मार्क्स र  एंगेल्सको प्रख्यात पुस्तक जर्मन आइडियोलोजीको सार

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित 'जर्मन आइडियोलोजी' (१८४५-४६) त्यो महत्त्वपूर्ण कृति हो, जसमा उनीहरूले पहिलोपटक आफ्नो ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका थिए। यो पुस्तक मुख्यतया जर्मन दार्शनिकहरू, विशेष गरी हेगेल र उनका अनुयायीहरू (युवा हेगेलवादीहरू) को आलोचनामा केन्द्रित छ।

यस ग्रन्थको केन्द्रीय उद्देश्य यो देखाउनु हो कि इतिहासको सञ्चालन विचारहरूबाट नभई भौतिक जीवनका परिस्थितिहरू र उत्पादन सम्बन्धहरूबाट हुन्छ। मार्क्स र एंगेल्सले यहाँ आदर्शवादलाई चुनौती दिँदै  भौतिकवादलाई स्थापित गरेका छन्।

जर्मन दर्शनको आलोचना

मार्क्स र एंगेल्सले आफ्नो समयका जर्मन दार्शनिकहरूको आलोचना गर्दै उनीहरू वास्तविक जीवनका समस्याहरूबाट टाढिएको बताएका छन्। हेगेलको दर्शनमा 'विचार' लाई वास्तविकताको मूल मानिएको थियो। उनको तर्क थियो कि पहिले विचार आउँछ र त्यसपछि मात्र भौतिक संसार। युवा हेगेलवादीहरू पनि यही परम्पराका थिए; उनीहरू विश्वास गर्थे कि समाजमा परिवर्तन 'चेतना' बदलेर मात्र सम्भव हुन्छ।

मार्क्स र एंगेल्सले यस दृष्टिकोणको आलोचना गर्दै यो एक 'उल्टो दृष्टिकोण' भएको बताए। उनीहरूका अनुसार वास्तविकताको आधार 'भौतिक जीवन' हो, विचार होइन। विचार, चेतना, धर्म र नैतिकता भौतिक परिस्थितिहरूबाटै उत्पन्न हुने तर्क गरे। मार्क्सको प्रसिद्ध भनाइ छ:

"मानिसको अस्तित्वलाई उनीहरूको चेतनाले निर्धारण गर्दैन, बरु उनीहरूको सामाजिक अस्तित्वले उनीहरूको चेतनालाई निर्धारण गर्दछ।"

ऐतिहासिक भौतिकवाद

यस ग्रन्थको सबैभन्दा महत्त्वपूर्ण योगदान 'ऐतिहासिक भौतिकवाद' को अवधारणा हो। यसका अनुसार इतिहासलाई बुझ्नका लागि मानिसहरूले के उत्पादन गर्छन्, कसरी गर्छन् र कुन सामाजिक सम्बन्ध अन्तर्गत गर्छन् भन्ने कुरालाई हेर्नुपर्ने हुन्छ।

यस अवधारणाको मूल आधार यो हो कि मानिसले सबैभन्दा पहिले आफ्ना भौतिक आवश्यकताहरू पूरा गर्दछ। अर्थात्— गाँस, बास र कपास। यसका लागि उसले उत्पादन गर्छ र त्यसैले उत्पादनका पद्धतिहरूले नै समाजको संरचना निर्धारण गर्छन्।

उत्पादनका दुई पक्ष हुन्छन्: १. उत्पादनका शक्तिहरू: जस्तै औजार, प्रविधि र श्रम शक्ति। २. उत्पादनका सम्बन्धहरू: मालिक र मजदुरबीचको सम्बन्धले नै समाजको संरचना निर्माण गर्दछ।

आधार र अधिरचना (Base and Superstructure)

मार्क्स र एंगेल्सले समाजलाई दुई हिस्सामा विभाजन गरेका छन्। आर्थिक आधार अर्थात् उत्पादनका शक्तिहरू र उत्पादनका सम्बन्धहरू; यही नै समाजको जग हो। अधिरचना अन्तर्गत राज्य, कानुन, धर्म, शिक्षा, संस्कृति र विचारधारा पर्दछन्। अधिरचनालाई आधारले नै निर्धारण गर्दछ, तर अधिरचनाले पनि आधारलाई प्रभावित पार्न सक्छ। पूँजीवादी समाजमा कानुन, शिक्षा, मिडिया आदि सबैले पूँजीवादलाई नै मद्दत पुऱ्याइरहेका हुन्छन्।

श्रम विभाजन

मार्क्सका अनुसार समाजको विकासमा श्रम विभाजनको ठूलो भूमिका छ। विकासका चरणहरू यस प्रकार छन्: प्रारम्भिक समाज, कृषि समाज र पूँजीवाद।

मार्क्सले भनेका छन् कि प्रारम्भिक समाजमा कुनै खास श्रम विभाजन हुँदैनथ्यो। कृषि समाजमा ग्रामीण र सहरी विभाजन सुरु भयो। पूँजीवादमा उद्योगमा आधारित विभाजन हुन्छ। श्रम विभाजनको नतिजास्वरूप व्यक्तिको कार्य सीमित हुन पुग्छ। एउटै काम बारम्बार गर्नाले मानिसमा 'अलगाव' पैदा हुन्छ। यही श्रम विभाजनले नै समाजमा वर्ग विभाजनलाई जन्म दिन्छ।

निजी सम्पत्ति

मार्क्स र एंगेल्सका अनुसार निजी सम्पत्ति कुनै प्राकृतिक वस्तु होइन, बरु यो ऐतिहासिक विकासको परिणाम हो। यो श्रम विभाजनअन्तर्गत उत्पादनको असमान वितरणका माध्यमबाट उत्पन्न भएको हो। यसले गर्दा केही व्यक्ति मालिक बने र बाँकी मजदुर। निजी सम्पत्तिको अर्थ मजदुरको श्रमको अपहरण हो, जसको अन्तिम नतिजा शोषण र वर्ग संघर्ष हुन्छ।

वर्ग संघर्ष

मार्क्स–एङ्गेल्सका अनुसार इतिहासको सार नै वर्ग संघर्ष हो। उत्पादनका साधनहरूको मालिक शोषक वर्ग हुन्छ भने शोषित वर्ग मजदुर वर्ग हो, जसले शोषक वर्गलाई आफ्नो श्रम शक्ति बेच्दछ। दास समाजमा वर्ग संघर्षको स्वरूप मालिक विरुद्ध दास हुन्थ्यो भने सामन्तवादमा जमिन्दार विरुद्ध किसान र पूँजीवादमा पूँजीपति विरुद्ध मजदुर हुन्छ। वर्ग संघर्षको अन्तिम नतिजा नै सामाजिक परिवर्तन हो।

विचारधारा (Ideology)

मार्क्स–एङ्गेल्सले 'विचारधारा' लाई शासक वर्गको एक उपकरणको रूपमा व्याख्या गरेका छन्। उनले भनेका छन् कि शासक वर्गका विचारहरू नै समाजका 'प्रमुख विचार' बन्दछन्, किनभने उनीहरूसँग आर्थिक शक्ति, राज्यको शक्ति र शिक्षा एवं मिडियामाथि नियन्त्रण हुन्छ।

यसै कारणले मानिसहरू अक्सर शोषणलाई 'स्वाभाविक' मान्ने गर्छन्। उदाहरणका लागि, मानिसहरू विश्वास गर्छन् कि "गरिबी मेहनतको कमीले हुन्छ।" तर यो वास्तवमा एउटा विचारधारा हो, जसले गरिबीको वास्तविक कारणलाई लुकाउने काम गर्छ।

चेतना र अस्तित्व

मार्क्स–एङ्गेल्सका अनुसार चेतना स्वतन्त्र हुँदैन; यो सामाजिक जीवनबाट उत्पन्न हुन्छ। यसको अर्थ मजदुरको सोच र पूँजीपतिको सोच फरक हुन्छ। यसरी 'सामाजिक अस्तित्व' ले नै चेतनालाई निर्धारण गर्दछ।

साम्यवाद

मार्क्स–एङ्गेल्सका अनुसार, पूँजीवाद अन्ततः समाप्त हुनेछ र त्यसको ठाउँ साम्यवादले लिनेछ। साम्यवादका विशेषताहरूमा निजी सम्पत्तिको अन्त्य, वर्गहरूको अन्त्य, शोषणको अन्त्य र राज्यको शक्ति बिस्तारै समाप्त हुँदै जाने प्रक्रिया पर्दछन्। त्यस अवस्थामा: समाजमा एउटा यस्तो व्यवस्था कायम हुनेछ जहाँ हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार काम गर्नेछ र आफ्नो आवश्यकता अनुसार प्राप्त गर्नेछ।

मानव मुक्ति

मार्क्स–एङ्गेल्सको अन्तिम लक्ष्य केवल आर्थिक व्यवस्थामा सुधार गर्नु मात्र नभई पूर्ण मानव मुक्ति हो। यसको अर्थ व्यक्तिको सर्वाङ्गीण विकास, श्रमको रचनात्मक स्वरूप र अलगावको अन्त्य हो।

मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण

मार्क्सवादी दृष्टिकोणबाट 'जर्मन आइडियोलोजी' को महत्त्व के छ भने यसले आदर्शवादलाई खण्डन गर्‍यो। अर्थात्, यसले विचार होइन, भौतिक परिस्थितिहरू प्राथमिक हुन्छन् भन्ने तथ्य स्थापित गर्‍यो। यसले वैज्ञानिक समाजवादको जग बसायो र समाजलाई बुझ्ने वैज्ञानिक तरिका प्रस्तुत गर्‍यो। यस ग्रन्थले वर्ग संघर्षलाई परिवर्तनको वास्तविक स्रोत बताउँदै क्रान्तिकारी परिवर्तनको आह्वान गर्‍यो। मार्क्सको प्रसिद्ध भनाइ छ:

"दार्शनिकहरूले केवल संसारको व्याख्या गरेका छन्, मुख्य कुरा त यसलाई बदल्नु हो।"

आजको सन्दर्भमा महत्त्व

आज पनि 'जर्मन आइडियोलोजी' अत्यन्तै सान्दर्भिक ग्रन्थ हो। यसले पूँजीवादको विश्लेषण गर्दै असमानता, बेरोजगारी र कर्पोरेट नियन्त्रण यसमा अनिवार्य रूपमा हुने कुरा बताउँछ। यसमा विचारधाराको भूमिकाका साथै मिडिया, राष्ट्रवाद र धर्मको भूमिकाबारे पनि चर्चा गरिएको छ।

वर्ग संघर्षको चर्चाका माध्यमबाट मजदुर आन्दोलन र किसान आन्दोलनको महत्त्वलाई बुझ्न सकिन्छ।

निष्कर्ष

'जर्मन आइडियोलोजी' केवल एउटा दार्शनिक ग्रन्थ मात्र नभई समाजलाई बुझ्ने र बदल्ने एउटा उपकरण हो। यसका मुख्य निष्कर्षहरू के हुन् भने इतिहासको आधार भौतिक जीवन हो र उत्पादन सम्बन्धले नै समाजलाई निर्धारण गर्दछ।

वर्ग संघर्ष परिवर्तनको इन्जिन हो, विचारधाराले शोषणलाई लुकाउँछ र साम्यवाद मानव मुक्तिको मार्ग हो।

यस ग्रन्थले हामीलाई सिकाउँछ कि समाजलाई बुझ्नका लागि 'जमिनमा' हेर, 'विचारहरूमा' होइन। हरेक विचारको पछाडि वर्गहित लुकेको हुन्छ। त्यसैले परिवर्तनका लागि संघर्ष जरुरी छ। यस प्रकार 'जर्मन आइडियोलोजी' एउटा किताब मात्र नभई एउटा क्रान्तिकारी औजार हो।

स्रोत: फिलहाल