नारायणकाजीले गुमाएको एउटा अवसर

बालकुमारी–ग्वार्को हत्याकाण्ड गृहमन्त्री नारायणकाजीको लागि राजनीतिक नैतिकता प्रदर्शन गर्ने एउटा उचित अवसर थियो तर त्यसप्रति उनले देखाएको उदासीनताले यस्तो प्रतीत हुन्छ– उनले त्यसको गाम्भीर्यतालाई बुझ्न चाहेका छैनन् र आफूलाई नैतिकवान साबित गर्ने अवसरलाई गुमाउँदै गइरहेका छन् । 

स्वयं सरकारले स्वीकारिसकेको तथ्य हो– वैदेशिक रोजगारीको सपना बोकेका दुई युवाहरुको निर्मम हत्याकाण्डमा कहीँ न कतै सुरक्षा चुक भएकै हो । अहिले सुरक्षा संयन्त्र हेर्ने तालुकदार अड्डा गृहमन्त्रालयका मूली नारायणकाजी श्रेष्ठ हुन् । यस अर्थमा त्यसको नैतिक जिम्मेवारी उनको काँधमा स्वतः आइलाग्छ । यसबेलामा उनले घटनाक्रमको नैतिक जिम्मेवारी लिँदै पदबाट हट्ने आँट, हिम्मत र नैतिकता देखाएको भए त्यसले राजनीतिमा एउटा सकारात्मक छाप छोड्थ्यो । त्यसले नैतिक रुपमा पतित हुँदै गइरहेको वर्तमान राजनीतिमा एउटा असल दृष्टान्त कायम गर्न सक्थ्यो ।

नारायणकाजी श्रेष्ठ नेपालका वाम राजनीतिमा एउटा आशालाग्दा र भरपर्दा नेता हुन् । तर पछिल्ला दिनहरुमा उनका कतिपय व्यवहारले उनको छविलाई उजिल्याउने कम, धमिल्याउने काम बढी गरिरहेको छ । खासगरी, निर्वाचन हारिसकेपछि ‘चोरबाटो’बाट राष्ट्रिय सभा छिर्दा पनि उनको निक्कै आलोचना भएकै हो । त्यसमाथि थप, भौतिक मन्त्रालय सम्हाले लगत्तै तीब्र गतिमा कामहरु सम्पन्न गराएर एउटा नमूना कोर्दै गरेका श्रेष्ठ जब गृहमन्त्रालयमा सरे, उनको त्यो छवि उजिलिन सकेन । शुरुमा बालुवाटारको ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डहरुमा गृहमन्त्रीको रुपमा उनले देखाएको तदाकता र नेतृत्व तारिफ योग्य थियो, तर त्यसको तीर आफ्नै पार्टीका कतिपय उपल्ला नेताहरुतिर तथा सत्ता साझेदार पार्टीका ‘भाउजु नेता’ तिर तेर्सिएपछि त्यो त्यत्तिकै ‘टाय टाय फिस्स’ भयो । त्यसले नारायणकाजीको ‘डायनामिक्स’लाई नै धमिल्याउने काम गर्यो ।

प्रश्न उठ्न सक्छ– बालकुमारी–ग्वार्को हत्याकाण्ड उनको प्रत्यक्ष निर्देशनमा भएकै होइन, उनले किन राजीनामा दिने ? सतही रुपमा हेर्दा यो सही तर्क नै हो । तर उक्त घटना सिर्जना हुनुमा उनी मुख्य हर्ताकर्ता रहेको तालुकदार अड्डा मुख्य रुपमा जिम्मेवार छ । यस अर्थमा उनको थाप्लोमा त्यसको नैतिक जिम्मेवारी सबैभन्दा बढी आइलाग्छ । भनिबस्नु पर्ने कुरै होइन–राजनीतिमा नैतिकताको ठूलो महत्व हुने गर्छ । उनले राजीनामा दिनैपर्छ भन्ने कुनै कानूनी बाध्यता होइन । तर कानूनी तर्कहरुभन्दा माथि हुने कुरा नैतिकता नै हो र त्यस आधारमा उनले प्रकट गर्ने नैतिकताले राजनीतिको कोर्समा निक्कै नै सकारात्मक छाप छोड्ने निश्चित छ । वीपी कोइराला गृहमन्त्री हुँदा युवा विद्यार्थी चिनियाँकाजी प्रहरीको गोली लागि मारिँदा वीपी कोइरालाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा गरेको घटना स्मरणीय छ । अझ अहिलेका ‘अग्रगामी’ राजनीति गर्नेहरुले ‘पश्चगामी’ भनेर सत्तोसराप गर्ने पञ्चायतकालीन राजनीतिमै पनि रङ्शालामा हावाहुरीका कारण मानिस मर्दा तत्कालीन खेलकूद मन्त्री केशरबहादुर विष्टले अनि त्यसअघि सिंह दरवारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएको दृष्टान्त पनि हामी सामु छन् ।

नेपालका वामपन्थीहरुले ‘सत्तोसराप गर्ने’ पूँजीवादी राजनीतिमा पनि नैतिकतालाई निक्कै महत्व दिने गरेको पाइन्छ । ससाना घटनाहरु हुँदा पनि राजनीतिक नैतिकता प्रदर्शन गर्दै क्षमा माग्ने, पदबाट राजीनामा दिने जस्ता कुरा सामान्य नै हुने गरेको देखिन्छ । यस अर्थमा उन्नत, वैज्ञानिक र जनपक्षीय राजनीति गर्नेहरुले त झन उनीहरुभन्दा बढी नैतिकवान बन्नुपर्ने हो भन्ने आमआवाजलाई सम्बोधन गर्नु पर्ला कि नपर्ला ?

के वर्तमान राजनीतिमा नैतिकता भन्ने कुरा पञ्चायतकालीन राजनीतिमा भन्दा पनि पत्रु हुँदै गएको हो ?

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।