ली कुआन यू र सिंगापुरको उदय: नेपालका लागि के पाठ ?
नेपालका पुराना विभिन्न राजनीतिक दलका नेताहरूले बेलाबेलामा “नेपाललाई सिंगापुरजस्तो बनाउने” अभिव्यक्ति प्रयोग गर्दै आएका छन्। विकास, सुशासन, सफाइ, अनुशासन र आर्थिक समृद्धिको उदाहरणका रूपमा सिंगापुरलाई प्रस्तुत गर्ने प्रवृत्ति नेपाली राजनीतिमा लामो समयदेखि देखिँदै आएको छ। तर पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह “बालेन” ले नेपाललाई कुनै अर्को देशसँग तुलना गर्न आवश्यक नभएको, बरु नेपालको आफ्नै मौलिकता, भूगोल, संस्कृति र सामाजिक यथार्थका आधारमा विकास गर्न सकिने धारणा सार्वजनिक गरेका छन्।
यही सन्दर्भमा प्रस्तुत यो लेखले ली कुआन यूले कसरी सिंगापुरलाई तेस्रो दर्जाको, असुरक्षित र स्रोतविहीन अवस्थाबाट विश्वकै विकसित तथा प्रभावशाली आर्थिक राष्ट्रमध्ये एक बनाउन सफल भए भन्ने विषयलाई ऐतिहासिक, राजनीतिक र वैचारिक दृष्टिले व्याख्या गर्ने प्रयास गरेको छ।
ली कुआन यू आधुनिक सिंगापुरका निर्माणकर्ता मानिन्छन्। “एलकेवाई (LKY)” का नामले परिचित ली कुआन यू सिंगापुरका प्रसिद्ध राजनेता, राष्ट्रनिर्माता तथा कानुन व्यवसायी थिए। क्याम्ब्रिज विश्वविद्यालयबाट कानुनको शिक्षा हासिल गरेका लीले सन् १९५९ को ऐतिहासिक निर्वाचनमा ठूलो मतले जित हासिल गर्दै सिंगापुरको पहिलो प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए । उनले नेतृत्व सम्हाल्दा सिंगापुर ब्रिटिश उपनिवेशको प्रभावबाट बाहिर निस्कँदै गरेको एउटा सानो टापु राष्ट्र थियो, जहाँ बेरोजगारी, आवासको गम्भीर अभाव, जातीय तनाव र व्यापक भ्रष्टाचारजस्ता समस्या विद्यमान थिए।
सन् १९५९ देखि १९९० सम्म सिंगापुरको नेतृत्व गर्दै लीले प्रतिपक्षविहीन एकल दलको नेतृत्व गर्दै एउटा सानो, श्रोतविहीन र विभाजित समाजलाई विश्वकै विकसित, सुरक्षित र समृद्ध राष्ट्रमध्ये एकमा रूपान्तरण गरे। उनको नेतृत्व दृढ इच्छाशक्ति, अनुशासन, दीर्घदृष्टि र राष्ट्र निर्माणप्रतिको समर्पणका लागि आज पनि स्मरण गरिन्छ। प्रख्यात अमेरिकी राजनीतिज्ञ हेनरी किसिन्जरले लीलाई “यो इतिहासकै त्यस्तो विसंगति हो, जुन सामान्य मापदण्डले नाप्न सकिँदैन” भनेर वर्णन गरेका थिए। त्यसैगरी बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले ली कुआन यू “कहिल्यै गलत नहुने नेता” भएको टिप्पणी गरेकी थिइन्।
राजनीतिक उदय
“मैले राजनीतिमा प्रवेश गर्नुको अर्थ सत्ताको लोभले होइन, बरु एउटा यस्तो समाज निर्माण गर्नु थियो, जहाँ हरेक नागरिकले सुरक्षा, अवसर र सम्मान पाओस्।”
यस्तो सोच बोकेका ली कुआन यूको राजनीतिक उदय सन् १९५० को दशकमा सुरु भयो। वामपन्थी विचारधाराका नेता लिम चिन सियोङ लगायत आफ्ना सहकर्मीहरूसँग मिलेर लीले सन् १९५४ मा पिपुल्स एक्सन पार्टी (PAP) को स्थापना गरे। पार्टी स्थापनाको केही महिनापछि नै सम्पन्न सन् १९५५ को निर्वाचनमा, PAP ले सीमित अवसरमा पनि उल्लेखनीय सफलता हासिल गर्दै उपलब्ध कुल चार सिटमध्ये तीन सिट जित्न सफल भयो।
यस प्रारम्भिक विजयसँगै PAP ले सिंगापुरको राजनीतिक क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै गयो र क्रमशः शासन तथा नीतिनिर्माणमा प्रभाव विस्तार गर्न थाल्यो। अन्ततः सन् १९५९ को निर्वाचनमा पिपुल्स एक्सन पार्टी (PAP) ले ऐतिहासिक विजय हासिल गर्यो। कुल ५१ सिटमध्ये PAP ले ४३ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गर्यो। यस निर्णायक विजयसँगै ली कुआन यू सिंगापुरका पहिलो प्रधानमन्त्री बने र देशको शासन PAP को नेतृत्वमा दृढ रूपमा स्थापित भयो। सन् १९६३ देखि १९६५ सम्म उनले साम्यवादी प्रभावलाई नियन्त्रण गर्न तथा आर्थिक–राजनीतिक स्थिरता कायम राख्ने उद्देश्यले सिंगापुरलाई मलेसियन महासंघमा समावेश गर्ने प्रयास गरे। तर यो एकीकरण दीर्घकालीन हुन सकेन। सिंगापुरको नाजुक आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्दै मलेसियन महासंघले सन् १९६५ मा सिंगापुरलाई महासंघबाट अलग गरिदियो। अन्ततः अगस्ट १९६५ मा सिंगापुर स्वतन्त्र राष्ट्रका रूपमा उदायो। स्वतन्त्रताको घोषणा गरिएको पत्रकार सम्मेलनमा ली कुआन यू भावुक हुँदै रोएको दृश्य आज पनि धेरै सिंगापुरीहरूको स्मृतिमा जीवित छ। त्यो क्षण केवल एउटा राजनीतिक विभाजन मात्र थिएन, बरु अनिश्चितता, पीडा र नयाँ राष्ट्र निर्माणको कठिन यात्राको प्रारम्भको प्रतीक पनि थियो।
योजनाबद्ध पहल
मलेसियाबाट अलग भएपछि ली कुआन यूले स्वतन्त्र सिंगापुरलाई विश्वस्तरीय वित्तीय तथा व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने ठूलो चुनौती स्वीकार गरे। सिंगापुरको विकास यात्रा सजिलो थिएन। ली कुआन यूले नेतृत्व सम्हाल्दा देश गम्भीर संरचनात्मक, सामाजिक र राजनीतिक चुनौतीहरूको सामना गरिरहेको थियो। पहिलो चुनौती प्राकृतिक स्रोतको चरम अभाव थियो—सिंगापुर एउटा सानो टापु राष्ट्र भएकाले यहाँ पर्याप्त जमिन, खनिज, तेल वा खानेपानीका प्राकृतिक स्रोत थिएनन्, जसका कारण आर्थिक विकास असम्भवजस्तै देखिन्थ्यो र देश पूर्ण रूपमा अन्तर्राष्ट्रिय व्यापार तथा बाह्य स्रोतमा निर्भर रहनुपर्ने अवस्था थियो। दोस्रो ठूलो चुनौती जातीय तथा धार्मिक विभाजन थियो, जहाँ १९५० र १९६० को दशकमा चिनियाँ, मलय र भारतीय समुदायबीच भएका दङ्गा तथा तनावले राष्ट्रिय एकता कमजोर बनाएको थियो र देश टुक्रिन सक्ने खतरा देखिन्थ्यो। तेस्रो समस्या बेरोजगारी र गरिबी थियो, किनकि उद्योगको अभावले ठूलो जनसंख्या बेरोजगार थियो र धेरै मानिस झुपडी बस्तीमा बस्न बाध्य थिए, जसले सामाजिक असन्तोषलाई बढाइरहेको थियो। यस्तो कठिन परिस्थितिमा उनले दीर्घकालीन दृष्टिकोण अपनाउँदै पूर्वाधार विकास, विदेशी लगानी आकर्षण, औद्योगिकीकरण तथा व्यवस्थित आवास निर्माणलाई उच्च प्राथमिकतामा राखे। प्राकृतिक स्रोतको अभाव र अनिश्चित भविष्यका बाबजुद यी योजनाबद्ध प्रयासहरूले सिंगापुरलाई क्रमशः स्थिरता, आर्थिक वृद्धि र आधुनिक राष्ट्र निर्माणतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेले। सरकारको खर्च घटाउने उद्देश्यले आफ्नो तलब र मन्त्री तथा सांसदहरूको तलबमा कटौती गरे। यसले राज्य संयन्त्रलाई मितव्ययी, अनुशासित र उदाहरणीय बनाउन मद्दत गर्यो। देशले विस्तारै आर्थिक रूपमा प्रगति गर्दै जाँदा सरकारी कर्मचारीहरूको तलबमा पनि क्रमशः उल्लेखनीय वृद्धि गरियो। राज्यको आम्दानी बढेपछि, प्रशासनलाई सक्षम, दक्ष र इमान्दार बनाउन प्रतिस्पर्धात्मक तलब संरचना लागू गरियो। यस नीतिले सार्वजनिक सेवामा प्रतिभाशाली जनशक्ति आकर्षित गर्न र भ्रष्टाचारको सम्भावना घटाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। परिणामस्वरूप, सन् १९६० को दशकमा करिब ४२८ अमेरिकी डलर मात्र रहेको प्रतिव्यक्ति जीडीपी सन् १९८० सम्म आइपुग्दा करिब ६,६३४ अमेरिकी डलरभन्दा माथि पुग्यो। यस अवधिमा सिंगापुरमा भ्रष्टाचार उल्लेखनीय रूपमा घट्यो र राज्य संयन्त्र अत्यन्त अनुशासित तथा पारदर्शी बन्दै गयो।
लीले सिंगापुरलाई रूपान्तरण गर्न स्वच्छता र हरियाली अभियान सञ्चालन गरे। सन् १९६८ मा 'किप सिङ्गापुर क्लिन क्याम्पेन' शुरू गरी उनले फोहोर फाल्ने, थुक्ने जस्ता बानीहरूमा कडा जरिवाना लगाए, साथै सचेतना र सहभागितामार्फत जनताको व्यवहार परिवर्तन गरे। त्यस्तै, सन् १९६३ मै शुरू गरिएको वृक्षारोपण अभियानअन्तर्गत हरेक वर्ष लाखौं रूख रोपेर उनले सिंगापुरलाई 'गार्डेन सिटी' मा परिणत गरे। यी दुवै अभियानले सिंगापुरलाई फोहोरले भरिएको, फिक्का माछा मार्ने गाउँबाट विश्वकै सबैभन्दा स्वच्छ, हरियाली र आकर्षक विकसित राष्ट्र बनाउन महत्त्वपूर्ण भूमिका खेले। आज सिंगापुर एशियाको प्रमुख वित्तीय केन्द्रका रूपमा परिचित छ र संसारकै सबैभन्दा स्वच्छ, सुरक्षित तथा भ्रष्टाचार न्यून देशहरूमध्ये एक मानिन्छ। सन् १९६० को मध्यतिर आइपुग्दा ली कुआन यूले सिंगापुर मोडेलका दुई महत्वपूर्ण आधारहरू स्थापित गरिसकेका थिए—केन्द्रिकृत सत्ता र अपेक्षाकृत कमजोर नागरिक समाज। यी दुई अवस्थाले उनलाई सिंगापुरलाई रूपान्तरण गर्ने आफ्नो दीर्घदृष्टि कार्यान्वयन गर्न “खाली क्यानभास” जस्तै अवसर प्रदान गर्यो। त्यसपछि उनले अनुशासन, सुशासन, आर्थिक विकास र राष्ट्रिय एकतालाई केन्द्रमा राख्दै सिंगापुरलाई योजनाबद्ध रूपमा आधुनिक राष्ट्रका रूपमा विकास गर्न थाले।
मलेसियाबाट अलग भएपछि सिंगापुरको अस्तित्व नै संकटमा परेको थियो। यस्तो कठिन परिस्थितिमा ली कुआन यूले “मानव संसाधन नै सबैभन्दा ठूलो शक्ति हो” भन्ने मूल विचारलाई आधार बनाएर राष्ट्र निर्माणको दीर्घकालीन मार्गचित्र तयार गरे। उनको दृष्टिकोण विचारधाराभन्दा व्यावहारिकतामा आधारित थियो, जसका दुई प्रमुख आधार थिए: पहिलो, साझा नागरिक पहिचानमा आधारित राष्ट्र निर्माण, जसअन्तर्गत जातीय वा धार्मिक विभाजनभन्दा माथि उठेर सबै नागरिकलाई समान मान्यता दिइयो — सिंगापुरलाई न चिनियाँ, न मलय, न भारतीय, बरु सबैको साझा राष्ट्रका रूपमा परिभाषित गरियो; र दोस्रो, योग्यतामा आधारित प्रणाली (मेरिटोक्रेसी) को स्थापना, जहाँ नियुक्ति र अवसरहरू जात, धर्म वा सम्बन्धको आधारमा होइन, क्षमता र इमान्दारिताको आधारमा दिइन्थ्यो। यसका साथै, उनले औद्योगिकीकरण, विदेशी लगानी आकर्षण, शिक्षा सुधार, स्वच्छ प्रशासन र कडा कानुनी प्रणालीलाई विकासको आधार बनाए। भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली र स्वतन्त्र संस्थाहरू निर्माण गरियो, जसले सार्वजनिक सेवा क्षेत्रमा दक्षता र इमान्दारिता अनिवार्य बनायो। शिक्षामा अंग्रेजी भाषालाई साझा माध्यम बनाइयो, जसले सिंगापुरलाई विश्व व्यापार, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्यो। आधुनिक बन्दरगाह, यातायात संरचना, आवास योजना र औद्योगिक विकासमार्फत सिंगापुरलाई क्रमशः विश्वस्तरीय व्यापारिक केन्द्रका रूपमा रूपान्तरण गरियो।राष्ट्र निर्माणका क्रममा ली कुआन यूले धेरै साहसी र जोखिमपूर्ण निर्णयहरू पनि लिए। उनले सामाजिक अनुशासन कायम गर्न कडा कानुन लागू गरे, जसका कतिपय निर्णय तत्कालीन जनभावनाविपरीत थिए। विदेशी लगानीप्रति सकारात्मक दृष्टिकोण अपनाउँदै बहुराष्ट्रिय कम्पनीहरूलाई खुला रूपमा आमन्त्रण गरे, जुन त्यतिबेला धेरै विकासशील देशहरूका लागि असामान्य निर्णय थियो। त्यस्तै, भ्रष्टाचारप्रति “शून्य सहनशीलता” को नीति अपनाउँदै उच्च पदस्थ व्यक्तिहरूमाथि समेत कारबाही गरियो, जसले सिंगापुरलाई विश्वकै सबैभन्दा स्वच्छ प्रशासन भएका देशहरूमध्ये एक बनायो। उनले तत्काल लोकप्रियताभन्दा दीर्घकालीन स्थिरता र विकासलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, आवास र पूर्वाधारमा राज्यको सक्रिय लगानी बढाए। राजनीतिक स्थिरताका लागि विरोधी समूहहरूमाथि कठोर नीति अपनाइयो र केही अवस्थामा नियन्त्रणात्मक कदमहरू पनि चालिए, जसलाई समर्थकहरूले राष्ट्रिय सुरक्षाका लागि आवश्यक भनेका छन् भने आलोचकहरूले राजनीतिक स्वतन्त्रतामा सीमितता भनेका छन्। यी सबै नीतिहरू, निर्णयहरू र जोखिमहरूको समग्र परिणामस्वरूप सिंगापुर एक सानो, स्रोतविहीन र विभाजित टापुबाट रूपान्तरण भई अनुशासित, समृद्ध र विश्वस्तरीय आर्थिक शक्ति राष्ट्रका रूपमा स्थापित भयो।
अधिनायकवादी नेता
यद्यपि, ली कुआन यूको शासनशैली सधैं विवादरहित भने रहेन। कतिपय राजनीतिज्ञ, मानवअधिकारकर्मी तथा पत्रकारहरूले उनलाई अधिनायकवादी प्रवृत्तिको नेता भनेर आलोचना गर्ने गरेका छन्। विशेषगरी आफूसँगै पार्टी स्थापनामा सहकार्य गरेका वामपन्थी सहकर्मीहरूलाई जेल हाल्नेदेखि लिएर विपक्षी दलमाथिको कडा नियन्त्रण, प्रेस स्वतन्त्रतामाथिको सीमितता, आलोचकहरूमाथि मानहानि मुद्दा तथा बिना मुद्दा पक्राउजस्ता कदमका कारण उनको शासनलाई धेरैले “अधिनायकवादी” भनेर व्याख्या गरेका छन्। हाओनान ली र भिक्टर याउ का अनुसार "आधुनिक इतिहासमा पश्चिमी अभिजात वर्गले जति सम्मान गरेको छ, त्यति सम्मान पाउने अर्को अधिनायकवादी नेता ली कुआन यू बाहेक सायदै छ।" रोचक कुरा के थियो भने, युवावस्थामा ली कुआन यू स्वयं पनि वामपन्थी विचारधाराबाट प्रभावित थिए। तर प्रधानमन्त्री बनेपछि उनले कम्युनिस्ट समूहहरूले राष्ट्रिय स्थिरता र सुरक्षामा गम्भीर चुनौती खडा गर्न सक्ने निष्कर्ष निकाले। यही सन्दर्भमा सन् १९६३ मा “अपरेसन कोल्डस्टोर” सञ्चालन गरियो, जसअन्तर्गत ११३ जनालाई पक्राउ गरी बिना मुद्दा हिरासतमा राखिएको थियो। सरकारी दाबीअनुसार यो कदम “कम्युनिस्ट प्रभावलाई नियन्त्रण गरी राष्ट्रिय सुरक्षा कायम राख्न” आवश्यक थियो। तर आलोचकहरूको भनाइमा विकास र स्थिरताका नाममा नागरिक स्वतन्त्रता तथा राजनीतिक बहुलवादलाई कमजोर बनाइएको थियो। नेपालको राजनीतिक परिदृश्यमा एउटा रोचक विरोधाभास छ — वामपन्थी नेता तथा कम्युनिस्टहरू जो सैद्धान्तिक रूपमा पुँजीवाद र एकलदलीय शासनको विरोध गर्छन्, उनीहरू नै प्रायः ली कुआन यूको विकास मोडेललाई उद्धरण गर्छन्।
यद्यपि, ली कुआन यूका समर्थकहरूले भने त्यसबेलाको सिंगापुर अत्यन्त अस्थिर अवस्थामा रहेको, जातीय तनाव र साम्यवादी हिंसाको खतरा गम्भीर बनेको तथा राष्ट्र निर्माणका लागि कडा नेतृत्व अपरिहार्य रहेको तर्क गर्छन्। उनीहरूको दृष्टिमा लीको कठोरता व्यक्तिगत सत्ता संरक्षणका लागि होइन, राष्ट्रिय स्थिरता, अनुशासन र विकास सुनिश्चित गर्नका लागि थियो।
नेपालले सिंगापुरबाट के सिक्न सक्छ ?
हरेक देशको आफ्नै ऐतिहासिक पृष्ठभूमि, भूगोल, राजनीतिक संरचना र सामाजिक यथार्थ हुन्छ। त्यसैले सिंगापुरको विकास मोडेललाई जस्ताको तस्तै अन्य देशमा लागू गर्न सम्भव हुँदैन। तर त्यसबाट सिक्न सकिने मूल सिद्धान्तहरू भने सार्वभौमिक रूपमा उपयोगी छन्। ली कुआन यूले नेतृत्व गरेको सिंगापुरको विकास यात्राले देखाएको मुख्य पाठ के हो भने — कुनै पनि देशले आफ्नो समस्या समाधानका लागि बाह्य मोडेलको अन्धानुकरण मात्र गर्नु हुँदैन, बरु आफ्नै सन्दर्भअनुसार व्यावहारिक र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ।
सिंगापुरले अनुशासन, भ्रष्टाचार नियन्त्रण, दक्ष प्रशासन, शिक्षा र मानव संसाधनमा लगानी तथा दीर्घकालीन विकास योजनामार्फत उल्लेखनीय प्रगति हासिल गरेको हो। यी आधारभूत सिद्धान्तहरू कुनै एउटा देशमा मात्र सीमित नभई सबै विकासशील राष्ट्रका लागि उपयोगी हुन सक्छन्। तर नेपालको सन्दर्भ भिन्न छ, किनकि नेपाल भूपरिवेष्ठित, सङ्घीय संरचनामा आधारित, बहुजातीय तथा विविध सामाजिक बनोट भएको देश हो, जहाँ विकासका चुनौतीहरू पनि भिन्न प्रकृतिका छन्।
पछिल्ला करिब ३० वर्षमा मौलाएको भ्रष्टाचार, दलीयकरण, अराजकता र दण्डहीनताका कारण नेपालका राज्यका विभिन्न अङ्गहरू अपेक्षित रूपमा प्रभावकारी बन्न सकेका छैनन्। जसको परिणामस्वरूप विकास र सुशासन दुवै कमजोर देखिन्छन्। तैपनि, सिंगापुरबाट सिक्न सकिने मुख्य पाठ भनेको व्यावहारिकता, इमानदारी, योग्यतामा आधारित शासन र दीर्घकालीन सोच नै हो — जसलाई नेपालले आफ्नै सामाजिक बनोट, सङ्घीय ढाँचा र भूपरिवेष्ठितताका यथार्थसँग मेल खाने गरी अनुकूलन गर्न सक्छ। अन्धानुकरणले होइन, आफ्नै मौलिक बाटोको खोजीले मात्र नेपालले भ्रष्टाचार, अराजकता र दलीयकरणजस्ता समस्याहरूको सामना गर्न सक्छ।
त्यसैले नेपालले सिंगापुरबाट प्रत्यक्ष मोडेल नक्कल गर्नुको सट्टा त्यसका सकारात्मक पक्षहरू—जस्तै सुशासन, योग्यतामा आधारित प्रशासन, नीति कार्यान्वयनको निरन्तरता र दीर्घकालीन सोच—लाई आफ्नै सन्दर्भअनुसार रूपान्तरण गर्नु उपयुक्त हुन्छ। यसरी हेर्दा सिंगापुरको अनुभव नेपालका लागि प्रतिलिपि गर्नुपर्ने मोडेल होइन, तर मार्गदर्शन दिने प्रेरणादायी उदाहरण भने अवश्य हो।
तस्विर: https://8list.ph
नक्सलवादीहरूले वास्तवमा मार्क्स र एङ्गेल्सको अनुशरण गरेनन्
पेरिसडाँडाको सन्देश: भाग्ने होइन बदल्ने, फुट्ने होइन जुटेर समाजवाद हासिल गर्न…
ट्रम्पको इरान युद्ध: साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस
समाजवादी क्रान्ति र जातीय मुक्तिको प्रश्न
आत्मसमर्पणको राजनीति
घृणाको राजनीति बढाउने नयाँ हतियार: 'घरपालुवा जनावरका रूपमा सुँगुर'
साम्राज्यवादी समुद्री डाकूद्वारा इरान र चीनको नाकाबन्दी
प्रतिक्रिया