समलिङ्गीको आरोपमा नपुंसक बनाइएका महान वैज्ञानिक, जसले आत्महत्या गरे !

एलेन ट्यूरिंग, जसको योगदानका कारण दोस्रो विश्वयुद्धमा लाखौं मानिसहरुको ज्यान बचेको थियो !

एलेन ट्यूरिंग गणितज्ञ र कम्प्युटर वैज्ञानिक थिए । उनी आफ्नो युगका महानतम वैज्ञानिकहरुमध्येका एक थिए । सन् १९१२ को जुन २३ मा बेलायतको लण्डनमा जन्मेका ट्यूरिंगले गणित, क्रिप्टोएनालाइसिस, लजिक, फिलोसफी, कम्प्युटर विज्ञान, कग्निटिभ साइन्स, आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनलाई कम्प्युटर बिज्ञान र कृतिम बुद्धिमत्ता को पिता (father of computer science and artificial intelligence) मानिन्छ ।

बेलायती साम्राज्यअन्तर्गत भारतका काम गरेका एक सरकारी कर्मचारीका पुत्र ट्यूरिंगले प्रारम्भिक अध्ययन बेलायतकै एक निजी विद्यालयमा गरेका थिए । उनले सन् १९३१ मा क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भएर अध्ययन गरेका थिए । सन् १९३४ मा ग्राजुएसन गरेपछि उनलाई किङ्स कलेजमा अध्ययनका लागि छात्रवृत्तिमा चयन गरिएको थियो । उनले प्रोबाबिलिटी थ्योरीमा गरेको अनुसन्धानवापत उनलाई सो छात्रवृत्ति प्रदान गरिएको थियो ।सन् १९३६ मा उनले लेखेको ‘’ निक्कै चर्चित भएको थियो । कतिसम्म भने त्यसबेलाका प्रसिद्ध अमेरिकी गणितज्ञ एलोन्जो चर्चले त उनको त्यो लेखलाई प्रकाशित गर्न सिफारिश नै गरेका थिए । उनले सो लेखमा उठाएका विषयवस्तु र खोजले तत्कालीन अवस्थामा उदाउँदो कम्प्युटर विज्ञानमा निक्कै ठूलो अर्थ राख्थ्यो । पछि ट्यूरिंग प्रिन्सटन विश्वविद्यालयमा भर्ना भएर र चर्चको निर्देशनमा म्याथम्याटिकल लजिकमा १९३८ मा विद्यावारिधि हासिल गरे ।

दोश्रो बिश्व युद्धमा जर्मनी लाई हराउन एलेन ट्यूरिंगको ठुलो भूमिका रहेको थियो । दोश्रो विश्वयुद्धको आरम्भमा जर्मनी अपराजेय जस्तै थियो। यूरोपको मुख्य भुमि कब्जा गरिसके पछि बेलायत माथि जर्मनी हावी भइरहेको थियो । जर्मनीलाई युद्धमा हराउन उसको हाईकमान्डले आफ्ना सैन्य कमान्डर र पनडुब्बीहरू लाई पठाउने गोप्य संदेश (Enigma code) हरु तोड्न जरुरी थियो तर ती जर्मन गोप्य संदेशहरु यति जटिल हुन्थ्ये कि तोड्न सम्भव भई रहेको थिएन । त्यो जर्मन Enigma code तोड्न वेलायती जासुसी निकायमा एलेन ट्यूरिंगले काम गरे । त्यो निकायको युद्धकालीन मुख्यालय बकिङघमशायरको ब्लेच्ली पार्कमा थियो । त्यहाँ उनले आफ्ना अन्य साथीहरुसँग मिलेर सन् १९४० तिर  सो Enigma code तोड्ने मेसिन बनाए । जसले अभेध्य जर्मन कोड तोड्न सफल भयो । कतिसम्म भने सन् १९४२ को शुरुवाततिर उक्त मुख्यालयमा जर्मनहरुबाट हासिल गरिएका मासिक ३९ हजार गोप्य सन्देशहरुलाई डिकोड गर्ने काम हुन्थ्यो । पछि त त्यो संख्या बढेर मासिक ८४ हजार सन्देशसम्म पुग्यो । त्यसबेला जर्मनहरुले टुन्नी नाम गरेको जटील मेशिनले सन्देशहरुलाई कोडमा बदल्ने गर्थे जसलाई तोड्न निक्कै गाह्रो काम थियो । तर ट्यूरिंगले १९४२ मा जर्मनहरुको त्यो सन्देशलाई तोड्ने व्यवस्थित तरिका पनि पत्ता लगाएरै छाडे ।  उनको यो अद्भूत योगदानले गर्दा जर्मनहरुको युद्ध योजनाहरुलाई बेलैमा थाहा पाउन र त्यसका विरुद्ध प्रतिरक्षात्मक एवं प्रतिरोधी सैन्य तयारीहरु गर्न सम्भव भयो । यसरी दोस्रो विश्वयुद्धमा जर्मनीको पराजयका विविध कारणहरुमध्ये एउटा प्रमुख कारण ट्यूरिंगको अथक मिहिनेत पनि थियो । कतिसम्म पनि भनिन्छ एलेन ट्यूरिंगकै कारण दोश्रो बिश्व युद्ध दुई देखी चार वर्ष छोटियो र करिब बीस लाख मानिसको जीवन बच्यो । उनले गरेको योगदानको सम्मानमा उनलाई ‘अफिसर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर’ घोषित गरिएको थियो ।

हिटलरको युद्ध उन्मादलाई ध्वस्त पारिदिन महत्त्वपूर्ण योगदान गर्ने यी महान वैज्ञानिकलाई बेलायती सरकारले सदैव उच्च सम्मान गर्नुपर्थ्यो, मानवताको रक्षाको लागि उनले गरेका अतुलनीय योगदानका लागि कृतज्ञ हुनुपर्थ्यो । तर तत्कालीन कृतघ्न बेलायती सरकारले दोस्रो विश्वयुद्धको समाप्ति भएको केही समयपछि सन् १९५२ मा उनलाई समलिङ्गी भएको फत्तुर लगायो । अहिले विश्वलाई लैङ्गिक समानताको कुरा गरेर  मानवाधिकारको पाठ पढाउने बेलायतले उनलाई समलिङ्गी भएको आरोपमा गिरफ्तार गर्‍यो । त्यति मात्रै कहाँ हो र, उनलाई सार्वजनिक रुपमा बेइज्जती हुने गरी सजाय ठेकियो । उनलाई जेल सजायको सट्टामा रासायनिक औषाधी प्रयोग गरेर नपुंसक बनाइयो ।

आफूमाथिको यो भयानक व्यवहार र सजायलाई ट्यूरिंगले पचाउन सकेनन् । उनी घोर अवसादको शिकार बने । उनी यति साह्रो निराश र अवसादग्रस्त थिए कि आफूलाई घरभित्रै कैद गरे । उनले आफूलाई बाहिरी समाजबाट अलगथलग तुल्याए । उनी उनी घरमै बसिरहन्थे। बाहिर कतै निस्किदैन थिए।

एलेन ट्यूरिंगलाई राति सुत्नु भन्दा अगाडी एउटा स्याउ खाने आदत थियो । ७ जुन १९५४ को रात उनले आफुले खाने स्याउमा पोटेशियम साइनाइडको इनजेक्सन लगाए र सो स्याउ खाए । उनको शव संगै आधा खाएको स्याउ पनि भेटियो । त्यो बेला उनी ४२ वर्ष पनि पुगेका थिएनन् । सम्भवत: एप्पल कम्पनीको लोगो त्यही आधा स्याउ थियो।

सन् २००९ मा आएर बेलायत सरकारले एलेन ट्यूरिंग माथि गरिएको अत्याचारको लागि माफी माग्यो । तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनले ट्यूरिंगमाथि गरिएको व्यवहारको लागि औपचारिक रुपमा नै सरकारको तर्फबाट माफी माग्यो र तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयले सन् २०१३ मा ट्यूरिंगलाई क्षमादान प्रदान गरेको घोषणा गरियो । २०१७ मा बेलायतमा समलैङ्गिकताका आरोपमा सजाय भोगिरहेकाहरुलाई आममाफी दिइयो जसलाई अनौपचारिक रुपमा एलन ट्यूरिंग कानून पनि भनिन्छ । अझ बेलायत सरकारले २३ जुन २०२१ मा एलेन ट्यूरिंगको फोटो अंकित ५० पौण्डको नोट उनको जन्मदिन अवसरमा प्रचलनमा ल्यायो ।

image source: https://kadet39.ru