ओख्ली कमीनी

म ओख्ली कमीनी

कोही मुसल बनाई कुट्छन्

कोही ढीकी बनाई कुट्छन्

सबैले जोत्ने

म ओख्ली कमिनीको जीवनमा

कहिल्यै पनि 'एक दिन' आएन !

 

भन्छन्,

एक जुगमा एकदिन आयो

तापैताप ल्यायो

त्यो तापले मेरो चीसो चूलो तातो भएन

मेरो चुहिने छानो नचुहिने भएन

 

मालिक! त्यो एकदिन

मेरो छाप्रोमा किन आएन ?

 

भन्छन्,

"एक जुगमा एकदिन आयो

उथलपुथल ल्यायो

त्यो उथलपुथलले

भारतका ढावाहरुमा

भाँडा माझिरहेका

मेरा नानीहरुका लागि !

किन एउटा

कापी कलम ल्याएन ?

मालिक त्यो उथलपुथल

मेरो छाप्रोमा किन आएन ?

 

भन्छन्,

एक जुगमा एकदिन आयो

परिवर्तन ल्यायो

त्यो परिवर्तनले

बम्बैका कोठीहरूमा

आँसु बगाइरहेका

मेरा चेलीहरूका लागि

किन एउटा रुमाल ल्याएन

मालिक ! त्यो परिवर्तन

मेरो छाप्रोमा किन आएन ?

 

आफ्नो स्याउ मलखाँदोमा थुपारेर

कर्णाली काला पहाडहरूमा भारी बोक्छ

भरिया जुम्ली दाइ

पानी नपाई मर्छ

मालिक ! बग्ने कर्णालीमा

त्यो एकदिन किन आएन ?

 

नेपालमा कालापानी बस्छ

कालापानीमा भारत बस्छ

नेपालमा महाकाली बग्छ

महाकालीमा भारत बग्छ

मालिक ! बनसाङ्ला धपाउनका लागि

त्यो एकदिन

मेरो देशमा किन आएन ?

 

मेरो साँध - सीमाना मेरो छैन

मेरो वनपाखा मेरो छैन

मेरो नदीनाला मेरो छैन

मेरो माटो मेरो छैन

मेरो माटोमा

सेतो बाघ ओडार बनाई बसेको छ

मालिक !

ओडार भत्काउने त्यो एकदिन

मेरो देशमा किन आएन ?

 

किन आएन ?

मेरा प्रश्नहरूको जवाफ

तिम्रो इजलासमा छैन

तिम्रो सदनमा छैन

तिम्रो दरबारमा छैन

तिम्रो कुनै ब्लकमा छैन

 

म जागें मालिक !

मैले कोल्टे फेरें !

 

आज रगतमा पाइलाहरू पच्छाउँदै

म ओख्ली कमीनी

रातो घाम खोजिरहेकी छु

म जागें तिम्रो प्रलय मालिक !

 

म जागें !

हेर त

म ओख्ली कमिनी रातो घाम खाजिरहेछु

बित्ता नापिरहेछु

म जागे

तिम्रो पर्लय मालिक !

म जागे

तिम्रो पर्लय मालिक !

 

–कालापानीकी द्रौपदी’बाट