अमेरिकी इतिहासकै विनाशकारी डढेलो !

लस एन्जलस क्षेत्रमा डढेलोको खतरा बढ्दै गर्दा पाँच जनाको मृत्यु भइसकेको छ भने ७०,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । यो डढेलोको भयानकता र यसमाथि नियन्त्रण पाउन भइरहेको कठिनाइलाई दृष्टिगत गर्दा यो अमेरिकी इतिहासकै विनाशकाली डढेलो बन्न सक्ने सम्भावना देखिएको छ ।

मंगलबार बिहान १०:३० (स्थानीय समय) मा डढेलो सुरु भएपछि कम्तीमा १,००० संरचनाहरू नष्ट भएका छन्।  दक्षिण क्यालिफोर्नियामा डढेलोको श्रृंखला शक्तिशाली हावाको कारण फैलिएको छ। बुधबार दिउँसोसम्म कम्तीमा छवटा छुट्टाछुट्टै डढेलोको रिपोर्ट गरिएको थियो, जसमध्ये सबैभन्दा ठूलो ‘पलिसेड्स फायर" हो, जसले लस एन्जलसको उत्तरतर्फको तटीय आवासीय क्षेत्रको १५,८३२ एकड (झन्डै ६,४०० हेक्टर) भूभाग जलाइसकेको छ।

सहरको उत्तरपूर्वमा अर्को ठूलो डढेलो ‘ईटन फायर’ जलिरहेको थियो, जसले १०,६०० एकड (झन्डै ४,३०० हेक्टर) क्षेत्रलाई ध्वंश तुल्याएको थियो ।  थियो। अन्य चार डढेलोहरू – ‘उडली’, ‘हर्स्ट’, ‘लिडिया’, र ‘ओलिभास फायर’ लाई पनि राज्यको अग्नि सुरक्षा एजेन्सीले ‘आपतकालीन घटनाहरू’ भनेर घोषणा गरिसकेको छ ।

क्याल फायरले बुधबार बिहानसम्म ती पाँचवटा डढेलोमध्ये कुनै पनि नियन्त्रणमा आएको नदेखिएको जानकारी  राज्यको अग्नि सुरक्षा एजेन्सीले दिएको छ।

यी डढेलोहरू पश्चिमी अमेरिकामा डढेलोहरूको तीव्र वृद्धि र यस क्षेत्रको डढेलो मौसम वर्षभरि फैलिएको संकेत हुन्, जहाँ चिसो र वर्षायाममा समेत डढेलोको जोखिम रहन्छ।

आतंकित बासिन्दाहरूले लस एन्जलसको उत्तरतर्फको तटीय क्षेत्रमा पर्ने उच्च वर्गीय प्यासिफिक पलिसेड्स क्षेत्रतर्फ जाने-आउने थोरै सडकमध्ये एकमा आफ्ना गाडीहरू छोडेर तथा  धेरैजसो मानिसहरू पैदलै भागेका छन् । पलिसेड्स डढेलोले सान्ता मोनिका पर्वतमा रहेका करोडौं डलरका घरहरूले भरिएको क्षेत्रलाई आफ्नो चपेटामा ल्याउँदा हलिउडका सेलिब्रिटीहरू म्यान्डी मूर र मार्क ह्यामिल पनि स्थानान्तरण गर्न बाध्य भएका बासिन्दाहरूमा परेका छन्।

आपतकालीन सवारीसाधनहरूको लागि मार्ग खाली गर्न बुलडोजर प्रयोग गरी सडकमा अलपत्र छाडिएका गाडीहरुलाई हटाइएका छन् ।

डढेलोको प्रकोप कति चर्को देखिएको छ भने  बाक्लो धुवाँ र आगो फैलिने जोखिमले गर्दा लस एन्जलसको मध्यभागमा पनि धेरै व्यवसायहरू बन्द गरिए र कार्यक्रमहरू स्थगित गरिएका छन् ।

–अल जजिरामा प्रकाशित सामग्रीका आधारमा