नोबेल पुरस्कार विजेता भौतिकशास्त्री, जसले स्नातक तहलाई पढाउन रुचाए !

रिचर्ड फाइनमेनको अद्भूत प्रेम–प्रसङ्ग

रिचर्ड फाइनमेनलाई बीसौं शताब्दीका महत्वपूर्ण भौतिकशास्त्री मानिन्छ। अझ विश्वका १० सर्वकालीन महानतम भौतिकशास्त्रीहरुको सूचिमा फाइनमेन सातौं नम्बरमा छानिएका थिए। यो सूचीमा आइज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन जस्ता वैज्ञानिकहरु पनि समावेश छन्।

रिचर्ड फाइनमेनलाई क्वान्टम इलेक्ट्रोडाइनामिक्स क्षेत्रमा गरेको योगदानको कारण सन् १९६६ मा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। फ़ाइनमेनलाई उनको ज्ञानको कारणले गर्दा मात्र होइन, उनले विश्वविद्यालयमा विद्यार्थीहरुलाई सरल तरिकाले भौतिकशास्त्र अध्यापन गर्ने शैलीको कारणले गर्दा पनि सम्झना गरिन्छ। भौतिकशास्त्र जस्तो जटिलतम विषयलाई समेत अत्यन्त सहज र सुबोधगम्य तरिकाले बुझाउन सक्ने भएकोले फाइनमेनलाई ‘महानतम व्याख्याता’ भनेर भन्ने गरिन्थ्यो।

रिचर्ड फाइनमेनले आफ्नो प्रसद्धि र ख्यातिको बाबजुद पनि विश्वविद्यालयमा स्नातक तहलाई ३ वर्षसम्म पढाए। यति प्रख्यात वैज्ञानिकले स्नातकका विद्यार्थीहरुलाई यसरी पढाएको घटना सम्भवत: इतिहासमै दुर्लभ परिघटना थियो। आफ्नो अध्यापनका यी ३ वर्षहरुमा रिचर्ड फाइनमेन भौतिकशास्त्र पढाउने नयाँ बाटो खोजे। भौतिकशास्त्रलाई नया तरिका बाट अरु बिषयहरुसंग पढाउन थालियो। उनले विश्वबिधालयमा दिएका लेक्चरहरुलाई समेटेर The Feynman Lectures on Physics भन्ने किताबहरु प्रकाशित गरिएको थियो। यी पुस्तकहरुलाई संसारभर भौतिकशास्त्रका आधारभूत पाठ्यसामग्रीको रुपमा पढ्ने गरिन्छ।

रिचर्ड फाइनमेनको जीवन उनको अध्ययन अनुसन्धान भन्दा कम रोचक छैन। स्कुलमा पढ्ने क्रममा फाइनमेनको आफ्नै क्लासमेट अरलीन संग प्रेम भएको थियो। रिचार्डले अरलीनसंग आफ्नो पिएचडीको अध्ययन पूरा गरेपछि बिहा गर्ने भनेर बाचा गरेका थिए। तर उनको अध्ययन पूरा नहुँदै अरलीन बिरामी पर्न थालिन्। उनलाई लिम्फ्याटिक टी.बी भएको थियो। त्यो समयमा सो रोगको कुनै उपचार थिएन। डाक्टरहरुले उनलाई केही बर्ष मात्र बाँच्ने भनेर घोषणा गरेका थिए। उनलाई थाहा थियो कि अरलीनसंगको उनको सम्बन्ध आत्मिक मात्र रहने वाला थियो। यसको बाबजुद पनि फाइनमेन अरलीनसंग बिहा गर्न चाहन्थे। फाइनमेनका पूरै परिवार र साथीहरु यो बिहाको पक्षमा थिएनन् । यो कुरालाई लिएर उनको बुवासंग झगडा नै परेको थियो। त्यस्तै रिचार्ड कि आमाले यो बिहा अवैधानिक हुन्छ भनेर विरोध गरिन्। तर यी सब विरोध हुँदाहुँदै पनि फाइनमेनले अरलीनसंग बिहा गरे। बिहा लगत्तै उनले अरलीनलाई अस्पतालमा लगेर राखे।

त्यो बेला दोश्रो विश्वयुद्ध चरम अवस्थामा पुगेको थियो। अमेरिकाले जर्मनीलाई पराजित गर्न एटम बम बनाउने परियोजना सुरु गरेको थियो। सो परियोजनाको नाम थियो म्यान्ह्याटन परियोजना। यो परियोजनामा अमेरिकामा उत्कृष्ट दिमागहरुलाई काममा खटाइएको थियो। एटम बम बनाउने यो परियोजनाका प्रमुख रोबर्ट ओपेन्हाईमरले रिचार्ड फाइनमेनलाई पनि यो काममा भाग लिन अनुरोध गरे। रिचार्डले पनि सहर्ष यो काममा भाग लिए।

सो परियोजनाका निर्देशक रोबर्ट ओपेन्हाईमरले रिचार्ड फाइनमेनले अरलीनलाई सहजै भेट्न सकुन् भनेर नजिकैको सेनिटेरियममा भर्ती हुने व्यवस्था मिलाइदिए। फाइनमेन आफ्नो काम बाट छुट्टि मिल्ने बित्तिकै अरलीनलाई भेट्न जान्थे। एक दिन कामै व्यस्त रहेको समयमा फाइनमेनलाई ‘अरलीनको अवस्था नाजुक छ भनेर’ अस्पतालबाट फोन आयो । फाइनमेन हतारिँदै साथीको गाडी मागेर अस्पताल पुगे। उनी अरलीनको बेडको नजिक बसे। केही बेरमा अरलीनको मृत्यु भयो। अरलीनले एउटा डायरीमा आफ्नो स्वास्थ्य अवस्थाबारे दैनिक नोटहरु टिप्ने गरेकी थिइन्। त्यही नोटबुकमा फाइनमेनले ‘मृत्यु’ भनेर टिप्पणी लेखे।

अरलीनको मृत्युपछि फाइनमेन तत्काल आफ्नो काममा फर्के। साथीहरुले उनलाई सोधे– के भयो भनेर। उनले सपाट जवाफ दिए -उनको मृत्यु भयो। लगत्तै उनको जिज्ञासा थियो– ‘अनि यहाँको काम कस्तो चल्दै छ ?’

फाइनमेनले अरलीनको नाममा उनको मृत्युको १६ महिनापछि एउटा चिट्ठी लेखेका थिए। सो चिट्ठी उनको मृत्यु भएपछि १९८८ मा मात्र फेला पर्‍यो। यो चिट्ठीको अन्तिम हरफमा लेखिएको थियो-

मेरी प्यारी श्रीमती, म तिमीलाई धेरै माया गर्छु ।म मेरी श्रीमतीलाई प्रेम गर्छु। मेरी श्रीमतीको मृत्यु भयो ।

पुनश्च: यो चिठी नपठाएकोमा मलाई क्षमा गर- किनकि मलाई तिम्रो नयाँ ठेगाना थाहा छैन ।

My darling wife, I do adore you. I love my wife. My wife is dead. Rich. PS Please excuse my not mailing this — but I don’t know your new address

https://images-na.ssl-images-amazon.com

रिचर्ड फाइनमेनको प्रेमकथामाथि एउटा फिल्म पनि बनेको छ: ‘इन्फिनिटी’ ।

Title image: https://facts.net