क्रिकेटको विश्वकप र राष्ट्रवादको ज्वरो

आशा छ क्रिकेटको राष्ट्रवादको ज्वरो राम्रैसंग उत्रिसक्यो होला। यस्तो लाग्दैछ अब त्यो फेरि छिट्टै नचढला। सबै पूजा-पाठ, पूजन-हवन व्यर्थ भयो। भगवानको भरोसामा बस्नेहरु र नक्कली राष्ट्रवादीहरुलाई यस्तै झट्का लाग्न जरुरी छ।

भारतले जितेको भए खुशी लाग्थ्यो तर हारेकोमा कुनै दु:ख छैन। जितेकै भए पनि राम्रो खेलको कारणले जित्थे तर जीतको श्रेय लिन माननीय (नरेन्द्र मोदी –अनु.) आउथे। सबैतिर उन्मादी वातावरण सिर्जना गरिन्थ्यो। यसलाई चुनावी मुद्दा बनाइन्थ्यो। यसलाई कुशल नेतृत्वको, हिन्दुत्त्वको विजय भनेर बताइन्थ्योत्यो मौकालाई यस हारले उनीहरुबाट खोसिदियो।

कुनै चीजलाई यिनीहरुले छाडेनन्, हरेक सफलतालाई यिनीहरुले घटिया स्तरमा आफ्नो पक्षमा प्रयोग गरे, हरेक ठूला असफलतालाई कार्पेट मुनि लुकाए, स्मृतिबाट मेटाए। जीवनसंग जोडिएका महत्त्वपूर्ण मुद्दाहरुलाई किनारा लगाए। उत्तरकाशीका सुरुङ्गमा एक हप्ताभन्दा बढी समयदेखि ४१ जना मानिसहरु फँसिरहेका छन्। यस अवधिमा उनीहरुको शारीरिक, मानसिक हालत के भइरहेको छ भनेर कसैलाई चासो–वास्ता छैन। कसैले पनि उनीहरुको बारेमा आफ्नो बच्चाहरुको बारेमा जस्तै गरेर सोचेका छैनन्। प्रधानमन्त्री हरेक असुविधाजनक मामिलामा चुप लाग्छन्। एक शब्द बोल्दैनन् तर क्रिकेटको बारेमा उनलाई क्षणक्षणमा चिन्ता थियो। मजदुरहरुको बारेमा सोचेर पनि के पाइन्छ र ? उनीहरुलाई बचाहालियो भने पनि के राजनीतिक लाभ मिल्छ र ? उनीहरु मध्ये केही मरे भनेपनि कुन चाहिँ राजनीतिक नोक्सान हुन्छ ? उनीहरुले बाँचुन वा मरुन्, यो संग राजनीतिको कुनै लेनादेना छैन।

मणिपुर जल्दै गरहेको छ र यसलाई जल्न नै दिइराखिएको छ। यसबारे कुनै मतलव छैन तर क्रिकेट-क्रिकेट भइराखेको थियो । यसमा हार्नु-जित्नुलाई तथाकथित रास्ट्रवादको प्रश्न बनाइएको थियो

सबभन्दा रोचक कुरा यो छ कि यस पटक हाम्रा खेलाडीहरुलाई कसैले दोष दिइराखेका छैनन्। यो कुरा सबैले बुझ्न थालेका छन्। र खेलमा हार्नु र जित्नु त भइरहन्छ र हारसंग यत्रो डर छ, तिम्रो राष्ट्रवाद यसबाट यति घाइते हुन्छ भने तिमी नखेल। न खुशी हुन्छ न दु:ख। आनन्दसँग बस। सन्तहरु जसरी बस, हुन त सन्तहरु पनि कहा संग रहेका छन्?

( भारतमा हिजो सम्पन्न भएको १३ औं आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतलाई पराजित गर्दै अस्ट्रेलिया बिजेता बन्यो। भारतले यस विश्वकपमा जित्नका लागि हवन, यज्ञ, पुजापाठहरुको उद्युमै आयोजना गरे । ज्योतिषहरुले साइत हेरे, भारतको विजयको भविष्यवाणी गरे । भारतीय प्रधानमन्त्री मोदीका कारण यस खेलमा भारतले जित्ने भयानक प्रचारवाजी गरियो । खेललाई खेलको रुपमा हैन, राजनीतिक तुष्टीकरणको साधनको रुपमा उपयोग गर्ने भाजपाको चलखेलमाथि व्यंग्य गर्दै  यो टिप्पणी भारतीय कवि बिष्णु नागरले लेखेको हुन्। यो टिप्पणी उनको फेसबुकबाट साभार गरिएको हो । अनुवाद: केदार सिटौला )

Title Photo: India Today