गुणकारी मकैका जुँगा: यस्ता छन् फाइदाहरु !

हरियो मकैको सिजन शुरु भएको छ । त्यसो त आजभोलि बाह्रै महिना पनि हरियो मकै पाउन सकिन्छ । सामान्यतः हामी हरियो मकैको गेडा खान्छौं, त्यसको बाहिरी खोस्टो गाइबस्तुलाई खुवाउँछौं, खोयालाई भने त्यत्तिकै फ्याँकिदिन्छौं वा सुकाएर बाल्ने गर्छौं ।

मोटामोटी रुपमा हामीले हरियो मकैको उपयोग गर्ने तरिका यही नै हो ।

हरियो मकैको खोस्टासँगै मसिना डोरी वा कपालजस्ता रेशाहरु पनि हुने गर्छन् । त्यसलाई बोलीचालीको भाषामा हामी मकैको जुङ्गा भन्ने गर्छौं । सामान्यतः त्यस्ता मकैको जुङ्गाको कुनै उपयोग हुँदैन ।हामी त्यत्तिकै फ्याँकिदिने गर्छौं वा खोस्टासँगै गाइबस्तुलाई खुवाइदिने गर्छौं ।

वास्तवमा भन्ने हो भने मकैको त्यो जुङ्गा फ्याँक्नुपर्ने कुरा होइन । त्यो त बहुगुणकारी पो हुन्छ । विभिन्न पौष्टिकता तथा औषधीय गुणहरुले भरपूर हुने गर्छ मकैको जुङ्गा । यसमा प्रोटिनहरु, कार्बोहाइड्रेड, भिटामिनहरु, खनिजहरु र फाइबर पाइन्छ । त्यसै गरी यसमा एन्टिअक्सिडेन्टफ्लेभोनोइडहरू पनि पाइन्छ । यसमा पिसाब लगाउने तथा जलन कम गराउने रसायनहरु पनि हुने गर्छ ।

 हरियो मकैको जुङ्गालाई हामीले चियाको रुपमा खायौं भने धेरै फाइदाहरु प्राप्त गर्न सक्छौं । यहाँ त्यस्ता केही फाइदाहरु उल्लेख गरिएको छ ।

पिसाब खुलाउँछ

मकैको जुँगाको चियामा पिसाब लगाउने तत्व (Diuretic agent) हुन्छ । विशेषतः कुनै पनि कारण राम्ररी पिसाब खुलेन वा अरु नै रोगहरुका कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । यसको सेवनले पिसाब खुलाउँछ र शरीरमा जमेका पानीहरु निकास गर्न सहयोग गर्छ ।  महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा मकैको जुङ्गाको चिया सेवन गर्नु उत्तम र सुरक्षित हुन्छ ।  

पिसाबनलीको सङ्क्रमण (Urinary tract infection)

मकैको जुँगाको मुख्य फाइदा पिसाबसम्बन्धी समस्यामा हुन्छ । खासगरी, पिसाब नलीको सङ्क्रमणमा मकैको जुङ्गालाई पानीमा पकाएर सेवन गर्दा फाइदा गर्छ किनभने मकैका जुङ्गामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइन्छन् । ती एन्टी इन्फलेमेटेरी तत्त्वहरुले पिसाब नलीलाई सुरक्षा कवच प्रदान गरेर संक्रमणका कारण हुने जलनलाई कम गरिदिन्छ र सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ ।

त्यबाहेक, मकैको जुँगाको चियाले पिसाब लगाइदिने काम पनि गर्छ, जसले गर्दा पिसाबथैली तथा पिसाब नलीमा व्याक्टेरियाहरू पैदा हुने र संक्रमण फैलिने क्रियालाई कम गराइदिन्छ । मकैको जुँगाको चिया प्रोस्टेट ग्रन्थीको जलनलाई पनि कम गराउन फाइदाजनक हुन्छ ।

 मिर्गौलाको पत्थरीबाट बचाउँछ

मकैको जुँगाको चियाले पिसाब खुलाउने भएकोले यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावनालाई न्युन बनाइदिन्छ भने ससाना पत्थरीहरु छन् भने त्यसलाई पिसाबको माध्यमबाट बाहिर निकालिदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी बन्ने सम्भावनालाई न्युन गराउँछ, ससाना पत्थरीहरुलाई निस्कन सहयोग गर्छ तर ठुला खालका पत्थरहरु भने निकाल्न सक्दैन ।

रगत जम्न सहयोग गर्छ

शरीरमा चोटपटक लाग्दा प्राकृतिक रुपमा रगत बग्छ । चोटपटक लाग्दा शरीरमा प्लेटेलेटले रगत जमाउने काम गर्छ । कुनै पनि कारण शरीरबाट रगत बग्दा केही बेरमै रगत जम्ने र रगतको क्षतिबाट बचाउने कुरा शरीरको प्रतिरक्षा प्रणालीकै हिस्सा हो ।

मकैको जुँगाको चियामा भिटामिन के पाइन्छ । यो त्यही भिटामिन हो, जसले रगत जम्ने प्रक्रियामा संलग्न विभिन्न प्रोटिनहरुलाई सक्रिय बनाउन मद्दत गर्छ । यी प्रोटिनहरुले रगतमा रहेका प्लेटलेटहरुलाई एकअर्कामा टाँसिन मद्दत गर्छ र रगतको नसामा जालो बुनेर रगत बग्न रोक्छन् ।

त्यसैले रगत बग्ने समस्या भएकाहरुलाई मकैको जुङ्गाको चियाको सेवन लाभकारी हुन्छ । 

रक्तचाप घटाउँछ

मकैको जुँगाको चिया रक्तचाप नियन्त्रणमा पनि सहयोगी हुने गर्छ । यसको नियमित रूपमा सेवनले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।

मधुमेहबाट बचाउँछ

मकैको जुँगा रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्न उपयोगी हुन्छ । यसको  मकैको जुँगाको चियाको सेवनले मानिसको रगतमा इन्सुलिनको उत्पादनमा सहयोग पुग्ने गर्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ

चीनको जिलिन विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका एक शोधबाट नियमित रूपमा मकैको जुँगाको सेवन गराउँदा मुसाहरूमा कोलेस्ट्रोलको मात्रा प्रभावकारी रूपमा घटेको तथा नियन्त्रित भएको पाइएको थियो । यस अर्थमा मकैको जुङ्गाको चियाको नियमित सेवनले शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग पुग्न सक्छ भन्ने विश्वास गरिन्छ ।

मकैमा हुने एन्टिअक्सिडेन्ट फ्लेभोनोइडहरूले  खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ ।

भिटामिन सीको स्रोत

मकैको जुँगामा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ । त्यसैगरी, मकैको जुँगाको नियमित रूपमा सेवन गर्ने हो भने यसले थायराइडको कार्यप्रणालीलाई पनि सही बनाइदिन्छ ।

मोटोपन घटाउँछ

मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ । फलतः त्यस्ता मोटोपन भएकाहरूका लागि मकैको जुँगाको सेवन उपयोगी हुन सक्छ ।

अन्य उपयोगहरू

छालामा हुने घाउ, फोका, चिलाउने भागहरूमा मकैको जुँगाको लेप लगाउँदा फाइदा गर्छ ।

मकैको जुँगामा माइसिन नाम गरेको फाइदाजनक तत्व पाइन्छ । यसले शरीरका विकारहरूलाई निष्काशन गर्न तथा कोषहरूलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कतिसम्म विश्वास गरिन्छ भने यसको नियमित सेवनले निश्चित प्रकारका क्यान्सरको रोकथाममा पनि प्रभावकारी हुन सक्छ । यही माइसिनका कारण मकैको जुँगाले मानसिको रोगप्रतिरोधी शक्ति अर्थात् रोगसँग लड्ने क्षमता पनि बढाइदिन्छ ।  त्यसैगरी, मकैको जुँगाको नियमित सेवनले छालाका समस्याहरू निको पार्न पनि मद्दत गर्छ ।

 खनिजको मात्रालाई नियन्त्रण गर्छ

मकैको जुँगाको नियमित सेवन गर्नाले शरीरको विकासका लागि अपरिहार्य विभिन्न खनिज तत्वहरूको मात्रालाई नियमित एवम स्थिर गर्न सहयोग पुग्छ । खासगरी, यसको नियमित सेवनले शरीरमा सोडियमको मात्रालाई स्थिर राख्न तथा शरीरमा बढी भएको पोटासियमलाई निष्काशन गर्न सहयोग पुग्छ । थाहा भएकै कुरा हो, मस्तिष्कको विकास तथा त्यसको कार्यक्षमताको सही सञ्चालनका लागि सोडियमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

अपनाउनु पर्ने सावधानीहरु

सामान्यत: मकैको जुङ्गाको चियाको सेवन सुरक्षित नै मानिन्छ । तर स्वास्थ्य समस्या भएका मानिसहरुले औषधीको रुपमा उपयोग गर्दा चाहिँ चिकित्सकसँग सल्लाह गर्नु राम्रो हुन्छ । खासगरी, अत्यधिक मात्रामा मकैको जुँगाको सेवनले शरीरमा पोटासियमको मात्रा चाहिनेभन्दा बढी पनि घट्न सक्छ । परिणामतः छालाका समस्या तथा एलर्जीहरूले सताउन सक्छ ।

त्यसैगरी, गर्भवती महिलाहरूले धेरै मात्रामा मकैको जुँगाको सेवन गर्नु उचित हुँदैन । विशेष गरेर यसको अत्यधिक सेवनले गर्भाशयलाई अत्यधिक उत्तेजित गराउन सक्ने तथा गर्भपात हुने सम्भावना बढाइदिन्छ ।

कतिपय मानिसहरूलाई मकै तथा मकैजन्य परिकारको एलर्जी पनि हुन सक्छ । त्यस्ता एलर्जी हुनेहरूले पनि मकैको जुँगाको सेवन नगर्नु नै सुरक्षित हुन्छ ।

ख्याल गर्नैपर्ने विशेष कुरा के हो भने, तपाईं कुनै पनि औषधी नियमित रूपमा सेवन गरिरहनु भएको छ भने मकैको जुँगाको सेवनले नकारात्मक असर पार्न पनि सक्छ । विशेष गरी, यसको सेवनले रगतमा ग्लुकोजको मात्रा घटाउने तथा रक्तचापलाई पनि न्यून गर्ने भएकाले डाइबिटिज वा रक्तचापका औषधी सेवन गरिरहेका मानिसहरूले यसको सेवन गर्नुपूर्व आफूले उपचार गराइरहेको चिकित्सकको समेत राय लिनु पर्छ ।

छोटकरीमा भन्दा, मकैको जुङ्गाको सेवनले थुप्रै स्वास्थ्यजन्य फाइदाहरु पुर्याउने भएकोले परापूर्वकालदेखि नै वैकल्पिक चिकित्सा पद्दतिमा यो औषधीको रुपमा प्रयोग हुँदै आएको छ । सामान्यत: मकैको जुङ्गालाई पानीमा उमालेर चियाको रुपमा सेवन गर्न सकिन्छ । यो आमरुपमा सुरक्षित नै मानिन्छ । तर गम्भीर रोगीहरुले यसको सेवन गर्नुपूर्व आफू उपचाररत रहेको चिकित्सकसँग सल्लाह लिनु पर्छ । यसको सेवनले कुनै अप्ठ्यारो वा स्वास्थ्य समस्याका संकेतहरु देखापरे तुरुन्तै सेवन रोक्नुपर्छ ।

 मकैको जुङ्गाको सेवनको प्रभावकारिता र सुरक्षा पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ। सप्लीमेन्ट वा उपचारको रूपमा मकैको रौं प्रयोग गर्नु अघि स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्न महत्त्वपूर्ण छ। साथै, मकैबाट एलर्जी भएका व्यक्तिहरूले मकैको रौंका उत्पादनहरूबाट बच्नुपर्छ।