हामीलाई हाई किन आउँछ ?

हामीलाई किन हाई आउँछ भन्नेबारे अझैसम्म विज्ञानका लागि रहस्यकै विषय बनेको छ । अर्को शब्दमा भन्दा, वैज्ञानिक रुपमा यसको ठोस कारण अझै पत्ता लागिसकेको छैन । तर यसबारेमा केही वैज्ञानिक सिद्धान्तहरु अघि सारिएका छन्, जसले हामीलाई हाई आउनुको सम्भाव्य कारण तथा त्यसका फाइदाहरुबारे व्याख्या गरिदिन्छ ।

त्यसअनुसार, एउटा मान्यता के रहेको छ भने हाईले हामीलाई सचेत बन्न र चैतन्य रहन सघाउँछ । हाई गर्दा मूलतः हाम्रो मुखका मांशपेशीहरु संलग्न भएका हुन्छन् र त्यस प्रक्रियाले हाम्रो मस्तिष्कसम्म रक्त प्रवाहलाई बढाई दिन्छ । यस दौरानमा रगतसँगै अक्सिजनको मात्रा पनि बढी मात्रामा मस्तिष्कसम्म पुग्न जान्छ । फलतः हाम्रो मानसिक क्षमतामा अभिबृद्धि भएर आउँछ ।

अर्को एक मान्यताअनुसार चाहिँ हाईले हाम्रो मस्तिष्कलाई तात्तिनबाट जोगाउँछ र चिसो राख्न सहयोग गर्छ । हाई गर्दा हामीले लामो स्वास लिने गर्छौं । त्यसो गर्दा चिसो हावा हाम्रो श्वासनलीमा पस्छ, हाम्रो अनुहारका मांसपेशीहरु क्रियाशील् हुन जान्छ । यसले टाउकोमा रक्तको प्रवाह बढ्न जान्छ । यसले मस्तिष्कको तापक्रमलाई नियमित गर्न र हामीलाई सचेत बन्न सहयोग गर्छ ।

हाईसँग जोडिएको अर्को पाटो भनेको सामाजिक बन्धन पनि हो । तपाईंहामीमध्ये कतिजनाले याद गरेका छौंएकजनाले हाई गर्नेबित्तिकै वरिपरिका प्रायः सबैजनालाई हाई आइहाल्छ ? केही वर्षअघि गरिएको एक अध्ययनका अनुसार अरुले हाइ गरेको हेर्ने मानिस मध्ये ५५ प्रतिशतले अरुले हाइगरेको ५ मिनेटमा आफूले पनि हाइ गर्ने गरेको कुरा पत्ता लागेको छ । रोचक त के छ भने हाई गरेको देख्दा मात्रै हैन, अरु कसैले हाइ गरेको आवाजमात्र पनि सुन्यो भने उसले पनि हाइ गर्ने गरेको तथ्य पनि फेला परेको छ ।

अध्येताहरुले यसलाई समूहमा रहेका मानिसहरु एकापसमा आबद्ध रहेको भावनालाई बढावा दिने अवचेतन तरिकाको प्रतिविम्बन हुन सक्ने बताउँछन् ।

हाईले हाम्रो कानभित्रको हावालाई सन्तुलित राख्न मद्दत गर्ने गर्छ । यो कुरा विशेष गरेर हवाई उडान वा खुला सडकमा गाडीमा यात्रा गरिरहेको बेलामा महसूस गर्न सकिन्छ । हाई गर्दा हाम्रो डम्म भएको कान खुल्छ ।

केही सिद्धान्तले चाहिँ हामीलाई हाई आउनुको कारणलाई जीव विकासको प्रक्रियासँग पनि जोडेर हेर्ने गर्छन् । जीव विकासको सिद्धान्तअनुसार, सबैभन्दा पहिला प्राणीको विकास पानीबाट भएको हुनुपर्छ । पानीबाट जमीनमा आउनेक्रममा सरीसृपहरुको उद्भव भएको मानिन्छ । यस अर्थमा हाम्रो पुर्खाको नाता डोरो खोज्दै जाँदा त्यो सरीसृपमा पनि पुग्न जान्छ । अर्थात् सृष्टिको कुनै कालखण्डमा सरीसृप पनि हाम्रो पुर्खा रहिसकेको हुनुपर्छ । यस आधारमा अहिले पनि केही सरीसृपहरुले आफ्नो सुस्ततालाई हटाउन तथा शरीरको तापक्रमलाई नियमित गर्न हाई गर्ने गरेको आधारमा हाई पनि जीव  विकासको अवशेषकै रुपमा रहेको हुन सक्ने तर्क दिइने गरिन्छ ।

 

विकासक्रमकै सिद्धान्तअनुसार धेरै पहिले हा गर्नु भनेको समूहमा बस्ने प्राणीहरु बीच समाजिक कृयाकलापको हिस्सा थियो । यसले सबैलाई एउटै अर्थ दिन्थ्यो  । एउटाले हाइ गरेपछि उनीहरुले थाकेको र आराम गर्न चाहेको कुरा बुझ्थे । त्यही भएर एकजनाले हाइ गरेपछि त्यस कुरामा सहमति जनाउन सबैले पालैपालो हाइ गर्ने गर्थे । यसलाई neural network involved in empathy भनेर भनिएको छ ।

यसरी मानिसलाई हाई आउनुका कारणबारे विभिन्न सिद्धान्तहरु अघि सारिएका छन् । तर यसको ठोस कारण पत्ता लगाउन अझै थुप्रै अध्ययन अनुसन्धानहरु जारी रहेका छन् । खासगरी हाई आउने सन्दर्भमा मस्तिष्कको रसायन र स्नायुतन्त्रको संलग्नताका बारेमा खोज भइरहेका छन् । त्यसैगरी, हाई र मस्तिष्कको कार्यक्षमताबीचको सम्बन्धलाई बुझ्ने कोशिश पनि चलिरहेकै छ । त्यसै गरी एकजनालाई हाई आउँदा अरुलाई पनि स्वतःस्फूर्त रुपमा हाई आउने गरेको सन्दर्भमा सामाजिक संकेतहरुको प्रभाव र हाईको संक्रामक प्रकृतिका बीचको सम्बन्धकाबारेमा पनि खोजतलास जारी छ ।

निचोडमा भन्दा हामीलाई हाई किन आउँछ भन्नेबारे आजसम्मको विज्ञानले अझै ठोस कारण पत्ता लगाइसकेको छैन । तथापि हाईले हाम्रो मस्तिष्कको कार्यक्षमतालार्य सुचारु राख्ने, चैतन्यता एवं सतर्कता बढाउने काम गर्छ भनेर चाहिँ अवश्य भन्न सकिन्छ ।