कसरी राखियो हाम्रो तारापुञ्जको नाम आकाशगंगा ?

आकाशमा हामीले संख्यामा सीमित गर्नै नसक्ने गरी अरबौं खरबौं ताराहरु रहेका छन् । ती ताराहरुलाई तिनका आकार, रुप रंग आदिका आधारमा भिन्नभिन्न समूहहरुमा बाँडेर राखिने गरिन्छ । ताराहरुका ती समूहलाई तारापुञ्ज भनिन्छ । अंग्रेजी भाषामा तारापुञ्जलाई Galexy भनिन्छ ।

हामीमध्ये धेरैलाई थाहा छ, हाम्रो पृथ्वी र यसको माउतारा सूर्य अवस्थित रहेको तारापुञ्जको नाम आकाशगंगा (Mliky way) हो । यो अनन्त ब्रम्हाण्डमा रहेका खरबौं तारापुञ्जहरुमध्येको एउटा तारापुञ्जको नाम हो । तर धेरैलाई के लाग्छ भने तारापुञ्ज भनेकै आकाशगंगा हो । त्यो सत्य होइन । आकाशगंगा त हाम्रो सौर्यमण्डल रहेको तारापुञ्जको नाम हो । हाम्रो आकाशगंगाको नजिकैको अर्को तारापुञ्जको नाम चाहिँ एन्ड्रोमेडा हो । 

वैज्ञानिकहरुले हरेक तारापुञ्जहरुको पहिचानका लागि फरक फरक नाम राख्ने गर्छन् । कतिपय तारापुञ्जहरुको नाम त संकेताक्षरमा पनि राखिने गरिन्छ ।

तारापुञ्जहरुको नामाकरण गर्दा वैज्ञानिकहरुले निश्चित आधारलाई पक्रेका हुन्छन् । अब प्रश्न उठ्छ हाम्रो तारापुञ्जको नाम चाहिँ ‘मिल्की वे’ किन राखियो होला त ?

अन्तरीक्षमा धेरै यस्ता रोचक दृश्यसहित स्थानहरु हुने गर्छन् जसलाई वैज्ञानिकहरुले थरिथरिका अनौठो नामाकरण गरेका हुन्छन् । कहिलेकाहीँ त्यस्ता स्थानका नाम तिनका आकृति वा आकारको आधारमा पनि राखिएको हुन्छ  । उदारहणको लागि झट्ट हेर्दा घोडाको टाउको जस्तो देखिने नेबुलालाई हर्सहेड नेबुला नामाकरण गरिएको छ । 

हाम्रो आकाशगंगाको अङ्ग्रेजी नामाकरण Mliky way पनि यसको रङका आधारमा राखिएको हो । हाम्रो आकाशगंगालाई राम्ररी नियालेर हेरियो भने यो दुधिया रङको देखिन्छ । हाम्रो तारापुञ्ज (Galaxy) को ल्याटिन नाम Galaxias हुन्छ, जुन शब्द ग्रीक भाषामा दूधलाई बुझाउने (Gala) बाट उत्पन्न भएको हो । प्राचीन रोमनहरुले आकाशगंगालाई Via Lactea भन्थे जसको अर्थ दूधको बाटो (The Road of Mlik) हुन्छ । यसरी प्राचीन ग्रीकवासी तथा रोमनहरुले यसलाई यसको रङको आधारमा नामकरण गरेका हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तारापुञ्जहरुको आकृति र रुपरङहरु थरिथरिका हुने गर्छन् । तिनका आधारमा पनि तारापुञ्जहरुलाई वर्गीकरण गरिने गर्छ । हाम्रो आकाशगंगाको आकृति चक्राकार (Spiral) छ । त्यसबाहेक अण्डाकार (epileptical), लेन्टिक्युलर Lenticular, अनियमित (Irregular), सक्रिय अर्थात् अन्यको तुलनामा अत्यधिक उर्जा उत्सर्जन गर्ने Active, चक्राकार तर केन्द्रमा बढी सक्रियता भएको सेफर्ट (Seyfert), केन्द्रमा विशालकाय ब्लाकहोल भएको सक्रिय तारापुञ्ज अर्थात् Quasars, अन्य तारापुञ्जहरुको तुलनामा अत्यधिक चम्किलो देखिने  ब्लेजार Blazars जस्ता तारापुञ्जहरु पनि हुन्छन् ।

चक्राकार

अण्डाकार

अनियमित

लेन्टिक्युलर

सेफर्ट

​​​क्वासार

​​​​​​​ब्लेजार

तस्विर स्रोत: https://science.nasa.gov/universe/galaxies/types/