युक्रेनद्वारा रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण

युक्रेनले रुसको राजधानी मस्कोमा ५०० भन्दा बढी ड्रोन प्रयोग गरी भीषण आक्रमण गरेको छ। रुसको सरकारी समाचार एजेन्सी 'तास' (TASS) ले आइतबार स्थानीय तथा सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, युक्रेनले रातभरमा ५०० भन्दा बढी ड्रोनबाट रुसमाथि आक्रमण गरेको हो, जसमा मस्को नजिकै कम्तीमा तीन जनाको मृत्यु भएको छ। तासका अनुसार, सहरका मेयरबाट प्राप्त जानकारीका आधारमा मस्कोमाथि गरिएको यो आक्रमण "एक वर्षभन्दा बढी समययताकै सबैभन्दा ठुलो आक्रमण" हो।

मस्कोका मेयर सर्गेई सोब्यानिनले बताएअनुसार, आइतबार राति रुसी राजधानीको उत्तर-पश्चिममा अवस्थित खिमकी सहरको एउटा घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको छ। उनले भग्नावशेषमुनि अर्का एक व्यक्ति फसिरहेको जानकारी पनि दिए। सोब्यानिनका अनुसार मस्कोको उत्तर-पूर्वमा पर्ने मितिस्चीमा एउटा निर्माणाधीन घरमा ड्रोनको भग्नावशेष खस्दा दुई पुरुषको मृत्यु भएको छ। उनले मस्कोमा एक तेल रिफाइनरीमा कार्यरत निर्माण मजदुरसहित कुल १२ जना घाइते भएको थप जानकारी दिए।

रुसको रक्षा मन्त्रालयले रातभरमा ५५६ वटा युक्रेनी ड्रोनलाई इन्टरसेप्ट गरेको दाबी गरेको छ । साथै सोब्यानिनले हवाई सुरक्षा बलले मस्को र त्यस वरपरका क्षेत्रतर्फ बढिरहेका १२० भन्दा बढी ड्रोनहरूलाई खसालेको बताएका छन्। तासको रिपोर्टका अनुसार, ड्रोनको भग्नावशेष खस्दा सुब्बोटिनो गाउँको एउटा घरमा आगलागी भएको छ भने पश्चिमी सहर इस्ट्रामा ड्रोनका कारण कैयौँ आवासीय भवनहरूमा क्षति पुग्दा चार जना घाइते भएका छन्। रुसको सबैभन्दा व्यस्त विमानस्थल, शेरेमेत्येभो विमानस्थलको परिसरमा पनि ड्रोनका केही टुक्राहरू खसेका छन्, यद्यपि विमानस्थल अधिकारीहरूले यसबाट कोही घाइते भएको वा कुनै ठुलो क्षति भएको खबर नभएको बताएका छन्।

Image: https://media-cldnry.s-nbcnews.com