उपनिर्वाचनको परिणामले के संकेत गर्छ ?

यस पटकको उपनर्विाचनमा नेकपा एमालेले इलाम र बझाङ दुवै स्थानमा विजय हासिल गरेको छ ।

इलाम २ को लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७७७२ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत प्राप्त गरी दोस्रो भएका छन् । पहिचानवादीका साझा उम्मेदवारको रुपमा खडा डेकेन्द्र सिंह लिम्बु (स्वतन्त्र) ले ११४५७ मत प्राप्त गरी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गरी चौथो भएका छन् ।

एमालेको बलियो गढ मानिएको इलाममा सुहाङको जित अपेक्षित नै थियो । मत परिणामले इलामका मतदाताहरुको प्रवृत्ति पार्टीगत÷संगठनात्मक आधारमा नै रहेको पुनर्पुष्टि भएको छ । २०६४ मा मुलकभर माओवादीको अभूतपूर्व लहर चलेको बेलामा पनि इलाममा एमालेकै वर्चस्व रहेको थियो ।  २०७९ को चुनावमा दिवंगत सुवास नेम्वाङ (३०,०२० मत) सँग ४१४ को झिनो मतान्तरले पराजय बेहोरेका तथा यस पटक बुढानीलकण्ठ (देउवा) का उम्मेदवार भनी प्रचारित नेपाली कांग्रेसका डम्बरबहादुर खड्का (२९,९०६ मत) को पराजयसँगै यस पटकको उपनिर्वाचनमा देखिएको ५८३० को व्यापक मतान्तरको अन्तर्य कांग्रेसभित्रको घातप्रतिघात हो या सत्ता गठबन्धनमा आएको परिवर्तनक हो वा पहिचानवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीले उनको मत काटेको हो, त्यो विचारणीय छ । त्यसमाथि थप, सुवासचन्द्र नेम्वाङको लिगेसी र सुहाङले पाएको ‘सहानुभूति’को भोटले पनि मत परिणाममा फरक ल्याएको निश्चित छ ।

 इलाममा यस पटक पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले पाएको भोट निक्कै सम्मानजनक रहेको देखिन्छ । कोशी प्रदेश नामाकरणको विरुद्ध पूर्वमा चलिरहेको पहिचानवादी आन्दोलनको पृष्ठभूमिमा डेकेन्द्र लिम्बुले पाएको भोटलाई खराब भन्न मिल्दैन । तथापि, नाराले मात्रै मतपरिणामलाई प्रभावित तुल्याउन नसक्ने, त्यसका लागि बलियो संगठन पनि चाहिने संकेत इलामको मत परिणामले दिएको छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टीको पराजयलाई धेरैले खिल्ली उडाएको देखिए तापनि विना कुनै बलियो संठनात्मक आधारमा उसले अघिल्लो चुनावमा भन्दा धेरै बढी यस पटक मत पाएको कुरा भुल्नु हुँदैन । अघिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका  उम्मेदवार प्रकाश सापकोटाले १३६३ मत मात्रै पाएका थिए ।

उता बझाङ १ को उपनिर्वाच्नमा परिन एमालेका दमनबहादुर भण्डारीले ११६१३ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११३४६ मत प्राप्त गरेका छन् ।

२०७९ को चुनावमा बझाङबाट एमालेबाट अलग्गिएर खडा भएको एकीकृत समाजवादी पार्टीका उम्मेदवार भानुभक्त जोशीले २८,४३१ मत प्राप्त गरी विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऐनबहादुर महरले २७,४१२ मत प्राप्त गरेका थिए ।

स्मरणीय के छ भने इलामको वर्तमान सत्ता गठबन्धनका एक घटक माओवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेका थिए भने बझाङमा चाहिँ आफ्ना उम्मेदवार पनि खडा गरेका थिए । त्यहाँ माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८३१ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए भने सत्ता गठबन्धनकै अर्का घटक एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरी चौथो भएका थिए ।

यस पटकको चुनाव परिणामले एमालेको राजनीतिक शक्तिमा बढोत्तरी भएको छ भने बझाङमा सत्ता गठबन्धनकै अलग अलग उम्मेदवारीले अहिलेको सत्ता गठबन्धनको जरो बाम एकता भन्ने भाष्यमाथि प्रश्नचिन्ह समेत खडा गरिदिएको छ ।