प्रतिशोधको राजनीति नगरौँ न रविजी !

कुनै बेला सञ्चारकर्मी समेत रहेको हालका गृहमन्त्री रवि लामिछानेको नेपालका सञ्चार उद्योगसँग ३६ (अलग अलग दिशातर्फ फर्किएको) को स्थिति छ । उनको बुझाइमा नेपालका सञ्चारकर्मीहरुले उनको एकहोरो खेदो खन्ने धन्धामा छन् । सम्भवतः त्यही कुण्ठा र भावना हिजो (बिहिबार) उनको मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयको मातहतबाट जारी गर्न गरी तयारी गरिएको एउटा परिपत्रमा खुलेर आयो ।

गृह मन्त्रालयबाट मातहतमा जारी गर्ने उक्त परिपत्रको २ नम्बरमा ‘सामाजिक संजालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण’ शीर्षकअन्तर्गत  ‘Online News portal, Facebook, Twitter लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देशहरु प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सदभाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरु नियन्त्रण गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने । यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानून बमोजिम कारवाही गरी सोको सार्वजनिकरण गर्ने’ उल्लेख गरिएको थियो ।

नेपालको कानूनले सञ्चारकर्मलाई अनुगमन, नियमन र कारवाही गर्ने बेग्लै निकायहरुको व्यवस्था गरेको छ । तर, हिजो जारी त्यो परिपत्रले कानूनका ती व्यवस्थाहरुलाई सोझै ‘वाइपास’ गरेर तत्सम्बन्धी कानूनी कारवाही र प्रक्रियाहरु गृहमन्त्रालय अन्तर्गतकै निकायबाट अगाडि बढाउने  मनाशय बोकेको थियो । वास्तवमा भन्ने हो भने त्यो परिपत्रको मूल अन्तर्य हिजो निरंकुश पञ्चायतकालमा सञ्चारकर्मलाई सिडियो, अञ्चालाधीशहरुले नियन्त्रण–नियमन गर्ने र डण्डाको बलमा तर्साउने भन्दा फरक थिएन ।

स्वभाविक थियो, त्यो परिपत्रको व्यापक विरोध भयो र रवि लामिछानेहरु पछि हट्न बाध्य भए । तुरन्तै एक विज्ञप्ति जारी गर्दै तत्सम्बन्धी बुँदाहरु हटाइएको जानकारी गराएको थियो ।

आफूलाई अरुभन्दा फरक देखाउने जोश र जाँगर आफ्नो ठाउँमा ठीक होला, तर त्यो जोशको अन्तर्य आफ्ना सीमाहरुलाई नाघेर मनचिन्ते ढङ्गले अगाडि बढ्न पाउने छुट हो भन्ने अर्थमा बुझ्नु गलत हुनेछ । केही गरेर देखाइहाल्ने जोशमा होश गुमाएर आफ्ना सीमालाई बुझ्न नसक्दा उल्टै क्षति गर्न सक्छ भन्ने कुरा नयाँ राजनीतिककर्मी लामिछाने र उनका सल्लाहकारहरुले बेलैमा बुझ्नु जरुरी छ ।

त्यो भन्दा पनि महत्वपूर्ण कुरा शक्तिमा पुग्नासाथ प्रतिशोध साँध्ने कुचेष्टा कति ब्युत्पादक हुन्छ भन्ने कुरा एक पटक रबिले केपी ओलीलाई सोध्नै पर्ने देखिएको छ । मिडियालाई ‘तह लाउने’ ओलीको रहर कसरी उनकै विरुद्द जनमत निर्माणमा सहयोगी बन्यो र कतिपय सन्दर्भमा धेरै राम्रा काम गर्दै गर्दै पनि केपी ओलीको छवि नेपाली राजनीतिमा खलपात्र झैँ बन्दा उनले निरीहतामा सत्ता छोड्नु पर्यो भन्ने बिगतबाट शिक्षा लिनु उपयुक्त हुन्छ । त्यसैले प्रतिशोधको होइन विवेकको राजनीति गर्ने अभ्यास रविहरुले गर्नु पर्ने हुन्छ ।

भनिन्छ, बिरालोलाई बाघकै छाला ओढाए पनि आखिरमा उसले म्याउ गरिछाड्छ रे ! राजनीतिको ‘कोर्स करेक्सन गर्न’आएका लामिछाने समूहका कर्महरु त्यस्तो नबनून् ! रबिहरुलाई जे जसरी पनि खुइल्याउनु पर्छ भन्नेहरुकै पिछलग्गु भएर सरकारमा पुगेकाहरुले आफू तरवारको धारमा हिंडिरहेको बिर्से भने क्षति अरुलाई होइन उनीहरुलाई नै हुने पक्का छ ।

Image: https://upload.wikimedia.org/wikipedia/commons/2/2f/Rabi_Lamichhane_RSP.jpg