सुकरातको कुरुपता र ऐना

विश्वप्रसिद्ध दार्शनिक बारे एउटा भनाइ चर्चित छ– उनी कुरुप थिए रे ! उनको कुरुपताबारे धेरै किस्साहरु चर्चित छन् ।

भनिन्छ, एक दिन बिहानै शुकरात आफ्नो अनुहार ऐनामा नियालिरहेका थिए । त्यो दृश्य देखेर उनका शिष्यलाई हाँसो लाग्यो । उनले रोक्दारोक्दै पनि हाँसो फुस्किहाल्यो ।

सुकरातले सोधे– त्यस्तो हास्नु पर्ने के कुरा देख्यौं तिमीले ?

शिष्यले टार्न खोजे– त्यस्तो केही होइन गुरु । त्यत्तिकै हाँसेको ।

सुकरात त्यसै सुकरात भएका थिएनन् । उनले शिष्यको मनोभाव बुझिसकेका थिए । त्यसैले उनले शिष्यलाई ठाडै सोधे– नढाँटिकन भन ! तिमीले म जस्तो कुरुप मानिसले ऐनामा अनुहार हेरेको देखेर हाँसेको हो कि होइन ?

शिष्यलाई पर्यो फसाद । उनले अप्ठेरो मान्दै जवाफ दिए– हो गुरु । तपाईंलाई आफू सुन्दर छुइनँ भन्ने थाहा छ, तर पनि किन प्रत्येक दिन बिहान उठेर ऐनामा आफ्नो अनुहार हेरिरहनुहुन्छ ?

सुकरातले चेलाको जिज्ञासालाई शान्त पार्दै भने, हेर बाबु ! म ऐना हेरेर मनमनै प्रण गर्छु– सकेसम्म राम्रा कामहरु मात्र गर्नेछु ताकि त्यसको सुन्दरताले मेरो कुरुपतालाई ढाकिदेओस्

चेलाले सुकरातलाई प्रश्न गरे– त्यसो भने राम्रा सुन्दर अनुहार हुनेहरुलाई चाहिँ ऐना नहेर्दा पनि हुने भयो ?

सुकरातले चेलालाई सम्झाउँदै भन्यो, ‘सुन्दर अनुहार हुनेहरुले त झनै बेसी ऐना हेर्नुपर्छ ता कि उनीहरुलाई सम्झना भइरहोस्, आफूले झनै बढी राम्रो काम गर्नुपर्छ जसले गर्दा खराब कामको कुरुपताले तिनीहरुको अनुहारको सौन्दर्यलाई नबिगारिदेओस् ।

गुरुको कुरा सुनेर शिष्य नाजवाफ भयो । उनले आफ्नो अज्ञानताका लागि सुकरातसँग माफी मागे ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।