प्रचण्डकी नातिनीको विवाहको आलोचना किन ?

तस्विर: सामाजिक सञ्जाल

भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहाल र अर्जुन पाठककी सुपुत्री प्रतिभा पाठकको विवाह यतिखेर शहरमा चर्चाको विषय बनेको छ । गोरखा– ७, घ्यालचोक निवासी ज्ञानेन्द्र रेग्मीका सुपुत्र विज्ञानबाबु रेग्मीसँग भएको उनको विवाहस्थल गोकर्ण फरेस्ट रिसोर्ट रहेको र त्यसको भव्यताको कारण त्यो चर्चाको विषय बनेको हो ।

प्रतिभा पाठकको विवाह चर्चाको विषय बन्नुको कारण उनी माओवादी सुप्रिमो तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुनुले पनि हो । विशेषतः कुनै जमानामा प्रचण्डले नेतृत्व गरेका नेकपा माओवादीले सामन्ती–पूँजीवादी संस्कृतिको घोर विरोध तथा जनवादी संस्कृतिको पक्षपोषण गरेको प्रशिक्षण र शिक्षा दिक्षामा हुर्केका तथा त्यसलाई देखे–सुनेकाहरुले उनको यो विवाहलाई आलोचना गरेका छन् । हिजो प्रचण्डहरुकै प्रोत्साहन र उत्प्रेरणामा तडकभडकसहितको विवाहका विरुद्ध विद्रोह गर्दै थुप्रैले अत्यन्तै सामान्य ढंगले जनवादी विवाह गरेका उदाहरणहरु प्रशस्तै पाउन सकिन्छ । यस पृष्ठभूमिमा उनीहरुले प्रचण्डका परिवारबाट जनवादी संस्कृति अनुरुपको व्यवहार र संस्कारको अपेक्षा गरेका छन् भन्ने कुरा अहिले उठेको आलोचनाबाट स्वतः बुझ्न सकिन्छ ।

विवाह के कसरी गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत र निजात्मक कुरा हो । सैद्धान्तिक रुपमा यसलाई यसरी सामान्यीकरण गर्न सकिन्छ । तर साथसाथै, आम अपेक्षा के पनि हो भने सामन्ती–पूँजीवादी संस्कृतिका विरुद्धमा जनवादी संस्कृतिको पक्षपोषण गर्दै लामो समयदेखि वामपन्थी राजनीतिमा होमिएका प्रचण्डबाट सामान्ती–पूँजीवादी संस्कृतिलाई बढावा दिने काम हुने छैन ।

वास्तवमा, यतिखेर नेपाली समाजको वर्गीय चरित्र सामन्तवादको अवशेष कायमै रहेको तथा पूँजीवादलाई अभ्यास गरिरहेको अवस्थामा छ । सामन्ती–पूँजीवादी समाजमा विवाहका विविध पक्षहरुमध्ये एक जोरीपारीलाई आफ्नो वर्गीय सामर्थ्य प्रदर्शन गर्ने अवसर पनि हो । विवाहमा गरिने तड्क भडक र खर्चको कुरा त्यसैबाट सञ्चालित र निर्देशित हुने गर्छ । माओवादी सुप्रिमो प्रचण्डका नातिनीका विवाह मात्रै हैन, अन्य कुनै पनि खर्चिलो र तड्कभडक झल्किने विवाह लगायतका सामाजिक संस्कारहरु वर्तमान सामाजिक संरचनाअनुरुपका संस्कारलाई बोकेकाहरुका लागि कुनै नौलो र अनौठो घटना होइन, हुँदैन भन्ने अर्थमा बुझ्नु जरुरी छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।