फेरि हमलामा उत्रियो अमेरिका ! इरानद्वारा भीषण प्रतिरोध !
हर्मुजको घेराबन्दीमा अमेरिका, इरानको प्रतिरोधले बदलिँदै पश्चिम एशिया
इरानी प्रत्याक्रमणको निशाना: जोर्डनस्थित अमेरिकी वेश
अमेरिका र इरानबीचको प्रत्यक्ष द्वन्द्वबीच देखिएको एक महिनाको शान्तिको अन्तराल तोडिएको छ । अमेरिकाले इरानमाथि फेरि हमला गरेर पश्चिम एशियामा पुनः भीषण सैन्य झडपको नयाँ अध्याय सुरु गरेको छ। अमेरिकाले इरानको स्ट्रेट अफ हर्मुज जलडमरूमध्यस्थित लारक टापुमा गरेको भीषण मिसाइल आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) का दुई जना सैनिकले ज्यान गुमाएका छन् । त्यसको प्रतिशोधस्वरूप इरानले जॉर्डनस्थित मुफक सलती एयरबेस र संयुक्त अरब इमिरेट्सको अल मिन्हाद एयरबेसमाथि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आक्रामक जवाफ फर्काएको छ। यससँगै आर्थिक प्रतिबन्ध र कूटनीतिक तनावमा सीमित भइसकेको लडाइँ अब फेरि मैदानमा रगत बगाउने र मिसाइल खसाल्ने क्रूर भीडन्तमा रूपान्तरित भएको छ।
इरानले स्ट्रेट अफ हर्मुज क्षेत्र हुँदै अमेरिकाद्वारा तोकिएका मार्गहरूबाट गुड्ने मालवाहक जहाजहरूलाई निरन्तर तारो बनाइरहेको छ र संसारसामु स्पष्ट पारिसकेको छ कि उनीहरू अस्तित्व रक्षाको यो लडाइमा अन्तिम युद्ध लड्न तयार छन् । निरन्तरको प्रतिरोधमार्फत् उनीहरुले अमेरिकाविरुद्धको आफ्नो सबैभन्दा शक्तिशाली ‘हतियार’ स्ट्रेट अफ हर्मुजलाई कुनै पनि हालतमा अमेरिकी पकडमा जान दिनेछैनन्।
यो युद्ध जतिजति गहिरिंदै गएको छ, विश्वव्यापी अर्थतन्त्रमा यसको असर अनियन्त्रित रूपमा बढ्दै गएको छ। पश्चिम एशिया सम्पूर्ण विश्वलाई इन्धन आपूर्ति गर्ने मुटु हो, तर स्ट्रेट अफ हर्मुजमा इरानको कठोर नाकाबन्दी, ओमानको सागरमा अमेरिकी नियन्त्रण र लाल सागरमा हुती विद्रोहीहरूले साउदी अरेबियालाई लक्षित गरेर खडा गरेका अवरोधहरूले विश्वव्यापी आपूर्ति शृङ्खलालाई तहसनहस बनाइदिएका छन्। तत्कालै यो युद्धको पटाक्षेप गर्नेगरी पूर्ण युद्धविराम हुने र यी सामुद्रिक मार्गहरू सहज रूपमा खुल्ने कुनै छाँटकाँट देखिएको छैन। ड्रोन र मिसाइलको सामान्य आक्रमणबाट सुरु भएको यो लडाइँ अब एक बृहत् र विध्वंसकारी आर्थिक रणनीतिक युद्धमा परिणत भइसकेको छ । आफूमाथि भइरहेको अन्यायपूर्ण युद्ध र नाकाबन्दीको अन्त्य नभएसम्म स्ट्रेट अफ हर्मुज मार्ग खुलाउन इरानले गरेको ठाडो इन्कारले सम्पूर्ण संसारलाई गहिरो संकटतर्फ धकेलिदिएको छ। इरानको प्रोक्सीको रूपमा उभिएका हुतीहरूले साउदी अरेबियाको सामुद्रिक मार्गलाई रोकेर राखेका छन्, र साउदी अरेबिया अमेरिकाको सबैभन्दा ठूलो रणनीतिक साझेदार भएका कारण यो नाकाबन्दीको प्रत्यक्ष प्रहार अमेरिकामाथि नै परेको छ।
अमेरिकाभित्र ग्यास र इन्धनको मूल्य आकासिएको छ र आम जनताले सरकारलाई यो विनाशकारी लडाइँ तत्काल अन्त्य गर्न दबाब दिइरहेका छन्। तर ह्वाइट हाउससँग अब न त इरानमा शासन परिवर्तन गराउने सामर्थ्य बचेको छ, न त आन्तरिक विद्रोह गराउने तागत, र न त स्ट्रेट अफ हर्मुज मार्गलाई आफ्नो नियन्त्रणमा खुलाउने क्षमता नै बाँकी रहेको छ। डोनाल्ड ट्रम्पसँग अब विजयको घोषणा गर्ने कुनै आधार छैन, त्यसैले उनीहरू स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला छ भन्दै ढाकछोप गर्ने असफल प्रयास गरिरहेका छन्। वास्तविक भूराजनीतिक यथार्थ योभन्दा कैयौं गुणा भिन्न र भयानक छ। इरानले अत्याधुनिक तरिका अपनाउँदै अमेरिकी मार्ग प्रयोग गर्ने वा आफ्ना निर्देशित नियम उल्लंघन गर्ने जहाजहरूलाई निशाना बनाउने काम गरिरहेको छ । उनीहरूले इरानी निर्देशनको अवहेलना गर्दै इरानको समन्वय बिना हर्मुजको प्रयोग गर्नेलाई उसलाई मिसाइल वा ड्रोन आक्रमणद्वारा सिध्याउने चेतावनी दिएका छन् । इरानको यो कडा निगरानी र प्रतिरोधले के प्रस्ट पार्छ भने उनीहरूले आफ्नो सम्पूर्ण शक्ति यही भूराजनीतिक दाउमा होमिसकेका छन्। इरानी समाज र नेतृत्वमा यो गहिरो मनोभावना व्याप्त छ कि यदि उनीहरू यसपटक झुके वा पछि हटे, भने इरानको सार्वभौमसत्ता नै संकटमा पर्नेछ ।
यसैबीच, इरानले चालेको यस कडा कदमले विश्वका अन्य शक्ति राष्ट्रहरूलाई समेत नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ। अमेरिकाको परम्परागत दबाब र धम्कीका सामु नझुकेर उल्टै तिनलाई काउन्टर दिन सकिन्छ भन्ने गतिलो सन्देश इरानले विश्वलाई दिएको छ। क्यानाडाले समेत अमेरिकी कर तथा शुल्कको जवाफमा उल्टै अमेरिकामाथि कर लगाउनुले यो कुरा प्रमाणित गर्छ कि विश्वका धेरै देशहरू अब अमेरिकी एकछत्र राजबाट आजित भइसकेका छन्। यदि देशहरूको राजनीतिक नेतृत्वले आफ्नो राष्ट्रिय स्वाभिमानका लागि उभिने हिम्मत गर्यो भने महाशक्तिहरूको अधिनायकवाद पनि टुट्न सक्छ भन्ने गतिलो उदाहरण इरानले स्थापित गरेको छ। अब विश्वका ती मुलकहरूले गम्भीर भएर सोच्ने बेला आएको छ जो दशकौंदेखि आफ्नो अस्तित्वका लागि अमेरिकामाथि परनिर्भर थिए। इरानले यसको सुरुवात गरिदिएको छ र आउँदो दिनमा यस प्रतिरोधमा अरू कुन-कुन देशहरू थपिन्छन्, त्यो हेर्न बाँकी छ।
युकेएमटीओ (युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन) का अनुसार पछिल्लो २४ घण्टाभित्रै इरानले स्ट्रेट अफ हर्मुज जलडमरूमध्यमा तोकिएको उत्तरी मार्ग छोडेर दक्षिणी मार्ग प्रयोग गर्ने एउटा ट्याङ्कर सहित तीन वटा ठूला जहाजहरूमाथि सीधा प्रहार गरिसकेको छ। ट्रम्पले सामाजिक सञ्जालमा स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला छ र त्यहाँ कुनै खतरा छैन भनेर जतिसुकै दाबी गरे पनि, उनका यी कुराहरू पूर्णतया झुटा र आधारहीन साबित भइसकेका छन्। एमटीओका चेतावनीहरू र सेटेलाइट तस्बिरहरूले यो कठोर सत्यलाई जगजाहेर गरिदिएका छन्।
यसबीच अमेरिका यो द्वन्द्वमा किन रक्षात्मक बन्दैछ र किन पूर्ण स्तरको युद्ध गर्नबाट पछि हटिरहेको छ भन्ने कुरा पेन्टागनको एक अत्यन्त गोप्य र संवेदनशील रिपोर्टबाट बाहिर आएको छ। पश्चिमी सञ्चार माध्यमहरूद्वारा सार्वजनिक गरिएको उक्त रिपोर्टले ट्रम्प प्रशासनलाई गम्भीर चेतावनी दिंदै भनेको छ कि यदि यो युद्ध अझै लम्बियो भने अमेरिकी सैन्य शक्ति भित्रैबाट खिइन र कमजोर बन्न सक्छ। यसको प्रत्यक्ष नकारात्मक असर भविष्यमा चीन र रुस जस्ता महाशक्तिहरूको सामना गर्ने अमेरिकाको रणनीतिक क्षमतामा पर्नेछ। दशकौंदेखि आर्थिक प्रतिबन्ध लगाएर, इजरायलको बलियो साथ लिएर र चौतर्फी दबाब सिर्जना गरेर पनि सानो मानिएको इरानलाई घुँडा टेकाउन नसक्नुले अमेरिकाको बाहिरी चमक र खोक्रो सैन्य निरोधक क्षमताको पोल खोलेको छ। सेटेलाइट तस्बिरहरूको सहायताले चीनले अमेरिकी सेनाको प्रत्येक रणनीतिक चाल, हतियार रिमार्क गर्ने समय र सैन्य बेसहरूको सूक्ष्म अध्ययन गरिरहेको छ। अमेरिकाले पश्चिम एशियामा आफ्ना मुख्य विमानवाहक युद्धपोतहरू पठाउँदा प्यासिफिक क्षेत्रमा चीनलाई रोक्ने उसको शक्ति कमजोर भएको छ र सहयोगी राष्ट्रहरूले समेत हतियार तथा एयर डिफिफेन्स इन्टरसेप्टरको भारी कमी महसुस गर्न थालेका छन्।
अर्कोतर्फ, इरानलाई आवश्यक पर्ने सटीक गुप्तचर सूचनाहरू चीनले उपलब्ध गराउँदै आएको आशंका अमेरिका र उसका समर्थक देशहरुले गर्दै आएको छ । उनीहरुको दावीअनुसार चीन रुसको सहयोगका कारण इरानी आक्रमणहरू अचूक साबित भइरहेका छन्। चीनले अमेरिकाको सम्पूर्ण सैन्य कमजोरी, इन्धन भर्ने प्रक्रिया र मिसाइलहरूको सीमिततालाई नजिकबाट नियाल्दै भविष्यको महाशक्ति बन्ने आफ्नो मार्गलाई प्रशस्त गरिरहेको दावी विश्लेषकहरुले गर्न थालेका छन्।
यस संकटको घडीमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको ऐतिहासिक सन्देशले सम्पूर्ण इस्लामिक जगत्को वर्तमान विवशता र मौनतामाथि कडा प्रहार गरेको छ। उनले स्पष्ट रूपमा भनेका छन् कि यदि मुस्लिम राष्ट्रहरू एक ढिक्का भएर उभिएका भए के प्यासिफिक र फिलिस्तीनका जनता यसरी अमानवीय अत्याचार र नरसंहारको सिकार बन्नुपर्थ्यो? फारसी खाडी वरपरका देशहरूले इस्लामको वैचारिकीमुनि एकताको परिचय दिएको भए हजारौं किलोमिटर टाढाका भ्रष्ट र बाह्य शक्तिहरूले उनीहरूको भूमि र सम्पत्तिमाथि आँखै लगाउने आँट गर्न सक्दैनथे। तर दुःखको कुरा, गाजा र फिलिस्तीनमा भइरहेको चरम नरसंहारका बेला साउदी अरेबिया, ओमान, कटर र जोर्डन जस्ता प्रमुख सुन्नी तथा अरब राष्ट्रहरू केवल कागजी बयानबाजी बाहेक पूर्ण रूपमा मौन र लाचार बनेका छन्। इजिप्टले त पहिल्यै आत्मसमर्पण गरिसकेको छ भने युएई र साउदी अरेबिया जस्ता राष्ट्रहरूले मुस्लिम एकताको बाटोमा सबैभन्दा ठूला अवरोध खडा गरेका छन्। इरानले आफ्नो राष्ट्रिय सम्मान र सार्वभौमिकताका लागि एक्लै भए पनि जुन साहसिक प्रतिरोध प्रस्तुत गरिरहेको छ, त्यसले पश्चिम एशियाको भूराजनीतिक मानचित्रलाई सधैंको लागि बदलिदिएको छ।
जे होस्, पश्चिम एसियामा अमेरिका, इरान र उनीहरूका क्षेत्रीय साझेदारहरूबीच उत्पन्न भएको हालको सैन्य तनावले यस क्षेत्रलाई फेरि एकपटक गम्भीर द्वन्द्वको संघारमा पुर्याएको छ। लामो समयदेखिको कूटनीतिक विरामलाई तोड्दै लारक टापुमा भएको अमेरिकी आक्रमण र त्यसको जवाफमा जोर्डन तथा यूएईस्थित अमेरिकी सैन्य ठेगानाहरूमा आईआरजीसीले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ। फारसको खाडी र हिन्द महासागर जोड्ने स्ट्रेट अफ हर्मुज विश्वको कूल तेल आपूर्तिको एक महत्त्वपूर्ण धमनी हो र अमेरिकी दाबी अनुसार इरानले यस जलमार्गमा नौसेनाका सुरुङहरू राख्ने तयारी गरिरहेको भन्दै गरिएको आक्रमणले फौजी नियन्त्रणको लडाइँलाई चरमबिन्दुमा पुर्याएको छ। यो द्वन्द्व अब इरान र अमेरिकाको द्विपक्षीय सीमामा मात्र सीमित नरही जोर्डन र यूएई जस्ता खाडीका अन्य देशहरूप्रति पनि फैलिएको छ। जोर्डनको आकाशमा क्षेप्यास्त्रहरू इटरसेप्ट गरिनु र यूएईको अल मिन्हाद एयरबेसमा ड्रोन आक्रमण हुनुले यो द्वन्द्व सिङ्गो पश्चिम एशियाको सुरक्षाका लागि घातक बन्दै गएको प्रष्ट हुन्छ। त्यसमाथि थप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनमा भएको इरानी आक्रमणको बदलामा झनै कडा प्रहार गर्ने चेतावनी दिनुले युद्ध अब झनै चर्किने पक्का छ । यसबीच इरानका राष्ट्रपति पेजेस्कियानले आफूहरू युद्ध नचाहेको तर अमेरिकी आक्रमणको प्रतिरोध गर्न नचुक्ने अभिव्यक्ति दिएका छन् भने अमेरिकी नेतृत्वले पनि इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने र त्यहाँको नेतृत्वविरुद्धको कडा नीतिलाई निरन्तरता दिने अडान दोहोर्याएका छन्। यसले दुवै पक्षबीच तत्काल शान्तिवार्ताको सम्भावनालाई क्षीण बनाउँदै लगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ र यदि यो तनाव लम्बिंदै गएमा विश्वव्यापी रूपमा इन्धनको मूल्य आकाशिन गई उच्च मुद्रास्फीति र आर्थिक मन्दीको जोखिम थप गहिरिन सक्छ। विश्वको ऊर्जा र व्यावसायिक वस्तु ढुवानीको प्रमुख मार्ग असुरक्षित बन्दा विश्वव्यापी आपूर्ति शृङ्खला नराम्ररी प्रभावित हुनेछ र बीमा लागत बढ्नुका साथै वैकल्पिक मार्ग अपनाउनुपर्ने बाध्यताले व्यापारिक लागत अत्यधिक वृद्धि हुनेछ। यस घटनाले पश्चिम एसियामा अमेरिकाको सामरिक उपस्थितिलाई थप जोखिममा पारेको छ भने इजरायलद्वारा वेस्ट व्याङ्कको नाभलस सहरमा भइरहेका सैन्य कारबाहीहरूले यस क्षेत्रको समग्र द्वन्द्वलाई थप मलजल गरेका छन्। तसर्थ, पश्चिम एसियाको यो नयाँ सैन्य छटपटीले केवल क्षेत्रीय सीमा मात्र नभई विश्वको ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
स्ट्रेट अफ हर्मुज, मध्यपूर्वको भूराजनीति र वैश्विक ऊर्जा सङ्कट
गाजाको विनाश : इजरायललाई साथ दिने विश्वव्यापी हातहरू
अमेरिकामा ‘सैन्य विद्रोह’ र ट्रम्पको राजनीतिक भविष्य
ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष
प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खत…
क्युबा: रुसी तेल कहाँ छ? मस्कोले लुकाएको सत्य
इतिहासको ऋण: ८५० किलो अन्न, आठ दशकपछि चुक्ता
प्रतिक्रिया