प्रचण्डको कार्यशैली बदल्ने कसम र तस्विरले ल्याएको तरंग

अहिले सामाजिक संजालमा एउटा तस्विर निकै चर्चित (भाइरल) छ । जसमा हामी देख्न सक्छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल, उनको सचिवालय र उनका नवविवाहित नातिनी, उनका दुल्हा अनि तिनका परिवारजन । पृष्ठभूमिमा छ- उनले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर ।

दुई दिन अघि आफू तेस्रो पटक प्रधानमन्त्री भएको वर्षदिन पुगेको अवसर पारेर आफू आक्रामक अवस्थामा नै रहेको भ्रम छर्ने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले सारमा रक्षात्मक सम्बोधन गरेको पृष्ठभूमिमा त्यो तस्विर झन् भाइरल बन्यो । भलै उनको सचिवालयले त्यो तस्विरको सन्दर्भ र प्रसङ्गको व्याख्या गर्दै त्यसअघि नै प्रष्टीकरण पेश गरिसकेको थियो।

फेरि पनि किन यसको चर्चा कायम नै छ ? यसका केही कारणहरु छन् जसको केन्द्रमा भेटिन्छ उनको केटौले सचिवालय र प्रचण्ड स्वयंको टिठलाग्दो परिवार मोह । अनि आफ्नो गल्ती ढाकछोप गर्न अरुलाई लाल्छना लगाउने दीर्घरोग । 

तस्विरको सन्दर्भ

प्रचण्ड गत बुधबार गोरखा जिल्लाका दुई वटा कार्यक्रमहरुमा सहभागी भएका थिए । एउटा उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रम र अर्को गोरखाको घ्यालचोक ज्यामिरघाटमा आफ्नो पार्टीको ‘माओवादी रुपान्तरण अभियान’ को कार्यक्रम ।

उक्त कार्यक्रममा उनले के बोले, के भने र के के प्रतिबद्धताहरु जाहेर गरे, त्यसबारेमा आममानिसले खासै चासो राखेनन्, चर्चा गरेनन् । तर उनले सोही सिलसिलामा भरखरै विवाह गरेकी आफ्नी नातिनीलाई भेट्ने क्रममा उनले प्रयोग गरेको सेनाको हेलिकोप्टर सामुन्ने उभिएर खिचेको तस्विरको भने निक्कै चर्चा–आलोचना भयो । जहाँ उनलाई नवविवाहित नातिनी, उनका दुल्हा र तिनका परिवारजनले स्वागत गरेका थिए । सोही सिलसिलामा उनले त्यो फोटो खिचाएका थिए ।

परिवारजनसँग फोटो खिचाउनु कुनै आपत्तिको कुरा होइन । तर प्रचण्डका सचिवालयले हेक्का राख्नै पर्ने कुरा के हो भने राज्यको मानो चामल खाएका, प्रधानमन्त्री जस्तो सर्वोच्च पद सम्हालेका व्यक्तिको जीवनका करिब करिब सबै कुराहरु (बाथरुम र बेडरुम बाहेक) सार्वजनिक चासोको विषय बन्ने गर्छन् । उनका गतिविधिहरुलाई आम जनताले नियालिरहेका हुन्छन् । अझ उनका उछितो काट्न मौका कुरिरहेकाहरुले त झनै बढी नियालिरहेका हुन्छन् । यस्तो अवस्थामा के कस्ता कुराहरु सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरामा बुद्धिमत्ता र होशियारी देखाउनु अनिवार्य हुन्छ ।

केही समयअघि पनि प्रचण्डले हाल दिवंगत भइसकेकी आफ्नी पत्नी  सीता दाहाल र तत्कालीन सहयोद्धा रामबहादुर थापा बादलका साथ म्याग्दीको तातोपानी कुण्डमा स्नान गरिरहेको फोटो छापिँदा पनि निक्कै चर्चा भएको थियो । त्यसैगरी, प्रचण्ड र एमाले नेता केपी ओलीले अहिले चर्को हल्लाखल्ला गरिरहेका दुर्गा प्रसाईको घरमा मार्सी चामलको भात र पकवानहरु खाएको तस्विर सार्वजनिक हुँदा पनि यस्तै तरंग आएको थियो सामाजिक संजालमा ।

चाणक्यको तेलनीति

पुराना प्रसङ्गहरु पढ्दा निक्कै कुराहरु सिक्न सकिन्छ । त्यस्तै एउटा प्रसङ्ग हो, चाणक्यको । उनलाई निजी कामको सिलसिलामा कोही व्यक्ति भेट्न जाँदा राजकीय कोषबाट प्राप्त तेल बालेर राजकीय काम गरिरहेका चाणक्यले त्यो बत्ती निभाएर आफ्नो निजी खर्चको तेल हालिएको बत्ती बालेका थिए रे ! त्यसको कारण सोध्दा उनले निजी कामको लागि राजकीय धन खर्च गर्नु अपराध हो भनी स्पष्टीकरण दिएका थिए रे !

हाम्रा शासकहरुले पनि यस्ता कुरामा संवेदनशीलता राखिदिने हो भने सम्भवतः अहिलेको जस्तो चर्चा परिचर्चा आलोचनाहरु निक्कै कम हुन्थ्यो होला कि ?

तर, यस्तो अपेक्षा गर्नु आफैलाई भ्रममा राख्ने काम मात्र हो भन्ने बुझ्न सकिएन भने त्यो पनि हाम्रो दु:खको अर्को कारण मात्रै बन्छ । यसो किन भनिएको हो भने हाल सर्वाधिक आलोचित उनकी स्वकीय सचिव तथा छोरी गङ्गा दाहालमाथि लागेका आरोपको प्रतिरक्षा गर्दै प्रचन्डले केही दिन अघिमात्र बोलेका शब्दहरु “एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईंहरुले थाहा पाउनु भएकै छ । उनलाई जोडेर बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा कन्स्टिच्यूसन, सिस्टम, जनतन्त्र लोकतन्त्रका विरुद्धको हमला हो ।” अहिलेपनि धेरै नेपालीको कानमा गुन्जिरहेको छ । जसको तिब्रता अस्ति पुस १० गते निकै चर्को स्वरमा प्रचण्डले 'कार्यशैली बदल्ने' कसम खाँदै आलोचकलाई लगाएको ‘हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको ’ आरोपको भन्दा धेरै गुणा बढी छ ।   

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।