आखिर कसको प्रचार गर्छन् प्रोपोगण्डा फिल्महरू?

फिल्म ‘धुरन्धर’ र ‘धुरन्धर (२) द रिभेन्ज’ को सफलताभन्दा अगाडि ‘प्रोपोगण्डा फिल्महरू बक्स अफिसमा सफल हुँदैनन्’ भन्ने गरिन्थ्यो । ‘कश्मीर फाइल्स’ को सफलतालाई एउटा अपवादको रूपमा लिइन्थ्यो। तर ‘धुरन्धर’ ले यस तथ्यलाई गलत साबित गरिदिएको छ। यो फिल्मले केवल भाजपा वा प्रधानमन्त्री नरेन्द्र मोदीको मात्र प्रचार गरिरहेको हुन्थ्यो भने (बाहिरी रूपमा गरेको पनि छ),  हरेकलाई आफ्नो प्रचार गर्ने हक छ भनेर हामी भन्न सक्थ्यौँ । तर, यो फिल्मले  राजनीतिक दल र व्यक्तिभन्दा निकै अगाडि बढेर फासीवाद–नाजीवादको प्रचार गर्दछ।

धुरन्धर’ मा भारतको इन्टेलिजेन्स एजेन्सीका प्रमुख ‘अजय सान्याल’ ले यसो भनिरहेको देखाइएको छ– जब देशलाई माया गर्ने कुनै मान्छे आउँछ, तब मात्र उसले केही राम्रो काम गर्न सक्छ (संवादमा प्रयोग भएका शब्द र त्यसको संरचना भिन्न हुन सक्छ तर त्यसको अर्थ यही थियो)। यस फिल्ममा तीनवटा आतंकवादी घटनाहरूको चित्रण गरिएको छ। पहिलो घटना– भाजपाका प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारको समयमा घटेको कान्दहार विमान अपहरण,; दोस्रो घटना– भाजपाकै अटल बिहारी वाजपेयीको सरकार रहेको संसद्मा आक्रमण, त्यस र तेस्रो घटना– कांग्रेस पार्टीका मनमोहन सिंहको सरकार रहेको बेलाको मुम्बई आक्रमण। बाहिरी रूपमा फिल्म निर्माताले कांग्रेस होस् वा भाजपा, सबैको असफलतालाई बिना कुनै संकोच र हिचकिचाहट उदाङ्गो पारिदिएर निष्पक्षता देखाएका छन् भन्ने तपाईंलाई लाग्न सक्छ । तर, ती दुई सरकारको असफलताको आडमा इन्टेलिजेन्स एजेन्सीका सान्याल साहबको असफलतालाई फिल्ममा लुकाइएको छ। फिल्म निर्माताले कि अटल बिहारी वाजपेयी (भाजपा) र मनमोहन सिंह (कांग्रेस) लाई देशप्रति माया थिएन र उनीहरू अप्रत्यक्ष रूपमा पाकिस्तानी वा आतंकवादीहरूलाई मद्दत गरिरहेका थिए भन्ने संकेत पनि दिएका छन् । यो कुरा स्पष्ट रूपमा शब्दमा भने व्यक्त गरिएको छैन।

अटल बिहारी वाजपेयी र मनमोहन सिंहको सरकारले देशको इन्टेलिजेन्स एजेन्सीलाई आतंकवादी घटनाहरू पछि केही गर्न दिएनन्, तैपनि यो प्रश्न त उठ्छ नै कि ती घटनाहरू हुनुभन्दा पहिले हाम्रो देशको इन्टेलिजेन्स एजेन्सी (सिनेमाको काल्पनिक एजेन्सी) के गरिरहेको थियो?

हामीले यो मानिहिल्यौँ भने पनि (जब कि सिनेमा बनाउनेहरूले निकै सुविधाजनक तरिकाले फिल्मको कथालाई काल्पनिक बताउँछन् र सत्य घटना भएको भ्रम पनि सिर्जना गर्छन्) कि अटल बिहारी वाजपेयी र मनमोहन सिंहको सरकारले देशको इन्टेलिजेन्स एजेन्सीलाई आतंकवादी घटनाहरू पछि केही गर्न दिएनन्, तैपनि यो प्रश्न त उठ्छ नै कि ती घटनाहरू हुनुभन्दा पहिले हाम्रो देशको इन्टेलिजेन्स एजेन्सी (सिनेमाको काल्पनिक एजेन्सी) के गरिरहेको थियो? उनीहरूसँग ती घटनाहरूको जानकारी हुन्थ्यो भने, तिनलाई घटित हुनुभन्दा पहिले नै विफल पार्न सकिन्थ्यो। के त्यस समयका ‘काल्पनिक’ सरकारहरूले सूचना सञ्जाललाई समाप्त पारिदिएका थिए? हो भने, ‘काल्पनिक इन्टेलिजेन्स एजेन्सीका काल्पनिक सान्याल साहब’ र उनको एजेन्सी कुन ‘काल्पनिक’ कुराको तलब खाइरहेका थिए? के ‘काल्पनिक’ रूपमा हात बाँधेर बसिरहन र आफूहरूलाई एउटा ‘काल्पनिक’ देशभक्तको पर्खाइ छ भनिरहनका लागि?

बाहिरी रूपमा निष्पक्ष देखिने यो फिल्म वास्तवमा लोकतन्त्र विरोधी छ। यसलाई भाजपा होस् वा कांग्रेस, जनताद्वारा निर्वाचित सरकार चाहिएको छैन र संविधानद्वारा निर्मित प्रशासनिक व्यवस्था पनि चाहिएको छैन। त्यसैले ‘एक व्यक्ति’ को पर्खाइ, जो सान्याल साहबको इच्छा अनुरूप (व्यवस्थाभन्दा बाहिर गएर) जे पनि गर्न सक्ने हिम्मत राख्दछ, फिल्मको मुख्य ‘काल्पनिक’ चिन्ता बन्न पुग्छ।

फिल्मका ‘काल्पनिक’ पात्र सान्याल साहब यो बुझ्दैनन् कि जब एक व्यक्तिको आगमनले मात्रै राम्रा दिनहरू आउनेछन् भने त्यस समयमा उनको के आवश्यकता रहला र? उनको काम पनि त्यही व्यक्तिले गर्न सक्छ जसको उनलाई पर्खाइ छ, किनकि ऊ त ‘काल्पनिक’ रूपमा सर्वगुण सम्पन्न हुनेछ।

लोकतन्त्रमा प्रणालीलाई किनारा लगाएर एक निर्वाचित नेताले सत्ताका सम्पूर्ण सुत्रहरू आफ्नो हातमा लिनु नै त फासीवाद–नाजीवाद हो। यस अर्थमा यो फिल्म स्पष्ट रूपमा फासीवाद–नाजीवादको समर्थक देखिन्छ। तर यो अन्य प्रोपोगण्डा फिल्महरूभन्दा यसकारण पनि फरक छ कि यसलाई मसला र फर्मुलाका साथ प्रस्तुत गरिएको छ, जसले भरपूर मनोरञ्जन दिन्छ – भावनाको आँधी र एक्सनको तुफान। नाचगानले भरिपूर्ण राष्ट्रवादी ड्रामा।

लोकतन्त्रमा प्रणालीलाई किनारा लगाएर एक निर्वाचित नेताले सत्ताका सम्पूर्ण सुत्रहरू आफ्नो हातमा लिनु नै त फासीवाद–नाजीवाद हो। यस अर्थमा यो फिल्म स्पष्ट रूपमा फासीवाद–नाजीवादको समर्थक देखिन्छ।

आदित्य धर एक कुशल निर्देशक हुन्, जसलाई आफ्नो फिल्ममा तथ्यहरूलाई रचनात्मक तरिकाले बङ्ग्याउने कला आउँछ। उनको कुशलता देख्दा अनायासै अमेरिकी फिल्म निर्देशक जी. डब्लु. ग्रिफिथको याद आउँछ। ग्रिफिथको कुशलता यस्तो थियो कि आज हामी उनलाई एकातिर अश्वेत विरोधी वा नश्लवादी पनि भन्छौँ भने अर्कोतिर उनको फिल्म निर्माण प्रविधिका कायल पनि छौँ। आज फिल्म निर्माण जुन स्थानमा छ, त्यसको जगमा ग्रिफिथले आविष्कार गरेका अनेकौँ प्रविधि र विचारहरू छन्। ग्रिफिथले नै फिल्मलाई सबैभन्दा पहिले ‘फिक्सन’ बनाएका थिए।

ग्रिफिथभन्दा पहिले जुन मूक (बोली नहुने) फिल्महरू बन्थे, तिनमा केवल वास्तविक दृश्यहरूको चल्तीफिर्ती चित्र मात्र हुन्थ्यो र पछि त्यस्तै दृश्यहरूको रचना गरेर कुनै स्टुडियोमा तिनको चलचित्र खिचिने गरिन्थ्यो। तिनको महत्त्व केवल एउटा जादुई अनुभवसम्म मात्र सीमित थियो। ती फिल्महरूमा कुनै कथानक वा भाष्य (न्यारेटिभ) हुँदैनथ्यो। ती सबै एक रिलका फिल्म हुन्थे र कहिलेकाहीँ दुई रिल जोडेर पनि फिल्म बनाइन्थ्यो। सबै कुरा ‘सिंगल सट’ मा मात्र हुने गर्दथ्यो, तर पहिलो पटक ग्रिफिथले छुट्टाछुट्टै सटहरूलाई जोडेर एउटा दृश्य बनाए र यसरी सम्पादन (एडिटिङ) को सुरुवात भयो। जस्तै: मास्टर सट र क्लोज अप सट, वान सट र टु सट आदि ग्रिफिथकै देन हुन्। एउटा दृश्यका लागि यिनैलाई आपसमा जोडिन्थ्यो। स्पष्ट छ कि यसका लागि वास्तविक दृश्यहरूको तस्विर खिच्नु असम्भव थियो, तिनको रचना मात्र गर्न सकिन्थ्यो, त्यसैले यसका लागि स्टुडियोहरू बनाइए। यस प्रयोगपछि दर्शकहरू केवल सिनेमा प्रविधिको जादुई अनुभवबाट मात्र होइन, बरु कथा र विचारको अनुभवबाट पनि गुज्रिन थाले। अब सिनेमामा यस्तो कथाको रचना पनि सम्भव भयो जुन वास्तविक रूपमा अस्तित्वमै थिएन।

सिनेमामा जब ‘आख्यान रचना’ (न्यारेटिभ निर्माण) गर्ने क्षमताको विकास भयो, तबदेखि नै प्रोपोगण्डा फिल्महरूको सुरुवात भयो। यस अर्थमा ‘धुरन्धर’ ग्रिफिथको परम्पराको फिल्म साबित हुन्छ।

ग्रिफिथले सन् १९१५ मा एउटा यस्तो कथाको ‘रचना’ गरे जसमा नश्लीय श्रेष्ठता र अश्वेत विरोधी विचारधारा बोकेको ‘कु क्लक्स क्लान’ (एक संगठन र अभियान) को महिमामण्डन गरिएको थियो। फिल्मको नायक ‘कु क्लक्स क्लान’ को लडाकु छ र उनीहरूजस्ता व्यक्तिहरूद्वारा स्थापित राष्ट्रलाई नै (फिल्ममा) अमेरिका मानिएको छ, त्यसैले फिल्मको नाम ‘द बर्थ अफ ए नेसन’ राखियो। यो फिल्म यसकारण पनि प्रतिक्रियावादी फिल्म थियो कि यसमा दास प्रथाको अन्त्यप्रति पनि अप्रत्यक्ष विरोध देखिन्छ। यसमा काला वर्णका पात्रहरूलाई लोभी र बलात्कारीसम्म बताइएको छ। रोचक कुरा त के छ भने, ती काला पात्रहरूको भूमिका गोरा अभिनेताहरूले आफ्नो शरीरमा कालो रङ्ग पोतेर निभाएका थिए।

सिनेमामा जब ‘आख्यान रचना’ (न्यारेटिभ निर्माण) गर्ने क्षमताको विकास भयो, तबदेखि नै प्रोपोगण्डा फिल्महरूको सुरुवात भयो। यस अर्थमा ‘धुरन्धर’ ग्रिफिथको परम्पराको फिल्म साबित हुन्छ। ग्रिफिथको ‘द बर्थ अफ ए नेसन’ ले ‘धुरन्धर’ ले जस्तै सन् १९१५ मा बक्स अफिसमा तहल्का मच्चाएको थियो। त्यस्तो सफलता ग्रिफिथले फेरि कहिल्यै पाएनन्। त्यसपछि आदित्य धरजस्ता ग्रिफिथका अनेकौँ अनुयायीहरू संसारभर जन्मिए, जो सत्यको आडमा अर्ध-सत्य र पूर्णतः झुट प्रस्तुत गर्न थाले।

जब अमेरिकाको बौद्धिक वर्गले ग्रिफिथको उक्त फिल्मको विरोध गर्‍यो, तब ग्रिफिथले त्यसलाई असहिष्णुताको संज्ञा दिए र ‘द इन्टोलरेन्स’ नामको फिल्म पनि बनाइदिए, जसलाई ती गोरा दर्शकहरूले हेरे जसको छेउमा कुनै अश्वेत दर्शक बस्न पाउँदैनथे (यो त्यस समयको अमेरिकाको सामाजिक व्यवहार थियो)। ठिक त्यसैगरी, जब भारतमा फिल्म समीक्षकहरूले ‘धुरन्धर’ लाई प्रोपोगण्डा फिल्म भने, तब फिल्म निर्माण टोलीको तर्फबाट प्रतिक्रिया आयो कि उनीहरूले सत्य देखाएका छन्; तर यो पनि सत्य हो कि उनीहरूले फिल्मको सुरुमा यो एउटा काल्पनिक फिल्म हो भनेर ठुलो 'डिस्क्लेमर' (अस्वीकरण) पनि दिएका छन्। त्यसैले, प्रोपोगण्डा फिल्म बनाउनेहरूमा आफूले सत्य देखाएको हो भन्न सक्ने त्यति आत्मबल हुँदैन। उनीहरूलाई दक्षिणपन्थीहरूलाई जस्तै शब्दहरूसँग खेल्न आउँछ।

दक्षिणपन्थी प्रोपोगण्डा फिल्महरूको जब विश्लेषण गरिन्छ, तब उताबाट आक्रमणको शैलीमा यो कुरा भनिन्छ कि वामपन्थीहरूले पनि त आफ्ना प्रोपोगण्डा फिल्महरू बनाउँछन् नि! हो, पक्कै पनि बनाउँछन्।

सोभियत रुसमा लेनिनले सिनेमाको सञ्चार क्षमतालाई सुरुआती चरणमै पहिचान गरिसकेका थिए। त्यसैले सन् १९१७ को कम्युनिस्ट क्रान्तिपछि रुसको कम्युनिस्ट सरकारको वित्तीय सहयोगमा सन् १९२५ मा एउटा फिल्म बन्यो, जसको नाम थियो– ‘ब्याटलसिप अफ पोटेमकिन’। यसका निर्देशक सेर्गेई आइजेन्स्टाइन थिए। यो फिल्म सन् १९०५ को जारशाही रुसमा नाविकहरूको विद्रोहमा आधारित थियो।

कम्युनिस्ट प्रोपोगण्डा फिल्महरू जनताको विद्रोहको स्मृतिलाई बचाई राख्न, दर्शकहरूलाई अन्यायपूर्ण व्यवस्थाका विरुद्ध प्रेरित गर्न र समतावादी–जनवादी विचारको प्रचारका लागि बनाइन्छन्। के ‘ब्याटलसिप अफ पोटेमकिन’ मा नाविकहरूले सडेको खाना खानुपर्थ्यो, आफूमाथि भइरहेको अत्याचार सहँदै जानुपर्थ्यो र जार (रुसी राजा) को प्रशंसा गाइरहनुपर्थ्यो भनेर देखाइनु उचित हुन्थ्यो र? हुँदैनथ्यो, फिल्मले यस्तो अत्याचारी व्यवस्थाका विरुद्ध दर्शकहरूलाई विद्रोहका लागि प्रेरित गर्दछ।

दक्षिणपन्थी प्रोपोगण्डा फिल्महरूको जब विश्लेषण गरिन्छ, तब उताबाट आक्रमणको शैलीमा यो कुरा भनिन्छ कि वामपन्थीहरूले पनि त आफ्ना प्रोपोगण्डा फिल्महरू बनाउँछन् नि! हो, पक्कै पनि बनाउँछन्।

जब कहिल्यै कम्युनिस्ट प्रोपोगण्डा फिल्महरूमाथि हमला गरिन्छ, तब तिनको विश्लेषण यसरी गरिनुपर्छ कि—के ‘द बर्थ अफ अ नेसन’ ले जस्तै दर्शकहरूलाई काला वर्णका आफ्नै सहयात्री नागरिकहरूप्रति घृणा गर्न प्रेरित गर्ने? के ‘द कश्मीर फाइल्स’ र ‘केरला स्टोरी’ ले जस्तै दर्शकहरूको मनमा आफ्नै मुसलमान सह-नागरिकहरूप्रति घृणा पैदा गर्ने? के भारतमा मुसलमानहरूको बढ्दो ‘मब लिन्चिङ’ (भीडद्वारा हत्या) मा यी फिल्महरूद्वारा फैलाइएको घृणाको भूमिका छैन र? वामपन्थी प्रोपोगण्डा फिल्म र दक्षिणपन्थी प्रोपोगण्डा फिल्महरूका बीच एउटा मौलिक अन्तर छ: वामपन्थी प्रोपोगण्डा फिल्महरूले पुँजीवादी व्यवस्थाको अन्यायपूर्ण चरित्रको पोल खोलिदिन्छन्, तर दक्षिणपन्थी प्रोपोगण्डा फिल्महरूले एक नागरिकको मनमा अर्को नागरिकका विरुद्ध घृणा भर्ने र हिंसाका लागि उक्साउने भूमिका निर्वाह गरेर अन्ततः पुँजीवादी व्यवस्था वा यथास्थितिवादलाई नै मजबुती प्रदान गर्दछन्। उनीहरूले यो कुरा बताउने कोसिस गर्छन् कि तपाईँको जीवनका विसङ्गतिहरूका लागि तपाईँ स्वयं जिम्मेवार हुनुहुन्छ; जब कि वामपन्थी प्रोपोगण्डा फिल्महरूले जीवनका विसङ्गतिहरूका लागि पुँजीवादी व्यवस्थालाई जिम्मेवार मान्छन् र यो व्यवस्थालाई जनताको क्रान्तिद्वारा बदल्न सकिन्छ भन्ने विश्वास राख्छन्।

‘किस्मत’ रिलिज भयो र कलकत्तामा साढे तीन वर्षसम्म चलिरह्यो। दर्शकहरू पूरा फिल्म हेरिसकेपछि पनि पटक–पटक ‘दूर हटो...’ सुनाउन माग गर्दथे। यो गीत स्वाधीनता आन्दोलनको गीत बन्यो, जसको व्यापक प्रभाव देशभर देखियो। यो पनि त प्रोपोगण्डा नै हो—स्वाधीनता आन्दोलनको प्रोपोगण्डा।

व्यवस्था बदल्ने खालका फिल्म निर्माणको वामपन्थी धारालाई प्रगतिशील धारा भन्नु उचित हुनेछ। यस धारामा स्वतन्त्रता र स्वाधीनताको आवेग हुन्छ। सन् १९४२ मा जब गान्धीजीको नेतृत्वमा ‘भारत छोडो’ जस्तो आन्दोलन उत्कर्षमा थियो, तब त्यस समय बन्ने फिल्महरूले पनि त्यसमा आफ्नै तरिकाले योगदान दिएका थिए। सन् १९४३ मा एउटा फिल्म आयो– ‘किस्मत’। ज्ञान मुखर्जी त्यसका निर्देशक थिए र लेखक आगा जानी कश्मीरी थिए। अशोक कुमार त्यसका नायक थिए। उक्त फिल्मको कथाको सम्बन्ध स्वाधीनता आन्दोलनसँग थिएन, तैपनि त्यसकै  आडमा कवि प्रदीपद्वारा एउटा गीत लेखाइयो– ‘दूर हटो ऐ दुनिया वालों हिन्दुस्तान हमारा है’ (टाढा जाओ ऐ संसारका मानिसहरू, हिन्दुस्तान हाम्रो हो)। यसको संगीत अनिल बिस्वासले दिएका थिए। कवि प्रदीपले आफ्नो एउटा अन्तर्वार्तामा बताएका छन् कि त्यसबेला सेन्सर बोर्ड अंग्रेजहरूको भएकाले यसलाई प्रतिबन्धित गर्न सक्ने आशंका थियो। त्यसैले उनले उक्त गीतमा एउटा पंक्ति थपे– ‘तुम न किसी के आगे झुकना जर्मन हो या जापानी/ आज सभी के लिए हमारा यही कौमी नारा है/ दूर हटो ऐ दुनिया वालों हिन्दुस्तान हमारा है’ (तिमी कसैको अगाडि  नझुक्नू चाहे ती जर्मन हुन् वा जापानी/ आज सबैका लागि हाम्रो यही राष्ट्रिय नारा हो/ टाढा जाओ ऐ संसारका मानिसहरू, हिन्दुस्तान हाम्रो हो)। यसै पंक्तिका आधारमा त्यस समयको सेन्सर बोर्डलाई यो सम्झाइयो कि जर्मन र जापानीहरू अंग्रेजका शत्रु भएकाले हिन्दुस्तानीहरूलाई उनीहरूका अगाडि नझुक्न भनिएको हो। ‘किस्मत’ रिलिज भयो र कलकत्तामा साढे तीन वर्षसम्म चलिरह्यो। दर्शकहरू पूरा फिल्म हेरिसकेपछि पनि पटक–पटक ‘दूर हटो...’ सुनाउन माग गर्दथे। यो गीत स्वाधीनता आन्दोलनको गीत बन्यो, जसको व्यापक प्रभाव देशभर देखियो। यो पनि त प्रोपोगण्डा नै हो—स्वाधीनता आन्दोलनको प्रोपोगण्डा।

त्यसैले प्रश्न यो उठ्छ कि (यद्यपि प्रोपोगण्डा हरेक विचारधाराका मानिसहरूले गर्छन्), हामी कुन प्रोपोगण्डाको पक्षमा उभिएका छौँ? प्रगतिशील र स्वतन्त्रताको चेतना विकास गर्ने प्रोपोगण्डाको पक्षमा कि घृणा, लोकतन्त्र विरोधी र प्रतिक्रियावादी भड्काउ प्रोपोगण्डाको पक्षमा? यो भुल्नु हुँदैन कि अमेरिकाको जुन ‘कु क्लक्स क्लान’ उन्नाइसौँ शताब्दीको अन्तिम वर्षहरूमा पूर्ण रूपमा समाप्त भइसकेको थियो, ग्रिफिथको ‘द बर्थ अफ ए नेसन’ ले गर्दा बीसौँ शताब्दीमा त्यो फेरि जागृत भयो र त्यस समय काला जातिका मानिसहरूको ‘मब लिन्चिङ’ (भीडद्वारा हत्या) का अनेकौँ घटनाहरू सार्वजनिक भए। के हामी यस्तो प्रोपोगण्डाको पक्षमा छौँ, जसले हाम्रै सह-नागरिकहरूका विरुद्ध हामीलाई भड्काउँछ?

‘धुरन्धर’ र ‘धुरन्धर (२) द रिभेन्ज’ पाकिस्तानको आडमा आफ्नै देशको लोकतन्त्र विरोधी फिल्महरू हुन्। यी दुवै फिल्मले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारबाहेक जनताले चुनेका हरेक सरकारलाई देश विरोधीका रूपमा चित्रण गरेका छन्।

सहजै यो प्रश्न सोध्न सकिन्छ कि ‘धुरन्धर’ मा कसका विरुद्ध भड्काउने कोसिस गरिएको छ? पाकिस्तानले त सधैँ हामीसँग नराम्रो गर्छ, त्यसका विरुद्ध फिल्म बनाउँदा किन आपत्ति? कतै तपाईँ यो फिल्मलाई मुस्लिम विरोधी त मानिरहनुभएको छैन? यसको पहिलो जवाफ त यो हो कि—मुस्लिम विरोध भएमा मात्र त्यसलाई घृणित प्रोपोगण्डा भनिन्छ भन्ने बिल्कुल होइन। यो बेग्लै कुरा हो कि ‘कश्मीर फाइल्स’ र ‘केरला स्टोरी’ जस्ता थुप्रै फिल्महरू पछिल्ला १०–१२ वर्षमा बने जुन सीधा–सीधा मुस्लिम विरोधी थिए, त्यसैले भारतमा प्रोपोगण्डा फिल्मको छवि नै मुस्लिम विरोधी फिल्मको रूपमा बनेको छ। तर यदि प्रोपोगण्डा फिल्मको सन्दर्भमा यही मात्र अन्तिम सत्य हुन्थ्यो भने यहाँ पटक–पटक ग्रिफिथको ‘द बर्थ अफ ए नेसन’ को चर्चा गरिने थिएन। ‘धुरन्धर’ र ‘धुरन्धर (२) द रिभेन्ज’ पाकिस्तानको आडमा आफ्नै देशको लोकतन्त्र विरोधी फिल्महरू हुन्। यी दुवै फिल्मले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारबाहेक जनताले चुनेका हरेक सरकारलाई देश विरोधीका रूपमा चित्रण गरेका छन्। अप्रत्यक्ष रूपमा ती तमाम सरकारहरू पाकिस्तान परस्त भएको संकेत पनि गरिएको छ। यो पनि देखाइएको छ कि पाकिस्तानबाट आउने नक्कली नोटको कारोबारमा उत्तर प्रदेशका एक मुस्लिम व्यक्ति सामेल छन्। उक्त ‘काल्पनिक’ पात्रको नाम आतिफ अन्सारी राखिएको छ, जसको छवि दिवंगत अतीक अन्सारीसँग मिल्दोजुल्दो छ। यसो गरेर फिल्म निर्माताले प्रहरी सुरक्षामा रहेका अतीक अन्सारीको हत्यालाई वैधता प्रदान गर्छन् र साथै अदालत बाहिर लिइने बदलालाई न्यायका रूपमा परिभाषित गर्छन्। यसमा नोटबन्दीका बारेमा अनेकौँ अर्थशास्त्रीहरूले उठाएका आपत्ति र त्यससँग जोडिएका जनताका सास्तीका तथ्यहरूलाई पूर्णतः बेवास्ता गर्दै त्यसलाई एक सफल प्रोजेक्टका रूपमा व्याख्या गरिएको छ।

धुरन्धर (२) द रिभेन्ज’ मा अजय सान्यालले कान्दहार विमान अपहरणका एक ‘काल्पनिक’ आतंकवादीलाई सम्झाउँछन्– “के भनेका थियौ तिमीले, हिन्दू निकै डरपोक जात हुन्छ?” उक्त ‘काल्पनिक’ आतंकवादीले पहिलो ‘धुरन्धर’ मा वास्तवमै यो संवाद बोलेको थियो, तर यो संवाद फिल्मका लेखक–निर्देशकको रचना हो भन्ने कुरा फिल्म हेर्दा दर्शकले बिर्सन्छन् र उनीहरूको रगत उम्लिन थाल्छ। कसका विरुद्ध रगत उम्लिन्छ? भारतमा बसिरहेका गरिब छिमेकी मुसलमानका विरुद्ध। किनकि बदला लिनका लागि उनीहरूसँग भारतका मुसलमानहरू नै सहज रूपमा उपलब्ध छन्। यसका साथै यो फिल्म हिन्दू ध्रुवीकरणमा पनि सफल हुन्छ, जसको लाभ चुनावमा मिल्दछ।

अब दुवै ‘धुरन्धर’ को ‘डिस्क्लेमर’ (अस्वीकरण) को सुरुवाती पंक्तिहरूमा ध्यान दिनुहोस्– ‘यो फिल्म वास्तविक जीवनका घटनाहरूबाट प्रेरित एक काल्पनिक कृति हो। यो फिल्म वृत्तचित्र अर्थात् डकुमेन्ट्री होइन र यसलाई ऐतिहासिक तथ्य वा घटनाहरूको सटिक चित्रण मानिनु हुँदैन।’ जब कि यो फिल्मलाई सत्य घटना भनेर प्रचार गरिँदै छ। दोस्रो ‘धुरन्धर’ मा एउटा रोचक र हास्यास्पद प्रसङ्ग देखाइएको छ कि भारतबाट भागेका अन्डरवर्ल्ड डन र आतंकवादी दाउद इब्राहिमले नै वास्तवमा पाकिस्तान चलाइरहेका छन्। नेता र आईएसआईका मानिसहरू उनको खुट्टामा बस्छन् र उनले सबैलाई दिशा–निर्देश दिइरहेका छन्। यदि यो सत्य हो भने ‘धुरन्धर’ का ‘काल्पनिक’ नायक हम्जालाई पाकिस्तान पठाउनु नै पर्दैनथ्यो, किनकि जुन देश दाउद इब्राहिमले चलाउँछन्, त्यो देशलाई बर्बाद हुनबाट कसले रोक्न सक्छ र? यहाँ आएर फिल्म निर्माताको कल्पना पनि खोक्रो साबित हुन्छ।

विश्वभरि नै कला–साहित्यको यो नैतिकता रहेको छ कि यो सधैँ कमजोर र पीडित व्यक्तिको पक्षमा हुन्छ। जब कि घृणित प्रोपोगण्डा फिल्महरू वास्तविक जीवनमा जो शक्तिशाली छन्, जो सत्तामा छन्, उनीहरूको पक्षमा हुन्छन् र पीडित–कमजोर वर्गको विरोधमा।

प्रोपोगण्डा फिल्महरूमा ऐतिहासिक तथ्यहरू दुई तरिकाले प्रयोग गरिन्छन्। पहिलो, यदि फिल्म निर्देशक दर्शकहरूले तथ्यहरू बुझेर मानवीय विकासको मार्गमा लाग्न प्रेरित होऊन् र उनीहरूभित्र अरूप्रति ‘एम्पैथी’ (समानुभूति) पैदा होस् भन्ने चाहन्छन् भने उनले वामपन्थी–लोकतान्त्रिक दृष्टिबाट तथ्यहरूको प्रयोग गर्नेछन्। दोस्रो, यदि फिल्म निर्देशक अन्याय गर्ने सत्ता टिकिरहोस् भन्ने चाहन्छन् भने उनले ऐतिहासिक तथ्यहरूलाई एक हतियारको रूपमा प्रयोग गर्नेछन्, जसबाट साधारण र कमजोर मानिसहरूको सिकार गरिनेछ। यसलाई तथ्यहरूको सशस्त्रीकरण भन्न सकिन्छ।

विश्वभरि नै कला–साहित्यको यो नैतिकता रहेको छ कि यो सधैँ कमजोर र पीडित व्यक्तिको पक्षमा हुन्छ। जब कि घृणित प्रोपोगण्डा फिल्महरू वास्तविक जीवनमा जो शक्तिशाली छन्, जो सत्तामा छन्, उनीहरूको पक्षमा हुन्छन् र पीडित–कमजोर वर्गको विरोधमा। त्यसैले यस्ता प्रोपोगण्डा फिल्महरूलाई लिएर चिन्ता मात्र होइन, बरु यिनको विरोध पनि हुनुपर्दछ—अहिंसक तरिकाले।

स्रोत: द ट्राइकन्टिनेन्टल