यसरी फेरिएको थियो सौर्यमण्डलको नक्सा !

सन् २००६ को  अगस्त २५ तारिखका दिन अन्तरीक्ष विज्ञानमा एउटा ठूलो उथलपुथलकारी घटना भयो । सो दिन चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित खगोल वैज्ञानिकहरुको भेलाले प्लूटो (यम) लाई ग्रह मान्ने कि नमान्ने र कस्तो अन्तरीक्षीय पिण्डलाई ग्रह मान्ने भन्ने सन्दर्भमा ग्रहकै बारेमा नयाँ परिभाषाको निर्माण गरे । उक्त परिभाषाले ग्रहहरुका बारेमा प्रचलित मूल्य र मान्यताहरुलाई भत्कायो र त्यसक्रममा हाम्रो सौर्यमण्डलको नवौ ग्रह मानिआइएको प्लुटोलाई ग्रह मान्न नसकिने भयो । त्यसको सट्टामा प्लुटोलाई फुच्चे ग्रह (Dwarf Planet) मान्न सकिने टुंगो भयो । यसरी विगत ७६ वर्षदेखि सौर्यमण्डलको सबैभन्दा सानो ग्रहको रुपमा मानिँदै आएको प्लुटोको ग्रह रुपको अस्तित्व एकाएक नामेट भयो । सौर्यमण्डलमा नौवटा ग्रहहरु रहेको मानिँदै आएकोमा त्यो संख्या घटेर ८ मा झर्यो । प्लुटो फुच्चे ग्रहमा झर्यो । यसरी हाम्रो सौर्यमण्डलको नक्सा नै फेरियो ।

अहिले आधिकारिक रुपमा हाम्रो सौर्यमण्डलमा ८ वटा ग्रह (बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति, शनि, अरुण (युरेनस), बरुण (नेप्च्युन) र चारवटा फुच्चे ग्रहहरु (सूर्यसँगको दूरीको आधारमा क्रमशः सेरेस, प्लुटो, हाउमिए, मेकमेक र  एरिस) रहेको मानिन्छ । यसबाहेक, विभिन्न ग्रहहरुका १४६ वटा उपग्रहहरु, धूमकेतू, छुद्रग्रह, ढुङ्गाहरु, बरफ लगायत पनि सौर्यमण्डलका सदस्यका रुपमा रहेका छन् ।

किन भयो प्लुटोको हत्या ?

प्लुटोको आविष्कार सन् १९३० मा अमेरिकी खगोलविद् क्लाइड टोम्बअउग (Clyde mbaugh) ले गरेका थिए । त्यसबेलाको विज्ञानप्रविधि आजभोलिको जस्तो उन्नत थिएन । उनले टेलिस्कोपको मद्दतले नेप्च्यून (बरुण) भन्दा पारी प्लुटोको अस्तित्व पत्ता लगाएका थिए । त्यसैले त्यसबेला त्यो घटनालाई खगोलविज्ञानको क्षेत्रमा निक्कै ठूलो उपलब्धिको रुपमा लिइएको थियो र त्यसलाई हाम्रो सौर्यमण्डलको नवौं सदस्यको रुपमा सजिलै ग्रहण गरिएको थियो ।

तर पछिल्ला चरणहरुमा विज्ञान र प्रविधिका क्षेत्रमा निक्कै युगान्तकारी प्रगतिहरु भए । नयाँ नयाँ प्रविधिहरुको विकाससँगसँगै अन्तरीक्ष विज्ञानले पनि ठूलो फड्को मार्दै गयो । यसै क्रममा अन्तरीक्ष अभियानमा पठाइन थालिएका यानहरु र अत्याधुनिक शक्तिशाली टेलिस्कोपहरुको आविष्कारले अन्तरीक्ष र ब्रम्हाण्डकै बारेमा नयाँ नयाँ रहस्योद्घाटनहरु हुन थाले । हाम्रै सौर्यमण्डलका क्षेत्रभित्र पनि नयाँ नयाँ आकाशीय पिण्डहरु फेला पर्न थाले ।

शुरुमा प्लुटो फेला पर्दा यसको आकार पृथ्वीको जत्रै वा त्यसको हाराहारीमा हुनुपर्ने अनुमान गरिएको थियो । तर पछि आधुनिक टेलिस्कोपहरुको आविष्कार भएपछि त्यो अनुमान गलत साबित भयो । अनुमान गरिएविपरीत प्लुटोको डायमिटर १६०० माइल मात्र रहेको देखियो । यो भनेको हाम्रो चन्द्रमाभन्दा पनि सानो हो । अझ प्लुटोको ग्रह–रुप अस्तित्वलाई संकटमा पार्ने सबैभन्दा पछिल्लो काम जेनाको खोजले पनि भयो ।  माइकल इ ब्राउनले सेप्टेम्बर १०, २००५ प्लुटो रहेको क्वीपर बेल्ट (नेप्च्युनभन्दा पारीको क्षेत्र)मा प्लुटोभन्दा पनि पर अर्को फेला पारेको पिण्ड नै एरिस (Eris) हो । वैज्ञानिकहरुले त्यसको प्रारम्भिक नाम 2003 UB313 राखेका थिए । वैज्ञानिकहरुले एरिस (पहिले जेना भनिएको)लाई सम्भावित दशौं ग्रहसमेत मानेका थिए । हब्बल टेलिस्कोपको सहायतामा गरिएको अध्ययनअनुसार एरिसको डायमिटर ३ हजार किलोमिटर छ । यो भनेको प्लुटोको भन्दा पनि ठूलो हो । त्यसबाहेक, सन् १९७८ मा नै प्लुटोकै पनि उपग्रह क्यारोन् (Charon) फेला परिसकेको थियो भने पछिल्लो चरणमा आएर त्यसका थप दुई उपग्रहहरु, निक्स (nix) र हाइड्रा (Hydra) पनि फेला परे । जेना र प्लुटोका पछिल्ला दुई उपग्रहहरुको खोजले क्वीपर बेल्ट क्षेत्रमा त्यस्ता अरु पनि थुप्रै ठूला ठूला पिण्डहरु रहेको हुन सक्ने दावी वैज्ञानिकहरुले गर्न थाले । यसअघि नै मार्स (मंगल) र जुपिटर (बृहस्पति) ग्रहहरुका बीचमा  फुच्चेग्रह सेरेस (Ceres) पनि फेला परेको थियो

पृथ्वीको उपग्रह चन्द्रमाको भन्दा पनि प्लुटोका सानो साइज र यसको अस्वभाविक रुपले झुकेको कक्षले यसलाई परम्परागत रुपमा ग्रह मानिँदै आएको बृहस्पति र मंगल जस्ता ग्रहहरुभन्दा निक्कै भिन्न बनाएको र यसको स्वरुप क्वीपर क्षेत्रमा रहेका अन्य बरफीय पिण्डहरुसँग मिल्दोजुल्दो रहेको वैज्ञानिकहरुको तर्क थियो । त्यसैले उनीहरुको मत प्लुटोलाई ग्रह मान्न नसकिने भन्ने थियो । यही तर्क र विवादलाई पछिल्ला चरणमा क्विपर क्षेत्रमा प्लुटोभन्दा ठूला पिण्ड एरिस फेला परेपछि त झनै बल पुग्यो । वैज्ञानिकहरुको तर्क थियो, प्लुटोलाई ग्रह मानिराख्ने हो भने एरिसलाई पनि ग्रह मानिनुपर्छ ।

यसरी पछिल्लो चरणमा विवादले झनै चर्को रुप लिन थालेपछि ग्रहको बारेमा एउटा ठोस परिभाषा गर्नैपर्ने बाध्यता वैज्ञानिकहरु सामु आइलाग्यो ।

ग्रहको नयाँ परिभाषा

प्लुटोको बारेमा विवाद र बहसले निक्कै तातो रुप लिइरहेको अवस्थामा सन् २००६ कोअगस्त २५ का दिन चेकोस्लाभाकियाको राजधानी प्रागमा ग्रहकै नयाँ परिभाषा खोज्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय खगोल महासंघको महासभा बसेको थियो ।

अन्तर्राष्ट्रिय खगोल महासंघको अंग्रेजी नाम International Astronomical Union हो । छोटकरीमा IAU भनी चिनिन्छ । यो संस्था अन्तरीक्ष पिण्डका नामहरु राख्ने  खगोलविद्हरुको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो । यसले सन् १९१९ देखि त्यो मान्यता पाउँदै आएको हो । यही संस्थाले कुनै पनि आकाशीय पिण्डको आधिकारिकताको निर्धारण र त्यसको नामाकरण गर्ने गर्छ । अन्तरीक्ष विज्ञानसम्बन्धी यसले लिएका सबै निर्णयहरुलाई आधिकारिक मान्ने गरिन्छ ।

विश्वभरिका करीब ७५ देशबाट २७०० जति खगोलविद्हरु सहभागी भएका तथा १० दिनसम्म चलेको सो साधारण महासभाले प्लुटोको मान्यताबारेको विवादलाई निमिट्यान्न पार्ने र यसबीचमा फेला परेको वा पछि फेला पर्ने सौर्यमण्डलका अन्य सदस्यहरुका दर्जाका बारेमा समेत प्रष्ट निर्धारण गर्ने उपायस्वरुप  कस्तो खगोल पिण्डलाई ग्रह मान्ने भन्नेबारे नयाँ परिभाषा गरेको थियो ।

यस नयाँ परिभाषाअनुसार कुनै पनि खगोलीय पिण्डले ग्रहको मान्यता प्राप्त गर्नको लागि तीन वटा शर्तहरु पूरा गरेको हुनुपर्छ:

१.       यसले सूर्यलाई परिक्रमा गर्नुपर्छ ।

२.      यसको आकार पर्याप्त मात्रामा ठूलो र आफ्नै गुरुत्वाकर्षण भएको हुनुपर्छ, जसको बलले यो गोलाकार समेत बन्न सकेको होस् ।

३.      आफ्नै गुरुत्वाकर्षण बलको कारण त्यस पिण्डले आफ्ना कक्षमा रहेका अरु पदार्थहरु वा वस्तुहरुलाई क्लियर गर्न सकेको हुनुपर्छ ।

यो पछिल्लो शर्त पूरा नगर्ने आकाशीय पिण्डहरु, जो अघिल्ला दुई शर्तहरुअनुसार गुरुत्वाकर्षण भएको गोलाकार हुन्छन् र सूर्यलाई परिक्रमा पनि गर्छन्, लाई ग्रह मान्न नसकिने भयो । त्यस्ता पिण्डलाई फुच्चे ग्रह (Dwarf  Planets) को दर्जा दिइयो ।

यसरी २०६३ भदौ ८ गते अर्थात् २००६ अगस्त २४ बिहीबारका दिन गरिएको यस नयाँ परिभाषाले हाम्रो सौर्यमण्डलमा जम्माजम्मी ८ वटा मात्र ग्रह भएको टुंगो लगाएको थियो । सो सम्मेलनले प्लुटोको ग्रहको मान्यता खोसिदिएर त्यसलाई ड्वार्फ प्लानेट अर्थात् फुच्चे ग्रहमा झारिदिएको थियो । त्यसका साथै, दशौं ग्रहका दावेदार एरिस र सन् १८०१ मा नै मंगल र बृहस्पतिका बीचका् भागमा फेला पारी त्यसबेला नै आठौं ग्रह समेत परिकल्पना गरिएको अर्को क्षुद्र ग्रह सेरेस (Ceres) लाई समेत फुच्चे ग्रहको मान्यता प्रदान गरेको छ । उक्त नयाँ परिभाषाले अब हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हुन पुगेको थियो ।

खगोल महासंघको उक्त परिभाषाले हाम्रो सौर्यमण्डलमा तीनथरिका अन्तरीक्षीय पिण्डहरुको अस्तित्वलाई निर्धारण गरेको थियो । पहिलो थरिमा ग्रह र तिनका उपग्रहहरु, दोस्रो थरिमा मंगल र बृहस्पतिबीचमा रहेको सेरेस तथा  नेप्चयूनपारिका क्षेत्र (Kuiper Belt) मा रहेको प्लुटो, एरिस लगायतका  फुच्चे ग्रहहरु पर्दछन् । यसैगरी तेस्रोमा सौर्यमण्डलका सदस्यका रुपमा रहेका  धुमकेतू, क्षुद्रग्रह (asteroids) लगायत क्वीपर बेल्ट क्षेत्रका थुप्रै बरफले ढाकिएका वा बनेका पिण्डहरु जस्ता स–साना अन्तरीक्षीय पिण्डहरु पर्दछन् ।

प्लुटो अझै ग्रह !

यसरी प्लुटोको ग्रहको रुपमा अस्तित्व मेटाइएपनि त्यसलाई ग्रह नै मान्नुपर्छ भन्ने आवाज पनि बेलाबेलामा उठेको थियो । विशेष गरेर प्लुटोलाई ग्रह नमान्ने खालको ग्रहसम्बन्धी आइएयूको नयाँ परिभाषालाई अमेरिकाका नासाका वैज्ञानिकहरुले चाहिँ निराशाजनक र हास्यास्पद भनी टिप्पणी गरेको थियो । कतिपय वैज्ञानिकहरुले त त्यतिबेला नै पनि ग्रहको उक्त परिभाषा सर्वमान्य नरहेको पनि टिप्पणी गरेका थिए। खासगरी २७०० जना खगोलविद्हरु सो महासम्मेलनमा उपस्थित रहेकोमा पछि गएर खालि ४२४ जना सदस्यहरुको मतको आधारमा मात्रै त्यति गम्भीर निर्णय लिन नहुने तर्क पनि उठेको थियो । त्यतिबेला नै नासाको प्लुटोमा ग्रह पठाउने योजनाका प्रमुख डा. एलेन स्टर्नले त ग्रहसम्बन्धी यो नयाँ परिभाषा नै खोटपूर्ण र विवादास्पद रहेको टिप्पणी गरेका थिए । उनका अनुसार झिनामसिना तर्ककै आधारमा कुनै पनि पिण्डलाई ग्रह हो कि हैन भनेर छुट्याउनु गाह्रो छ । यो भनेको खास कुनै सानो कारणकै आधारमा कुनै पनि मानिसलाई मानिस नै हैन भनेजस्तो हो ।

ग्रह केलाई मान्ने भन्ने सन्दर्भमा स्वीकारिएका तीन मान्यताहरुमध्ये एउटा मान्यता आफ्नो कक्ष वरिपरिका वस्तुहरुलाई पर धकेलेको वा कक्ष सफा रहेको हुनुपर्ने पनि रहेको छ ।  सौर्यमण्डलका

ठूला पिण्डहरुले कि त अरु वस्तुहरुलाई आफूभित्र समाहित गर्ने गर्छन् कि त गुरुत्वाकर्षणको बलमा तिनलाई पर धकेल्ने गर्छन् । प्लुटोले ग्रहको मान्यता नपाउनुको एउटा प्रमुख कारण चाहिँ यसले नेप्च्यूनको बाटो काट्ने र माथिको परिभाषाभित्र नपर्नु पनि रहेको छ ।

तर नासाका डा. स्टर्नका अनुसार, पृथ्वी, मंगल, बृहस्पति र बरुण (नेप्च्यून) कसैको पनि कक्ष सफा छैन । पृथ्वीको कक्षमा १० हजारभन्दा बढी चट्टानका टुक्राहरु एवं क्षुद्र ग्रहहरु छन् , त्यसै गरी, बृहस्पतिको कक्षमा त एक लाखभन्दा बढी साना छुद्र ग्रहहरु रहेका छन् । यी सबै  टुक्राहरु सौर्यमण्डलको निर्माण हुँदा ग्रहहरु बन्ने क्रममा बाँकी रहेका हिस्साहरु हुन् । अझ डा स्टर्नले  त के पनि भनेका थिए भने नेप्च्यूनले आफ्नो कक्ष क्लियर गरेको भए त्यहाँ प्लुटो नै हुने थिएन ।

उता ग्रहको परिभाषा निर्धारण गर्दा  त्यसमा अन्तरीक्षीय पिण्डका गति र गुरुत्वाकर्षणका बारेमा अध्ययन गर्ने वैज्ञानिकहरुको मतको उचित प्रतिनिधित्व हुन नसकेको खालि आवाज पनि उठेको थियो । त्यतिखेर नै पनि  स्टर्न जस्ता विचार राख्ने खगोलविद्हरु त प्लुटोलाई ग्रहकै मान्यता दिनुपर्ने अभियान थालेका थिए ।अर्का मध्यमार्गी वैज्ञानिकहरुले चाहिँ अहिलेसम्म ग्रह मानिआएको कारण प्लुटोलाई ग्रहकै मान्यता दिनुपर्ने र नयाँ परिभाषा चाहिँ अब पछि फेला पर्ने पिण्डहरुको हकमा लागू गर्नुपर्ने कुरा पनि अघि सारेका थिए ।

तर प्लुटोको ग्रहको मान्यता खोस्ने वैज्ञानिकहरुको तर्क के थियो भने  खगोलविद्हरु एउटा ग्रहको परिभाषासमेत गर्न सक्दैनन् भन्ने खालको जुन आक्षेप हामीमाथि लाग्ने गरेको थियो, त्यसलाई यसले सफा गरेको छ । तत्कालको लागि अप्रिय लागे पनि यो निर्णय वास्तवमै सही छ । अझै पनि के लाई ग्रह मान्ने नमान्ने भन्ने सन्दर्भमा निर्णयहीनताको स्थितिमा रहेको भए आगामी केही वर्षहरुमा नै हाम्रो सौर्यमण्डलको सदस्यको संख्या ह्वात्तै बढेर सयौं पुग्ने थियो, जसले एउटा अस्तव्यस्ता नै सिर्जना गर्ने थियो ।