पेरिसडाँडाको सन्देश: भाग्ने होइन बदल्ने, फुट्ने होइन जुटेर समाजवाद हासिल गर्ने!
उपर्युक्त शीर्षक आव्हान मार्क्सवादी विद्वान राहुल सांस्कृत्यायनकृत हिन्दी पुस्तकबाट लिइएको हो। जसले, २० औं शताब्दीमा युवाहरुलाई जोड्दार आव्हान गर्दै आक्रामक पुस्तक लेखेका थिए, शीर्षक हो- भागो नही, दुनियाँ को बदलो! मार्क्सवादको मुख्यतः दुनियाँ बदल्ने दर्शन जुन छ, राहुल सांकृत्यायनले साहित्यिक ढाँचामा अझ परिष्कृत तथा प्रशार गरे, भन्ने यथार्थता प्रष्ट छ।
दोस्रो विश्वयुद्वका दौरान दक्षिण छिमेकी भारतमा दर्जनौं प्रतिभाहरु इतिहासको घग्डान मञ्चमा उदाए। त्यसमध्ये एक थिए, राहुल सांकृत्यायन। परम्परागत नामथर केदारनाथ पाण्डेलाई उनले राहुल सांकृत्यायनमा बदले। त्यस नाममाङ्कनबाट उनले दर्जनौं पुस्तकहरु लेखेका छन्। राहुलको अर्को एक पुस्तक हो- भोल्गा से गङगा तक। विसं २०४७ तिर हिन्दीमा मुस्किलले पढिएको थियो। २०७७ मा नेपाली अनुवाद पढ्ने अवसर मिल्यो- भोल्गादेखि गङगासम्म। पढ्दा झ्याट्ट अनुभूति हुन् पुग्यो, आर्यगणको महाकाव्य! यद्यपि गद्यात्मक रचना हो त्यो।
हदैसम्मको सुन्दर रचना भोल्गादेखि गङ्गासम्म, जसमा २० वटा अध्यायहरु छन्, ती प्रत्यक अध्यायहरु स्वयंमा स्वतन्त्र पनि छन् र एकसाथ ती पुस्तकका आंगिक अध्यायहरु पनि हुन्। जस अन्तर्गत "बन्धूल मल्ल" हाम्रा लागि सर्वोत्तम् अध्याय लाग्दछ, खासगरी मल्लिकाजीको आत्मनियन्त्रण क्षमता प्रदर्शन गुणवत्ताले। बिघ्न सिफारिस जरुरी छ, सामान्यतः नेपालीले र विशेषतः जो आर्यमूलका मानिस छन्, उनीहरुले पढेर बुझ्नै पर्छ- भोल्गादेखि गङ्गासम्म। जसले पढ्ने छैनन् र द्रविडहरुले गुमाउनु परेको आफ्नो सभ्यता राज्यवारे हमदर्दी प्रकटसम्म गर्दैनन्, ती सेपियन्स कहनलायक रहँदैनन्।
एकदिन खाइरहेका बखत राहुलले सोधे- भाइ! यो के को मासु हो? जवाफमा तिब्बती सहायकले जब भन्यो- सर, यो चौरीगाईको मासु हो। राहुल लेख्दछन्- तब् मेरा ब्राम्हणत्व जाग उठा है।
अर्को प्रसंगमा आजदेखि म ब्राम्हण होइन, हिन्दू होइन, भारतीय पनि होइन, म केवल विश्वनागरिक हुँ भनेर घोषणागरी तिब्बतको हिमाली पठार हुँदै अघि बढ्दा बाटोभरि तिब्बती सहायकले पानीमा भिजाएको सिकुटी मासु र सातु खान दिन्थे। एकदिन खाइरहेका बखत राहुलले सोधे- भाइ! यो के को मासु हो? जवाफमा तिब्बती सहायकले जब भन्यो- सर, यो चौरीगाईको मासु हो। राहुल लेख्दछन्- तब् मेरा ब्राम्हणत्व जाग उठा है।
"गाईको मासु" सुन्नासाथ चपाएर निल्दै गरेको सिकुटी मासु राहुलले एक्कासी मुखबाट ओकले। त्यो स्थितिलाई उनले भने- तब मेरो ब्राम्हणत्व जाग्यो।
* * *
बैठक समापनतिर कमरेड प्रचण्डले झर्रा शब्दमा बोलिदिए- साँच्चै कम्युनिस्ट हौं त हामी?
नेपाली कम्युनिस्ट पार्टीको विधान २०८२, धारा ४१ बमोजिम गठित केन्द्रीय कार्य संयोजन समिति बैठकमाझ हामीलाई वस्तुतः अनुभूति भइरह्यो, जुन राहुल सांकृत्यायनले पुस्तक लेखेर आव्हान गरेका थिए। अर्थात भागो नही, दुनियाँ को बदलो। दुनियाँ माने विश्व, फेरि विश्व माने संसार, जहाँका सम्पूर्ण श्रमिकहरुलाई एक हौ भन्दै लड्नका निम्ति बनेको कम्युनिस्ट पार्टी। बैठक समापनतिर कमरेड प्रचण्डले झर्रा शब्दमा बोलिदिए- साँच्चै कम्युनिस्ट हौं त हामी?
अत: पार्टी केन्द्रीय कार्य संयोजन समिति बैठकको मूलभाव तत्कालमा यत्ति नै न्यायोचित ठहर्ला कि त्यत्रो दुनियाँभरको भन्दा पनि आफ्नै संगठनमा पेरिसडाँडाको सन्देश हो- भागो नही, बदलो अर्थात भाग्ने होइन बदल्ने आँट गरौं, पहिला आफुलाई अनि पार्टी सदस्य सबैलाई। निर्वाचनको नतिजाबाट कठोर शिक्षा लिएर पराजयलाई नयाँ विजयको तयारीमा बदल्ने अठोट मात्र ऐतिहासिक भौतिकवाद ठहर्छ। जसलाई, कम्युनिस्टहरुले आफ्नो विश्वदृष्टिकोण ठानेर आएका छन्।
उपरोक्त अनुभूति मूल्याङ्कनतर्फ यो आलेख केन्द्रित छ।
बैठकको पृष्ठभूमि र कार्यसूचि
१९ चैत २०८२ मा प्रारम्भित बैठकको कार्यसूचि रह्यो, प्रतिनिधिसभा निर्वाचन समीक्षा र आगामी कार्ययोजना।
कम्युनिस्ट एकता लक्ष्यमा गठित समाजवादी मोर्चा मार्फत क. प्रचण्ड, क. माधव नेपाल र क. महेन्द्र राय यादवको अगावै पहलमा नेपाली कम्युनिस्ट पार्टी बन्दै थियो। देशभक्त समाजवादीका रुपमा हामीहरु पनि त्यसमा सामेल भयौं। परिणामस्वरुप १९ कात्तिक २०८२ मा एकताको राष्ट्रिय सम्मेलन आयोजना गरियो। त्यसको ठीक पाँच महिनामा पार्टी संगठनको बैठक भन्न सकिनेगरी एक तहको बैठक बस्यो। त्यो ४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समितिको बैठक हो।
जब एकता राष्ट्रिय सम्मेलनबाट नेपाली कम्युनिस्ट पार्टी गठन भयो, लगत्तै ११ मंसीर २०८२ मा क. राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर जनता समाजवादी पार्टीसंग एकता गरियो। विभिन्न कम्युनिस्ट, समाजवादी एवं प्रगतिशील समुहसंग एकता र ध्रूवीकरण बढाउदै पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचन २०८२ मा दृढतापूर्वक सहभागिता जाहेर गरियो। परन्तु, अप्रत्यासित कारणहरुबाट नेपाली कम्युनिस्ट पार्टीलाई मिल्यो, जम्मा चौथो स्थान।
बैठकमा बोल्ने एक कमरेडको शब्दमा २०८२ भदौ २३/२४ देखि फागुन २१ गतेसम्म आउँदा कम्युनिस्टहरु, देशभक्तहरु र पहिचान पक्षधरको राजनीतिक सफाया गरे। अब भौतिक सफाया गर्न खोज्लान्। त्यस विरुद्ध लड्ने रणनीति र कार्यनीति बैठकले निर्माण गर्न सकियोस्। अन्ततः २०८२ चैत २३- २८ एवं २०८३ बैसाख ३, १४ र १५ गते संचालित बैठकले त्यस्तो मार्गचित्रको आकाङ्क्षा मूलतः सदर गरेको छ।
भदौ २३/२४ को परिस्थिति एमालेका खड्गप्रसाद ओलीको यथास्थितिवादी राजनीति, स्वेच्छाचारी कार्यशैली र भूराजनीतिक खेलवाडका कारण उत्पन्न घटना हो।
वास्तवमा भदौ २३/२४ को परिस्थिति एमालेका खड्गप्रसाद ओलीको यथास्थितिवादी राजनीति, स्वेच्छाचारी कार्यशैली र भूराजनीतिक खेलवाडका कारण उत्पन्न घटना हो। जसका विरुद्ध युवाहरुले सडक प्रदर्शन गरे। त्यसभित्र घुसपैठद्वारा देशी विदेशी प्रतिक्रियावादीहरुले युवामाथि दमन मात्र गराएनन् बरु संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा राष्ट्रपति निवासमाथि आगो सल्काएर सार्वजानिक सम्पतिलाई खरानी तुल्याए। जुन, प्रतिगमनकारी विध्वङ्श थियो।
फेरि पनि राष्ट्रपति रामचन्द्र पौडेलको शब्दमा ठूलो जुक्तिले असंवैधानिक उत्कर्षको अन्तरिम सरकार हुँदै सिद्वान्तत: संवैधानिक दायराभित्रबाट प्रतिनिधिसभा निर्वाचन भएको मानिन्छ। जसका निमित्त नेपाली कम्युनिस्ट पार्टी तथा यसको नेतृत्वपंक्तिले नाजायज मूल्य चुक्ता गर्नु परेको छ। किनभने, जुन समय युवा विद्रोह र त्यसभित्र घुसपैठद्वारा विध्वङ्शका अपराधहरु भए, त्यस बखत नेपाली कम्युनिस्ट पार्टीका नेताहरु न सरकारमा थिए, न त युवा प्रदर्शनको विपक्षमा नै। बरु संयोजक क. प्रचण्ड नै हुन्, सर्वप्रथम युवा प्रदर्शनमा खुलेर समर्थन विज्ञप्ति जारी गर्ने अनि बानेश्वरमा मारिएका युवाहरुलाई सहिदको सम्मान दिलाउन सार्वजानिक माग गर्ने।
परन्तु, त्यसको पुरस्कारमा फागुन २१ गते नेपाली कम्युनिस्ट पार्टीलाई चौथो स्थान मिल्यो। के नेपाली युवाहरु यत्ति विघ्न कृतघ्न र कालिदास समान मूर्ख छन् ? पेरिसडाँडा बैठकले तथ्यका आधारमा सत्य खोज्न छानविन अनुसन्धान जारी राख्दै निर्वाचन परिणाम स्वीकार गर्ने परिपक्वता दर्शायो।
बैठकमा बहसको जोड र कोण
४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समितिमा पूर्व माओवादीका साथीहरु करिब एक तिहाइ संख्यामा छन्। उनीहरुवारे वर्तमान परिस्थितिमा के दृष्टिकोण राख्दछन्, भन्ने बाहेक जानकारी छँदैछ। करिब दुई तिहाइ सदस्य साथीहरुसंग भने हाम्रो राजनीतिक जीवनको पहिलो बैठक हो। प्रस्तुत कार्यसूचिमाथि उनीहरु कसरी सोंच्दा रहेछन् र के दृष्टिकोण राख्दा रहेछन्, जिज्ञाशा थियो। मोटामोटी जान्न पाएर हामी चाहिँ लाभान्वित हुन पुग्यौं।
बैठकमा प्रस्तुत नेताहरुको जोड र कोण तथा वैचारिक-साँस्कृतिक स्तरलाई निम्न तीन प्रकारमा विन्यास गर्न सकिन्छ:
क. ठोस परिस्थितिको ठोस विश्लेषणमा अघि बढ्न खोज्ने मार्क्सवादीहरु,
ख. शास्त्रीय कम्युनिस्टको ढर्रामा चाकाचुली खेल्न रमाउनेहरु र
ग. कम्युनिस्ट पार्टी संगठन र राजनीति के हो, बाह्रखरी सिक्दै गरेकाहरु।
परन्तु, सबै सदस्यको चासो, चिन्ता र गम्भीरता चाहिँ एउटै प्रकारको देखिन्थ्यो। जुन, ४५ जना सदस्यहरुवीच समानता अनुभव हुन्थ्यो। जसले, बैठकलाई "बदल्ने" कार्यभारउन्मुख तुल्यायो।
पार्टी बैठक, प्रस्ताव र त्यसमाथि बहसको औचित्य के भने जसले एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्न सक्नु पर्दछ। अन्यथा सदस्यहरु जिम्मेवार नेता होइन, अतिथि नेता बन्न पुग्दछन्।
जाँदा जाँदै बैठकको दुखद पक्ष कि करिब एक चौथाइ सदस्यहरु पूरा बैठकमा रहेका देखिएनन्। आउदै र जाँदै गर्ने प्रवृत्तिका ती सदस्यहरुको चेहरा हेर्दा हेलचेक्र्याइ नै त झल्कँदैनथ्यो, फेरि पनि केन्द्रीय कार्य संयोजन समिति जस्तो उच्चस्तरीय बैठक भन्दा अरु नै प्राथमिकता बढ्न पुग्नु नेतृत्वदायी चरित्र किमार्थ होइन। पार्टी बैठक, प्रस्ताव र त्यसमाथि बहसको औचित्य के भने जसले एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्न सक्नु पर्दछ। अन्यथा सदस्यहरु जिम्मेवार नेता होइन, अतिथि नेता बन्न पुग्दछन्। स्वीकार गर्नुपर्छ, त्यसर्थमा अतिथि नेता चरित्र नै पराजयको एक आन्तरिक कारण हो, भन्ने बिर्सन मिल्दैन।
र, मनभरि टीठ लागेर आउँछ, ती आधा गाग्री चेतनाका, वास्तवमा औपचारिकताका सदस्य साथीहरुले पार्टी जीवनमा कसरी दुनियाँ बदल्ने कार्यभार सम्हाल्लान्? जबकि सर्वहारा अन्तर्राष्ट्रिय गुरु कार्ल मार्क्सले भनेका छन्- अज्ञानताले क्रान्तिको सेवा गर्दैन।
अन्ततः लेनिनवादी विधि स्वआलोचना र आलोचनाद्वारा रुपान्तरण नै हो। जसका निमित्त अतिथि चरित्रका नेताहरुलाई वर्गीय राजनीतिक संघर्षको जिम्मेवार नेतामा परिणत गरिछाड्ने दायित्व आम पार्टी सदस्यले निर्वाह गर्नु परेको छ।
नीति, नेतृत्व र उत्तराधिकार
मार्क्सवाद वर्ग प्रधानता अन्तर्गत समाजमा रहेका सबै खाले अन्याय र उत्पीडन विरुद्ध लड्ने विज्ञान हो। जसको संगठनात्मक सिद्वान्तलाई लोकतान्त्रिक केन्द्रीयता भनिन्छ। जसले, छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरुपताबाट सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति दिन सकियोस्। जुन, नीति प्रधान नेतृत्व प्रणाली हो।
नेतृत्वलाई कतिपयले उमेरसंग तुलना गर्दछन्। त्यो वस्तुतः सामाजिक डार्विनवाद हो। जुन, जंगलीराजमा सान्दर्भिक होला, मानव समाजमा होइन। वर्ग समाजको संघर्षमा अनुभवशिद्व नेताहरुको गम्भीर आवश्यकता पर्छ। मस्तिष्क विज्ञान अनुसार मानिस जत्ति ज्येष्ठ हुँदै जान्छ, त्यत्ति नै उसको मस्तिष्क पनि विकसित हुने गर्छ। यो चाहिँ सत्य हो कि उमेर ढल्कँदै जाँदा मानिसका माङ्शपेसीहरु कमजोर हुन् थाल्दछन्। जसले गर्दा उसले आवश्यक भागदौड गर्न चाहिं सम्भव हुँदैन।
परन्तु, नेतृत्व भनेको मुख्यतः विचार र दृष्टिकोण हो, जसले वस्तु र घटनालाई वैज्ञानिक ढंगले हेर्ने र बुझ्ने तथा क्रान्तिकारी ढंगले बदल्ने ल्याकत राखोस्, सहायकमा भौतिक क्रियाशीलता पर्दछ। मूलतः मस्तिष्क क्रियाशीलताले वैचारिक- राजनीतिक नेतृत्व प्रदान गर्न सक्दछ।
ज्येष्ठताको प्रश्नमा उत्तराधिकार तयार नगर्ने र आजीवन प्रमुख ओहदा हत्याइरहने प्रवृत्ति प्रतिक्रान्तिको कारक बनेको विश्लेषण विगत माओवादी आन्दोलनमा गरिएको हो। परन्तु, एकको दुईमा विभाजन नियमबाट हेर्दा क. प्रचण्डमा अझै त्यो नियम वाञ्छनीय लाग्दैन। अनेक सीमा र कमजोरीका बावजुद गणतान्त्रिक क्रान्तिको नेतृत्वदायी विराशत, भगिरथ क्रियाशीलता, कार्यभार उठान क्षमता र इच्छाशक्तिका दृष्टिले पार्टी प्रमुखमा एक चरण क. प्रचण्डको विकल्प सोंच्न सकिँदैन। नयाँ विचार निर्माण प्रश्नमा आशन्न महाधिवेशनले ठोस निर्णय लिने नै छ।
क्रान्तिकारी उत्तराधिकार त्यो हुने गर्छ, जसले पार्टी र आन्दोलनमा महान सहायकको भूमिका खेल्छ। आजको महान सहायक भोलिको योग्य प्रमुख स्वत: बन्न सक्दछ। मार्क्स र एङगेल्स तथा लेनिन र स्टालिनवीच ऐतिहासिक व्यवहारले यो तथ्य प्रमाणित गर्छ।
गुरूहरुले भनेर गएका छन्- समाजमा युवा, प्रौढ र ज्येष्ठगरी तीन पुस्ता प्रभावी रहन्छन्। अत: निरन्तर क्रान्तिका निमित्त तीन पुस्ते संगठनमा जोड दिइनु पर्छ। जसले, प्राकृतिक नेतृत्वमा समाजलाई डोर्याउदै अनुभवशिद्व उत्तराधिकार निर्माण गर्न सकोस्।
माओले भनेर गएका छन्- हुन् त आगामी संसार हामीहरुको पनि हो, मुख्य रुपमा युवाहरुको हो।
प्राकृतिक न्यायका दृष्टिले पनि अत: प्रत्यक ज्येष्ठहरुको योगदान अन्ततः युवाहरुकै पुँजी हुने गर्छ। मात्र खाँचो, ध्यान रहोस् कि हो ची मिन्हले भनेका छन्- एक जना कम्युनिस्ट सधैं धैर्यवान अनि शान्त र सावधान रहन्छ।
त्यस्तै, चे ग्वेभाराले भनेका छन्- जिम्मेवार विद्रोहीले रक्सी पिउँदैन, तर आफ्नो कमाण्डरले हप्काउँछ, भनेर होइन।
सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति त्यस्तो व्यक्तिमा हुने गर्छ र हुनुपर्छ, जो नेताहरुको नेता बन्ने ल्याकत राख्दछ। जसका निमित्त महान सहायक योग्यताका अतिरिक्त इतिहासको आवश्यकता र परिस्थितिको आकस्मिकताले निर्धारण गर्छ।
पार्टीका युवा कमरेडहरुलाई भनिहालौं कि तपाइँले न्यूनतन् ७० हजार बर्षयताका संज्ञान क्रान्ति, कृषि क्रान्ति, औद्योगिक र विज्ञान-प्रविधि क्रान्तिको इतिहास- प्रयोजन पढ्न र बुझ्न जरुरी छ। अभिन्न रुपमा कार्ल मार्क्स, लेनिन, माओ र पुष्पलाल श्रेष्ठको जीवनी, कम्युनिस्ट घोषणापत्र, लेनिनको राज्य र क्रान्ति एवं मुख्यतः नेपाल पढ्न जरुरी छ। जसले, भूमण्डलीकृत वित्तीय पुँजीवादी दुनियाँमाझ नेपाली समाजको अन्तर्विरोध पहिचान र संचालन गर्न तपाइँ- हामीलाई योग्य तुल्यावोस्।
बैठकका निर्णयहरु
निर्वाचन समीक्षा प्रतिवेदनमा परिमार्जन एवं समसामयिक प्रस्ताव मार्फत वैचारिक-राजनीतिक, सांगठानिक, साँस्कृतिक रुपान्ततणमा जोड दिँदै, विस्थापित तथा उत्पीडित सुकुमवासी जनतालाई आफ्नो संवैधानिक र कानूनी हक पुनर्वहालीका लागि संघर्षमा दृढतापूर्वक साथ समर्थन गर्ने प्रतिवद्वतासहित २०८३ बैसाख १५ गते बैठक समापन गरियो। आगामी कामको योजना अन्तर्गत पार्टीका विभिन्न तहको एकीकरण प्रक्रियालाई पूर्णता दिने, जनवर्गीय संगठन र राष्ट्रिय मोर्चाहरुलाई एकीकृत परिचालन गर्ने र पार्टी एकता महाधिवेशनतर्फ अघि बढ्ने मूल संगठनात्मक काम तोकिएका छन्।
दर्जनौं समुहहरुको एकताबाट बनेको पार्टी, जसलाई यौगिकतामा ढाल्न प्रारम्भ मात्र गरिएको अवस्थाले कतिपयमा असन्तुष्टि देखिनुलाई अन्यथा मानिहाल्न मिल्दैन।
सम्पन्न बैठकमा, विभिन्न कोणबाट घनिभूत छलफल भएका छन्। वीचवीचमा प्रमुख नेताहरुको अरु काम आइलाग्ने परिस्थितिले लगातार संचालन हुन् नसकेको सन्दर्भले सिल्सिलाबद्व नदेखिए पनि पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले उच्च महत्व जाहेर गरेको छ। जसप्रति हामी मूलतः प्रशन्न छौं। दर्जनौं समुहहरुको एकताबाट बनेको पार्टी, जसलाई यौगिकतामा ढाल्न प्रारम्भ मात्र गरिएको अवस्थाले कतिपयमा असन्तुष्टि देखिनुलाई अन्यथा मानिहाल्न मिल्दैन। जसलाई, नयाँ विचार निर्माण प्रक्रियाबाट अग्रगामी रुपान्तरणको दिशाबोध गर्न सकिन्छ र पार्टीका जिम्मेवार सदस्यले यसो गर्नैपर्छ।
अन्त्यमा, हाम्रो दृढ अपेक्षा कि आशन्न पार्टी महाधिवेशनले मुख्यतः नेपाल पढ्ने र बुझ्ने सिद्वान्तका आधारमा बदल्ने अर्थरानीतिक कार्यक्रम आर्जन गर्न सकियोस्। मजदुर, किसान, पुँजीपति वर्गीय, महिला-पुरुष लैंगिक एवं सर्व-जातजातीय जनसंख्याको पूर्ण समानुपातमा समाजवादी निर्वाचन प्रणालीवारे विवेकसम्मत अध्ययन, छलफल र बहश गरियोस्। त्यसो गर्दा राष्ट्रिय स्वाधीनता, शान्ति र मानवता विरोधी रास्वपाको प्रायोजित बहुमत सरकारले अर्को बर्ष देख्न नपाउने सच्चाइ निश्चित छ।
(लेखक पूर्वमन्त्री किराती नेपाली कम्युनिस्ट पार्टीका नेता तथा देशभक्त समाजवादी स्कुलका अध्यक्ष हुन्)
ट्रम्पको इरान युद्ध: साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस
समाजवादी क्रान्ति र जातीय मुक्तिको प्रश्न
आत्मसमर्पणको राजनीति
घृणाको राजनीति बढाउने नयाँ हतियार: 'घरपालुवा जनावरका रूपमा सुँगुर'
साम्राज्यवादी समुद्री डाकूद्वारा इरान र चीनको नाकाबन्दी
अन्तर्राष्ट्रिय राजनीतिमा भारतको घट्दो साख: 'विश्वगुरु' देखि 'विश्व जोकर' सम्मको…
युद्धको सुखद अन्त्य हुने सम्भावना निकै कम छ
प्रतिक्रिया