खरबौं काेषहरु मिलेर बनेको हाम्रो शरीर !

करिब १०० खरब कोषहरु मिलेर हाम्रो शरीर बनेको हुन्छ । त्यस्ता कोषहरु पनि फरक फरक खालका हुने गर्छन् र तिनीहरु विभिन्न अङ्ग तथा तन्तुहरुका रुपमा व्यवस्थित भएर रहेका हुन्छन् । तिनै कोषहरुको समूह मिलेर हाम्रो शरीर बनेको हुन्छ । यस्ता तन्तु तथा अङ्गहरुमा हाम्रो मांशपेशी प्रणाली, अस्थिपञ्जर प्रणाली, रक्तसञ्चार प्रणाली, प्रजननप्रणाली, स्नायु प्रणाली, पाचन प्रणाली लगायतका अङ्गहरुका समूहरु बनेका हुन्छन् ।

शरीरको सबैभन्दा ठूलो अङ्ग

हाम्रो शरीरका अङ्गहरु सबै एकै आकार प्रकारका हुँदैनन् । कोही अङ्ग साना वा कोही ठूला हुन्छन् । यिनीहरु आफ्नो कामको प्रकृतिअनुसार भिन्नभिन्न आकार प्रकारका हुन्छन् । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्गको कुरा गर्दा छाला एक नम्बरमा पर्न आउँछ । छालाले करिब करिब हाम्रो पूरै शरीरलाई ढाकेको हुन्छ । एउटा वयस्क मानिसको शरीरको छालालाई फैलाउने हो भने औसत रुपमा त्यसको क्षेत्रफल २० वर्गफीट हुन आउँछ । हाम्रो शरीरको कूल तौलको करिब १५ प्रतिशत हिस्सा छालाले ओगट्छ ।

 त्यसैगरी, हाम्रो शरीरका अन्य ठूला अङ्गहरुमा कलेजो दोस्रो नम्बरमा पर्न आउँछ । हाम्रो पेटको दाहिनेपट्टीको माथिल्लो हिस्सामा अवस्थित रहने कलेजोले रगतको माध्यमबाट शरीरको विषाक्तता हटाउने, पाचन प्रणालीलाई दुरुस्त राख्ने लगायतका कामहरु गर्दछन् ।

त्यसैगरी अर्को ठूलो अङ्गमा फोक्सो पर्दछ । छात्तीमा करङहरुको माझमा रहने फोक्सो मानिस जीवित रहनको लागि अत्यावश्यक अक्सिजन ग्रहण गर्ने काम गर्दछ । वायुमण्डलमा रहेको अक्सिजनलाई श्वासप्रश्वासको माध्यमबाट शरीरमा ग्रहण गर्ने तथा शरीरभित्रको कार्बनडाइअक्साइडलाई फ्याँक्ने काममा फोक्सोमो मूल भूमिका रहने गर्छ ।

हाम्रो शरीरको अर्को सबैभन्दा ठूलो अङ्ग आन्द्रा पनि हो । हाम्रो शरीरका अन्य ठूला अङ्गहरुमा फोक्सो, मृगौला जस्ता अङगहरु पर्दछन् । ट्युबको आकारमा पेटमा रहने यो अङ्गले पाचन प्रणालीको मुख्य हिस्सा हो र हामीले खाएका खानेकुराहरुबाट पोषकतत्व सोस्ने काममा यसको मुख्य भूमिका रहने गर्छ ।

हाम्रो शरीरलाई केले थामेको हुन्छ ?

हाम्रो शरीरमा मुख्यतः चार किसिमका तन्तुहरु (Tissues)  हुन्छन्– एपिथेलियल, स्नायु, मांपपेशी र कनेक्टिभ । एपिथेलियल तन्तु भन्नाले हाम्रो रक्षात्मक तन्तुहरु पर्दछन् । यसमा शरीरको छाला, मुख, आमाशय र अन्य अङ्गहरुलाई ढाक्ने तन्तुहरु हुन् । स्नायु तन्तुहरुले हाम्रो शरीरको नियन्त्रण प्रणाली हो । यसअन्तर्गत हाम्रो शरीरका मस्तिष्क र  स्नायु प्रणाली पर्दछन् । हाम्रा मांसपेशीहरु मांसपेशी तन्तुहरु हुन् । यसले हामीलाई हिँडडुल गर्न सघाउँछ । त्यसैगरी, कनेक्टिभ तन्तुहरु भन्नाले हाम्रा तन्तुहरु र शरीरलाई एकापसमा जोड्ने तन्तुहरु हुन् ।

के कोषहरु जीवित हुन्छन् ?

हाम्रा कोषहरु अत्यन्त सुक्ष्म हुन्छन् । तिनलाई हेर्नका लागि माइक्रोस्कप नै चाहिन्छ । तर तिनको बनावट भने अत्यन्तै जटील हुने गर्छ । कोषलाई झिल्लीले ढाकेको हुन्छन र त्यसले कोषमा पस्ने र निस्कने कुराहरुलाई नियन्त्रण गरिरहेको हुन्छ । त्यसमुनिको जेलीजस्तो हिस्सा साइटोप्लाजम (cytoplasm) हुन्छ जसको संरचनालाई अर्गानेलिज (organelles)  भनिन्छ । यो अग्रानेलिज तैरिइरहेको र एकठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ । प्रत्येक अर्गानेलिजहरुको पनि आआफ्नै कामहरु हुन्छन् तर तिनीहरुले परस्परमा मिलेर काम गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो कोषलाई जीवित एकाईको रुपमा बनाइदिन्छ । उदाहरणको लागि, माइटोकोन्ड्रिया (Mitochondria) ले कोषका गतिविधिहरुलाई सञ्चालन गर्न उर्जा पैदा गरिरहेको हुन्छ भने न्युक्लियस (nucleus) मा चाहिँ कोषलाई सञ्चालन गर्ने सूचनाहरु संग्रहित भएको हुन्छ ।

कोषको विभाजन

हाम्रो शरीरमा कोषहरु निरन्तर निर्माण हुने र मर्ने प्रक्रिया चलिरहेको हुन्छ । अनुमानित रुपमा हाम्रो शरीरमा ३००–३७० खरब (३०–३७ ट्रिलियन) कोषहरु हुन्छन् । शरीरमा नयाँ कोषहरु विभाजनका प्रक्रियाबाट बनिरहेको हुन्छ । यस प्रक्रियालाई माइटोसिस (mitosis)  भनिन्छ । माइटोसिस प्रक्रियाले हाम्रो शरीरमा कोषहरु बृद्धि गर्ने काम भइरहेको हुन्छ । त्यसैको फलस्वरुप हाम्रो शरीर बढ्ने, हामीले आफ्नो शरीरलाई तन्दुरुस्त राख्ने तथा मरेका कोषहरु विस्थापन हुने प्रक्रिया निरन्तर रुपमा चलिरहेको हुन्छ । कोष विभाजको प्रक्रिया –माइटोसिस)मा हाम्रो कोषको केन्द्र (न्युक्लियस)मा रहेका सूचना जानकारीहरुको प्रतिलिपी बन्ने र नयाँ उस्तै कोष बन्ने गर्छ । यस प्रक्रियामा माउ कोष उस्तै प्रकृतिका दुईवटा सन्तान कोष (daughter cells) बन्ने र त्यो प्रक्रियाबाट असंख्य कोषहरु बन्ने प्रक्रिया निरुन्तर चलिरहेको हुन्छ ।

मानव शरीरमा सबैभन्दा ठूलो कोष अण्डा हो । महिलाको ओभरी (गर्भाशय)ले पैदा गर्ने अण्डाको आकार ०.१ मिलिमिटर हुन्छ ।

मानिसको शरीरका विभिन्न तन्तुहरुमा विशेष किसिमका कोषहरु हुन्छन् जसलाई स्टेम सेल (stem cells) भनिन्छ ।  यी स्टेम सेलहरु नै अति तीब्र गतिमा बृद्धि भएर नयाँ नयाँ कोषहरु बन्ने प्रक्रिया चलिरहेको हुन्छ । अलग अलग स्टेम सेलहरुले अलग अलग कोषहरु उत्पादन गर्ने गर्छन् । उदाहरणको लागि, हड्डीभित्रको मासी (bone marrow) मा हुने स्टेम सेलले रक्तकोषहरु उत्पादन गर्ने गर्छ ।

Human Body, everything you never know about the human body बाट