बर्बर हिटलरको अन्त्यकालको दारुण चित्रण गरिएको चलचित्र ‘डाउनफल’

भाग्न चाहेनन् हिटलर, मर्नुअघि प्रेमिकासँग विवाह गरे, गोली हानी आत्महत्या गरे र मृत्युपछि आफ्नो लाश जलाउन लगाए !

इतिहासकै सबैभन्दा दुर्दान्त पात्रहरुको चर्चा गर्दा छुट्दै नछुट्ने नाम हो हिटलर । उनको राष्ट्रवादको सनकको बलिवेदीमा विश्वले भयानक दोस्रो विश्वयुद्ध झेल्नु परेको थियो । सो युद्धमा विश्वभरिबाट करिब ७ करोड ५० लाख मानिसहरु मृत्युको शिकार बनेका थिए । त्यो भनेको तत्कालीन जनसंख्याको करिब ३ प्रतिशत हुन आउँछ । त्यसरी युद्धको विभिषिकामा परेर मारिनेहरुमध्ये २ करोड जति सैनिकहरु थिए भने बाँकी सबै आम नागरिकहरु । दोस्रो विश्वयुद्धमा सबैभन्दा ठूलो धनजनको क्षति सोभियतसंघको भएको थियो । एक आँकडाअनुसार सोभियतसंघका मात्रै २ करोड ७० लाख जनाको ज्यान गएको थियो जसमध्ये करिब ८७ लाख जना सैनिकहरु थिए । सोभियतसंघकै बलिदान र प्रतिरोधकै कारण हिटलरको युद्धउन्मादमाथि रोक लागेको थियो र विश्वले युद्धको दावानलबाट मुक्ति पाएको थियो ।

दोस्रो विश्वयुद्धका सबैभन्दा भयानक खलनायक हिटलर, जसले करिब करिब पूरै युरोपलाई आफ्नो मुठ्ठीमा पारिसकेको थियो, लाई सोभियतसंघका लालसेनाले परास्त गरेको थियो । सन् १९४५ को अप्रिलमा सोभियत लालसेनाले बर्लिनमाथि चढाइ गरेपछि र भयानक युद्धपश्चात मई २–३ मा जर्मन सेनालाई परास्त गरेको थियो । बर्लिनमाथि सोभियत लालसेनाले चढाइ गरिसकेपछि र युद्धका हरेक मोर्चामा जर्मनी सेनाले भयानक पराजय हासिल गरिरहँदा पनि युद्धउन्मादी हिटलर विजयको भ्रममा बाँचिरहेका थिए र एउटा बंकरभित्र लुकेर सैन्य फरमानहरु जारी गरिरहेका थिए । युद्धको अन्त्य र मृत्युको निकट आइपुग्दा, विजयको काल्पनिकीमा बाँचिरहेका हिटलरको मनोदशमालाई झल्काउने दृश्यहरु विभिन्न चलचित्रहरुमा देख्न पाइन्छ । तीमध्येमा सबैभन्दा उत्कृष्ट र कलात्मक चलचित्र हो– डाउनफल ।

हिटलरको आखिरी दिनहरुलाई राम्ररी प्रदर्शित गरिएको यो चलचित्र सन् २००४ मा आएको थियो । यस चलचित्रमा एउटा सन्की तानाकाशह आफ्नो सत्ताको सम्भावित पतनको आशंकामा आतंकित बनेको र आफनो सम्भावित पराजयको डरबाट माथि आउने कोशिशमा सबैलाई गालीगलौज–धम्काउँदै गरेको घटनाक्रमलाई सुन्दर ढङ्गले चित्रित गरिएको छ । यस चलचित्रले अतीतलाई आजको ऐनामा या आजको यथार्थलाई हिटलरी जर्मनीको ऐनामा राखेर हेर्न पनि मद्दत गर्छ । यस फिल्मले कयौं जरुरी सवालहरुतिर पनि हाम्रो ध्यानाकर्षित गर्छ ।

यो फिल्म धेरै हदसम्म हिटलरको आखिरी दिनहरुमा उनका निजी सचिको रुपमा बंकरमा उनका साथै रहको ट्रोडल युङ्गे (Traudl Junge) को संस्मरण अन्टिल द फाइनल आवर (Untli the final hour) मा आधारित छ । यसै किताबमा एउटा गज्जबको डक्युमेन्टरी ब्लाइन्ड स्पट (Blind spot) पनि बनेको छ ।

हिटलरको शासनसत्ता अनि जीवनकै आखिरकाल बर्लिनको एउटा बंकरमा बितेको थियो । उनका साथमा उनका प्रेमिका, उनका विश्वासपात्र मन्त्री गोयबल्सका परिवार, केही सैन्य जनरलहरु तथा परिचारिका नर्सहरु पनि बंकरमै थिए । तिनै नर्सहरुमध्ये एर्ना फ्लेगेल पनि थिइन् । हिटलरको अन्तिम दिनहरुको बारेमा उनको वर्णनलाई सत्यको धेरै नजिक मानिने गरिन्छ । किनभने उनले लुकाउनुपर्ने कुराहरु नै केही थिएन । यो यसअर्थमा पनि कि उनी हिटलरका सेवामा खटिएका एक सामान्य कर्मचारी थिइन् । युद्धको समाप्तिपछि उनलाई अमेरिकी सेनाले कब्जा गरेको थियो र उनलाई सोधपुछ गरिएको थियो । उनीसँग गरिएको सोधपुछको विवरण सिआइएले लामो समयसम्म गोप्य राखेको थियो र सन् १९८१ मा मात्रै त्यो सार्वजनिक भएको थियो ।

चलचित्र डाउनफल लगभगपूरै बर्लिनमा हिटलको गोप्य बंकरभित्र घटित घटनाको सेरोफेरोमा घुम्छ, जहाँ हिटलजर उनका नजिकका मानिसहरुले आफ्नो जीवनको अन्तिम दिन बिताएका थिए । चलचित्रमा बर्लिको नाजी रक्षापंक्तिको ध्वंश, नागरिक आवादीको बर्बादी, हिटलर उनकी प्रेमिका इवा ब्राउन तथा जोसेफ व माग्दा गोएबल्सका लाशहरु जलाउन जाने दृश्य देखानका लागि मात्र बाहिरी दृश्यहरु देखाइएका छन् । बाँकी अधिकांश समय चलचित्र बंकरभित्रको सिमेन्टको गल्लीहरु, ससाना कोठाहरुको एउटा भुलभुलैयामा घुमिरहन्छ जहाँ मधुरो प्काशमा हिटलर, उनका मन्त्री, जर्नेल, सहायक, गार्ड, सेक्रेटरी, डाक्टर, नर्स, गोयवल्सका परिवारका सदस्यहरु र हिटलरका सर्वाधिक प्रिय कुकुर ब्लोन्डीका दृश्यहरु देखाइन्छ ।

चलचित्र फ्लासब्याकका दृश्यहरु देखाउँदै फेब्रुअरी १९४५ बाट शुरु हुन्छ । यो समय भनेको दोस्रो विश्वयुद्धको चरम अवस्थातिरको हो । स्टालिनग्रादमा भीषण रुसी नरसंहार तथा जर्मनसेनाको लज्जास्पद पराजयपछि लालसेनाले उनीहरुलाई लघार्दै जर्मनीको राजधानी बर्लिनतिर हानिएर आइरहेको हुन्छ । कुनै बेला संसारकै सबैभन्दा सुन्दर शहरहरुमध्ये एक गनिने बर्लिन युद्धका कारण ध्वंश भएको हुन्छ भने जर्मनीलाई घेराबन्दी गर्दै लालसेना बर्लिनबाट १२ किलोमिटर परसम्म आइसकेके हुन्छ ।  त्यसबेला जर्मनीलाई विश्वविजेता बनाउने सपना देखाएका फ्युहरर आफूसँग बचेको नाजी पार्टीका केही नेताहरु, अफिसरहरु तथा स्टाफहरुका साथ थर्ड राइखको राजधानी बर्लिनमा चान्सलरी विल्डिङमुनि बनाइएको एउटा बंकरमा लुकेर रहेका थिए । युद्धमा भोग्नुपरेको पराजयले निराश र हतोत्साही बनेको जर्मन सेनाहरुलाई खेद्दैरुसी लालसेना पश्चिम र दक्षिणतिरबाट घेराबन्दी गर्दै बर्लिनतिर आइरहेका स्थिति थियो । केही दिन पहिलेसम्म हिटलरीप्रति बफदारीको कसम खाने प्रियपात्रहरु हिमलर, गोयरिङ जस्ता ठूला नाजी नेताहरु आफ्ना परमप्रिय फ्यूहररलाई युद्धमैदानको बीचमा छाडेर भाग्छन् । गोयरिङ र हिमलर फ्यूहररको आदेशहरुलाई वेवास्ता गरेर मित्रराष्ट्रहरु (रुस, अमेरिका बेलायत) सँग आत्मसमर्पणका लागि कुराकानी गर्न थालिसकेका हुन्छन् । महासंकटको त्यस घडीमा हिटलरकासबैभन्दा विश्वासपात्र गोयबल्स र उनका परिवारले मात्रै उनलाई अन्तिम समयसम्मै साथ दिन्छन् । हिटलरप्रति अन्धभक्तिमा डुबेका गोयबल्स, जो झूठो प्रचारका लागि कुख्यात थिए, शायद आफू नै पनि त्यही झूठो प्रचारको अचेतन प्रभावमा परेर जर्मनी सेना र नाजी पार्टीको मिलिटरी शाखाले चाँडै नै सोभियत सेनालाई परास्त गर्नेछ र पुनः स्थिति हिटलरको नियन्त्रणमा आइपुग्नेछ भन्ने भ्रममा हिटलरको साथमा रहिरहेका थिए ।

केही समय पहिलेसम्म हिटलरी जर्मनीको जीतको भ्रममा बाँचरिहेका थिए, उनी विजयको घोषणा गरिरहेका थिए र आफ्ना जर्नेलहरुर्ला आन्तिम सैनिक बाँचुन्जेलसम्म युद्ध जारी राख्नका लागि आदेश दिइरहेका थिए । तर वास्तविकता अर्कै थियो । एकपछि अर्को गरी जर्मन सेना पराजित भइरहेका थिए । हिटलरलाई धरातलीय यथार्थको पटक्कै ज्ञान थिएन र उनी यता उताका सेनाहरुलाई विभिन्न ठाउँमा परिचालन गर्न आदेश दिइरहेका थिए । तर चारैतिर सोभियत लालसेनाको घेराबन्दी, हार्दै र आत्मसमर्पण गर्दै गइरहेको जर्मनी सेनाको वास्तविकता जसै हिटलरले थाहा पाउँदै गए, उनको सपना भङ्ग भएको चाल पाए ।  २० अप्रिल १९४५ का दिन आफ्नो ५६ औं जन्मोत्सवको दिनसम्म आइपुग्दा हिटलर पूरै चरम निराश र हतोत्साही बनिसकेका थिए । उनी एक दृढ तानाशाह हैन, मानसिक सन्तुलन गुमाउन थालेका व्यक्तिको हातमा पुगिसकेको थिए । अन्टसन्ट कुरा गर्ने, आत्मघाती निराशामा डुबेका नकारात्मक कुराहरु गर्ने अवस्थामा पुगेका हिटलरलाई देखेर उनका आसपासमा रहेका विश्वासपत्र जर्नेल, अफिसर तथा सेवकहरुको मन दुःखित हुन्थ्यो र हिटलरप्रति उनीहरुमा असीम करुणाको भाव जागृत हुन्थ्यो । यसबीच बंकर छोडेर अन्यत्र जाने, आत्मसमर्पण गर्ने निधोमा पुगेका र हिटलरलाई अन्तिम समयमा आएर धोका दिन नहुने समूहमा विभाजित अफिसरहरुबीच झगडा पनि शुरु भइसकेको थियो । कतिपयले त हिटलरलाई पनि बंकर छाडेर सुरक्षित स्थानमा जान तथा राजनीति प्रयोग गरेर ज्यान बचाउन सुझाव दिन्छन् तर हिटलर बर्लिन छोडेर जान मान्दैनन् । उनी युद्धको समाप्तिमा जर्मनीले जित्ने सपना देख्न छाड्दैनन् । उनको सपना युद्धपछि जर्मनीको पुननिर्माण र सबैभन्दा सुन्दर शहर बर्लिनलाई बनाउने जीवितै रहेको हुन्छ ।

हिटलरप्रति अन्धविश्वास राख्ने केही जर्मनी सेनाहरु सोभियत लालसेनालाई पराजित गर्न सकिने विश्वासमा प्रतिरोधी युद्ध गरिरहेका हुन्छन् । तिनमा १० वर्षे बालसेनाहरु पनि हुन्छन् । एकजना बालसेनाका पिताले लालसेनाका ठूला ठूला ट्याङ्कहरुलाई जित्न नसकिने कुरा बताउँदा एकजना जर्मन  सैनिकले उनका छोरा बहादुर रहेको, दुइटा सोभियत ट्यांक ध्वस्त पारिसकेको बताउँछन् । तर ती पितालाई सोभियतसँग जित्न नसकिने कुरा थाहा हुन्छ । उनको कुरा सुनेर ती बालसैनिक आफ्ना पितालाई कायर भन्दै त्यहाँबाट भाग्छन् । हिटलरले युद्धमा वीरता देखाउने बाल सैनिकहरुलाई सम्मानित गरेकाे पनि देखाइन्छ ।

तर तारन्तार जर्मनी सेना पराजित र थर्ड राइखको पतन भएको खबरहरुले आउन थालेपछि फौलादी फ्यूहरर डर र त्रासले बहुलाएको व्यक्तिमा रुपान्तरित भए । उनी आफ्ना जर्नेलहरुमाथि खनिन्थे, चिच्याउँथे र सेनाहरु परिचालन गरेर हमला गर्ने योजनाहरु बनाइरहन्थे । उता वास्तविकतामा चाहिँ जर्मनी सेना तहसनहस भइसकेको थियो । केही सैनिक अफिसरहरु अन्तिम श्वास रहेसम्म लड्ने कुरा गरेर हिटलरलाई ढाडस त दिन्थे । उनीहरु शहरमा ३० लाख मानिस रहेको तीमध्ये बुढापाका, महिला तथा बच्चाहरु पनि रहेको बताउँछन् । हिटलर चाहिँ युद्धकालमा सिपाहीबाहेक कोही नहुने र त्यस्ता कुराको परवाह गर्न नहुने बताउँछन् । उनी एकजना अफिसरलाई बोलाएर शहरका सबै सुविधाहरु, खानेकुरा, पानी, बिजुलीहरु ध्वस्त पारिदिन आदेश दिन्छन् ताकि सोभियत–अमेरिकी सेना शहरमा तिनबाट बञ्चित होउन् । तर ती अफिसर त्यसो गर्दा जर्मनी नागरिकहरुलाई पनि समस्या पर्ने बताउँछन् । हिटलर कतिसम्म युद्ध उन्मादी हुन्छन् भने युद्धमा सहभागी नहुनेहरुलाई त्यसै पनि बाँच्ने कुनै अधिकार नरहेको बताउँछन् ।

 हिटलरप्रतिको बफादारीले बाँधिएका जर्मन सैनिक जर्नेल र अफिसरहरुलाई के थाहा हुन्छ भने अब रुसी लाल सेना तथा मित्र राष्ट्रका सेनाहरुलाई रोक्न सम्भव छैन । जर्मन सेनाको सफाया गर्दै अघि बढिरहेके लालसेना तथा मित्र राष्ट्रका सेनाहरु कुनै पनि बेला तर हिटलरलाई त्यो बोध हुँदैन । उनी जर्मन सेनाहरु एकत्रित भएर प्रतिरोध गर्ने सपना देखिरहेका हुन्छन् । उनी आफ्ना जर्नेल तथा सैनिक अफिसरहरुलाई बोलाएर त्यस्तै निर्देशन दिइरहेका हुन्छन् ।

 तर हिटलरले सबैभन्दा विश्वास र भरोसा गरेका सैनिक जर्नेल स्टेनरले उनको आदेश नमानेको कुरा एक सैनिक अफिसरले हिटलरलाई बताउँछन् । रिसले चुर भएका हिटलर आफू कुनै सैनिक तालिम नलिएको, एकेडेमीमा नगएको भएपनि पूरै युरोप कब्जा गरेको बताउँदै आफ्ना सबै जर्नेल तथा अफिसरहरुलाई कायरको संज्ञा दिन्छन् । आफूलाई धोका दिइएको बताउँदै हिटलर अब आफूले नेतृत्व नगर्ने भन्छन् ।  आफूले बफादार ठानेका निकटतम सहयोगीहरुले नै गद्दारी गरेर फरार भएपछि हिटलर पूरै टुटे । ७० लाख यहुदीहरु, हजारौं नाजीविरोधी जर्मन नागरिकहरु, विश्वभरिका करोडौं मानिसहरुलाई मार्न प्रत्यक्ष–अप्रत्यक्ष जिम्मेवार हिटलर मृत्युको संघारमा पुगेपछि मानसिक सन्तुलन गुमाउन थालेका थिए । उनले हारको अनुभूति गरिसकेका थिए । तर पनि उनी बर्लिन छाडेर भाग्न तयार थिएनन् ।हिटलरकी प्रेमिका इवा ब्राउन र सेक्रेटरी ट्रोडलले कुनै पनि हालतमा आफूहरुले हिटलरलाई छाडेर नजाने कुरा गर्छन् । उनका साथमा गोयबल्सका परिवार पनि हुन्छन् । एक दृश्यमा हिटलरले आफ्नी प्रेमिका, सेक्रेटरी र एक महिलासँग बसेर कुराकानी गरिरहेको तथा आफूले दुश्मनको कब्जामा पर्नुभन्दा आफ्नो अन्त्य कसरी गर्छु भनेर बताइरहेको देखाइन्छ । हिटलरले पेस्तोल हानेर आत्महत्या गर्ने संकेत गरिरहेको हुन्छ । त्यही बेला हिटलरकी प्रेमिका इवा चाहिँ आफूले त्यस्तो मृत्यु नरोज्ने, मृत्युपछि पनि सुन्दर नै देखिन चाहेको बताउँछिन् । उनी साइनाइडको क्याप्सुल देखाएर आफूले त्यो खाएर मर्ने कुरा गर्छिन् । सेक्रेटरी र अर्की महिलाले पनि साइनाइड माग्छन् । हिटलरले उनीहरुलाई साइनाइडको क्याप्सुल दिँदै भन्छन्– यस समयमा म तिमीहरुलाई योभन्दा महंगो कुनै उपहार दिन सक्दिनँ ।

त्यसपछि हिटलरका अफिसरहरुले कागजपत्र जलाएको, इवा ब्राउनले आफ्नी बहिनीलाई चिठ्ठी लेखेर कुनै पनि बेला आफूहरुको जिन्दगी समाप्त हुने उल्लेख गरिरहेको देखाइन्छ । यसबीचमा हिटलरका विश्वासपत्र जर्नेल हरमनले एक पत्र पठाएर हिटलरलाई चाँडै आफूले शक्ति हातमा लिने उल्लेख गरेको, अब हिटलरले देशलाई जलाउन नसक्ने तथा १० बजेसम्म हिटलरले कुनै जवाफ नदिएमा त्यसमा हिटलरको समर्थन रहेको ठान्ने उल्लेख गरिएको हुन्छ ।

त्यो पढेर हिटलर बौलाउँछन् । उनी हरमनलाई देशद्रोही भन्छन् र पदबाट हटाएको कुरा गर्छन् र हरमनलाई मार्ने आदेश दिन्छन् ।

तर अबको हिटलर पहिलेको हिटलर हुँदैनन् । उनको आदेशको कसले तामेल गर्ने ?

शारीरिक तथा मानसिक रुपमा हिटलर पूरै गलिसकेका हुन्छन् । उनकी नर्सले आफ्नो डायरीमा लेखेकी थिइन्, ‘पछिल्ला केही दिनहरुमा उनी बूढा देखिन थालेका थिए, उनका धेरै कपालहरु सेताम्मे भएका थिए, उनी आफ्नो उमेरभन्दा कम्तिमा १५–२० साल बूढो देखिन थालेका थिए । उनी नराम्ररी काम्थे र उनलाई हिडडुल गर्न पनि गाह्रो हुन थालेको थियो ।’

हिटलर विक्षिप्त जस्तै बनिसकेका हुन्छन् । उनी आफ्ना एयर फोर्सहरुले रुसी–मित्रराष्ट्रका सेनामाथि हमला गर्ने कुरा गर्छन् तर उनलाई यो हेक्का हुँदैन कि उनको एयरफोर्स पूरै खत्तम भइसक्यो। अब उनीसँग त्यो छैन । हिटलरसँग रहेका जर्नेल तथा सैनिक अफिसरहरु २–३ दिनमा लालसेनाहरु हिटलर भएठाउँसम्म आइपुग्ने सूचना दिन्छन् । हिटलर अझै प्रतिरोध गर्न सकिने सपना देखिरहेका हुन्छन् । उनी आफ्ना सैनिक जर्नेल र अफिसरहरुलाई बोलाएर सबै जर्मन सेना भेला भएर हमला गर्न सकिने कुरा गर्छन् । जर्मन सेना पूरै ध्वस्त भइसकेको बुझेका सबैजना चुप लाग्छन् । जवाफ दिँदैनन् ।

अब हिटलरलाई आफ्नो पूर्ण पराजयको अनुभूति हुन्छ । उनी आफ्ना अङ्गरक्षकलाई चाँडै आफूले जीवन अन्त्य गर्ने र आफ्नो मृत शरीर दुश्मनको कब्जामा नगओस् भन्नाका लागि जलाइदिन आदेश दिन्छन् । उनका बफादार अङ्गरक्षकले त्यो जिम्मेवारी बेमनका साथ स्वीकार्छन् ।

२८ अप्रिलमा हिटलरले बंकरभित्रै आफ्नी प्रेमिका इवा ब्राउनसँग विवाह गरे । अब सबैलाई महसूस भयो कि थर्ड राइखको अन्त्य आइसक्यो । नर्स फ्लेगेलले लेखेका छन्– सबै कुरा ठीक हुन्थ्यो भने हिटलरले यस्तो कदापि गर्ने थिएनन् ।’

हिटलरले आफ्ना प्रिय कुकुरलाई पनि विष दिएर मारिदिएपछि सबैजना स्तब्ध बने । बेलुकी हिटलरले बंकरमा भएका आफ्ना जर्नेलहरु, अफिसरहरु, सेक्रेटरीहरु र मेडिकल टीमलाई बोलाएर विदा मागे ।

उनलाई आफ्नो अवश्यम्भावी मृत्युबोध भइसकेको थियो तर उनी बंकर छाडेर भगौडा बन्न चाहँदैन थिए । उनलाई आफ्नो मृत्युपछि सोभियत लालसेनाले लाशलाई सार्वजनिक बेइज्जती गरिदेला भन्ने कुराको ठूलो भय थियो । खासगरी, दोस्रो विश्वयुद्धमा उनको पक्षमा रहेका तानाशाह मुसोलिनीलाई इटालीमा छापामारहरुले मारेर उनका प्रेमिका साथ चोकमा उल्टो टाँगिदिएका थिए । हिटलरलाई आफ्नो पनि त्यही हालत हुने कुराको ठूलो चिन्ता थियो । त्यसैले उनले आत्महत्या गर्नुपूर्व आफ्ना बफादार अङ्गरक्षकलाई आफ्नो र प्रेमिकाको लाश जलाइदिन आदेश दिएका थिए । हिटलरले सोभियत लालसेनाको बन्दी बन्नुभन्दा मृत्यु वरण गर्न सही ठाने । त्यसैले उनले आफ्ना प्रेमिकाका साथ आत्महत्या गर्ने निधोमा पुगे । उनले आफ्ना कोठामा आफूलाई बन्द गरे । आफू र प्रेमिका इवा ब्राउनले साइनाइडको क्याप्सले मुखमा चेपे र गोली हानी आत्महत्या गरे । उनका अङ्गरक्षक तथा अन्य सैनिकहरुले हिटलरको  आदेशको इमान्दारिताका साथ पालना गर्दै बंकरबाहिर उनीहरुको लाश जलाइदिए । 

हिटलर नै नरहेपछि बाँकी रहेकाहरुलाई उनीहरु हिटलरप्रति बफादारीको सपथबाट मुक्त रहेको तथा आफ्नो इच्छानुसार गर्न स्वतन्त्र रहेको बताइयो । हिटलरका निजी सचिव मार्टिन बोरमान र केही मानिसहरु लालसेनाको घेराबन्दी तोडेर भाग्न खोज्दा मारिए । ट्रोडल लगायतलाई रुसी लालसेनाले बन्दी बनायो । गोयबल्सले पनि आफ्ना परिवारजनसहित आत्महत्या गरे ।

हिटलरका प्रचारमन्त्री गोयबल्सकी पत्नी माग्दा गोयबल्सभन्दा पनि बढी कट्टररुपमा हिटलरका अन्धभक्त थिइन् । नाजीवाद नभएको दुनियाँमा उनका बच्चाहरु बाँच्न नसक्ने उनको अनौठो मान्यता थियो । हिटलरको अन्त्य आएपछि उनले आफ्ना ६ वटा बच्चालाई बंकरभित्र झुक्याएर बेहोसीका दबाई खुवाएर सुताएका थिए, जसलार्ई हिटलरका दन्तचिकित्सक डा. हेल्मुट कुञ्जले विषको क्याप्सुल दिएर मारेका थिए । त्यसपछि गोयबल्स र उनकी पत्नीले आत्महत्या गरेका थिए ।

चलचित्रको अन्त्यमा हिटलरका कतिपय प्रमुख सहयोगीहरुको दुखद अन्त्यको बारेमा जानकारी दिइएको छ । त्यहाँ सत्ता र अन्धभीडको ताकतको बलमा सिंह बन्ने नाजी फासिस्टहरुले कसरी कायरतापूर्वक आत्महत्याको बाटो रोजेका थिए भनेर देखाइएको छ ।  चलचित्रले सजायको डर र आफूहरुले गरेको अकल्पनीय भयावहरु अपराधहरुको अपरोधबोधले मानिसलाई जीवनको अन्त्यकालसम्म कसरी पिछा गर्छ भन्ने कुराको सुन्दर ढङ्गले चित्रण गरिएको छ ।

फिल्मको शुरुवात र अन्त्य हिटलरका अन्त्यकालतिरका निजी सचिव ट्रोडल युङ्गेसँग गरिएको वास्तविक अन्तर्वार्ताबाट हुन्छ । यो अन्तर्वार्ता सन् २००२ मा उनको निधन हुनुभन्दा केही समयपहिले रेकर्ड गरिएको थियो । त्यसमा उनी भन्छिन्, ‘जन न्यूरेम्बर्ग मुद्दाको दौरानमा मलाई ५० लाख यहुदीहरु अन्य करोडौं मानिसहरु मारिएको थाहा भयो, मलाई गहिरो चोट लाग्यो ।  तर ती घटनाहरुका लागि व्यक्तिगत रुपमा म दोषी छुइनँ भनेर आफूलाई आश्वस्त पारें ।

तर एक दिन जब म सोफी सालको स्मारक नजिकबाट जाँदै थिएँ, मैले थाहा पाएँ कि मारिएको बेला उनी मेरै उमेरकी थिइन् । यो त्यही सालको कुरा हो, जुन साल म हिटलरसँग जोडिएको थिएँ । त्यसबेला मलाई महसूस भयो बर्बरताको समर्थन गर्नका लागि सानो उमेर हुनु नै कुनै उचित बहाना होइन ।’

स्मरण रहोस्, सोफी साल एक जर्मन युवती थिइन् । उनले आफ्ना भाइ तथा साथीहरुसँग मिलेर हिटलरविरुद्ध आममानिसलाई जागरुक तुल्याउन एउटा संगठन निर्माण गरेकी थिइन् । सन् १९४३ मा सोफी, उनका भाइ हान्स र अन्य केही साथीहरुलाई नाजी जर्मनीहरुले पक्राउ गरेर गिलोटिनले टाउको काटेर मारिदिएका थिए ।

लखनउ सिनेफाइल्समा प्रकाशित सामग्री समेतको आधारमा