्ने घटनाक्रमहरूले हामीलाई चकित तुल्याउने गर्छ। सामान्यत: हामी मानिसहरू सधैं आफूलाई प्रकृतिमा अन्य प्राणीहरुभन्दा पृथक, सभ्य र उच्च चेतना भएको ठान्छौं । तर हामीले हाम्रा सबैभन्दा नजिकका विकासवादी नातेदार चिम्पान्जीहरूको समाजमा फर्केर हेर्दा फेला पर्ने धेरै समानताहरूले हामीलाई विस्मित तुल्याउने गर्छ । त्यस्तै विस्मित तुल्याउने एउटा घटना हो–युगान्डाको किबाले राष्ट्रिय निकुञ्जमा रहेको नगोगा (Ngogo) चिम्पान्जी समुदायमा देखिएको हिंसात्मक द्वन्द्व र समूह विभाजन । उक्त घटनाले यतिखेर सम्पूर्ण वैज्ञानिक जगत र प्रकृति प्रेमीहरूलाई स्तब्ध बनाएको छ।
करिब दुई सय सदस्य रहेको यो विशाल र शक्तिशाली समुदाय पछिल्लो समयमा ज्ञात सबैभन्दा ठूलो समूह थियो । त्यस समूहका बारेमा नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री 'चिम्प एम्पायर' नै बनेको थियो । त्यस डकुमेन्ट्रीमार्फत विश्वले उक्त समूहलाई नजिकबाट चिन्ने मौका पाएको थियो । कुनैबेला मिलेर बसेको त्यो समूह आज एक विनाशकारी र रक्तपातपूर्ण गृहयुद्धको चपेटामा परेको छ। यो घटनाले प्राणी जगतमा हुने सामूहिक हिंसा, सामाजिक विभाजन र अस्तित्वको लडाइँको गहिरो मनोवैज्ञानिक र समाजशास्त्रीय पाटाहरूलाई समेत उजागर गरेको छ।
करिब तीन दशकभन्दा लामो समयदेखि वैज्ञानिकहरूले नगोगा चिम्पान्जी समुदायको निरन्तर निगरानी गरिरहेका थिए। प्राइमेटोलोजिस्टहरूका लागि यो समुदाय एक प्रयोगशाला जस्तै थियो । त्यहाँ उनीहरूले चिम्पान्जीहरूको जटिल सामाजिक व्यवहार, नेतृत्व शैली र पारिवारिक संरचनालाई अध्ययन गरिरहेका थिए। सुरुका २० वर्षसम्म यो समूहले एकताको अभूतपूर्व नमुना प्रस्तुत गर्यो। उनीहरू सँगै मिलेर खाना खोज्ने, एकअर्काको शरीर सफाइ (grooming) गर्ने, शिशुहरूको संयुक्त रूपमा हेरचाह गर्ने र बाहिरी शत्रुहरूबाट आफ्नो विशाल इलाकाको रक्षा गर्ने काममा यिनीहरु निकै निपुण थिए। यो एकता नै उनीहरूको शक्तिको मूल आधार थियो। उनीहरूले आफ्नो क्षेत्रमा अन्य छिमेकी चिम्पान्जी समूहहरूलाई समेत प्रवेश गर्न दिँदैनथे, जसले गर्दा नगोगा समुदायलाई किबालेको सबैभन्दा सफल र प्रभावकारी समूह मानिन्थ्यो। तर, सन् २०१५ पछि भने यो शान्तिपूर्ण समूहमा फुट, विभाजन र द्वन्द्वको कालो बादल मडारिन थाल्यो।
वैज्ञानिक अनुसन्धानले देखाए अनुसार, यो एकताको सूत्र भाँचिने प्रक्रिया धेरै सूक्ष्म र चरणबद्ध रूपमा अघि बढेको थियो। सन् २०१५ को आसपासमा नगोगा समुदायमा घटित केही घटनाहरुले उक्त समूहको सामाजिक सन्तुलनलाई पूर्ण रूपमा खलबलाइदियो। सबैभन्दा पहिले, समुदायलाई लामो समयदेखि नेतृत्व गरिरहेका प्रभावशाली र वृद्ध भालेहरूको मृत्यु भयो। नेतृत्वको यो रिक्तताले नयाँ र महत्वाकांक्षी युवा भालेहरूका बीचमा सत्ताको होडबाजी सुरु गर्यो। यसका साथै, सोही समयमा समुदायमा फैलिएको एक विनाशकारी रोगको प्रकोपले पनि उनीहरूको जनसांख्यिक संरचनामा ठूलो असर पार्यो। यी तनावपूर्ण घटनाहरूले उनीहरूको सामाजिक पदानुक्रमलाई सधैंको लागि परिवर्तन गरिदियो। अन्ततः, सन् २०१८ सम्ममा यो विशाल समुदाय स्थायी रूपमा दुई फरक गुटमा विभाजित हुन पुग्यो: एउटा 'पश्चिमी' र अर्को 'केन्द्रीय' समूह। यो विभाजन भौगोलिक मात्र नभई विश्वासको विभाजन थियो, सत्ताको छिनाझप्टी पनि थियो । त्यसले कुनैबेला मिलेर बसेको उक्त समूहका चिम्पान्जीहरुबीच हिंसाको बीउ रोपेको थियो।
विभाजनको प्रक्रिया पूरा भएपछि घटित घटनाक्रमहरु वैज्ञानिकहरूको कल्पनाभन्दा बाहिरको थियो। अनुसन्धानकर्ताहरूले यसलाई 'अभूतपूर्व र ढिलो गतिमा चल्ने गृहयुद्ध'को संज्ञा दिएका छन्। प्रकृतिमा प्रायः जनावरहरूबीचको लडाइँ छोटो समयको हुन्छ, तर नगोगामा देखिएको हिंसा भने वर्षौंसम्म चलिरहने किसिमको छ। पश्चिमा गुटका सदस्यहरूले आफूभन्दा केही भिन्न देखिएको वा आफ्नो क्षेत्रमा प्रवेश गरेको केन्द्रीय गुटका सदस्यहरूलाई लक्षित गर्दै संगठित र घातक आक्रमणहरू सुरु गरे। 'साइन्स' जर्नलमा प्रकाशित २०२६ को अनुसन्धान प्रतिवेदन अनुसार, सन् २०१८ देखि २०२४ को छोटो अवधिमा मात्रै दुइ समूहबीच भएको हिंसात्मक द्वन्द्वमा कम्तिमा २४ वटा हत्याका घटनाहरू दर्ता गरिएका छन्। यसमा ७ वटा वयस्क भाले र १७ वटा शिशुहरूको ज्यान गएको छ। शिशुहरूको हत्या र भालेहरूको निसाना बनाउनुले यो युद्ध कति क्रूर छ भन्ने स्पष्ट पार्छ। हिजोसम्म सँगै बसेर एकअर्काको शरीरबाट जुम्रा टिप्ने वा खाना बाँडेर खाने साथीहरू आज किन एकअर्काका कट्टर दुश्मन बने? यो प्रश्नले विकासवादी जीवविज्ञानीहरूलाई गम्भीर बनाएको छ।
चिम्पान्जीहरू र मानिसको डीएनएमा ९८ प्रतिशत भन्दा बढी समानता छ। यही कारणले गर्दा नगोगामा देखिएको यो 'गृहयुद्ध'लाई मानिसको उत्पत्ति र हिंसाको जरासँग जोडेर हेरिएको छ। वैज्ञानिकहरूको भनाइमा, यस्तो खालको आन्तरिक कलह प्रकृतिको चक्रमा सामान्यतया ५०० वर्षमा एकपटक मात्र घट्ने दुर्लभ घटना हो। यसले सामूहिक हिंसा केवल राजनीतिक विचारधारा, धार्मिक कट्टरपन्थ वा मानव-निर्मित राजनीतिक सीमाहरूले मात्र उत्पन्न हुँदैन भन्ने प्रमाणित गर्छ । समूहगत गतिशीलता, सामाजिक संरचनाको विघटन, स्रोत-साधनको सीमितता र बढ्दो ध्रुवीकरणले पनि प्राणीहरूलाई भित्रैदेखि हिंस्रक बनाउन सक्छ भन्ने यसले देखाएको छ। नगोगा चिम्पान्जीहरूको यो घटनाले कि 'हामी बनाम उनीहरू' भन्ने भावना समूहभित्रै पैदा हुँदा सबैभन्दा नजिकको मित्र पनि सबैभन्दा ठूलो खतरामा परिणत हुन सक्छ भन्ने सिद्ध गर्छ ।
यो गृहयुद्धको अध्ययनले हामीलाई चिम्पान्जीहरूको भावनात्मक संसारबारे पनि नयाँ पाठ सिकाएको छ। पहिले चिम्पान्जीहरूले धेरै भावनात्मक गहिराइमा सम्बन्ध बनाउँदैनन् भन्ने विश्वास गरिन्थ्यो । तर नगोगाको अनुभवले यसलाई गलत साबित गरिदिएको छ। उनीहरूले वास्तवमै एकअर्कालाई चिन्थे, उनीहरूको मित्रताको इतिहास थियो र उनीहरूको लडाइँ केवल सहज वा स्वाभाविक थिएन। त्यहाँ रिस, प्रतिशोध र घृणाको गहिरो छाप थियो। एउटा समूहका चिम्पान्जीले अर्को समूहका आफ्ना पूर्व साथीहरूलाई मार्दा उनीहरूले आफ्नो क्षेत्रको रक्षा मात्र गरेनन्, एक प्रकारको सामाजिक बदलाको भावनालाई पनि चरितार्थ गरे। यो हिंसाले चिम्पान्जी समाजमा 'अस्तित्वको रक्षा'को परिभाषालाई नै फेरि सोच्न बाध्य बनाएको छ। शिशुहरूको हत्याले त झन् यो द्वन्द्वको भविष्यलाई नै अनिश्चित बनाइदिएको छ ।
यो घटनाक्रमले हामीलाई विज्ञान र प्रकृतिबीचको सम्बन्धमा एउटा ठूलो सचेतता प्रदान गरेको छ। ३० वर्षको अनुसन्धानले यो कुरा स्पष्ट पारेको छ कि प्राकृतिक संसारमा कुनै पनि अवस्था सधैं स्थिर रहँदैन। जुन समुदायलाई हामीले 'चिम्प एम्पायर' जस्तो शक्तिशाली भनेर बुझ्यौं, आज त्यही समुदाय हिंसात्मक द्वन्द्वको चपेटामा परेको छ । त्यसले उक्त समूहको अस्तित्व रक्षाको प्रश्न पनि उब्जिएको छ । यसो हुनुको कारणमा कुनै बाहिरी ठूलो संकट होइन, बरु भित्रैबाट उठेको सामाजिक विखण्डन नै मुख्य हो। यो अवस्थाले आधुनिक मानव समाजलाई पनि एउटा गम्भीर सन्देश दिन्छ– यदि हामीले हाम्रो सामाजिक एकता र आपसी सहिष्णुतालाई बचाएर राख्न सकेनौँ भने, हाम्रा आफ्नै संरचनाहरू हाम्रो विनाशको कारण बन्न सक्छन्। प्रकृतिमा पनि 'डिभाइड एण्ड रुल' वा समूहगत कलहको परिणाम कति भयानक हुन्छ भन्ने कुरा नगोगाका चिम्पान्जीहरूले आज विश्वलाई देखाइरहेका छन्।
नगोगा चिम्पान्जीहरूको यो हृदयविदारक कथाले विकासक्रमको हिंसाका आदिम र गहिरो आयामहरूलाई छर्लङ्ग पारिदिएको छ। यसले सामाजिक संरचना भत्किँदा र सम्बन्धहरू टुट्दा अन्तहीन विनाशको चक्र शुरु हुने कुरा पनि देखाएको छ। वैज्ञानिक अनुसन्धानको आँखाले हेर्दा, यी चिम्पान्जीहरूले आफ्नो व्यवहारमार्फत हामीलाई मानिसको 'सभ्यता' र 'बर्बरता' बीचको झिनो रेखाको याद दिलाएका छन्। हामीले यी जीवहरूको कथाबाट सिक्नुपर्ने कुरा के हो भने, शान्ति र एकता कुनै पनि समाजको स्थायी अवस्था होइन, यो त निरन्तर प्रयास र आपसी समझदारीले जोगाइराख्नुपर्ने एउटा अनमोल धरोहर हो। नगोगाको जंगलमा आज भइरहेको रक्तपातले विभाजनले विनाश ल्याउने र त्यो विनाशबाट कुनै पनि जीव अछुतो रहन सक्दैन भन्ने प्रकृतिको कठोर सत्यलाई प्रतिध्वनित गरिरहेको छ ।
नगोगाको चिम्पान्जीहरुमा गरिएको 'साइन्स' जर्नलको यो पछिल्लो ताजा अध्ययन जीव विज्ञानको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा मात्र होइन, यो सम्पूर्ण मानवजातिको लागि आफ्नो व्यवहार र सामाजिक संरचनाको पुनरावलोकन गर्ने एउटा चेतावनी पनि हो। नगोगाको यो युद्ध अझै केही समय चलिरहने देखिन्छ, र यसको अन्त्य कुन मोडमा हुने हो, त्यो त आगामी दिनका अनुसन्धानले नै बताउलान्, तर हालका लागि, चिम्पान्जीहरूको यो गृहयुद्ध प्रकृतिमा घट्ने सबैभन्दा दुःखद र शिक्षाप्रद घटनाको रूपमा इतिहासमा अंकित भएको छ।
Image: https://img.tsargrad.tv
औषधिले कसरी शरीरको दुखाइ ठम्याउँछ ?
ऋतु परिवर्तन: पृथ्वीको रमाइलो झुकाव र हाम्रो बदलिँदो मौसम
पत्थरीको उपचार अब शल्यक्रियाविना, माइक्रो-रोबोटको कमाल
पात काट्ने मौरी: प्रकृतिका कुशल इन्जिनियर र शिल्पकार
कमिलाले यसरी बनाउँछ माटोलाई उर्बर
खाडी क्षेत्र: मध्यपूर्व कि पश्चिम एशिया ?
नोबेल पुरस्कारमा सर्वाधिक मनोनयन तर एउटै जितेनन्
प्रतिक्रिया