लाल सागरको तटमा हुथी नियन्त्रण र भूराजनीतिक प्रभाव
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा अत्यन्तै महत्त्व राख्ने लाल सागरको तटमा रहेको मोखा (Mocha) बन्दरगाह र आसपासका क्षेत्रहरूमा आफ्नो पूर्ण नियन्त्रण कायम गरेका छन्। हुथीहरूको यस द्रुत सैन्य कारबाही र आक्रामक रणनीतिक–युद्धाभ्यासले विश्वको सबैभन्दा संवेदनशील सामुद्रिक मार्ग मानिने स्ट्रेट अफ बाब एल–मन्देब (Bab al-Mandeb) मा उनीहरूको पकड अझै मजबुत बनाएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी अरेबिया समर्थित फौजलाई पछि धकेल्दै महत्वपूर्ण क्षेत्रहरूमा विजय हासिल गरेको दाबी गरेका छन् भने यस घटनाक्रमलाई पश्चिम एशियाको बदलिँदो सुरक्षा समीकरणमा एक ठूलो मोडको रूपमा हेरिएको छ।
यसैबीच, साउदी नेतृत्वको गठबन्धन सेनाले मोखाको विमानस्थल र बन्दरगाह क्षेत्रलाई लक्षित गरी हवाई आक्रमणहरू तीव्र पारेको छ।
अर्कोतर्फ, इरानको परराष्ट्र मन्त्रालयले ओमानमा स्ट्रेट अफ हर्मुजको नौवहन सुरक्षासम्बन्धी एक महत्वपूर्ण क्षेत्रीय बैठक बस्ने घोषणा गरेको छ, जसमा इराक र खाडी राष्ट्रहरूको सहभागिता रहने बताइएको छ। क्षेत्रीय द्वन्द्व र भूराजनीतिक तनाव चरम सीमामा पुगेको यस घडीमा लाल सागरको यो भूराजनीतिक फेरबदलले इरान–अमेरिका द्वन्द्व, साउदी तेल निर्यात र समग्र विश्व अर्थतन्त्रमा गम्भीर दूरगामी प्रभाव पार्ने निश्चित प्रायः छ।
हुथी विद्रोहीहरूले लाल सागरको सम्पूर्ण तटीय क्षेत्र र मोखा बन्दरगाहमा कब्जा जमाएसँगै यसले इरान र संयुक्त राज्य अमेरिकाबीच चलिरहेको प्रत्यक्ष तथा अप्रत्यक्ष द्वन्द्वमा पार्ने प्रभावको आयाम निकै फराकिलो बनेको छ। वाशिंगटन र तेहरानबीच जारी भूराजनीतिक तथा सामरिक प्रतिस्पर्धामा हुथीहरूलाई इरानको बलियो सामरिक र सैन्य साजोसमानको सहयोग रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम तथा अनुसन्धान रिपोर्टहरूले औँल्याएका छन्।
इरानले स्ट्रेट अफ हर्मुजमा आफ्ना सामरिक दबाबका क्षेत्रहरू विस्तार गरिरहेको बेला, लाल सागर र बाब एल–मन्देब क्षेत्रमा हुथीहरूको यो काउन्टर-डिफेन्सिभ र आक्रामक नियन्त्रणले अमेरिका र उसका पश्चिमा सहयोगीहरूलाई रणनीतिक रूपमा दोहोरो चेपुवामा पारेको छ। यदि हुथीहरूले यस जलमार्गमाथि आफ्नो स्थायी सामरिक पकड राख्न सफल भए, भने यसले इरानलाई अमेरिकी नेतृत्वको नौसैनिक गठबन्धनविरुद्ध मोलतोल गर्न र दबाब सिर्जना गर्न ठूलो भूराजनीतिक लाभ दिनेछ।
अमेरिकाका लागि यस क्षेत्रमा स्वतन्त्र नौवहन सुरक्षा कायम राख्नु ठूलो चुनौती बन्दै गएको छ भने इरानले यस क्षेत्रमार्फत आफ्नो क्षेत्रीय प्रभावको दायरा अझ फैल्याउने अवसर प्राप्त गरेको छ। यसले गर्दा अमेरिका र इरानबीचको तनाव थप सैन्य द्वन्द्व वा क्षेत्रीय युद्धमा परिणत हुने जोखिम अत्यधिक बढेको छ।
यो घटनाक्रमले साउदी अरेबियाको तेल निर्यातमा पार्ने असर झनै गम्भीर छ। साउदी अरेबिया विश्वको सबैभन्दा ठूलो तेल निर्यातक देश हो। यसअघि पर्सियन खाडीबाट बाहिरिने स्ट्रेट अफ हर्मुजमा अवरोध वा सुरक्षा जोखिम हुँदा साउदी अरेबियाले आफ्नो अधिकांश कच्चा तेल पूर्वतर्फको लाल सागर किनारमा रहेको यान्बु (Yanbu) पोर्टसम्म ल्याउन पाइपलाइनहरूको प्रयोग गर्दै आएको थियो र लाल सागरको बाटोबाट सुरक्षित रूपमा पश्चिमा तथा एसियाली बजारमा तेल पठाउँदै आएको थियो। तर, अब हुथीहरूले लाल सागरको सम्पूर्ण तट र मोखा जस्ता मुख्य बन्दरगाहहरू नियन्त्रणमा लिएपछि र साउदी पानीजहाजहरूलाई मात्रै लक्षित गर्ने चेतावनी दिएपछि साउदी अरेबियाको तेल आपूर्ति र निर्यात मार्गहरू गम्भीर धरापमा परेका छन्।
हुथीहरूले साउदी विरोधी आक्रामक अभियानलाई तीब्र पार्दा र साउदी तेल ट्यांकरहरूमाथि सम्भावित प्रतिबन्ध वा आक्रमणको तरबार झुण्डिरहँदा साउदी अरेबियाको आर्थिक मेरुदण्ड मानिएको तेल निर्यातमा प्रत्यक्ष रूपमा ब्रेक लाग्ने खतरा उत्पन्न भएको छ। साउदी सैन्य बलले हवाई आक्रमणमार्फत जवाफी कारबाही गरे पनि तटीय क्षेत्रमा हुथीहरूको यो पकड साउदी राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती बनेको छ।
हुथीहरूको यस प्रकारको तटीय नियन्त्रण र त्यसबाट उत्पन्न हुने क्षेत्रीय अस्थिरताले अन्ततः विश्वव्यापी अर्थतन्त्रमा गहिरो र नकारात्मक असर पुर्याउने निश्चित छ। लाल सागर र स्ट्रेट अफ बाब एल–मन्देब एसिया र युरोपलाई जोड्ने सबैभन्दा छोटो र प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो, जसबाट विश्वको कुल व्यापारिक मालसामान र ऊर्जा आपूर्तिको ठूलो हिस्सा पार हुन्छ। यस क्षेत्रमा सुरक्षा जोखिम बढ्दा वा बन्दरगाहहरू नियन्त्रित हुँदा अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले आफ्ना पानीजहाजहरूलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो र महँगो मार्गबाट घुमाउन बाध्य हुनुपरेको छ। यसले गर्दा ढुवानी लागत, इन्धनको मूल्य र बीमा शुल्क आकाशिएर गएको छ। विशेष गरी पश्चिम एशियामा जारी द्वन्द्वका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र उतारचढाव आएको छ, जसले विश्वभर ऊर्जा संकट, महँगी र आर्थिक मन्दीको जोखिमलाई थप बढाएको छ। आपूर्ति शृङ्खला (Supply Chain) मा आएको यो अवरोधले युरोप र एसियाका बजारहरूमा उपभोग्य वस्तुहरूको मूल्यवृद्धि गराउनुका साथै समग्र विश्व आर्थिक वृद्धिलाई नै मन्द पार्ने खतरा पैदा गरेको छ ।
तस्विर स्रोत: https://edubaba.in
फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
प्रतिक्रिया