मार्क्सवादको सान्दर्भिकता र अबको वामपन्थी आन्दोलन
(मे ५, कार्ल मार्क्सको जन्मजयन्तीको सन्दर्भमा)
'आज वामपन्थी जनमतमा किन क्षयीकरण भयो?' भनेर नेपालका वामपन्थीहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्नु पर्ने भएको छ। आज वामपन्थीको विकल्प पपुलिष्ट (लोकप्रियतावादी) शक्ति भएको छ। यो वामपन्थी आन्दोलनका लागि गम्भीर चुनौती हो।
विश्वभर आज मे ५ का दिन मार्क्स जयन्ती मनाउने गरिन्छ। वैज्ञानिक समाजवादका गुरु कार्ल मार्क्सको जन्म ५ मे सन् १८१८ मा प्रसिया, जर्मनीको ट्रियर नगरमा भएको थियो र मृत्यु १४ मार्च १८८३ मा भएको थियो।
मार्क्सको मृत्यु भएको १४३ वर्ष व्यतीत भएको छ, तर आज पनि मार्क्स विश्वका करोडौँ करोड मानिसको मानसपटलमा नाचिरहेका छन्। यसरी मानिसहरूको मानसपटलमा नाचिरहनुको मुख्य कारण भनेको नै विश्वका सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि मार्क्सले पुर्याएको योगदान नै महत्त्वपूर्ण रूपमा रहन गएको छ।
विश्वविख्यात व्यक्तिहरूमध्ये मार्क्स सन् १००० देखि सन् २००० सम्मका बीचमा जन्मिएकामध्ये सर्वश्रेष्ठ व्यक्ति रहेको कुरा सन् २००१ मा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले गरेको सर्वेक्षणमा उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्यो र यसपछि कार्ल मार्क्सलाई सहस्राब्दी पुरुष र सर्वश्रेष्ठ दर्शनशास्त्री भनिन थालिएको हो।
कार्ल मार्क्स र उहाँका अनन्य मित्र एंगेल्सले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, वर्ग संघर्ष र राजनीतिक अर्थशास्त्रको रूपमा पुँजीको रचना तथा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर सार्वजनिक गरेपछि मार्क्सवादको विकास गर्न महत्त्वपूर्ण आधार बन्यो।
मार्क्सवादको सिद्धान्त पुँजीवादले सर्वहारा श्रमजीवी वर्गमाथि गरेको बर्बर शोषण र अत्याचारको पृष्ठभूमिमा सञ्चालन भएका संघर्ष र आन्दोलनको क्रममा निर्माण भएको सिद्धान्त हो। पुँजीवादका विरुद्ध सर्वहारा श्रमजीवी वर्गले सञ्चालन गरेका संघर्ष र आन्दोलनमा देखा परेका उग्रवामपन्थी भड्काव र सुधारवादी दक्षिणपन्थी भड्कावका विरुद्ध संघर्ष गर्न प्रेरित गर्ने उद्देश्यका साथ कार्ल मार्क्स र एंगेल्सले प्रतिपादन गरेको सिद्धान्त नै मार्क्सवादी सिद्धान्त र दर्शनको रूपमा विकास भएको हो।
मार्क्सले द्वन्द्वात्मक भौतिकवादको दर्शनमार्फत विश्व दृष्टिकोणको मान्यतालाई विकास गरेका छन्। हरेक चिज, वस्तु र घटनाक्रमका सबल र दुर्बल पक्ष, जीवनशील वा ऊर्जाशील र पतनशील पक्ष, नवीन र पुरातन पक्ष हुन्छन्। मार्क्सवादीहरूले नकारात्मक पक्षलाई त्याज्य गर्ने र सकारात्मक पक्षलाई ग्रहण गरी जीवन पद्धतिमा प्रयोग गर्ने (एप्लाई गर्ने) मान्यता राख्नु पर्दछ भन्ने द्वन्द्वात्मक भौतिकवादको विश्व दृष्टिकोणले मान्यता अगाडि सारेको छ। यस सन्दर्भमा मार्क्सवादको विकासमा यो दृष्टिकोणले असाध्यै ठुलो स्थान पाएको छ।
यस्तै मार्क्सवादले संसारलाई बदल्न सकिन्छ भन्ने मान्यतालाई अंगालेको छ। समाजको विकासक्रम जसरी दास समाज, सामन्तवाद हुँदै पुँजीवादसम्म आइपुगेको छ, अब पुँजीपति वर्गले राज गरेको राज्यलाई भत्काएर समाजवादसम्म पुग्न मानिसको चेतना, दृष्टिकोण र संगठनका माध्यमबाट विद्रोह गर्दै अगाडि बढ्न सम्भव हुन्छ भन्ने मार्क्सवादले दिशाबोध गरेको छ।
मार्क्सवादी सिद्धान्तमा विकास भएको अर्को सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्त आजको सन्दर्भमा झन् सामयिक र सान्दर्भिक बन्दै गएको छ। आज विश्वमा हुने र नहुनेका बीचको जुन खाडल बढ्दै गएको छ, सम्पत्तिको सीमित व्यक्तिहरूमा अत्यधिक केन्द्रीकरण भइरहेको छ। यो सबै पुँजीपतिद्वारा गरिने श्रमिकहरूको अतिरिक्त मूल्यको शोषणबाट नै भएको छ। अतिरिक्त मूल्यको सिद्धान्तले श्रमिक वर्गले आफूले उत्पादन गरेको वस्तुमा श्रम गरेबापतको उचित मूल्य प्राप्त गर्न संघर्ष गर्नु पर्दछ भन्ने दृष्टिकोण राखेको छ।
मार्क्सवादले लोकतन्त्र र राजनीतिक स्वतन्त्रतासँगसँगै आर्थिक-सामाजिक स्वतन्त्रताको दृष्टिकोणलाई अंगीकार गरेको छ। मार्क्सवादले राजनीतिक क्रान्ति गरेर मात्रै क्रान्तिले पूर्णता प्राप्त गर्दैन, आर्थिक-सामाजिक समानता र सामाजिक न्यायका लागि समाजवादी क्रान्ति गरेर मात्रै समाजवादी व्यवस्थामा लोकतन्त्र र राजनीतिक स्वतन्त्रता फस्टाएर जान्छ भन्ने मान्यतालाई अंगीकार गरेको छ।
मार्क्सवादले ज्ञानको सिद्धान्त र व्यवहारवादी मान्यताको सिद्धान्तलाई आत्मसात् गरेको छ। मानिसबाट मानिसले सिक्ने, मानिसको अवस्था विश्लेषण गर्ने, मानिसहरूको शोषणको कारण पत्ता लगाउने, मानवजातिले आर्जन गरेका मूल्य, मान्यता र संस्कृतिको वैज्ञानिक आलोकमा संरक्षण र सम्बर्द्धन गरेर लैजाने ऐतिहासिक भौतिकवादी ज्ञानको सिद्धान्तलाई अंगीकार गरेको छ। समाज गतिशील छ, गतिशीलता र मानिसको चेतनाको विकाससँगै मानिसका चाहना र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्दा मात्रै समाजवाद हुँदै समाज साम्यवादी समाजको विकसित अवस्थामा पुग्ने भन्ने उल्लेख गरिएको छ।
यस्तै महिला वर्गको मुक्तिको उद्घोष, सम्पत्तिमाथि महिलाको अधिकार, मतदानको अधिकार र महिलालाई नेतृत्वमा स्थापित गर्नु पर्ने तथा युवा, श्रमिक र किसानका अधिकारलाई सुनिश्चित गर्न कम्युनिस्ट घोषणापत्रमार्फत मार्क्सले दृष्टिकोणलाई अगाडि सारेका छन्।
मार्क्सवादी विचारबाट प्रभावित भएर नै आज विश्वव्यापी रूपमा सर्वहारा श्रमजीवी वर्ग पुँजीवादको शोषणका विरुद्ध संघर्षरत छन्। विश्वमा आधाभन्दा बढी जनसंख्यामा मार्क्सवादको चेतना र लहर फैलिएको छ। नवउदारवादले सिर्जना गरेको विश्वव्यापी आर्थिक संकट, बढ्दै गएको गरिबी र बेरोजगारी, आय असमानताको कारण नै पुँजीवाद भएको र यसको विकल्प समाजवाद हो भन्दै विश्वका लाखौँ-करोडौँ मानिसहरू मार्क्स र एंगेल्सद्वारा लिखित पुँजीका किताबहरू खोजी-खोजी पढ्न थालेका छन्। मार्क्सद्वारा लिखित पुस्तक र विभिन्न रचनाहरू अनुवाद गरी विभिन्न भाषामा प्रकाशित भइरहेका छन्। मानिसहरूमा बढ्दै गएको चेतनाको लहरसँगै मार्क्सवादको सान्दर्भिकता झन् बढ्दै गएको छ।
नेपालमा मार्क्सवादको प्रचारप्रसारकै आलोकमा २०५१, २०६४ र २०७४ मा वामपन्थीहरूले जनताबाट अल्पमतकै भए पनि सबैभन्दा ठुलो दल, बहुमत र झण्डै दुई तिहाइको जनमतका साथ निर्वाचित सरकार गठन गरी सरकार सञ्चालन गर्ने जनादेश प्राप्त गरेका थिए। विश्वका कम्युनिस्ट पार्टीहरूमध्येमा जनताबाट निर्वाचित भएर सरकार सञ्चालनको अवसर पाउनु विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्वको परिघटना थियो।
तर 'आज वामपन्थी जनमतमा किन क्षयीकरण भयो?' भनेर नेपालका वामपन्थीहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्नु पर्ने भएको छ। आज वामपन्थीको विकल्प पपुलिष्ट (लोकप्रियतावादी) शक्ति भएको छ। यो वामपन्थी आन्दोलनका लागि गम्भीर चुनौती हो।
खासगरी राज्यसत्तामा गएपछि वामपन्थीहरूले वाम एजेन्डा लागू गरेनन्। त्यही नवउदारवादी पुँजीवादी आर्थिक नीतिलाई अवलम्बन गरे। वर्तमान पुँजीवादी व्यवस्थाभित्र नै समाजवादी एजेन्डा लागू गरेर जाने काम गर्नु पर्दथ्यो। सरकारमा गएर पुँजीवादी आर्थिक-सामाजिक विकासका कार्यक्रमहरू लागू हुन सकेनन्। जनताको आधारभूत अधिकारको रूपमा रहेको शिक्षा, स्वास्थ्य, आवास, स्वच्छ खानेपानी, खाद्यान्न, रोजगारी, श्रमिकको ज्याला/पारिश्रमिक, सामाजिक सुरक्षा, सार्वजनिक यातायात, भूमिसुधार, भूमिहीन किसानका समस्या, औद्योगिकीकरण र सार्वजनिक उद्यमको विस्तार जस्ता क्षेत्रमा वामपन्थीहरूले काम गर्नु पर्दथ्यो। तर यसका आधारमा वामपन्थीहरूले अपेक्षित काम गर्न सकेनन्।
मार्क्सवादले लोकतन्त्र र राजनीतिक स्वतन्त्रतालाई सिद्धान्तको रूपमा अंगीकार गरिरहेको सन्दर्भमा मार्क्सवादी विचारलाई अंगालिरहेको पार्टीभित्र तथा सरकार सञ्चालनमा पार्टीका नेता तथा कार्यकर्ताको व्यवहारमा क्रान्तिकारीकरण, मार्क्सवादीकरण एवं लोकतान्त्रिक आचरण र जीवनशैलीमा सर्वहारावादी दृष्टिकोण र शैली छ छैन? यसले नै कम्युनिस्ट पार्टीभित्र साँचो अर्थमा मार्क्सवादी र लेनिनवादी कार्यशैली र जीवनशैली अवलम्बन भइरहेको वा नभइरहेको मापन गर्न सकिन्छ।
पार्टीमा निर्णय गर्ने परिपाटी व्यक्तिगत छ कि सामूहिक ढंगले छलफल गरेर हुन्छ कि एक वा दुई जनाबाट? नेतृत्व छनोटको विधि योग्यता, क्षमता र प्रतिस्पर्धात्मकताका आधारमा कि अमुक नेतृत्वको समूहमा लागेको आधारमा? नेता तथा कार्यकर्ताको योगदानको मूल्यांकनको विधि के हुन्छ? कार्यकर्तालाई राजकीय निकायको जिम्मेवारीमा पठाउँदा नेतृत्वले चाहे जसरी भागबन्डाका आधारमा कि मूल्यांकनको वैज्ञानिक विधि र पद्धतिले निर्णय हुन्छ? आदि प्रश्नले पार्टीलाई मार्क्सवादीकरण र क्रान्तिकारीकरण गर्न दिशाबोध गरिरहेको हुन्छ।
पार्टी सरकारमा गएपछि दलाल पुँजीवाद र नवउदारवादको जालोलाई च्यातेर श्रमजीवी वर्गका पक्षमा अवलम्बन गरेका नीति तथा कार्यक्रम र त्यसबाट श्रमजीवी वर्गको उत्थान हुँदै गएको विषयले सरकारको सक्षमता देखिन्छ। सत्तामा गएपछि दलाल पैसावालहरूको प्रभावमा पर्ने र उनीहरूकै हित अनुकूल हिजो बनेका कानुन परिवर्तन नगर्ने र यथास्थितिमा नै निर्णय गर्ने काम गर्दा यसले सरकारमा गएर पनि मार्क्सवादी पहिचान राख्न सक्दैन।
सत्तामा सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व नभई गरिब, किसान र मजदुरको पक्षमा सही नीति, नियम र कानुन बनाउन सकिँदैन। वर्तमान महँगो खालको निर्वाचन पद्धतिले सर्वहारा श्रमजीवी वर्गले चुनाव नै लड्न नसक्ने पद्धतिको विकास भएको छ। अझ जोसँग पैसा छ, उसैले टिकट प्राप्त गर्ने जुन स्थिति हुँदै छ, यसले ढिलोचाँडो राज्यसत्तामा पैसावालहरूको प्रतिनिधित्व र नेतृत्व हुने स्थितिको विकास भएको छ।
जनताको अपार विश्वास पाएर वामपन्थीहरूले विगतमा सरकारको नेतृत्व गर्ने जुन अवसर पाएका थिए, यो अवसर वामपन्थीले गुमाएका छन्। तर पपुलिज्म (लोकप्रियतावाद) राजनीति नवउदारवादी पुँजीवादको अर्को नयाँ रूप हो। पपुलिज्म समाजवादको विकल्प हुन सक्दैन। यसले सस्तो लोकप्रियतावादका कुरा त गर्दछ, तर साँचो अर्थमा वर्गीय विभेद, छुवाछूत, सामाजिक मुक्ति र वर्गीय शोषण अन्त्य गर्ने एजेन्डा बोक्न सक्दैन।
वर्ग संघर्ष समाजवादको हतियार हो। यसलाई धारिलो बनाएर गरिब, बेरोजगार, भूमिहीन, दलित, किसान र पछाडि परेका वा पारिएकाहरूका बीचमा कम्युनिस्ट पार्टी पुग्नु पर्दछ। नेपालका वामपन्थीहरू संसद् र सत्तामा पुगेपछि वर्ग संघर्षको कडी नै भुत्ते भयो। यसै भएर त तराईका उखु किसानहरू आफैँ अग्रसर भएर ८/१० दिन पैदल हिँडेर राजधानी काठमाडौँ आएर संघर्ष र बलिदान गर्न बाध्य भए। महिला हत्या र हिंसा भइरहेको छ, निर्मला पन्तको हत्यारालाई वामपन्थीहरूले सरकार सञ्चालन गर्दा पनि दोषीलाई कारबाही हुन सकेन।
शिक्षा र स्वास्थ्यमा ब्रह्मलुट गरेर व्यापारीकरण र निजीकरण भइरहेको छ, तर यसको विकल्पमा वामपन्थी एजेन्डा प्रस्तुत हुन सकेन। आज क्युबामा दशकौँदेखि साम्राज्यवादी अमेरिकाको नाकाबन्दी छ, तर क्युबामा विश्वकै उत्कृष्ट शिक्षा र स्वास्थ्य उपचार पद्धतिको विकास भएको छ। उत्पादन र रोजगारी, क्रान्तिकारी भूमिसुधार लागू गरेर जानु पर्दथ्यो; ४०/५० लाख मानिस वैदेशिक रोजगारीमा धकेलिन बाध्य छन्। देशभित्र रोजगारी गरिरहेका श्रमिक न्यून ज्याला, पारिश्रमिक र सामाजिक सुरक्षाविहीन अवस्थामा गरिबीकै दुष्चक्रमा काम गर्न बाध्य छन्। बीसौँ वर्ष अस्थायी, करार र राहतमा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी काम गर्न बाध्य छन्। तिनको सेवा सुरक्षा, वृत्ति विकास र सामाजिक सुरक्षाको प्रत्याभूति हुन सकेको छैन।
तर देशभित्र नै रोजगारी सिर्जना गर्ने ठोस नीति र कार्यक्रम लागू हुन सकेन। राष्ट्रियताका मामिलामा पनि वामपन्थीहरूले ठोस ढंगबाट भूमिका निर्वाह गर्न सकेका छैनन्। महाकाली र एमसीसी हुँदै कैयौँ सन्धि-सम्झौताहरू नेपालको हितमा नहुने गरी भएका छन्।
वामपन्थीहरूले मार्क्सवादी र समाजवादी सोच एवं दृष्टिकोणको आलोकमा नेपालमा समाजवादी क्रान्ति गरेर समाजवादी व्यवस्था स्थापना गर्न वामपन्थीहरूबीच ध्रुवीकरण र एकीकरण हुन जरुरी छ। बेग्लाबेग्लै चुल्हो-चौका बालेर बसिरहँदा बुर्जुवा र पपुलिष्टहरूले नै फेरि पनि राज्य सञ्चालन गर्नेछन्। तसर्थ, समाजवादी क्रान्ति गर्ने आर्थिक-सामाजिक नीति तथा कार्यक्रमका साथ अब वामपन्थीहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ। यसका लागि वामपन्थीहरूभित्र विचार, सिद्धान्त, कार्यशैली र नेतृत्वमा पुनर्गठन गरेर समयको माग, नयाँ चेतना र नयाँ प्रवाहअनुसार सबै कम्युनिस्ट पार्टीभित्र पुनर्गठन गर्दै नयाँ आधारमा वामपन्थी एकता कायम गर्ने दिशामा मुलुकको वामपन्थी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ।
वर्ग संघर्ष भुत्ते भएको छ। हिजोको जनआधार भत्किएको छ। अब नयाँ शिराबाट जनतामा पुग्ने, जनताको सुख-दुःखको साथी बन्ने, सहकारीका माध्यमबाट स्थानीय तहमा उत्पादन र रोजगारी सिर्जना गर्ने, मार्क्सवादी चेतना फैलाउने र त्यसैको जगमा टोल-बस्तीमा संगठनको जालो फैलाउँदै स्थानीय वर्ग संघर्ष हुँदै राष्ट्रव्यापी संघर्षको आँधीबेहरी सृष्टि गर्ने गरी संगठन र नेतृत्वको परिचालन गर्न आवश्यक छ।
अब वाम आन्दोलनले हिजो पुँजीवादीहरूको हित-स्वार्थ अनुकूल बनेका आर्थिक-सामाजिक नीति तथा कानुन सुधार गर्नु पर्दछ। प्राकृतिक स्रोत-साधन, जलस्रोत, खानी तथा खनिज, शिक्षा, स्वास्थ्य सेवा र उत्पादन, रोजगारी, वितरण एवं आपूर्तिका क्षेत्रमा सार्वजनिक स्वामित्व कायम गर्दै समाजवादको आधार निर्माणतर्फ नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्नु अहिलेको अभिभारा हो। यसका लागि विचार, कार्यशैली, जीवनशैली, नेतृत्व र संगठन परिचालनका क्षेत्रमा मार्क्सवादी-लेनिनवादी पद्धतिबाट पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्ने र तदनुरूप अगाडि बढ्न सक्दा मात्रै नेपालमा समाजवादी क्रान्ति गरेर समाजवाद निर्माण गर्न सम्भव हुन्छ। अनि मात्रै साँचो अर्थमा कार्ल मार्क्सप्रति सच्चा सम्मान हुनेछ र यसले झन् मार्क्सवादको सार्थकता बढेर जाने विश्वास लिन सकिन्छ।
ली कुआन यू र सिंगापुरको उदय: नेपालका लागि के पाठ ?
नक्सलवादीहरूले वास्तवमा मार्क्स र एङ्गेल्सको अनुशरण गरेनन्
पेरिसडाँडाको सन्देश: भाग्ने होइन बदल्ने, फुट्ने होइन जुटेर समाजवाद हासिल गर्न…
ट्रम्पको इरान युद्ध: साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस
समाजवादी क्रान्ति र जातीय मुक्तिको प्रश्न
आत्मसमर्पणको राजनीति
घृणाको राजनीति बढाउने नयाँ हतियार: 'घरपालुवा जनावरका रूपमा सुँगुर'
प्रतिक्रिया