बितेको एक महिनामा प्रधानमन्त्री प्रचण्डको ‘अतिरिक्त’ व्यस्तता !

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसमा सम्बोधन

मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्री सम्हालेका व्यक्ति निश्चय पनि व्यस्त रहन्छन् । यो स्वभाविक हो । त्यो व्यस्तता पदीय जिम्मेवारीका मूल विषयवस्तुहरुका आधारमा कम बेसी हुने गर्छ । त्यसबाहेक प्रधानमन्त्रीको व्यस्तता औपचारिक सभा समारोहहरुमा हुने सहभागिता तथा उद्घाटनहरुले पनि बढाइदिने गर्छ ।

यसैक्रममा बितेका एक महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक सभासमारोहहरुमा के कति सहभागी भए र उनको व्यस्त समयलाई त्यसले कति खपत गर्यो भन्ने कुराको सानो झाँकी तलका जानकारीहरुबाट पाउन सकिन्छ:

•– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको चौधौं सभाको बैठक (२३ चैत २०८०, बालुवाटार)

•– गोरखा दरबार सङ्ग्रहालयमा क्रिस्टल शिला राख्ने कार्यक्रममा सम्बोधन। (२३ चैत्र २०८०, हरामटारी गोरखा)

•– नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ तथा झण्डा हस्तान्तरण (२४ चैत २०८०, बालुवाटार)

•– जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी आध्यात्मिक जागरण उत्सव कार्यक्रममा सम्बोधन (२४ चैत २०८०, लुम्बिनी)

•– आठौँ स्वास्थ्य वीमा दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन। (२५ चैत २०८०, काठमाडौँ)

•– भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन। (२५ चैत्र २०८०, भरतपुर)

•– बागमती प्रदेश खेलकुद परिषदद्वारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा सम्बोधन। (२५ चैत्र २०८०, भरतपुर)

•– तेस्रो नेपाल लगानी सम्मेलन २०२४ (२६ चैत २०८०)

•– उद्योगी-व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा सम्बोधन। (२८ चैत्र २०८०, काठमाडौँ)

•– नेपाली सेनाको सि.सं. ६१ अधिकृत क्याडेट, सि.सं. ५१ पदिक तथा बिल्लादार अधिकृत क्याडेट र सि.सं.–३ स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन । (२०८० चैत्र २८, खरिपाटी)

•– सांस्कृतिक संस्थानको प्रस्तुति "शुभारम्भ सांस्कृतिक साँझ २०८१" को समुद्घाटन समारोहमा सम्बोधन ।(१ बैशाख २०८१, राष्ट्रिय नाचघर काठमाडौँ)

•– नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ को अवसरमा सहभागिता । (३ बैशाख २०८१,नागढुङ्गा–सिस्ने खोला)

•– सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा कार्यक्रममा सम्बोधन । (४ बैशाख २०८१, काठमाडौँ)

•– नेपाल उद्योग परिसंघ (CNI) को २१ औँ बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन । (४ बैशाख २०८१, काठमाडौँ)

•– सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन ।(९ बैशाख २०८१, महेन्द्रनगर,कञ्चनपुर)

•– नरबहादुर कर्माचार्य स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन । (१० बैशाख २०८१, तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुर)

•– नेकपा (एमाले)द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा सम्बोधन । (१० बैशाख २०८१, गोदावरी, ललितपुर)

•– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सम्बोधन । (१२ बैशाख २०८१, ललितपुर)

•– नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय विकास परिषद् बैठकको समुद्घाटन समारोहमा सम्बोधन । (१३ बैशाख २०८१, काठमाडौँ)

•– नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय विकास परिषद् बैठकको समापन । (१३ बैशाख २०८१, काठमाडौँ)

•– पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा सम्बोधन । (१४ बैशाख २०८१, गोठगाउँ, मोरङ)

•– तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन । (१६ बैशाख २०८१, काठमाडौँ)

•– नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण सम्पन्न मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको समुद्घाटन समारोहमा सम्बोधन ।(१६ बैशाख २०८१, काठमाडौँ)

•– १३५ औँ अन्तर्राष्ट्रिय विश्व मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन । (१९ बैशाख २०८१, काठमाडौँ)

•– राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन । (२० बैशाख २०८१, राष्ट्रिय सभा गृह, काठमाडौँ)

•– रेसुङ्गा नगरपालिका गुल्मीद्वारा आयोजित कार्यक्रम ‘जाउँ हिड रेसुङ्गा’ अभियानमा सम्बोधन ।(२० बैशाख २०८१, काठमाडौँ)

•– नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन ।(२१ बैशाख २०८१, काठमाडौँ)

•– प्रज्ञास्मृति प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता उद्घाटन समारोहमा सम्बोधन । (२२ बैशाख २०८१, ललितपुर)

•– जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा सम्बोधन ।(२२ बैशाख २०८१, सर्लाही)

•– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन ।(२३ बैशाख २०८१, काठमाडौँ)

कार्यक्रमका आयोजकहरुको चाहना सकेसम्म मुलुकको कार्यकारी पदमा रहेका प्रधानमन्त्रीलाई नै बोलाउने–सहभागी गराउने हुनु स्वभाविक हो । त्यसले आयोजकहरुलाई ‘हैसियत’ प्रदर्शित गर्ने अवसर मिल्छ । यीमध्ये सबै कार्यक्रमहरुमा प्रधानमन्त्री नै सहभागी हुनैपर्ने खालका कार्यक्रमहरु थिए कि थिएनन् होला ? खासगरी प्रधानमन्त्री जस्ता व्यस्त र अन्य राष्ट्रिय मुद्दाहरुमा विशेष ध्यान केन्द्रीत गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई औपचारिक कार्यक्रमहरुमा समय खर्च गर्न बाध्य हुनु नपर्ने गराउन पाए कति जाति हुन्थ्यो होला । त्यसमाथि थप, औपचारिक कार्यक्रमहरुमा प्रधानमन्त्री सरिक हुँदा प्रोटोकलको हिसाबले गर्नुपर्ने सुरक्षा तामझाममा हुने अनावश्यक खर्चमा पनि कटौती पो हुन्थ्यो कि ? बरु हरेक कार्यक्रमहरुमा प्रधानमन्त्रीलाई सहभागी हुन बाध्य पार्नुको सट्टा त्यस्ता कार्यक्रमहरुमा तालुकदार मन्त्री वा हाकिमलाई नै प्रमुख अतिथि बनाउने थिति बसाले प्रधानमन्त्रीले औपचारिक कार्यक्रमहरुमा व्यस्त हुनु पर्ने थिएन कि ?