दाउपेच
जापानमा एउटा बालक जुडो सिक्न एक जना गुरुको ट्रेनिङ सेन्टरमा पुग्यो। सो बालकको एउटा मात्र हात थियो। गुरुले उसलाई आफ्नो स्कुलमा भर्ना गरे। सोही दिनदेखि गुरुले सो बच्चालाई जुडोको एउटा वाजा (दाउ) सिकाउन थाले।
दिन, हप्ता र महिनौं बित्यो, त्यो बच्चालाई त्यही एक दाउ मात्र अभ्यास गर्न गुरुले लगाए। त्यो बच्चासँगै भर्ना भएका अरू बच्चाहरूलाई नयाँ-नयाँ दाउहरू सिकाउन थालियो। तर उसलाई भने त्यही एउटा दाउ मात्र सिक्न गुरुले लगाउँथे।
सो बच्चालाई आफ्ना साथीहरूजस्तै अरू पनि दाउहरू सिक्न र अभ्यास गर्न मन लाग्थ्यो। तर गुरुको आदेशको अवज्ञा गर्न ऊ सक्दैन थियो। त्यसैले ऊ आफूलाई जुन दाउ सिकाइएको हो, त्यसैलाई निरन्तर अभ्यास गर्न बाध्य थियो।
त्यस्तै एक दिन सहरमा जुडो प्रतियोगिता आयोजना भयो। त्यो बच्चासहित आफ्ना अन्य शिष्यहरूलाई लिएर गुरु त्यसमा भाग लिन गए। सो बच्चा छक्क पर्यो - "मैले त खास केहि जानेकै पनि छैन, कसरी सो प्रतियोगितामा सहभागी हुने?" भनेर। तथापि, गुरुको आदेश मानेर उसले भाग लियो।
सहज रूपमा उसले पहिलो खेल जित्यो। दोस्रो खेल पनि जित्यो। सेमीफाइनलमा अलिक गाह्रो पर्यो, तर पनि उसले जित्यो। फाइनल पनि आश्चर्यजनक ढंगले जित्यो।
छक्क पर्दै उसले गुरुलाई सोध्यो - "गुरु, तपाईँले जम्मा मलाई एउटा मात्र दाउ सिकाउनु भएको थियो, अरू केही पनि सिकाउनु भएको थिएन, तर पनि मैले कसरी यो प्रतियोगिता जित्न सके?"
गुरुले जवाफ दिए - "तिमीलाई मैले जुन दाउ सिकाएँ र अभ्यास गराएँ, त्यो जुडो खेलकै सबैभन्दा गाह्रो दाउ थियो। त्यसलाई रोक्न विपक्षीले तिम्रो देब्रे हात समाउनुपर्थ्यो, जबकि तिम्रो देब्रे हात नै छैन। अनि विपक्षीले कसरी तिमीलाई पराजित गर्न सक्थे!"
प्रस्तुति: केदार सिटौला
शून्यबाट शिखर चुम्ने मट्सुसिताको संघर्ष र पानासोनिकको जन्मकथा
जीवन र मृत्युप्रतिको माओको अवधारणा
जस्तो जीवन, उस्तै तस्वीर: प्रेमचन्दको सादगी
लू शुन डाक्टर होइन, साहित्यकार बन्नुभयो !
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
प्रतिक्रिया