आँखाबाट आँसु किन आउँछ ?

अस्तिको शनिबार मात्र घरमा मेरो भान्जा आएको थियो । सानो भएर होला ऊ एक्दमै चक्चके छ । धेरै चकचक गरेको कारणले मैले उसलाई कराएर गाली गरें । मैले गालीमात्र के गरेको थिएँ ऊ त बरबर आँसु झारेर रुन थालिहाल्यो । फेरि रोएको केही बेरमा नै आफैं फक्केर हाँस्न र खेल्न थाल्यो ।

केही दिन अघि म र मेरा साथीहरु खाजा खान भनी एउटा खाजाघरमा गएका थियौं । त्यहाँ बसेर गफ गर्ने क्रममा मेरो एकजना साथी गोपालले बडो हाँसोउठ्दो चुट्किला सुनायो । त्यो चुट्किला सुनेर त मेरो अर्को साथी रमेश आफ्नो हाँसो थाम्नै नसकी पेट मिचीमिची हाँस्न थाल्यो । केही बेर मज्जाले हाँसेपछि उसको आँखा आँसु नै आँसुले भरियो ।

यस्ता थुप्रै घटनाहरु दैनिक रुपमा घटित हुने गर्छन् । मानिसहरु विभिन्न कारणहरुले गर्दा आँसु झारी नै रहेका हुन्छन् ।

यसरी नै के तपाईँले पनि कहिले आँसु झार्नु भएको छ भनेर जोकोहीलाई प्रश्न गरेपनि ‘अहँ, छैन !’ भन्ने उत्तर सायद कसैको पनि आउँदैन होला । किनभने सानो बालक होस् या ठूलो मानिस नै किन नहोस्, जो कोहीको पनि आँसु झर्नेगर्छ । म कहिल्यै रुन्न भन्नेको आँखाबाट पनि आँसु झरी नै रहेको हुन्छ ।

म पनि धेरै समयअघिसम्म हामी रुँदा वा दुःख पर्दा मात्र आँसु झर्छ भन्ने ठान्थें । तर वास्तवमा हामी रुँदामात्र होइन्, कहिलेकाहीँ त हाँस्दा पनि पो आँसु झर्दो रहेछ ।

आखिर आँसु किन झर्छ त ? यो किन हाम्रो शरीरमा हुन्छ ? आँसलेु हामीलाई के फाइदा गर्छ ? यस्ता प्रश्नहरु हामी धेरैको मनमा उठ्न सक्छ । यो हामी धेरैको लागि चाँसोको विषय पनि हुन सक्छ । तर आँसु किन झर्छ भन्ने जान्नुभन्दा पहिले आँसु के हो भनेर जान्नु जरुरी छ । त्यसैले आउनुहोस्, पहिले त्यसैको बारेमा केही चर्चा गरौं।

आँसु भनेको हाम्रो शरीरमा हुने नुन भएको एउटा तरल पदार्थ हो । त्यही भएर आँसु मुखमा पर्दा नुनिलो स्वाद आउने गर्छ । हाम्रो आँखालाई कोर्निया नामक एउटा पतलो झिल्लीले घेरेको हुन्छ । आँसुले हाम्रो आँखालाई चिल्लो बनाउन मद्दत गर्छ, जसले हाम्रो कोर्नियालाई जोगाउने काम गर्छ । यसले कोर्नियालाई नियमित रुपमा अक्सिजन र पोसिला तत्वहरु पुर्‍याउने काम पनि गर्छ । आँखामा पोषक तत्वहरु पनि पुर्‍याउने हुँदा आँसुले हाम्रो देख्ने क्षमतालाई राम्रो पार्न पनि मद्दत पुर्‍याइरहेको हुन्छ ।

आँसु उत्पादन गर्ने ग्रन्थी भने हाम्रो आँखा छोप्ने ढकनीको माथिल्लो भागमा रहेको हुन्छ । हरेक पटक हाम्रो आँखा झिम्किदा त्यहाँबाट आँसु झरेर आँखाभरि छरिने गर्छ । यसले हाम्रो आँखालाई ओसिलो बनाउन र आँखा बिजाउने धूलो र अन्य व्याक्टेरियाहरुलाई आँखाबाट हटाउन पनि मद्दत गर्छ ।

आँसुको ग्रन्थीबाट सानो न्यासोल्याक्मिरल डक्ट (nasolacmiral duct) हाम्रो आँखाको माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दूलोसँग जोडिएको हुन्छ । त्यहींबाट आँसु हाम्रो आँखामा पस्ने गर्छ ।

आँखामा आँसु धेरै मात्रामा जम्मा भयो भने पनि हामी राम्ररी आँखा देख्न सक्दैनौँ । त्यस्तो हुन नदिन आँखामा आँसु आएको केही बेरपछि नै त्यो हाम्रो घाँटीमा झर्नेगर्छ र त्यसलाई हामी निल्ने गर्छौ । यो प्रक्रिया निरन्तर रुपमा चलिनै रहेको हुन्छ । आँसुको केही भाग भने हाम्रो नाकमा पनि आउने गर्छ । त्यसैले कहिलेकाहीँ रुँदा हाम्रो नाक पनि बग्ने गर्छ ।

हामी दुःखी वा खुसी हुँदा चाहिँ किन आँसु आउँछ त ?

हाम्रो आँसुमा हाम्रो शरीरले उत्पादन गर्ने विभिन्न खाले रसायन र हर्मोनहरु हुन्छन् । हामी दुःखी वा खुसी हुँदा हाम्रो मस्तिष्क र शरीरले अरु सामान्य रुपभन्दा धेरै काम गर्न थाल्छ । फलस्वरुप हाम्रो मस्तिष्क र शरीरले धेरै मात्रामा हर्मोन र विभिन्न खाले रसायनहरु उत्पादन गर्छ । यसरी धेरै उत्पादन भएका अनावश्यक हर्मोन र रसायनहरु हाम्रो शरीरलाई चाहिँदैन । त्यसैले आँसुको मद्दतबाट हाम्रो शरीरबाट तिनीहरु बाहिरिने गर्छन् । आँसु झरेपछि त्यस्ता रसायनिक पदार्थहरुसँगै हाम्रो शरीरबाट उदासिनता र थकान पनि मेटिन्छ । आँसुले त्यस्ता विभिन्न रसायनिक पदार्थहरुलाई निकाल्ने भएकोले त्यही भएर रोएपछि मानिसहरु अलिक शान्त वा ताजा भएको महसुस गर्छन् । त्यसैले आँसुले पनि पसिनाजस्तै हाम्रो शरीरबाट अनावश्यक बस्तुहरु हटाउने तत्वको रुपमा पनि काम गर्छ ।

अर्को कारणले गर्दा पनि हाम्रो आँखाबाट आँसु झर्ने गर्छ ।

हाम्रो आँखा निकै संवेदनशील हुने गर्छ । आँसु नहुँदा सुख्खा भएर हाम्रो आँखाको ढकनीसँगको घर्षणले गर्दा पनि त्यसमा चोट लाग्नसक्छ । आँखालाई त्यस्तो हानीबाट जोगाउनका लागि पनि आँसु आउने गर्छ । यतिबेला भने यसले गाडीको इन्जिनमा प्रयोग हुने ग्रिजको जस्तो काम गर्छ । आँखाको ढकनी बन्द हुने र खोल्ने क्रममा हाम्रो आँखाको छेउमा रहेका नसाहरुलाई उत्तेजित बनाउँछ, जसले गर्दा हाम्रो आँसुको ग्रन्थीबाट न्यासोल्याक्मिरल डक्ट हुँदै आँखामा आँसु पस्ने गर्छ ।

कोही मानिसको आँसुको ग्रन्थीले राम्ररी काम गर्दैन । त्यसैले उनीहरुको आँखामा निकै कम मात्रामा आँसु आउने गर्छ । यो समस्या विशेष गरेर आँखा कमजोर हुने मानिसहरुलाई देखा पर्छ । यो समस्याको समाधानका लागि कृत्रिम आँसुको प्रयोग गर्ने गरिन्छ ।

आँसु आउने प्रक्रिया हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई हामीले चाहेर पनि कहिल्यै पनि नियन्त्रण गर्न सक्दैनौँ । तर कहिलेकाहीँ जानीजानी अत्याधिक रुपमा यसको उत्पादन भने गर्न सक्छौँ । यस्तो क्षमता विशेष गरेर नाटक वा अभिनय गर्ने कलाकारहरुमा हुनेगर्छ ।

प्रस्तुति: हर्कबहादुर प्रधान