आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !

नोम चोम्स्कीका अनुसार एक पटक प्रख्यात खगोल भौतिकशास्त्री (astrophysicist) कार्ल सेगन र प्रख्यात उदविकासवादी जीवशास्त्री (evolutionary biologist) अर्नेस्ट मायर बीच पृथ्वीबाहिर ब्रम्हाण्डमा बुद्दिमान जीव भेटिने सम्भावना बारे बहस भएको थियो ।

कार्ल सेगनले तर्क गरे– ब्रम्हाण्डमा पृथ्वी जस्तै अनगिन्ति ग्रहहरु रहेका छन् ।  ती ठाउमा बुद्धिमान जीवनको विकास नहुने कुनै कारण नै छैन ।

 तर अर्नेस्ट मायरले जवाफ दिए– त्यस्तो सम्भावना एकदमै न्यून छ । उनले यसको कारण दिए हामीसंग एउटा उदाहरण पृथ्वी छ र त्यसैलाई हेर्दा पुग्छ । उनले थपे बुद्दिमत्ता एक प्रकारको घातक उत्परिवर्तन (Mutation) हो । यदि हामीले जीवको सफलतालाई हेर्ने हो भने सबैभन्दा सफल जीव चाहिँ आफूलाई चाँडो उत्परिवर्तन गर्न सक्ने ब्याक्टेरिया र आफूलाई सुहाउँदो वातावरणमा बस्ने गोब्रे किरोहरु हुन् । उनीहरु वातावरणीय संकटलाई पनि झेल्न सक्छन । तर बुद्धिमत्ताको तह बढदै जाँदा जीवहरु कमभन्दा कम सफल हुँदै जान्छन । स्तनधारी जीवको तह आइपुग्दा किरा फट्यांग्राको तुलनामा धेरै कम हुन्छन् । अझ मान्छेको तहमा पुग्दा धेरै सानो समुह मात्र बाँकी रहन्छ । मान्छेको उत्पत्ति भएको करिब एक लाख वर्ष मात्र भयो । अहिले जताततै मान्छे देखेर धेरैलाई भ्रम हुन् सक्छ । तर यो भएको केही हजार वर्ष मात्र भयो । यो समय भनेको उदविकासका दृष्टिकोणले केहि पनि होइन । अर्नेस्ट मायारले तर्क गरे हामीले बुद्धिमान जीवन अन्यत्र कहीँ पनि भेट्ने वाला छैनौ । र यहाँ पनि धेरै लामो समय यो टिक्ने वाला छैन । किनकि बुद्धिमत्ता घातक उत्परिवर्तन हो । हरेक प्रजातिको औसत जीवनकाल एक लाख वर्ष हुन्छ । जुन आधुनिक मानव अस्तित्वमा आएको समय जति नै हो ।

पोहोर-परार साल कोरोना भाइरस विश्वभर फैलिएपछि मान्छेको सामान्य जीवन अस्तव्यस्त भएको थियो । त्यतिबेला संसारभर मान्छेहरु घरभित्रै सीमित बनेका थिए । लामो समयसम्म  यातायात, कलकारखाना, उद्योगधन्दा सबै जसो बन्द भए । यसले गर्दा विश्वभर हावा स्वछ भयो, पानि संग्लो बन्यो, माछाहरु फेरि नदीमा निस्फिक्रीका साथ पौडिन थाले र अनेक जंगली जनावरहरु सहरका मुख्य सडकहरुमा निर्धक्क घुम्न थालेका थिए । यसले देखाउछ मानव जाति र उसका गतिविधिले पृथ्वीलाई कति क्षति पुर्‍याएको रहेछ ! त्यसले के पनि देखयो भनेर मानब जातिको हस्तक्षेप बेगर पृथ्वीको जीवन चक्रले कसरि छोटो समयमै पुनर्जीवन पाउँदो रहेछ । सबै भन्दा बुद्धिमान प्रजाति मानिसले आफैंलाई र पृथ्वीलाई समेत हानि गर्ने आविष्कारले गर्दा आफ्नो जीवनको अन्त आफैं गर्दै गइरहेको छ । पृथ्वीको तापक्रम वृद्धि गरेर जलवायु परिवर्तन गर्न मुख्य जिम्मेवार पेट्रोलियम पदार्थको विकल्प हुँदा हुँदै पनि मान्छे केवल केही पैसाको लोभको कारण यसलाई छोड्न चाहदैन । यसले गर्दा पृथ्वीको वातावरणीय चक् खल्बलिएर अन्तत: मानव कै जीवनको अन्त्य निम्तयाउने निश्चित छ । मान्छेहरु आणविक हतियारलाई आम बिनासको हतियार भन्छन तर वास्तवमा सबैभन्दा ठूलो आम विनासको साधन मान्छे नै हुन् ।

अहिलेको अवस्थालाई मूल्याङ्कन गर्दा भन्न कर लाग्छ– सायद अर्नेस्ट मायर सही थिए !!!