के ब्रम्हाण्डको पनि आयु सकिनेछ ?

वैज्ञानिकहरुले ब्रम्हाण्डका बारेमा विभिन्न वैज्ञानिक–अनुसन्धान गरी यसको उत्पत्ति आजभन्दा १३ अरब ८० करोड वर्ष पहिले भएको हुनुपर्ने बताएका छन् । ब्रम्हाण्डको उत्पत्तिको बारेमा विभिन्न सिद्धान्तहरुको परिकल्पना गरिए पनि अधिकांश वैज्ञानिकहरु ब्रम्हाण्डको उत्पत्तिसम्बन्धी महाविस्फोटन (big bang) को सिद्धान्तलाई सत्यको धेरै नजिक रहेको ठान्दछन् ।

महाविस्फोटनको सिद्धान्तअनुसार, अहिले ब्रम्हाण्डमा अस्तित्वमा रहेका सबै पदार्थहरु र शक्तिहरु एकै स्थानमा खाँदिएर रहेका थिए । त्यसरी एकै ठाउँमा खाँदिएर रहेका पदार्थ र शक्तिहरु पछि एउटा ठूलो विस्फोटनका साथ छुट्टिए र ब्रम्हाण्डको उत्पत्ति हुन गयो । वैज्ञानिकहरुको विश्वासमा त्यस बेलादेखि नै हाम्रो ब्रम्हाण्ड निरन्तर रुपमा फैलिँदै गइरहको छ र यो क्रम निरन्तर रुपमा जारी छ ।

एकाथरि वैज्ञानिकहरुको मतमा ब्रम्हाण्ड फैलिने यो क्रम अनन्तकालसम्म जारी रहनेछ । यो निरन्तर जारी रहेर एउटा यस्तो अवस्थामा पुग्नेछ, जुन अवस्थामा सबै कुरा जम्नेछ । खासगरी, ब्रम्हाण्ड फैलिँदै जाँदा यो चिस्सिने क्रम पनि जारी रहनेछ । तारापुञ्जहरु टाढा टाढा फैलिँदै गएर अनन्तः चिसो अवस्थामा पुग्नेछ । अबको अरबौं खरबौं वर्षपछि ताराहरुको निर्माण र अन्त्य हुने चक्र पनि सकिएर जाने५ । त्यस्तो अवस्थामा ब्रम्हाण्ड निष्क्रिय अवस्थामा पुग्नेछ । वैज्ञानिकहरुले यस सिद्धान्तलाई Big freeze नामाकरण गरेका छन् । ब्रम्हाण्डको आयुबारेमा अहिलेसम्मको सबैभन्दा स्वीकार्य सिद्धान्त यो हो ।

तर  केही वैज्ञानिकहरुको परिकल्पनामा त ब्रम्हाण्डको यो फैलावट एउटा निश्चित सीमामा गएर सुस्त हुँदै जानेछ, अन्तत: एउटा बिन्दूमा पुगेर त्यो रोकिने छ र पुनः यो खुम्चने क्रम शुरु भई उत्पत्ति कालको शुरु स्वरुपमा नै फर्कनेछ । वैज्ञानिकहरुले ब्रम्हाण्डको यो स्वरुपलाई big crunch भन्ने गर्छन् ।

अहिलेसम्म के विश्वास गरिन्छ भने मानिसले ब्रम्हाण्डका बारेमा ५ प्रतिशत जति मात्र थाहा पाएका छन् बाँकी ब्रम्हाण्ड रहस्यमय डार्क इनर्जीले व्याप्त छ । वैज्ञानिकहरुको विश्वासमा त्यही डार्क इनर्जीले नै ब्रम्हाण्डलाई फैलाउने काम तीब्र गतिमा गरिरहेको छ ।  भविष्यमा एउटा सीमामा पुगेपछि यो डार्क इनर्जी कमजोर बन्दै जान्छ र परिणामत: ब्रम्हाण्डको विस्तार पनि रोकिनेछ । त्यस्तो अवस्थामा पहिले फैलिएको ब्रम्हाण्ड गुरुत्वाकर्षण बलका कारण पुन: खुम्चने प्रक्रिया शुरु हुनेछ ।

 उनीहरुले यो नामाकरण महाविस्फोटन सिद्धान्तको अंग्रेजी नाम Big Bang लाई पछाडिपट्टिबाट फर्काएर The Gnab Gib राखेका छन् । तर केही वैज्ञानिकहरु चाहिँ यो सिद्धान्तलाई स्वीकार्दैनन् । उनीहरुको विचारमा यो फैलने क्रम निरन्तर रुपमा अनन्त कालसम्म जारी रहनेछ ।

त्यसो त ब्रम्हाण्डका बारेमा नयाँ नयाँ अनुसन्धानहरु पनि भइरहेका छन् र नयाँ नयाँ सिद्धान्तहरु पनि प्रकाशमा आइरहेका छन् । एकथरि वैज्ञानिकहरुको मतमा ब्रम्हाण्ड फैलिने क्रम जारी नै छ तर यो असीमित चाहिँ रहने छैन । उनीहरुको मतमा हरेक पदार्थको आयु हुन्छ र त्यसअनुसार ब्रम्हाण्डको पनि आयु छ । जसरी ताराहरु नष्ट भएर कालो प्वालमा बदलिन्छन्, त्यसै गरी यस ब्रम्हाण्डमा भएका सबै तारा, ग्रह तथा पिण्डहरु पनि नष्ट हुने निश्चित छ । एउटा निश्चित समयपछि पदार्थहरु नष्ट हुँदै जाने क्रममा एक दिन त्यस्तो अवस्था पनि आउने छ, जब ब्रम्हाण्डमा भएका सबै पदार्थहरु नष्ट भएर जानेछन् । यहाँसम्म कि कालो प्वालसमेत नष्ट भएर ब्रम्हाण्ड एउटा अँध्यारो शून्यमा परिणत हुनेछ । तर यस्तो हुन लाग्ने समय यति धेरै हुनेछ, जसलाई हामी अंकमा व्यक्त पनि गर्न सक्तैनौं ।

वर्तमान अवस्थामा भने ब्रम्हाण्ड तीब्र रुपमा फैलिने क्रम जारी छ । यस आधारमा भन्दा चाहिँ ब्रम्हाण्ड कहिल्यै नरोकिने गरी विस्तार भइरहेको बीग फ्रिजकै सिद्धान्तमा चलिरहेको छ । त्यसो त ब्रम्हाण्डको आयुबारे गहन अध्ययन अनुसन्धानहरु चलिरहेका छन् र हालसम्मका तथ्यहरुले यो अझै खरबौं वर्षसम्म यसरी नै फैलिइनै रहने मान्यतालाई अघि सारेको छ । सम्भवत: हालसम्म विज्ञानको लागि रहस्यमय नै रहेको डार्क इनर्जीबारे भविष्यमा पत्ता लाग्ने नयाँ नयाँ कुराहरुले यस दिशामा थप प्रकाश पार्नेछ ।