ट्रम्पको धम्की र लुलाको संकल्प: ब्राजिलको सम्मानको लडाइँ

ट्रम्पलाई लुलाको जवाफ : तपाईंले हामीलाई ५०% कर लगाउनुभयो भने, हामी पनि तपाईंलाई ५०% नै लगाउनेछौं।

वासिङ्टन र ब्रासिलियाबीचको तनाव कायमै छ। जुलाई ७ मा, डोनाल्ड ट्रम्पले ब्राजिल सरकारलाई एक पत्र लेख्दै पूर्व राष्ट्रपति जाइर बोल्सोनारोमाथिको तथाकथित "दमन" अन्त्य गर्न आग्रह गरे र ब्राजिलियन सामानमा ५०% भन्सार शुल्क लगाउने धम्की दिए।

लुलाको प्रतिक्रिया

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तुरुन्तै प्रतिक्रिया जनाउँदै, बोल्सोनारोका नजिकका मित्र र समर्थक ट्रम्पलाई ब्राजिलको निर्णय र त्यसको न्यायपालिकालाई सार्वभौम रहेको  भन्दै स्पष्ट रूपमा हस्तक्षेप अस्वीकार गरे। उनले ट्रम्पका कदमहरूलाई 'प्रतिशोधमा आधारित' उपायका रूपमा जवाफ दिने घोषणा गरे: "उनले हामीमाथि ५०% कर लगाए भने, हामी पनि उनी माथि ५०% नै कर लगाउनेछौं… ब्राजिलको सम्मान हुन्छ!"

एक्स (पूर्व ट्विटर) मा गरिएको पोष्टमा लुलाले लेखे: "ब्राजिल एक सार्वभौम देश हो, जसका स्वतन्त्र संस्था छन् र जुन कसैको निर्देशन स्वीकार्दैन। जो 'कु' योजनामा संलग्न भए, उनीहरू विरुद्धको न्यायिक प्रक्रिया ब्राजिलको न्याय प्रणालीको एकमात्र जिम्मेवारी हो र त्यसमा कुनै पनि प्रकारको हस्तक्षेप वा धम्की राष्ट्रिय संस्थाको स्वतन्त्रता विरुद्ध हुनेछ।"

लुलाले कथित "अमेरिकाको घाटा" को कुरा झुटो भएको दाबी गर्दै, हाल ब्राजिलको मुख्य निर्यात गन्तव्य अमेरिका नभएको तथ्य औंल्याए। अर्को शब्दमा, अमेरिकाले ब्राजिललाई जुन सामान बेच्दछ, त्यो ब्राजिलले अमेरिका बाहेक अन्य मुलुकहरूलाई बेच्नेभन्दा बढी हो। अर्को शब्दमा भन्ने हो भने अमेरिकाले ब्राजिल बाट आयात भन्दा बढी निर्यात गर्छ। यस अर्थमा, व्यापार युद्धमा अमेरिका नै बढी घाटामा पर्न सक्छ।

ब्राजिलेली राष्ट्रपतिले भने: "संयुक्त राज्य अमेरिकाको आधिकारिक तथ्यांकअनुसार, पछिल्ला १५ वर्षमा ब्राजिलसँगको वस्तु र सेवा व्यापारमा अमेरिकाको करिब ४१० अर्ब डलरको नाफा रहेको छ। त्यसैले कुनै पनि एकपक्षीय भन्सार वृद्धिको कदम ब्राजिलको आर्थिक पारस्परिकताको कानुनअनुसार जवाफ दिइनेछ। सार्वभौमिकता, सम्मान, र ब्राजिलेली जनताको हितको कठोर रक्षाका मूल्यहरू नै हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देशित गर्छन्।"

यद्यपि, यो कुरामा ध्यान दिनु महत्वपूर्ण छ कि लुलाले ट्रम्प प्रशासनसँग संवादको बाटो पूर्ण रूपमा बन्द गरेका छैनन्।: "हामीसँग धेरै विकल्पहरू छन्। हामी विश्व व्यापार संगठन (WTO) मा जान सक्छौं, अन्तर्राष्ट्रिय छानबिन सुरू गर्न सक्छौं, वा ह्वाइट हाउससँग औपचारिक स्पष्टीकरण माग गर्न सक्छौं। तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने—ब्राजिलको सम्मान हुन्छ भन्ने देखाउनु हो।"

यो सङ्कटले दुबै देशका अन्य संस्थाहरूलाई पनि समेटेको छ। जुलाई ९ मा, अमेरिकाको दूतावासले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै बोल्सोनारोको समर्थन गर्दै भन्यो: जाइर बोल्सोनारो र उनको परिवार संयुक्त राज्य अमेरिकाका बलियो साझेदार हुन्... उनि र उनको परिवार, र समर्थकहरूविरुद्ध भइरहेको राजनीतिक दमन लज्जास्पद छ र ब्राजिलको लोकतान्त्रिक परम्पराका लागि अपमान हो।”

यसको जवाफमा, ब्राजिलको राज्य सचिवालयले उक्त विज्ञप्तिलाई ब्राजिलको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप” भन्दै, अमेरिकाका कार्यवाहक राजदूत गेब्रियल एस्कोबारलाई बोलायो र कूटनीतिक असन्तुष्टि प्रकट गर्‍यो।

लुलाको प्रतिरोधी कदम

लुलाको प्रगतिशील सरकारले ट्रम्पका धम्कीहरूप्रति अब थप ठोस कदम चालेको छ। सोमबार, जुलाई १४ मा राष्ट्रपति लुलाले देशको “पारस्परिकता ऐन (Reciprocity Law)”लाई व्यवस्थित गर्ने एउटा आदेशमा हस्ताक्षर गरे। राष्ट्रपतिको कार्यालयद्वारा जारी सूचना अनुसार, उक्त आदेशले ब्राजिलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नकारात्मक असर गर्ने कुनै पनि एकतर्फी कदमको जवाफस्वरूप व्यापारिक सुविधा, लगानी, र बौद्धिक सम्पत्तिसम्बन्धी दायित्वहरू निलम्बन गर्ने मापदण्ड तय गर्छ।”

सो आदेशअनुसार, एक समितिको गठन गरिनेछ, जसले  एकतर्फी लगाइएका कदमहरूको विरुद्धमा अस्थायी प्रतिकारी उपायहरू लिने र त्यसलाई हटाउन गरिने वार्ताहरूको अनुगमन गर्ने” जस्ता कार्य गर्न सक्नेछ।

बोल्सोनारोको मुद्दा

बोल्सोनारो, उनका केही उच्च दर्जाका सैनिक अधिकारीहरू र कट्टर दक्षिणपन्थी समर्थकहरू २०२२ को अन्त्यमा भएको निर्वाचनमा लुलासँग हार्दा त्यसलाई उल्ट्याउन योजनाबद्ध षड्यन्त्रमा संलग्न भएको आरोप छ।
अभियोजन पक्ष अनुसार, यही योजनाको एक हिस्सा थियो—जनवरी ८, २०२३ मा ब्रासिलियामा भएको कू प्रयास, जसमा हजारौं बोल्सोनारो समर्थकहरू थ्री पावर स्क्वायर (Three Powers Square) र ब्राजिल सरकारका अन्य भवनहरूमा आक्रमण गरेर तोडफोड र विध्वंश गरेका थिए।

यो घटना अमेरिका सँग पनि मेल खान्छ—जनवरी ६, २०२१ मा, जब ट्रम्प समर्थकहरू अमेरिकी संसद भवन (Capitol) मा घुसपैठ गरी २०२० नोभेम्बरको निर्वाचन 'चोरिएको' दाबी गर्दै हिंसा गरेका थिए।

त्यस घटनामा सयौं मानिसहरूलाई अभियोग लगाइयो तर ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि उनीहरूमध्ये १,५०० जनालाई क्षमादान दिएका थिए— जुन उनका प्रारम्भिक कार्यहरूमध्ये एक थियो।

ब्राजिलका जनआन्दोलनहरू र वामपन्थी समूहहरूले सरकारसँग माग गरेका छन् कि जनवरी ८ को कू प्रयासमा संलग्न सबैलाई कानुनी जवाफदेही बनाइनु पर्दछ, ताकि यस्ता घटना फेरि दोहोरिन नपाओस्।

ब्राजिलमा जनसङ्गठन र आन्दोलनहरू

ब्राजिलका सामाजिक र ट्रेड युनियन आन्दोलनहरूले जुलाई १० मा साओ पाउलोमा एक विशाल प्रदर्शनको आयोजना गरे। यो प्रदर्शन ब्राजिलको कंग्रेसद्वारा लिएको एउटा भिटो (veto) निर्णयको विरोधमा थियो, जसको उद्देश्य धनी र शक्तिशाली कम्पनीहरूमा कर बढाउने लुलाको योजनालाई रोक्नु थियो।

तर छिट्टै यो प्रदर्शन वासिङ्टन र ब्रासिलियाबीचको तनावसँग पनि जोडिन पुग्यो, प्रदर्शनकारीहरूले ट्रम्पका धम्कीहरूलाई अस्वीकार गरे।

पत्रकार नाचो लेमसले एक्स (पूर्व ट्विटर) मा लेख्छन्: यो प्रदर्शन प्रारम्भमा ठूला कम्पनीहरू र बैंक कारोबारमा थप कर लगाउने लुलाको योजनामाथि कंग्रेसले लगाएको भेटोको विरोधमा सुरु गरिएको थियो। तर परिस्थिति बदलिँदै जाँदा, यो ट्रम्पले ब्राजिलमाथि लगाउने भनिएको भन्सार शुल्कको विरोधमा परिणत भयो।”

यसरी हेर्दा, वासिङ्टनका कदम उल्टो असर पार्न सक्ने सम्भावना देखिन्छ। यी कदमहरूले सार्वभौम राष्ट्रप्रतिको ऐक्यबद्धता बढाउनुका साथै राष्ट्रहितको रक्षाका लागि उभिएको लुलाको नेतृत्वमा थप समर्थन जुटाउन सक्छ। त्यसैगरी, धेरै व्यवसायीहरू पनि यस्तो संकटबाट आफूलाई टाढा राख्न चाहन सक्छन्, जसले उनीहरूलाई पनि जोखिममा पार्न सक्छ।

भूराजनीतिक असरहरू

ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र हो र हाल ब्रिक्स (BRICS) को सदस्य राष्ट्र पनि हो। यसको प्रमुख व्यापारिक साझेदार चीन हो, जुन अमेरिका भन्दा धेरै अगाडि छ। केही विश्लेषकहरूका अनुसार, ट्रम्पका भनाइहरू केवल बोल्सोनारोप्रतिको समर्थन होइन, विश्व दक्षिणका सबैभन्दा ठूला अर्थतन्त्रहरूमध्ये एक ब्राजिलसँग सशक्त हैसियतबाट वार्ता थाल्ने रणनीति हो। ब्राजिल त्यस्ता प्रमुख मुलुकहरूमध्ये एक हो, जुन अमेरिकी वित्तीय प्रभुत्वमा नझुक्ने बहुध्रुवीय विश्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

यो आश्चर्यको कुरा होइन कि लुलाले हालसम्म दोस्रो ट्रम्प प्रशासनसँग वार्ताका लागि सम्पर्क गरेको छैन। त्यसैले गत छ महिनादेखि दुबै देशबीच एक प्रकारको तनावपूर्ण शान्ति कायम थियो। तर, उच्च अधिकारीहरूबाट सार्वजनिक तथा सामाजिक सञ्जालमार्फत आएको तीव्र सन्देश आदानप्रदानले त्यो शान्ति एकाएक तोडिदिएको देखिन्छ।

हालका लागि, ब्रासिलियाले सामाजिक सञ्जालमा युद्धविरामको प्रस्ताव राख्दै वार्ताको इच्छा देखाएको छ। अर्थमन्त्री फर्नान्डो हदादले अमेरिकी सरकारसँग संवाद गर्न लुला प्रशासन तयार रहेको कुरा पुनः दोहोर्याएका छन्।
हालसम्म, वासिङ्टनले यस संकेतमा आधिकारिक प्रतिक्रिया दिएको छ कि छैन भन्ने प्रस्ट छैन। तर, ह्वाइट हाउसका आर्थिक सल्लाहकारहरूले राष्ट्रपति ट्रम्पलाई यो स्पष्ट भू-आर्थिक वास्तविकतालाई नजरअन्दाज नगर्न सल्लाह दिने सम्भावना भने उच्च छ।

स्रोत: peoplesdispatch बाट अनुदित

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

इरान विरुद्धको युद्ध:  डुबिरहेको वर्चश्वशाली शक्तिको कथा

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक विकल्प

अमेरिकी-इरान समझदारी: वर्तमान क्षेत्रीय र विश्व व्यवस्थाका लागि एक व्यावहारिक व…

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक

क्युबाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजना…

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वारा हस्ताक्षर

अमेरिका-इरान ऐतिहासिक १४ बुँदे सहमति: युद्ध अन्त्य गर्न ट्रम्प र पेजेस्कियानद्वा…

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

मेसिन र विद्यालय: एन्थ्रोपिक र इरानविरुद्ध अमेरिकी युद्ध

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

कूटनीतिक खिचातानीबीच इरान-अमेरिका सम्झौताको पर्खाइ: के साँच्चै सम्भव छ?

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’

सि जिनपिङको उत्तर कोरियाली युद्ध स्मारक भ्रमणले जगायो ‘अनन्त ऐतिहासिक स्मृति’