विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने !

के यो नियोजित हत्या हुन सक्छ ?

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा अर्का नेता जीवराज आश्रितको रहस्यमय दुर्घटनामा परी निधन भयो । उक्त घटना इतिहासमा दासढुङ्गा काण्डको रुपमा चर्चित छ । उक्त घटना फगत सडक दुर्घटना मात्र नभई नियोजित हत्याकाण्ड हो भन्ने जनमत निक्कै बलियो छ । र, हरेक जेठ महिनामा उक्त घटनाको चर्चा हुने तथा त्यसको छानविन हुनुपर्ने माग उठ्दै आउने गरेको छ ।

तत्कालीन अवस्थामा उक्त घटनाको छानविन गर्न सरकारी तथा गैरसरकारी रुपमा थुप्रै आयोगहरु बनेका थिए । तीमध्ये एउटा आयोग तत्कालीन लोकप्रिय नेता पद्मरत्न तुलाधरको अध्यक्षतामा जनस्तरबाट गठन भएको थियो । उक्त आयोग इतिहासमा तुलाधर आयोगको नामले चर्चित छ ।

दासढुंगा काण्डबारे पद्मरत्न तुलाधर नेतृत्वको जनस्तरको आयोगको रिपोर्ट २०५० पुस १५ गते सार्वजनिक रूपमा प्रकाशित गरेको थियो । तत्कालीन अवस्थामा आफ्नो रिपोर्ट पूर्ण रूपमा जनसमक्ष ल्याउने यही पहिलो आयोग भएको थियो।

उक्त आयोगले अरू सबै आयोगभन्दा बेसी तथ्य प्रमाण संकलन गरेर आफ्नो ठहर पेश गरेको थियो। लण्डनको रगत र भिसेरा जाँचको प्रतिवेदनको विश्लेषण अरू आयोगको रिपोर्टमा थिएन, त्यो यही आयोगले पहिलो चोटी पेश गरेको थियो। अमर लामाको प्रेमिकाको विवाद, नारायणी नदीमा माछा छोप्ने जाल बिछ्याएको विवादबारे पनि यस आयोगको प्रतिवेदनले एउटा प्रामाणिक टुंगो लगाएको थियो। यी सबै हिसाबले यो प्रतिवेदन सबैभन्दा विशेष महत्त्वको रहेको मानिएको थियो।

मूल्याङ्कन पत्रिकाको शुरू पहलमा विभिन्न पेशा र क्षेत्रका बौद्धिकहरूको २०५० जेठ ६ को भेलाले गठन गरेको "नागरिक छानबिन समिति" ले दासढुंगा काण्डलाई नियोजित हत्या नै ठहर गरेको थियो। यी सबैसम्मत रिपोर्टको आधारमा मदन र क. आश्रितको बेहोसी वा मृत्यु मोटर खस्नु अघि सुनकोशी रेष्टुरँदेखि दासढुंगाको बीचमा विषादि सुँघाएर भइसकेको र बेहोसी वा मृत्युको अवस्थामा नै दासढुंगामा नियत राखेर गाडी तल खसालेको हुन सक्ने निष्कर्ष आयोगको रिपोर्टले तथ्य-प्रमाणहरू सहित पेश गरेको थियो। यो तत्कालीन अवस्थामा निकालिएका निष्कर्षमध्ये नयाँ नसुनिएको निष्कर्ष हो।

आयोगको विश्लेषण दासढुंगा काण्ड बारे वास्तविकता थाहा पाउन चाहने पाठकहरूको लागि उपयोगी हुने ठानेर मूल्याङ्न मासिकले आफ्नो पुस २०५० सालको अंकमा उक्त रिपोर्टको पूर्ण पाठ प्रकाशित गरेको थियो ।  

उक्त रिपोर्ट अहिलेसम्म सुल्झिन नसकिएको दासढुङ्गाको घटनाबारे जान्न चाहनेहरुका लागि अझै पठनीय र  उपयोगी हुन सक्ने हामीले ठानेका छौं ।

दायित्वबोध

दासढुंगा काण्डबारे तुलाधर आयोगको ठहर

उपलब्ध तथ्यहरूको आधारमा दासढुंगाको घटना सामान्य भवितव्य गाडी दुर्घटना पनि नभएको, यो असामान्य भवितव्य गाडी दुर्घटना पनि नभएको र यो चालकको लापरवाहीबाट हुन गएको दुर्घटना पनि नभएको निष्कर्ष निक्लन्छ।

यस्तो भएपछि स्वभाविक रूपमा प्रश्न उठ्छ, के त्यसो भए यो नियोजित हत्या हुन सक्छ त ?

नियोजित हत्या ठहरिनको लागि दुर्घटना हुनु पर्ने कुनै परिस्थिति दुर्घटनास्थलमा नभएर पनि चालकले नियत राखेर गाडी दुर्घटना गराएको हुनु पर्यो। चाहे त्यो आर्थिक प्रलोभनका कारणले होस् वा राजनीतिक स्वार्थका कारणले, चाहे व्यक्तिगत वैमनस्यका कारणले होस् वा अन्य कुनै कारणले। र, दुर्घटना अघि र पछिका चालक लामाका व्यवहारहरूले पनि त्यसलाई परिपुष्टि गरेको हुनु पर्यो।

हामीले माथि नै तथ्यहरूको आधारमा विश्लेषण गरिसक्यौं- दासढुंगामा जतिखेर उपरोक्त जीप दुर्घटनाग्रस्त भयो त्यतिहबेर गाडीको यान्त्रिक स्थिति राम्रो अवस्थामा थियो। गाडी पनि नियन्त्रण बाहिरको गतिमा थिएन। चालक होशपूर्ण अवस्थामा थियो। सडक १९ फीट ३ इन्च चौडा र सिधा थियो। सडकका दुवै पट्टि गाडी रोक्न सकिने प्रशस्त ठाँउ थियो। गाडी देव्रेपट्टिको भित्तामा ठोक्काएर रोक्न पनि सकिन्थ्यो, दायाँ नदी पट्टिको १६ फिट चौडा गैरयुक्त खाली भागमा ब्रेक लगाएर रोक्न पनि सकिन्थ्यो। गाडीको साम्ने अघि र पछि कुनै व्यवधान थिएन। सडक त्यतिखेर शून्य थियो। त्यतिखेर सिमसिम पानी परिरहेको थियो। अत्यन्त गतिवान गाडीमा कुनै व्यवधान आई लाग्दा अकस्मात् ब्रेक लगाएको खण्डमा मात्र सिमसिम पानी परिरहेको स्थितिमा गाडी सडकमा फनक्क फर्कन वा नाच्न सक्दछ भन्ने गाडीविज्ञहरूको भनाई बारे विचार गर्दा- त्यस्तो व्यवधान आईलागेर ब्रेक लगाएको स्थिति पनि देखिन आएन।

ती सब तथ्यहरूको आधारमा दुर्घटना स्थल र गाडी स्वयम्मा दुर्घटना हुनु पर्ने कुनै सामान्य वा असामान्य परिस्थिति कतैबाट देखिन आएन।

चालक त्यो दिन मानसिक र शारीरिक रूपले स्वस्थ अवस्थामै भएको कुरा पनि हामीले माथि विश्लेषण गरिसक्यौ। त्यसैले यसको कारणले पनि दुर्घटना हुनु पर्ने कुनै कारण देखिएन।

चालक लामाले शुरूमा गाडी दासढुंगामा पुग्दा दायाँ बायाँ नाच्न थाल्यो, नियन्त्रण गर्न खोजियो, नियन्त्रण भएन, अन्ततः गाडी दायाँ तान्यो र तल खस्यो भन्ने बयान यस ना. छा. स. समक्ष दिएका छन्।

सडकमै हाम्फालेको !

चालक लामा स्वयम्ले पछि यस नागरिक छानवीन समिति समक्ष नदीतर्फ गाडी खस्नु अघि आफू माथि सडकमै हाम्फालेको पनि स्वीकारेका छन्। उनको पछि पछि रहेको ट्रक नं. ना. अ. ख. ६२० का खलाँसीले पनि उनलाई प्रत्यक्ष रुपमा सडकमै हाम्फालेको देखेको कुरा बताएका छन्। दुर्घटना हुँदा पारीपट्टि नारायणी नदीमा माछा मारी बस्ने बाबुलाल श्रेष्ठ र होम बहादुर मगर तथा बारी फोडी बस्ने सूर्य बहादुर मगरले पनि यस नागरिक छानबीन समितिसितको बयानमा चालक लामालाई सडक भन्दा अलि तल, खूधभन्दा माथि ओर्लिरहेको प्रत्यक्ष रुपमा देखेको बयान दिएबाट पनि चालक लामा त्यस भन्दा माथि सडकमै हाम्फालेको कुरा सत्य ठहरिन आयो।

दासढुंगाको दुर्घटना स्थल नजिकै छाप्रोमा बस्ने श्रीमती माया श्रेष्ठले आफ्नै आँखाले गाडी दायाँ बायाँ गर्दै गतिमा आएको देखेको बयान यस समिति समक्ष दिइन्। यस हिसाबले गाडी दायाँ बायाँ गर्दै आएको हुन सक्ने संभावना देखियो।

तर अमर लामालाई पटक पटक सोध्दा पनि यी मूलभूत प्रश्नहरूको उत्तर भने उनीबाट आएन।

प्रश्न के भने गाडी त्यसरी दायाँ बायाँ भएर चल्न थालेर खतराको आभाष भएको हो भने चालक लामाले तुरुन्तै गाडीको गियर डाउन गरेर वा गाडीमा फोरह्विल गियर लगाएर गाडीलाई नियन्त्रण भित्रको मन्द गतिमा चलाउन प्रयत्न गरेनन् किन, जबकि ती सबै यन्त्रहरू राम्रो अवस्थामा थिए ? अथवा उनले ब्रेक लगाएरै पनि गाडी रोक्न सक्थे, त्यस्तो ठाँउ सडकमा प्रशस्त थियो, त्यस्तो गर्ने प्रयत्न नै उनले गरेनन् किन? त्यो पनि असफल भए, गाडीको स्टेरिङ राम्रो अवस्थामा थियो र देब्रे भित्तामा ६ फीट भन्दा पनि बेसी चौडा ढल थियो, त्यस उता माटोको भित्ता थियो, त्यहाँ गाडी ठोक्काएर पनि गाडीलाई रोक्न सकिन्थ्यो, त्यो प्रयत्न पनि उनले गरेनन् किन ? गाडी नियन्त्रण भन्दा बाहिरको गतिमा थियो भन्ने उनको भनाइ सही हो भने त्यस्तो गतिको गाडीबाट उनी सकुशल, भयाल खोलेर सडकमा हाम्फाल्न सके कसरी ? किन उनले यो खतराको सूचना आफ्ना पार्टी नेताहरूलाई चाहिं दिन प्रयत्न गरेनन् ?

बाँच्ने विकल्प नभएर

जीवनमाथि टड्कारो खतरा आइलाग्यो भने मानिसको सबैभन्दा पहिले आफ्नो ज्यान जोगाउनेतर्फ ध्यान जान्छ। यो मानिसको मनोवैज्ञानिक प्रवृत्ति हो। चालक लामालाई यस्तो पो भयो कि ? भन्ने तर्फ विचार गर्दा त्यतिखेर गाडी दायाँ बायाँ नाचेर चालक लामाले भने जस्तो खतरा नै आई लागेको हो भने पनि चालक लामासित ज्यान जोगाउने कैयन विकल्प देखिन्छन्। जस्तो गाडी देब्रे भित्तामा ठाँक्काउनु, गाडीको गियर डाउन गर्नु, फोर ह्विल गियर लगाउनु, सडकको दाहिने पट्टि खाली भागमा ब्रेक लगाएर रोक्नु, भित्तामा ठोकाउनु, गाडीको स्टेरिङ कन्ट्रोल गरेर गाडी सिधा अगाडि जानका लागि छोडी दिनु। त्यसैले, चालक लामा ज्यान जोगाउन बाध्यतावश हाम्फालु सिवाय अर्को उपाय नै नभएको स्थितिमा पनि देखिन्नन्।

यसरी गाडी दुर्घटना हुनु पर्ने कुनै परिस्थिति नै नभइकन, र गाडी सुरक्षित तवरले, रोक्ने थुप्रै विकल्प हुँदा हुँदै, कुनै पनि बिकल्य अपनाउने प्रयत्न नै नगरी महत्वपूर्ण पार्टी नेताहरू भएको गाडीलाई नदीतर्फ जानका निम्ति छोडिदिएर चालक लामा मात्र सडकमा सकुशल हाम्फाल्नु यो दुर्घटना नियतपूर्ण हत्या भएकै इंगित गर्दछ।

शंकास्पद व्यवहारहरू

अब हामी विश्लेषण गरौं, चालक लामाका दुर्घटनापछि र अघिका व्यवहारहरू के ती व्यवहारहरू र यो प्रश्न बीच कुनै संगति देखिन्छ ?

दुर्घटना नियन्त्रण थिएन र भवितब्य थियो भने दुर्घटना पछि दुर्घटनामा परेकाको उद्धार कार्य गर्न आतुर हुनु निर्दोष मानिसको मानवीय स्वभाव हो। त्यो आतुरी प्रेमपूर्ण सम्बन्ध भएका सबैसँग निर्दोष मानिसमा धेरैथोर मात्रामा हुने गर्दछ।

महासचिव मदन भण्डारीजो चालक लामासितको सम्बन्ध अत्यन्त सुमधुर र प्रेमपूर्ण देखिन्छ। चालक लामाकै बयान अनुसार मदन भण्डारीले बालकलाई चालकको जस्तो व्यवहार गर्दैनथे। आफ्नै भाइ छोराको जस्तो ब्यवहार गर्दथे। कही गोष्टी कार्यक्रममा जाँदा पाएको मीठाइको पोका पनि आफूले एउटा खाएर बाँकी सबै चालक लामालाई नै दिन्थे। खानपिनमा पनि पटक्कै छेट्याउँदैनथे। भण्डारीले चालक लामालाई कहिल्यै गाली गरेनन्। संबन्ध यस्तो प्रेमपूर्ण थियो भने कुरा श्रीमती विद्या पाण्डे, अमर लामाकी श्रीमती गोमा लामा, शैलेन्द्र जंग थापा, ईश्वर पोखरेलको बयानबाट पनि पुष्टि हुन्छ।

राजनीतिक विचारमा पनि चालक लामा ने. क. पा. एमालेको पार्टी सदस्यको हैसियतमा भण्डारीकै विचारको पक्षपोषण गर्दथे। यो कुरा चालक लामाको बयान र सी. पी. मैनालीको बयानबाट पनि पुष्टि भएको छ। यति आत्मीय र प्रेमपूर्ण ब्यवहार गर्ने र बैचारिक रुपले पनि समान सोच भएको आदरणीय अगुवा मानिस आफूले हाँकेको गाडी दुर्घटनामा परेपछि चालक लामाको निर्दोष भएमा स्वभावतः चालक लामाको सारा ध्यान दुर्घटना पछि बचाउनका लागि उद्धार कार्यतर्फ प्रवृत्त हुनु पर्ने हो। तर आश्चर्यको कुरा, यस्तो प्रवृत्ति चालक लामामा कतै देखिएन।

दासढुंगा यस्तो ठाँउ हो, जहाँ १०/१५ मिनेट सडकमा खडा भएर आएका गाडीहरू रोक्न गुहार माग्ने हो भने सयौ मानिस जम्मा हुन सक्दछन् र उद्धार कार्य हुन सक्दछ। त्यस माथि मदन भण्डारी जस्तो राष्ट्रमा चर्चित ब्यक्तित्व भएकाले उनको गाडी दुर्घटना भएको सूचना दिने हो भने थुप्रै मानिस उद्धार कार्यका भित्र उत्प्रेरित हुन सक्दथे। दुर्घटना भएको १०/१५ मिनेट अत्यन्त महत्वपूर्ण र निर्णायक समय थियो, उद्धार वा बचाउ कार्यका लागि। तर चालक लामाले यो महत्वपूर्ण र निर्णायक समयमा आफ्ना नेताहरूको बचाउको लागि त्यस्तो केही गरेको देखिएन।

गाडी नदीमा खसेपछि चालक लामा पनि तल गए। तल नदीमा, चालक लामा र श्रीमती माया श्रेष्ठका पति रत्नलाल श्रेष्ठका अनुसार, मदन भण्डारीको हात र टाउको पुक्लुक्क देखियो। तर चालक लामाले आफ्नो नेता त्यही भित्र पानीमा छु भन्ने थाहा पाएर पनि, र आफू पौडी खेल्न जान्ने भएर पनि, उतार्नको लागि कोशिस गरेनन्। चालक लामाको भनाइ अनुसार, रत्नलाल श्रेष्ठले पानीमा पस्यो भने मर्लास् भनेर तर्साएको हुनाले बचाउन पानीमा नगएको हो। यस्ती हुन सक्छ ? अरुलाई आह्वान गरेर आफ्ना नेताहरूलाई बचाउन उद्धार कार्य गर्न सक्थे। रत्नलाल श्रेष्ठको बयान अनुसार र श्याम रंजितकार (भ्यानको ड्राइभर) को बयान अनुसार, उनी सडकमा त आए, तर बचाउ कार्यका लागि कसैलाई पनि अनुरोध गरेनन्। रामनगर प्रहरी चौकीका प्रहरी कृष्ण बहादुरका अनुसार उनले त्यहाँ पनि उद्धार कार्यका लागि प्रहरीलाई अनुरोध गरेनन्। र, नारायणगढ इलाका प्रहरी कार्यालयका स. इ. प्रेम बहादुर बुढाथोकीको बयान अनुसार उनले त्यहाँ पनि घटनाको रिपोर्ट मात्र गरे, तर उद्धार कार्यको लागि अनुरोध गरेनन्।

तर इलाका प्रहरी कार्यालयको नजिकै प्रकाश कोल्ड स्टोर्सबाट काठमाण्डू केन्द्रिय पार्टी कार्यालयमा ट्रंकल गर्दा भने चालक लामाले सेना र प्रहरी जवान उद्धार कार्यमा लागी सकेका छन् र अब उहाँहरू बाँच्ने आशा छैन भनेर पनि रिपोर्ट गरेको भन्ने लेखनाथ कोइरालाको बयान छ। अन्यत्र रिपोर्ट गर्दा पनि अब उहाँहरू बाँच्ने आशा छैन भनेर उद्धार कार्यलाई निरुत्साहित गर्ने ढंगले रिपोर्ट गरेको देखिन्छ।

 

अमर लामासित नागरिक छानबिन समितिको बयान

प्रश्न - पौडी कत्तिको खेल्नु हुन्छ ?

अमर- जान्दछु।

प्र.- कस्तो ठाउँमा पौडी खेल्नु हुन्थ्यो ?

अ.- मर्स्याङ्दी, चेपे र तालहरूमा

प्र.- वारपार गर्न सक्नु हुन्थ्यो ?

अ.- सक्थे।

प्र.- अनि पौडी खेलेर नेताहरूलाई किन बचाउन खोज्नु भएन त ?

अ.- एक पटक पानीमा जाउँ जस्तो लागेको थियो। खास गरी मदन कमरेडको हात-खुट्टा देखेपछि। ज्यान पनि लागेको। तर ती मानिसहरूले मलाई तर्साई दिए। "नजानुस्" भने। "डुब्ने मान्छेले आफैलाई पनि समाउँछ" भने। के गरौँ, के गरौँ जस्तो भो। "मदन कमरेड" भनेर बोलाएँ। माथि आएर मानिसलाई पनि बोलाएँ, तल जाउँ भने। ट्रकलाई रोकेर तल जाउँ भने। "होइन तपाई अस्पताल जानुस्" भन्यो। म आत्तिएँ। मलाई लाग्यो पुलिस भेटिदिए हुन्थ्यो, पार्टीका मानिस भेटिदिए हुन्थ्यो।

प्र.- पुलिस भेटिदिए हुन्थ्यो भन्ने किन लाग्यो ?

अ.- क्रेन ल्याएर बचाउनलाई।

 प्र.- नारायणघाटमा पुलिसलाई भन्नु भो त क्रेन ल्याएर बचाउनलाई ?

अ.- त्यो पुलिसहरू त, ट्रक उता गइहाल्यो। एउटा पुलिस मसँग आयो।

प्र.- मदन कमरेडहरू पानीमा पुग्न अघि नै मर्नु भो जस्तो लाग्यो ?

अ.- त्यो त अब उहाँहरू कसरी बित्नु भो, मलाई थाहा छैन।

 प्र.- पानीमा डुबेर, पौडी खेल्न नजानेर मरेको जस्तो लाग्यो ?

 अ.- मलाई त्यो एक जना मानिसले उहाँहरू बितिसक्नु भयो, आशा नगर्नुस् भनेपछि म आत्तिएँ। मैले उहाँहरूलाई बोलाएँ। एकदम गहुँगो लाग्यो। जीप निकाल्न पनि सकिने होइन। पौडी खेल्न पनि डर लाग्यो।

 प्र.- तपाईँलाई उहाँहरू बित्नु भो भनेर कुन बेला लाग्यो ?

अ.- पछि अस्पतालमा साथीहरूले भनेका थिए।

प्र.- होइन, तपाईँलाई उहाँहरू बित्नु भयो भनेर लाग्यो कति बेला ?

अ.- मलाई त अब, त्यस्तो गहिरोमा खस्नु भएको छ। डराएँ। निस्कनु भएन। त्यसो भएपछि बित्नु भयो जस्तो लाग्यो।

प्र.- उहाँहरू बित्नु भो भन्ने लागेपछि पुलिसलाई खबर गरेर क्रेन ल्याएर बचाउने भन्ने कुराको के अर्थ रह्यो त ?

अ.- ...... (चुप)

यसबाट चालक लामा मदन भण्डारी र आश्रितको बचाउ कार्यको लागि उत्सुक र तत्पर नभएको देखिन्छ। एकातिर मदन भण्डारीले मलाई सारै माया गर्नु हुन्थ्यो र आत्मीय ब्यबहार गर्नु हुन्थ्यो भन्ने अमर लामा स्वयम्को बयान र अर्कोतिर तिनै मायालु र आत्मीय भनिएका नेता दुर्घटनामा पर्दा बचाउ कार्यप्रति बेहद बेवास्ता, यी आपसमा अन्तरविरोधी कुरा हुन्। यो मानव स्वभाव बिपरीत कुरा हो। चालक लामामा देखिएको यो मानव स्वभाव बिरोधी लक्षणले पनि दासढुंगा घटना नियतपूर्ण थियो भन्नेतर्फ नै द्वैगत गरेको देखियो।

चालक लामा उद्धार कार्य गर्नुको सट्टा घटनाको तुरुन्तै पछि नदीमा गएर आफ्नो लुगा र शरीर धमिलो पानीले भिजाउने, धमिलो पानी नै खाने र म पनि गाडीसितै पानीमा पसेको थिएँ, पौडी खेलेर निस्किएँ भनेर ढाँट कुरा गर्ने तर्फ प्रवृत्त भएको देखियो। उनले खोलामा आएर धमिलो पानी खाएको र त्यही पानीले शरीर भिजाउँदै गरेको देखेको कुरा घटनास्थलका प्रत्यक्षदर्शी सूर्य बहादुर मगर, होम बहादुर मगर र बाबुलाल श्रेष्ठले आफ्नो बयानमा बताएका छन्। त्यसपछि उनको प्रयत्न भाग्नुको सट्टा प्रहरीलाई खबर गर्नु र पार्टी कार्यालयलाई खबर गर्नु रहेको देखियो। आफ्ना नेताहरूलाई बचाउनको निम्ति ध्यान नजानु, तर प्रहरी र पार्टी कार्यालयलाई खबर गर्नेतिर भने ध्यान जानु र घटनाको लगत्तैपछि धमिलो पानी खाने र शरीरमा धमिलो पानी छर्कनेतिर ध्यान जानुले चालक लामा आफ्नो निर्दोषिता सावित गर्न र आत्म सुरक्षा गर्नको निमित्त बढी चिन्तित भएको देखियो। म पानीमै परेको, पौडी खेलेर निस्केको भन्ने उनको शुरु बयान पनि यही आत्म सुरक्षा भावबाट प्रेरित देखिन्छ। आफ्नो नेताहरू भवितब्य दुर्घटनामा परेको तात्कालिन स्थितिमा हरेक निर्दोष मानिसको मुख्य चिन्ता हुन्छ कसरी उनीहरूलाई जिउँदो रूपमै पाउने वा बचाउने। कानूनी ब्यहोरा पुऱ्याउने आत्म सुरक्षाका कामहरूमा उनीहरूको चिन्ता स्वभावतः कम हुने गर्छ। तर चालक लामामा भने उल्टो प्रवृत्ति देखियो।

के नियतले उनले यसरी धमिलो पानी खाए र शरीरमा छर्के ? किन उनी प्रहरी र पार्टी कार्यालयलाई खबर गर्नेतिर बढ्ता प्रवृत्त भए ? किन उनी पौडी खेलेर पानीबाट निस्केको भन्ने झूटो बयान दिन उत्प्रेरित भए ? किन एउटा दक्ष अपराधीमा झै कानूनी रूपबाट आफ्नो बचाउको निमित्त जरुरुई पर्ने सावधानी र होशियारी चाहिं उनमा पैदा भयो ?

यी प्रश्नहरू स्वभावतः उठ्छन्। र यिनले पनि यो गाडी दुर्घटना भबितब्य नभएर नियतपूर्ण हो भन्ने तर्फ नै इंगित गरेका छन्।

नियतवश गाडी दुर्घटना नभएको स्थितिमा आफ्नो नेताहरूको मृत्यु भएको थाहा भएपछि र आफूले त्यसमा केही गर्न नसकेको बोध भएपछि स्वभावतः निर्दोष मानिसमा दुःखको भाव र पश्चात्तापको भाव पैदा हुने गर्छ। आफ्नो नेताको मृत्युमा पनि दुःख भाव नहुनु र आफूले बचाउने संभावना हुँदा हुँदै पनि केही गर्न नसकेर नेताहरूको मृत्यु हुँदा पनि पश्चात्ताप भाव पैदा नहुनु भनेको अमानवीय र संदेहास्पद लक्षण हो। तर चालक लामामा भने मदन भण्डारी र आश्रितको मृत्युपछि पनि दुःखभाव र पश्चात्ताप भाव पैदा भएको देखिएन। भरतपुर अस्पतालका डाक्टर प्रकाश रायमाझी, डा. बिजयान मानन्देहको बयानबाट यो ज्ञात हुन्छ। उनलाई वीर अस्पतालमा ल्याएपछि पनि उनमा त्यो भाव देखिएन। उनको पालो बसेका यदुनाथको बयानबाट त्यसको जानकारी मिल्दछ। यस नागरिक छानबीन समितिले उनलाई डि. एस. पी. कार्यालयमा बयान लिंदा पनि उनमा यो भाव भएको पाइएन।

आफूप्रति सारै मायालु, आत्मीय र आफ्नो श्रद्धाको केन्द्रको मृत्युमा पनि किन चालक लामामा दुःखको भाव पैदा भएन ? आफ्ना नेतालाई आफूले बचाउन नसक्दा पनि किन उनमा पश्चात्ताप भाव पैदा भएन ? यो आश्चर्यजनक र संदेहास्पद लक्षणले पनि दासढुंगा परिघटना नियतपूर्ण भएको तर्फ नै इंगित गरेको छ।

 

तुलाधर आयोग समक्ष अमर लामाको साविती बयान

प्रश्न - तपाईँले स्पष्टसँग कुरा भनिराख्नु भएको छैन जस्तो लागिरहेछ। गाडीले बाटो छोड्नुअघि माथि बाटोमै हाम्फालेको हो कि होइन, लौ भन्नुस् त ?

अमर- त्यस्तो माथि हाम्फालेको छैन, गाडी दायाँ गयो।

प्र.- गाडीले पीच छाडेपछि चौर छाड्नुअघि हाम्फाल्नु भयो, होइन ?

अ.- अँ।

प्र.- त्यो देख्ने मान्छे अरू कोही छन् ?

अ.- त्यही झोपडीका मानिसले देख्न सक्छन्। ट्रकका ड्राइभरहरू त पछि आएका हुन्, गाडी खसी सकेपछि।

प्र.- पहिले पानीबाट पौडिएर बाहिर निस्कें, भन्नु भो, अहिले बाहिर हाम्फालें भनियो। पहिले किन ढाँटियो ?

अ.- त्यति बेला म आत्तिएको थिएँ। त्यस बखत पानीबाट निस्के जस्तो लाग्यो र पानीबाट निस्कें भनेको थिएँ होला। पछि अनिल आयोग आयो। पहिले पानीबाट निस्कें भनेपछि त्योसँग मिलाउन यहाँ पनि त्यही भन्नुपर्छ होला भनेर अनिललाई पनि त्यही भनें। पछि सुभाष र भरत प्रधान आउनु भएको थियो। उहाँहरूले एकान्तमा कुरा गर्ने भए घर भनेपछि के.पी. ओली कमरेडसँग कुरा गर्छु भनें। अनि के.पी. ओलीले यथार्थ विवरण भन् भनेपछि सबै कुरा उहाँलाई बताएँ। *

दुर्घटनापछि ओली आयोगले थुप्रै प्रमाणहरूका साथ चालक लामालाई सत्य बोल्न दबाब दिएपछि मात्रै सर्वप्रथम खड्ग ओली समक्ष चालक लामाले आफू माथि सडकको डीलमा हाम्फालेको स्वीकारे। र, आफू अलि माथि देखि नै गुल्टिंदै झर्नुका लागि पोजिशन मिलाउँदै गरेको बताए। नत्र उनले आफू गाडीसँगै तल खसेको अडान लिइरहेका थिए। यस्तो ढाँट कुरा उनले शुरूमा किन गरे ? किन उनले माथि हाम्फालेको कुरा लुकाउन जरूरी ठाने ? किन तथ्यहरूले चेपेपछि मात्र उनले सत्य कुरा बताए ? यसबाट माथि सडकको डीलमा हाम्फाल्नुसित उनको अपराधबोध जोडिएको प्रतीत हुन्छ र यसले पनि घटना नियतपूर्ण भएकोतर्फ नै इंगित गर्दछ।

दुर्घटना हुने निश्चित भएपछि ड्राइभरहरूमा आफ्नो भए पनि ज्यान जोगाउन गाडीबाट हाम्फाल्ने प्रवृत्ति हुन्छ नै। यो भवितब्य घटना भएको खण्डमा उनले त्यो स्थिति सफासफी राखेर म यस कारणले माथि नै हाम्फाले भनेको खण्डमा चालक लामाले बढी मानिसको सहानुभूति र समझदारी हासिल गर्न सक्थे। तर उनले त्यसो पनि गरेनन्। भयवश पनि उनले शुरुमा सत्य कुरो नबताएको हुन सक्छ। यस संभावना उपर विचार गर्दा पनि यो स्थितिमा पनि उनमा आफूलाई माया गर्ने मानिसको मृत्युबाट दुःखभाव त स्वभावतः हुनुपर्ने, जुन चालक लामामा देखिएन। त्यसैले चालक लामाले माथि हाम्फालेको कुरा शुरूमा भयवश लुकाएको नभएर अपराधबोधबाट लुकाएको हुन सक्ने देखियो।

मेकानिकल रिपोर्ट कति सही?

गाडी विशेषज्ञहरूले दिएको मेकानिकल प्रतिवेदन अनुसार दुर्घटनापछि गाडीको मेन गियर १ नं. मा भेटिएको छ। फोरह्विल गियर न्यूट्रलमा भेटिएको छ। गाडीको चालक बस्ने साइडको ढोका खुल्ला र बाँकी लक भेटिएको छ। गाडीको स्विच अनको अवस्थामा छ। र गाडीमा साँचो छैन।

गाडी पानीबाट झिकेपछि सुरक्षित अवस्थामा प्रहरीहरूले कर्डन गरेर नराखेको हुनाले र मेकानिकल प्रतिवेदन गाडी पानीबाट निकालेको दुई दिन पछि, जेष्ठ ६ गते मात्र, तयार पारिएको हुनाले गाडीको मेन गियर र फोरह्विल गियर दुर्घटनाका दर्शकहरूले चलाएको पनि हुन सक्ने संभावना छ। यस ना. छा. स. ले त्यही मोडेलको पजेरो गाडीमा परीक्षण गरी हेर्दा पछि चलाइयो भने मेन गियर र फोरह्विल गियर दुवै पहिलेको स्थितिबाट परिवर्तित पनि हुन सक्ने देखियो। त्यसैले जुन अवस्थामा त्यस गाडीको मेकानिकल प्रतिवेदन तयार पारियो, त्यो अवस्थामा मेन गियर र फोरह्विल गियर दुर्घटनाको बेलामा नहुन सक्ने पनि संभावना देखियो। यस हिसाबले खाली मेकानिकल प्रतिवेदनका आधारमा गाडीको मेन गियर र फोरह्विल गियरको बारे अन्तिम धारणा बनाउनु युक्तिसंगत हुन नसक्ने देखियो।

तथापि दुर्घटना स्थलका अन्य सबदहरूले भने मेकानिकल प्रतिवेदनमा उल्लिखित गाडीको मेनगियर र फोरह्विल गियरको स्थितिलाई नै सही साबित गरेको देखिन्छ।

गाडी सडकको डीलबाट नदी तर्फ खसेको बेला त्यसको गियर ४ नं. थियो भन्ने भनाइ छ। चालक लामाले भनाइ सडकको डीलमा हाम्फालेको भनेकै स्थितिमा मेन गियर हुने हो भने गाडी ५०/६० कि. मि. प्रति घण्टाको गतिमा हुने गर्दछ। त्यति तीव्र गतिमा गाडी हुने हो भने गाडी सडकको डीलबाट तल खस्दा केही परसम्म बत्तिएर जाने र भिरालो जमिनमा बजारिने सम्भावना हुन्छ र चालक लामाले ढोका खोलेर सडकमा सकुशल हाम्फाल्नु पनि संभव हुँदैन। र हाम्फाली हाल्यो भने पनि चोटपटक गम्भीर हुने स्थिति हुन्छ। सकुशल हाम्फाल्नका लागि उपयुक्त गियर १ नं. गियर नै हो भन्ने गाडी विज्ञहरूको भनाइ छ। तर दुर्घटनास्थलमा भने सडकको डीलदेखि नै गाडीको पांग्राको डोब देखिएको छ। गाडी बत्तिएर बजारिएको कुनै संकेत छैन। बजारिंदा ऐना फुटेको सँबुद पनि त्यहाँ छैन। गाडी सडकको डीलदेखि नै राम्ररी गुडेर तल एउटा अबरोधमा नठोकिएसम्म सिधा अगाडि गएको सबुद भेटिएको छ। भरतपुर जिल्ला प्रहरी कार्यालयका डि. एस. पी. नवीन अधिकारीको बयान र स्वयम् चालक अमर लामाको बयानबाट यो स्पष्ट हुन्छ। खड्ग ओलीको बयान अनुसार स्वयम् चालक लामाले गाडी डीलबाट भन्ने बेलामा ५/१० कि. मि. को गतिमा थियो भनेर खड्ग ओली आयोग समक्ष स्वीकारेका छन्। यसबाट गाडी ४ नं. गियरले पैदा गर्ने गतिमा नभएर, धीमा गतिमा तल नदीतर्फ ओर्लेको देखिन्छ। यो धीमा गति १ नं. गियर वा फोरह्विल गियर न्यूट्रलमा हुनुबाट नै पैदा हुन सक्ने देखिन्छ।

गाडी विज्ञहरूको भनाइ अनुसार फोरह्विल गियर न्यूट्रल भए पछि अरु गियर निष्क्रिय हुन्छ र गाडी ओरालोमा धीमा गतिमा, तर बिना रोकावट गुडेर जाने हुन्छ। १ नं. गियरमा मात्रै गाडी हुने हो भने यो कुनै अबरोध आउने बित्तिकै रोकिने पनि संभावना हुन्छ। यसरी दुर्घटना स्थलका सबूदहरूबाट गाडी सडकको डीलबाट तल गुड्दा तीव्र गतिमा बत्तिएको देखिन्न। त्यसैले चालक लामाले शुरूमा भने जस्तो ४ नं. गियरमा गाडी रहेको देखिन्न। गाडी १ नं. गियर वा फोरह्विल गियर न्यूट्रल भएकै स्थितिमा तल गुडेको देखिन्न। यी सबूदहरूका आधारमा मेकानिकल प्रतिवेदनले दिएको गाडीको मेन गियर र न्यूट्रल गियरको स्थिति बारेको रिपोर्ट सही भएको देखिन्छ र चालक लामा यस निमित्त दोषी भएको देखिन्छ।

गाडी १ नं. गियरमा हालेर र फोरह्विल गियर न्यूट्रलमा राखेर चालक आफू चाहिं ढोका खोलेर गाडीबाट हाम्फाल्नु र तल नदीमा खस्ने गाडीमा महत्वपूर्ण पार्टी नेताहरूलाई छोडी दिनु यो कुनै भवितब्य दुर्घटनाको लक्षणको रुपमा देखिन्न। यी लक्षणले गाडीलाई नियतपूर्ण रुपमै नदीतर्फ खसालेको देखाउँछन्।

मदन-आश्रित किन भाग्न खोजेनन् ?

गाडी सडकमा दायाँ बायाँ गर्न थालेपछि र सडकको डीलमा गाडीबाट हाम्फाल्ने पवित्र स्वभावतः त्यस भित्रका सचेत अवस्थामा रहेका यात्रीहरू आफू पनि ज्यान जोगाउन प्रयत्नशील हुनु पर्ने हो। यसका लागि आफ्नो साइडको ढोका खोल्न प्रयत्न गर्नु पर्ने हो। डीलबाट तल खसेपछि गाडी नपल्टिकन एउटा अबरोध नआएसम्म सिधै गुडेर गएको परिप्रेक्ष्यमा त सामुख्ने र टमा बसेका मदन भण्डारीले भित्ते ढोका खोल्न प्रयत्न गर्नु पर्ने हो। तर चालकको बाहेक अरूको ढोका खुलेको देखिएन। अन्य सबै ढोका लक स्थितिमा देखियो। अझ संगठन विभाग प्रमुख आश्रित त सीटमा आड लागेर खुट्टा पसारेर बसिरहेको पोजिसनमा भेटियो। यसबाट मदन भण्डारी र आश्रित त्यतिखेर मृत वा बेहोशीको अवस्थामा रहेको संकेत मिल्दछ।

डा. भरत प्रधानको बयान अनुसार लण्डनको एण्डरमास्टन फोरेन्सिक ल्याबले दिएको रगत जाँचको प्रतिवेदन अनुसार उहाँहरूको रगतमा सुँघाउने प्रकारको विषादि निकै घनिभूत मात्रामा भएको ठहरयाइएको छ र यही विषादिले उहाँहरूलाई बेहोशी वा मृत पारेको हुन संभव छ। मदन र आश्रितको पोष्ट मार्टम रिपोर्ट अनुसार उहाँहरूको फोक्सोमा पानी भेटिएको छैन। यसबाट पनि उहाँहरूको बेहोशी वा मृत्यु पानीमा पर्नु अघिनै भै सकेको संकेत मिल्दछ। यसरी दुर्घटना स्थलका सबूदहरू, गाडीको मेकानिकल रिपोर्ट, लण्डनको रगत जाँचको प्रतिवेदन, पोष्ट मार्टम रिपोर्टको फोक्सोमा पानी नभेटिएको भन्ने भनाइ र चालक लामाको ५/१० कि. मि. को गतिमा गाडी छाडेर म सडकको डीलमा नै हाम्फालेको भन्ने स्वीकारोक्ति बीच तालमेल र संगति भेटिन्छ। र यो तालमेल र संगतिले पनि चालक लामाले नियोजित रूपमै गाडी नदीतर्फ खसालेको देखाउँछ।

यस परिप्रेक्ष्यमा गाडी दासढुंगामा नागबेली पर्नु र दुर्घटना स्थलको सडकको देब्रेपट्टि छेउमा ६० र ११२ फिटको फरक पारी राखिएका ३ वटा बालुवाको थुप्राहरू र त्यसमाथि एउटा एउटा ढुंगाको चिन्ह हुनु अर्थपूर्ण र प्रासांगिक देखिन्छन्। गाडी पहिलो बालुवाको थुप्रोबाट नागबेली पर्न शुरू गरेको देखिन्छ र अन्तिम बालुवाको थुप्रोबाट मोडिएर सडकको दायाँ छेउको भुसको थुप्रो हुँदै सडकको डीलबाट तल नदीमा ओर्लेको देखिन्छ। यस हिसाबबाट स्वाभाविक रूपमा प्रश्न उठ्छ, बालुवाका थुप्राहरू कतै गाडी दायाँ बायाँ मोडिनका लागि र निर्धारित ठाउँमा दुर्घटना गराउनका निमित्त नियोजित तवरले राखिएका संकेत त हैनन् ? गाडी दायाँ बायाँ नागबेली पर्न थाल्नुको कारणले दुर्घटना भएको नभएर गाडी नियोजित रूपमा दुर्घटना गराउनको लागि दायाँ बायाँ नागबेली पार्न थालिएको त हैन ? यस्तो सोच्ने आधार दुर्घटनास्थलका अन्य सबूदहरूले प्रशस्त दिएका छन्। किनकि सिधा बाटोमा गाडी नागबेली परेर आउँदा र त्यसरी त्यस ठाउँबाट दायाँ मोडिंदा नै त्यस प्रकारको दुर्घटना घटाउन सकिने संभावना देखिन्छ।

स्वभावमा परिवर्तन

यस परिप्रेक्ष्यमा के यसरी नियोजितरूपबाट गाडी दुर्घटना गराइएको हो भनेर सोच्नका लागि दुर्घटना अघि पनि त्यस्ता वस्तुगत आधारहरू र घटनाहरू देखिन्छन् ?

नागरिक छानबीन समितिले त्यसको ऐतिहासिक पृष्ठभूमि खोज्दाजाँदा त्यस्ता केही वस्तुगत आधार र घटनाहरूको क्रमबद्धता विद्यमान रहेको भेटेको छ।

ने. क. पा. (एमाले) केन्द्रीय कार्यालयका सचिव ईश्वर पोखरेलका अनुसार चालक लामा पहिले महासचिव मदन भण्डारी बाहिरबाट आउँदा एकै परिवारका सदस्य झैं विमान स्थलमा VIP लौञ्ज भित्रै जान्थे र बडो सौहार्दतापूर्वक हात मिलाउँथे। पहिले उनको मदन भण्डारीप्रति निकै प्रेमभाव र श्रद्धाभाव देखिन्थ्यो। तर पछिल्लो चोटि, दासढुंगाको घटना भन्दा एक डेढ महिना अघि, चीन वा कलकत्ताबाट फर्कंदा, उनको त्यो सौहार्दता गायब भएको देखियो। उनले हात त मिलाए, तर अनुहारमा त्यो प्रेमभाव र सौहार्दता थिएन। घटना घट्नु भन्दा १ महिना अघिदेखि नै चालक लामाको अनुहार फूँग उडेको देखिन्थ्यो। उनले कम बोल्न थालेका थिए। उनले साथीहरूसँग झगडा गर्ने, घ्रासधुस्स गर्ने गर्न थालेका थिए। पहिले उनी यस्ता थिएनन्।

मदन भण्डारीकी श्रीमती विद्या पाण्डेको पनि चालक लामाको स्वभावमा परिवर्तन सम्बन्धमा यस्तै टिप्पणी रहेको छ। श्रीमती विद्या पाण्डेका अनुसार चालक लामा पहिले जहिले आउँदा पनि एकै परिवारका सदस्य झैं भान्छाघरमा पस्ने, चियाउने गर्थे। तर पछिल्लो १/२ महीनामा, विशेषतः मदन भण्डारी चीनबाट फर्केपछि उनमा यो आत्मीयता र सौहार्दता हराएको थियो। उनले त्यसरी भान्छाघरमा पस्ने, चियाउने गर्न छाडेका थिए। उनी कोठामा नै पत्रिका पढेर बस्ने र पत्रिका पढ्दा पनि पत्रिकाले मुख ढाक्ने गरी छोपेर बस्ने र कोठामा जाँदा देखे पनि नदेखे झैं गर्थे। उनले पहिले भन्दा खाना पनि निकै कम खान थालेका थिए। चीनबाट मदन भण्डारी फर्कंदा उनी VIP लौञ्ज भित्रै पसेनन्, जबकि पुऱ्याउन जाँदा भने पसेका थिए। मदन भण्डारी चीनबाट फर्कंदा उनी निकै सिरियस हुन थालेका थिए। पहिला उनी फरासिला, रमाइला मान्छे थिए।

उनको स्वभावमा आएको यो उल्लेखनीय परिवर्तन बारेमा पोखराका ती थुप्रै मानिसहरूको पनि समान अनुभूति रहेको भेटियो, जो चालक लामालाई पहिलेदेखि नै राम्ररी चिन्दछन्। पोखराका बगराज अधिकारी, रविन्द्र अधिकारी, राघव शर्मा, श्रीनाथ बराल, हरि पाण्डे र श्रीमती तुलसा पाण्डेको बयानबाट यो स्पष्ट भएको छ। गोर्खाका ने. क. पा. (एमाले) का जिल्ला पार्टी सचिव ऋषि कट्टेल, जो जेष्ठ ३ गते पोखराबाद आंबू खैरेनीसम्म उही गाडीमा आएका थिए, उनको पनि चालक लामाको स्वभाव परिवर्तन सम्बन्धमा समान धारणा पाइयो।

तर मदन भण्डारीको तर्फबाट भने चालक लामाप्रतिको विश्वासको स्थिति र ब्यवहारमा परिवर्तन पाइएन। श्रीमती विद्यापाण्डेको बयान अनुसार लामो यात्राको लागि दुई जना ड्राइभर लानु पर्छ भनेर श्रीमती विद्या पाण्डेले जोड गर्दा पनि मदन भण्डारीले मान्नु भएन। चालक लामाप्रतिको उहाँको अति विश्वास यथावत रही रह्यो। पार्टीको तर्फबाट पनि चालक लामाको स्वभाव परिवर्तनलाई आलोचनात्मक तवरले र होशियारीपूर्वक लिएको पाइएन।

चालक लामाको स्वभावमा आएको यो परिवर्तनबाट चालक लामा केही समय अघिदेखि नै नियोजित योजनामा संलग्न हुन थालेको संकेत मिल्छ। बिशेषतः मदन भण्डारीहरू चीनमा गए यता उनको पार्टी नेताप्रतिको दृष्टिकोण र ब्यबहारमा परिवर्तन आउन थालेको देखिन्छ। एकातर्फबाट पहिले जस्तै प्रेम र हार्दिकता दर्शाउँदा दर्शाउँदै पनि चालक लामाको ब्यबहारमा हार्दिकता र न्यायोपन खतम हुन थाल्नु, ब्यबहारमा एकतर्फी चीसोपन र गंभीरता आउन थाल्नु त्यसैको लक्षणका रूपमा देखिन्छ।

घटनाको दिन

चालक लामाको ब्यबहारमा सबैभन्दा बेसी असामान्यता जेष्ठ ३ गते देखिएको छ, जुन दिन दासढुंगा काण्ड घट्यो। त्यो दिन उनी सबै भन्दा असामान्य रूपले गंभीर देखिएका छन्, बिहानैदेखि बेचैन र तनावग्रस्त देखिएका छन्। महासचिव भण्डारी र आश्रितसँग बसेर खाना खानँ बारम्बार डाक्दा पनि नआउने, झ्यालबाट दुई जनाले खाना खाएको हेरिरहने, खाना पनि राम्ररी नखाने, एकनास तोलाइरहने, बोलाउँदा झस्किने, सधैं जस्तो बोल्दा पनि राम्ररी नबोल्ने जस्ता असामान्य मनोवैज्ञानिक व्यवहारहरू उनले त्यो दिन घटना घट्नु अघि देखाएका छन्। पोखरामा उनी बसेको घरका घरमूली श्रीमती तुलसा पाण्डेको बयानबाट यो देखिएको छ। उनमा आएको असामान्य गंभीरता बारे त्यो दिन उनलाई नजिकैबाट र पहिलेदेखि चिन्ने खगराज अधिकारी, राघव शर्मा, श्रीनाथ बराल, रवीन्द्र अधिकारी र पोखराबाट आंबू खैरेनीसम्म त्यही गाडीमा आएका ऋषि कट्टेलको पनि समान धारणा रहेको उनीहरूको बयानबाट देखिन्छ।

गायबी किन ?

चालक लामामा आफ्ना नेताहरूप्रति पहिले जस्तै श्रद्धा र प्रेम बाँकी रहेको स्थितिमा, भवितब्य वा लापरवाहीबाट घटना घटेको भए आफ्ना नेताहरू चढेको गाडी आफ्नै हँकाई अन्तर्गत दुर्घटनाग्रस्त भएर उनीहरू नदीमा बेपत्ता भए पछि त्यो बेचैनी, तनाव र गंभीरता अझ भन्नू बढ्नु पर्ने। तर चालक लामामा त्यस्तो भएको देखिँदैन। गाडी दुर्घटना पछि भरतपुर अस्पतालमा उनी संतुलित, शान्त र तनावसहित देखिएका छन्। भरतपुर अस्पतालका डाक्टरहरू डा. विजयान कायस्थ, डा. प्रकाश रायमाझी, हे. अ. महेन्द्र शाहको बयानबाट यो देखिन्छ। वीर अस्पतालमा सरेपछि पनि, र आफ्ना नेताहरूको मृत्यु भएको निश्चित भएपछि पनि, उनमा त्यही मनोदशा भएको कुरा मनोरोग विशेषज्ञ डा. विश्ववन्धु शर्माको स्वास्थ्य परीक्षण रिपोर्टबाट देखिन्छ। उनको पालो बसेका यदुनाथ पोखरेलको बयान अनुसार त उनी वीर अस्पतालमा हँसीमजाक समेत गरिरहेका देखिन्छन्। यो मनोदशा प्रेमपूर्ण संबन्ध भएको मानिसमा र निर्दोष मानिसमा नभेटिने अन्तरबिरोधपूर्ण मनोदशा हो।

त्यसैले केही महीना अघि देखि एकतर्फी रूपमा चालक लामामा आउन थालेको गंभीरता र चिसोपन, जेष्ठ ३ गते, घटना घट्नु अघि, उनमा देखिएको तनाव, बेचैनी र असामान्य गंभीरता र घटना घटिसकेपछि देखिएको शान्त, संतुलित र बेचैनिरहित उनको मनोदशा, यो सबै मनोवैज्ञानिक ब्यवहारहरूले पनि दासढुंगाको घटना नियतपूर्ण नै थियो भन्ने देखाउँछन्।

यस बाहेक पोखरामा चालक लामा पटकपटक बेपत्ता भएको देखिएको छ। उनी जेष्ठ २ गते राघव शर्माको मोटर साइकल लिएर जीपको हायन्ड ब्रेक किन्न भनेर पार्टी जिल्ला सम्मेलनको सभास्थलबाट करिब आधा घण्टासम्म बेपत्ता भएका देखिन्छन्। यो घटनाले किन सन्देह जगाउँछ भने सम्मेलन स्थलबाट हायण्ड ब्रेक किन्न ठाउँ हिंडेर जाँदा पनि ५ मिनेट भन्दा टाढा छैन। साथ साथै हायण्डब्रेक किन्नका लागि यस कुराको अनुभवी हुनाले सांसद हरि पाण्डेको सल्लाह लिएर मात्र किन्नु भनेर नेताहरूले चालक लामालाई अह्राएको देखिन्छ। हरि पाण्डे पनि यो काम गर्न तयार देखिन्छन्। तर चालक लामा सांसद हरि पाण्डेलाई कनै सूचना नै नदिईकन एक्लै नेताहरूको निर्देशन विपरित आधा घण्टासम्म गायब भएका छन्।

जेष्ठ ३ गते बिहान खाना खान जानु अघि पनि उनलाई खोज्नु पर्ने गरी उनी अलप भएका छन्। जेष्ठ ३ गते हिंड्ने बेलामा पनि उनी १०/१५ मिनेट मदन भण्डारी र आश्रितले कुर्नु पर्ने गरी अल्प भएका छन्। पटक पटक उनी कहाँ गए कसैलाई पत्तो भएको पाइएन। हरि पाण्डे, रविन्द्र अधिकारी, राघव शर्मा, खगराज अधिकारीको बयानबाट यी सबै देखिएको छ।

माथि उल्लेखित अरू सबै घटना र सबूदहरूको परिप्रेक्ष्यमा चालक लामा यसरी पोखरामा बिना सूचना अल्प हुनु अर्थपूर्ण र संन्दर्भाभक हुन आएको छ। अझ चालक लामाले बिदेशीहरूलाई भेटिरहेको देखेको परिप्रेक्ष्यमा त यो झनै अर्थपूर्ण र सान्दर्भिक देखिन आएको छ। पोखराका पुष्पज्योति बुंगांंंको बयान अनुसार उनले गौशाला हार्डबयर नेर चालक लामाले केही बिदेशीहरूलाई भेटिरहेको, कुरा गरिरहेको आफैले देखेका थिए। ती दुई बिदेशी साइकलमा थिए, उनीहरूलाई देखेपछि चालक लामा परिचित मानिस झैं हाँसे र कुराकानी गर्न थाले भन्ने उनको बयान छ। जेष्ठ २ र ३ गते ने. क. पा. (एमाले) को कास्की जिल्ला पार्टी सम्मेलन भइरहेको ठाउँ दीपेन्द्र सभा गृहमा हामी फ्रेन्च कम्युनिष्ट हौं, तपाईहरूका पार्टीका नेताहरू भेट्न चाहन्छौ भन्दै जबरजस्ती पस्न खोज्ने बिदेशीहरू तिनै थिए भन्ने उनको भनाइ रहेको छ। सम्मेलन थलोका स्वयंसेवी रविन्द्र अधिकारीको बयानले पनि यो कुरा पुष्टि गरेको छ।

ती बिदेशीहरू को हुन् भन्ने तर्फ खोजी हेर्दा सीमित स्रोत साधनहरूको कारणले विस्तृत परिचय पत्ता लगाउन सकिएन। पोखराका श्रीनाथ बरालबाट तिनीहरू पोखरा ब्यबसाय गरी बस्दथिए भन्ने सम्म सूचना मिल्यो।

उता रविन्द्र अधिकारीले चालक लामालाई मोटर साइकल लिएर कहाँ गएको भनी सोद्धा उनले पनि ड्याम साइडतर्फ गएको भनेको भन्ने रविन्द्र अधिकारीको बयान छ। यसबाट चालक लामाको ती बिदेशीहरूसित अर्थपूर्ण सम्बन्ध त थिएन ? गायब भएका बेला चालक लामा तिनै विदेशीसित सम्पर्क कायम गर्न गएका त थिएनन् ? र दासढुंगा घटनासित ती विदेशीहरूको सम्बन्ध त थिएन ? भन्ने प्रश्न स्वभावतः उठ्छ। यसको खोजीको निम्ति सक्षम र अधिकार प्राप्त खुफिया यन्त्रबाट अनुसन्धानको जरुरत देखिएको छ। यस समितिको प्रयत्नले माथि उल्लेखित कुराहरू त पत्ता लागे, तर त्यो भन्दा गहिराइमा र बिस्तारमा जान संभव भएन। तथापि माथि उल्लिखित कुराहरूले दासढुंगा घटनामा चालक लामा एक्लै नभएर उनका पछाडि बिदेशीहरूको पनि संलग्नता हुन सक्ने संभावना देखाएका छन्।

पार्टीको गाडीमा पार्टीको झण्डा राख्नु कुनै आश्चर्यजनक कुरा होइन। तथापि माथिका सबै घटना र सबूदहरूको परिप्रेक्ष्यमा यसै पटक, चालक लामाकै जोडबाट पोखराबाट चितवन तिर जाने क्रममा नै गाडीमा पार्टीको झण्डा हाल्नु पनि अर्थपूर्ण र सान्दर्भिक देखिन आएको छ। कतै गाडी चिनाउनका निमित्त त यस पटक त्यसरी चालक लामाले झण्डा हाल्न जोड गरेका थिएनन् ? यो प्रश्न स्वभावतः उठ्छ र उठ्ने ठाउँ छ।

किन त्यति बढ्तो समय लाग्यो ?

अर्को महत्वपूर्ण कुरो के देखियो भने आँबु खैरेनीबाट दासढुङ्गासम्म पुग्न गाडीले लिएको समय असामान्य छ। गाडी, ऋषि कट्टेलको बयान अनुसार ४:३० बजेतिर आँबु खैरेनीबाट छुटेको छ। सुनकोशी रेष्टुरेण्टका मालिक श्रीमती बुद्धीमाया लामाको बयान अनुसार त्यहाँ चिया खान १० मिनेट जति मात्र लागेको छ। र श्याम रंजितकारको गाडी सिमलतालतिर हिँडेको समय ५:३० तिर र गाडी खसि सकेपछि श्याम रंजितकारले दासढुंगामा चालक लामालाई पिकअप गरेर रामनगर प्रहरी चौकीमा पुगेको समय ६:०५ तिर विचार गर्दा गाडी ५:३० सम्म नदीमा खसिसकेको देखिन्छ। गाडीको न्यूनतम ४० देखि ६५ को स्पीडमा भयो भन्ने ऋषि कट्टेलको बयान र स्वयम् चालक लामाको बयान, श्याम रंजितकारको गाडी निकै बेग्मा थियो भन्ने बयानलाई विचार गर्दा यो गतिको गाडीलाई आँबु खैरेनीबाट दासढुङ्गामा पुग्न ३०-३५ मिनेट भन्दा बढी समय लाग्ने देखिएन, किनकि दूरी ३०-३५ कि. मी. भन्दा बेसी छैन। तर सुनकोशी रेष्टुरामै बिताएको १० मिनेट कटाउने हो भने गाडीलाई करिब ५० मिनेट समय लागेको देखियो। यो समयावधि असामान्य समयावधि हो।

मदन भण्डारी र आश्रितको रगतमा, एल्डर मास्टन फोरेन्सिक ल्याबको रिपोर्ट अनुसार, सुँघाउने प्रकारको विषादि पाइएको भन्ने डा. भरत प्रधानको बयान, फोक्सोमा पानी नभएको लाशको अवस्था र आँबु खैरेनीबाट दासढुङ्गासम्म पुग्न लागेको अस्वाभाविक समय बीच यसरी संगति र संबन्ध देखिन्छ।

सुनकोशी रेष्टुरेन्टसम्म मदन भण्डारी र आश्रित जीवित र होशको अवस्थामा रहेको भन्ने बुद्धीमाया लामाको बयानबाट देखिन आएको परिप्रेक्ष्यमा दासढुंगा र सुनकोशी रेष्टुरेण्टको बीचको बाटोमा नै विषादि प्रयोग भएको हुन सक्ने संभावना देखिन्छ। संभवत यही विषादिको प्रयोगको निमित्त यो बीचमा अस्वाभाविकरूपले बढी समय लागेको हुन सक्छ।

लण्डनको भिसेरा र रगत जाँचको प्रतिवेदन बारे

डा. भरत प्रधानको बयान

रगत परीक्षणको लागि लण्डन जाँदा एमालेको सहयोगीको रूपमा म गएको थिएँ। आधिकारिक रूपमा सरकारले प्रहरी इन्स्पेक्टरलाई जिम्मा दिएको थियो। रगत ० डिग्रीको तापक्रममा बरफमा विशेष रूपले प्याकिङ गरेर लगेका थियौं। पुगेको दिन बेलुकी भएकेले भोलिपल्ट परीक्षण गरियो। डा. हन्फ्रेले घटना सम्बन्धमा बुझ्न खोजेकाले विस्तृत ब्याख्या गऱ्यौं। चिया खाएको ठाउँबाट घटनास्थलसम्म पुग्न १५ मिनेट मात्र लाग्ने ठाउँ भएकोमा गएको समय र घटना भएको समय निकै अन्तर भएकोले त्यस बीचमा कुनै हस्तक्षेप र अन्तर्क्रिया भएको र कुनै तुरून्तै लाग्ने बिषालु औषधिको प्रयोग भएको साथै परीक्षणबाट फोक्सोमा पानी नभएकोले शंका व्यक्त गऱ्यौं। त्यसैले टेक्नोलोजीको जाँचमा बढी ध्यान केन्द्रित गरियो र मुख्य रूपमा रगतको नै जाँच गरियो। पेटको भित्रीभागको कन्टेन्ट र टिस्यूको पनि जाँच भयो। (नजिकै कमसे कम दुई जनाको रगतमा एवं किसिमको बिषालु केमिकल पाइयो, जुन केमिकल काठ रङ्गाउन प्रयोग गरिन्छ। यसको प्रयोग बढी भएमा मानिसको बेहोस भईसक्यो मृत्यु हुन सक्छ। परीक्षणमा कुनै किसिमको जाँड-रक्सी वा नशालु केमिकल प्रयोग भएको पाइएन। खातेखानामा कुनै कीटनाशक औषधि प्रयोग भएको पनि पाइएन। रगतमा पाइएको बिषालु केमिकल या त सुँघाएर गएको हुनुपर्छ वा सिधै रगतमा पुऱ्याउने उपायद्वारा गएको हुनूपर्छ भन्ने अनुमान गरियो।)

दुबैको रगतमा पाइएको केमिकल दिमागलाई नै असर पार्ने, मानिस नै बेहोस हुने हुन्छ, जुन बजारमा पेन्टिङ गर्दा, काठ रङ्गाउँदा प्रयोग हुन्छ भन्ने डा. हन्फ्रे लगायत ७ जनाको रिपोर्ट रह्यो। दुबैको रगतमा एउटै केमिकल पाइएबाट संभवतः मोटर भित्रै प्रयोग भएको हुनसक्ने शंका गरियो।

मृतकहरूको लाश निकाल्ने, पोष्टमार्टम गर्दा, रगत निकाल्दा, प्याकिङ्ग गर्दा, ल्याउँदा, तीन महिनासम्म प्याकिङ्ग गरी राख्दा High Altitude मा रगत ल्याउँदा पनि असर पार्न सक्छ भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन्।

ती प्रश्न उठाए पनि वीर अस्पतालमा पोष्टमार्टम भएको, त्यहाँ यी केमिकल पर्ने प्रश्नै उठ्दैन। त्यसपछि रगत र भिसेरा एस. पी. धामामा गयो। त्यहाँ पनि यस्तो केमिकल पर्नु पर्ने जरुरत छैन। भोलिपल्ट रोनाष्टको ल्याबमा लागि राम्ररी राखिएको थियो। त्यहाँ गडबडी हुने प्रश्नै उठ्दैन। रगत जाँच दिल्लीमा गराइयो, त्यो बाहेक रगतमा कुनै हस्तक्षेप भएको छैन। लण्डनमा लाँदा -८० डिग्रीको बरफमा लगिएकोले बाहिरबाट कुनै रासायनिक पस्ने बिस्कुनै असम्भव कुरा हो।

त्यसैले सबैभन्दा स्पष्ट सम्भावना यो सुँघाएर नै पसेको हुनुपर्छ। यतिका दिनसम्म रगत रहन सक्नु High Concentration मा भएर यस्तो भएको हुनुपर्छ।

निष्कर्ष :-

प्राप्त सबूदहरू, सूचना र जानकारीहरूका आधारमा यो नागरिक छानवीन समिति दासढुङ्गाको २०५० जेष्ठ ३ गतेको घटना सामान्य वा असामान्य किसिमको भवितब्य दुर्घटना होइन भन्ने ठहर गर्दछ।

यो चालकको लापरवाहीबाट हुन गएको दुर्घटना होइन भन्ने यस समिति ठहर गर्दछ।

यो समिति जेष्ठ ३ गते भएको दासढुंगा काण्ड र त्यसमा भएको मदन भण्डारी र जीवराज आश्रितको मृत्यु नियोजित हो भन्ने ठहर गर्दछ।

सुझावहरू :-

उक्त घटनामा संलग्न अन्य तत्व को हुन् ? किन तिनले हत्याको साजिस रचे ? यस बारे खोजी अनुसन्धान गर्नु यस समितिको साधन स्रोत र अधिकार भित्र देखिएन। घटनाको प्रकृति हेर्दा कुनै दक्ष अपराधी समूहले अत्यन्त सिद्धहस्तताका साथ पूर्व नियोजित रुपमा हत्या कार्य संपन्न गरेको आभाष पाइन्छ। यस्तो दक्ष अपराधी पत्ता लगाउन अत्यन्त दक्ष अपराध अनुसन्धान, बित्र र अनुसन्धान प्रविधि चाहिने हुन्छ। यी दुबै समितिसित उपलब्ध छैनन्।

यस बारे थप गहिराइ र बिस्तारमा खोजी गर्ने दक्ष खुफियायन्त्र र अपराध अनुसन्धान प्रविधिले संपन्न सक्षम र ब्यापक अधिकार संपन्न निकायबाट उक्त घटनाको गम्भीर छानबीन गरिनु जरुरी हुन्छ। उक्त लेखिए बमोजिमको प्रबिधि र दक्ष जनशक्ति स्वदेशमा उपलब्ध हुन नसके अन्तर्राष्ट्रिय सहयोग लिनु पनि आवश्यक हुन्छ।

यसै घटनाको सम्बन्धमा जाँदा चालक लामा नै हुन्। आधुनिकतम वैज्ञानिक प्रविधि प्रयोग गरेर मात्र उनीसित रहेको जानकारी प्राप्त हुन सक्ने देखिन्छ। सबूदको यो सबैभन्दा मुख्य स्रोतबाट नै अविलम्ब जानकारी लिने कार्य हुनु जरुरी देखिन्छ।

अझै अनुत्तरित प्रश्नहरू:-

हामीले प्रयत्न गरेर पनि हाम्रो साधन, श्रोत र अधिकारको सीमाको कारणले अझै केही प्रश्नहरू अनुत्तरित रहेका छन्। त्यसबारे सम्बन्धित निकाय तथा अङ्गहरूले अनुसन्धान गरेर पत्तालगाउनु पर्ने देखिन्छ।

१. चालक लामा बाहेका अन्य यस घटनाका सूत्रधार को हुन् ?

२. पोखरामा देखिएका चालक लामाले भेटेका र कुरा गरेका आफूलाई फ्रेन्च कम्युनिष्ट भन्ने ती विदेशीहरू को हुन् ?

३. दुर्घटनाग्रस्त गाडी विदेशी संस्थाहरूलाई भाडामा गएको देखिएको छ र त्यतिखेर चालक अमर लामा नै गाडी हाँक्नेमा छन्। यसै मार्फत चालक लामाको बिदेशीहरूसितको सम्पर्क हुन सक्ने एउटा संभावना हुँदाहुँदै पनि यस बारे विस्तृत अनुसन्धान हुन सकेको छैन। यी बिदेशी संस्थाहरू यस घटनासँग संबन्धित छन् कि छैनन् ?

४. पोखरामा चालक लामा पटक पटक सम्मेलन स्थलबाट रहस्यमय ढंगबाट हराउने गरेको बारे र काठमाडौंमा पनि पार्टीले लगाएको दैनिक काम बाहेक निजको अन्य सम्पर्क बारे विस्तृत जानकारी हुन सकेको छैन।

५. ग. अ. ख. ३१९ नं. का बस चालक शंकर प्रसाईले आँबु खैरेनीबाट चालक लामाको गाडी ४:३० बजे छुटेपछि ४ वटा आला अल्ला मोटर साइकल चालक लामाको गाडीलाई पिछा गरेको भन्ने र दुर्घटनापछि ती मोटर साइकल दासढुंगा र रामनगरमा पनि देखिएका थिए भन्ने जानकारी यस समितिलाई प्राप्त भएको छ। यी मोटर साइकलहरूमा को थिए ? तिनको यो दुर्घटनासँग संबन्ध छ कि छैन ?

६. मदन भण्डारी र आश्रित दुबैको रगतमा प्रचुर मात्रामा सुँघाउने प्रकारको बिषादि रहेको एल्डरमस्टन फोरेन्सिक ल्याब, लण्डनको रिपोर्ट छ। यो विषादि उहाँहरूको रगतमा कसरी कुन प्रक्रियाद्वारा पुग्न गयो ?

७. गाडी सडकबाट खसेपछि नदीमा पुर्नु अघि नदी छैटेको त्यहाँको ढुंगाको चट्टानमा केही बेर अडेको बयान छ। त्यो गाडीमा माथिबाट झरेको ढुंगा लागेपछि मात्र गाडी नदीमा खसेको छ। त्यो ढुंगा मोटर खसिसकेको केही बेरपछि कसरी खस्यो ?

८. मदन भण्डारीको शरीर मोटरबाट कसरी बाहिर निस्कियो ? किन उनको एउटा हात उठेको अवस्थामा छ ? किन मदन भण्डारीको जीउमा त्यति घाउ देखिन्न ? किन उनको एउटा बायाँ आँखा छैन ? किन उनको लाश ३२ कि. मि. भ. तल गुजनगरमा एउटा भँगालोमा भेटियो ? किन उनको लाश त्यति बिघ्न कालो भयो ? उनको पेटी लगाएको पाइन्ट कसरी गायब भयो ?

९. सरकारले राष्ट्रिय महत्वको घटनाको खोज र अनुसन्धान कार्यलाई गम्भीरतापूर्वक लिएको देखिएन। सरकारले दुर्घटना क्षेत्र र गाडीलाई कन्ट्रोल गरेर सबूदहरू सुरक्षित पारेको पाइएन। यस घटनामा चालक लामालाई अन्य अभियुक्तलाई जस्तो अपराध अनुसन्धानविद् लगाएर आधुनिक वैज्ञानिक प्रबिधि लगाएर वास्तविकताको खोजी गरेको देखिएन। वीर अस्पतालमा चालक लामाले माथि नै हाम्फालेको भनेर साबिती बयान दिनासाथ उनीमाथि भइरहेको पार्टी र सरकारको संयुक्त निगरानी व्यवस्था सरकारले एकतर्फी रुपमा खतम पारेको देखियो र चालक लामालाई सरकारको निगरानीमा मात्र राखियो। लामालाई अनावश्यक रुपमा अस्पतालमा राखियो र ज्याभावी मानिसलाई भेट्न दिइयो। यस्तो सरकारले किन गऱ्यो ?