रुसमा पुटिन फेरि निर्वाचित: लामो समयसम्म शासन गर्ने स्टालिनको रेकर्डलाई उछिन्दै !

Source: https://budapestbeacon.com

रुसमा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन अत्यधिक बहुमतले निर्वाचित भएका छन्। उनले कुल खसेको मतको ८७% प्राप्त गरेका छन्। राष्ट्रपति पुटिनका निकटवर्ति प्रतिस्पर्धी रुसी कम्युनिस्ट पार्टीका उम्मेदवार निकोलाइ खार्तिनोभले ४.२ % मत प्राप्त गरेका थिए। यो ४ पटक निर्वाचन जितिसकेका पुटिनले प्राप्त गरेको सबैभन्दा ठूलो विजय हो।  सन् २००० देखि सत्तामा रहेका भ्लादिमिर पुटिनको राष्ट्रपतिको रुपमा यो पाचौं कार्यकाल हुनेछ। यो कार्यकालसंगै रुसमा २०० बर्ष यता सबै भन्दा लामो समय सम्म शासन गर्ने व्यक्तिको रुपमा स्टालिनको रेकर्डलाई समेत पुटिनले उछिन्नेछन्। पुटिन बिगत २४ वर्षदेखि रुसको सत्तामा रहेका छन्। अब उनले स्टालिनको ३१ वर्षसम्म शासन गरेको रेकर्डलाई तोड्ने छन्। 

यो पटकको राष्ट्रपति निर्वाचनमा भारी मतदान भएको दावी गरिएको छ । रुसको निर्वाचन आयोगका अनुसार ७७ % मतदान भएको थियो। जुन सन् १९९१ मा सोभियत संघ विघटनपछिको सबैभन्दा उल्लेखनीय मतदान हो। 

पुटिनले आफ्नो विजयलाई रुसी जनताको आफूप्रतिको आशा र भरोसाको रुपमा व्याख्या गरेका छन्। उता पूर्व अपेक्षित रुपमा नै अमेरिका, बेलायत र जर्मनीले यो निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको बताएका छन्। यसको जवाफ दिँदै पुटिनले अमेरिकी निर्वाचनको आलोचना गरेका छन्। उनले भनेका छन् अमेरिकामा जे भइरहेको छ त्यो देखेर सारा संसार हाँसिरहेको छ।

भ्लादिमिर पुटिनको जितमा बधाइ दिदै चीनका राष्ट्रपति सी जिनपिङ्गले भनेका छन्- पुटिनको जितले रुसी जनताको पूर्ण समर्थनलाई प्रतिबिम्बित गर्दछ। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस संगको भारतको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने आशा व्यक्त गरे। उता इरानका राष्ट्रपति इब्राहिम राइसी, उत्तर कोरियाका नेता किम जोङ्ग उन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले पनि पुटिनको जितमा बधाइ दिएका छन्।

रुसको सत्तामा भ्लादिमिर पुटिनको पकड त्यतिकै सबल भएको होइन। सन् १९९० को दशकमा सोभियत संघको विघटन भएर भर्खर रुस अलग देश भएको बेला सो देशको अवस्था अत्यन्त दयनीय थियो। बोरिस येल्त्सिनको शासनकालमा रुसको अर्थतन्त्र तहसनहस भएको थियो। पुटिनको शासनकालमा रुस अहिले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ। त्यस्तै रुसको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आएको ठूलो गिरावटलाई पुटिनले पूर्ववर्ती अवस्थामा नै स्थापित गरेका छन् । अहिले रुसको सैन्य सामर्थ्य पुरानै अवस्थामा फर्काइएको छ। रुस यतिबेला अमेरिकी हैकमवाद विरुद्ध खडा भएको गठबन्धन ब्रिक्सको नेतृत्व गरिरहेको छ।    कम्युनिष्ट सोभियत संघको विघटनपश्चात विश्वमा एकछत्र शासन चलाउने अमेरिकी सपनालाई चकनाचुर पार्दै पुटिनले रुसलाई बलियो प्रतिध्रुवको रुपमा स्थापित गराएका छन् । यतिखेर अमेरिकाकाको हैकम र दादागिरीविरुद्ध चीन समेतको साथ समर्थनमा रुसको बलियो उपस्थितिले विश्व बहुध्रुवीय बन्दै गइरहेको देखिन्छ ।