प्रम बालेन शाहको भारत भ्रमण: कति उपलब्धिमूलक ?

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भ्रमण सकेर फर्किनुभएको छ र केही बुँदाहरू सम्झौताका रूपमा सार्वजनिक भएका छन्। धेरै ठूला आकर्षक भन्ने कुराहरू धेरै देखिएका छैनन्, एउटा ठूलो मात्राको आर्थिक सहयोग र ऋण दिने विषय देखिएको छ। अब यो भ्रमणलाई कसरी हेर्ने ?

प्रमुख विवादका मुद्दाहरूलाई कार्पेटमुनि थन्क्याएर मात्रै सधैँ स्वस्थ सास लिन सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन!

टंक कार्की

चीनका लागि नेपालका पूर्व राजदूत

पूरा जानकारीहरु सार्वजनिक भइसकेका छैनन् । सार्वजनिक भइसकेका जानकारीहरुका आधारमा प्रारम्भिक टिप्पणी गर्दा  मलाई कस्तो लाग्छ भने कोठामा भएको त्यो धुलो सफा गर्ने दुईटा तरिका हुन्छन्। एउटा पाहुना आउँदै हुनुहुन्छ, धुलोमा पाहुनालाई राख्नु भएन । तर सूचना नै नगरी थोरै समयमा झट्ट आउने भयो भने हतार-हतार गरेर कार्पेट माथिको धुलो कार्पेट मुनि नै सारिन्छ। अर्को चाहिँ तपाईँलाई अलिकति समय पनि छ, अलि निकै लामो भलाकुसारी गरिँदै छ, बसाइ पनि लामो हुनेपर्‍यो भने हामी कार्पेट मुनिको त्यो धुलो पनि निकालेर फ्याँकिदिन्छौँ। पहिलो अवस्थामा त्यहाँ भएको धुलो कार्पेट मुनि नै हालिन्छ।

अहिलेको प्रधानमन्त्री बालेन शाहको भ्रमणमा कार्पेट माथिको धुलोलाई कार्पेट मुनि नै हालिएको अवस्था छ।माथि सफा देखिँदो रहेछ, भलाकुसारी राम्रै भएको देख्छु ।

 नेपाल-भारत सम्बन्धमा थुप्रै मुद्दाहरू छन्, तर नेपाल-भारत सम्बन्धको कुराकानी गर्दा खाली ती नकारात्मक विषयमा मात्र केन्द्रित नभई जुन कुराकानी सहज र साझा रूपमा गर्न सकिन्छ, त्यो गर्दै जाने हो। सुल्झाउन नसकिने विषयलाई पनि बिस्तारै सुल्झाउँदै जाने, तर अहिले ती समस्याहरु तत्काल सुल्झाइएन भन्नुको अर्थ हामीले ती विषयलाई पन्छाएको वा त्यागेको हो भन्ने ढंगले हेरिनु हुँदैन। हाम्रा दुई देशबीचका थुप्रै गम्भीर विषयहरू २०५० सालदेखि नै प्रखर रूपमा आइरहेका छन्। १९५० को सन्धिको पुनरावलोकन गर्ने कुरा, त्यसपछि सीमासम्बन्धी कुराकानीहरू, हाम्रो व्यापार घाटाका कुराकानीहरू, भारतले नै प्रतिबद्धता जनाएका कतिपय परियोजनाहरू कार्यान्वयन नभइरहेका अवस्था—जस्तै ५१/५२ सालमा हाम्रो महाकाली सन्धि भएको, ६ महिनामा डीपीआर सक्ने भनिएकोमा आज कति वर्ष बितिसक्दा पनि डीपीआर अझै नबनेको र आज पनि हाम्रा दुवै देशका अधिकारीहरूलाई यसको चाँडो टुङ्गो लगाउन निर्देशन दिइएको छ। ३३ वर्षसम्म यस्तो अल्छी विद्यार्थी हुने, यी यस्ता कैयौँ चिजहरू छन्। तर तत्काल म के मात्रै टिप्पणी गर्न सक्छु भने अहिले आर्थिक क्षेत्रमा सकारात्मक नै छ, अहिले जेजति बाहिर आएका छन्, राम्रै सम्झौता भएको जस्तो म देख्छु । अझ विस्तृत विवरण त पछि आउला र त्यसको विश्लेषण गरिएला। तर राजनीतिक रूपमा प्रमुख विवादका मुद्दाहरूलाई कार्पेटमुनि थन्क्याएर मात्रै सधैँ स्वस्थ सास लिन सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन।

भारतकै जस्तो तत्परतामा अब प्रधानमन्त्रीको भ्रमण चीनमा पनि हुनुपर्छ

मिलनराज तुलाधार

रुसका लागि नेपालका पूर्व राजदूत

कार्यमूलक भ्रमण (वर्किङ भिजिट) को जुन मोडालिटीमा प्रधानमन्त्रीज्यूले गर्नु भएको भ्रमण मलाई राम्रो लाग्यो। पहिला पहिला औपचारिकता बढी हुने, रातो कार्पेट र सलामीजस्ता तामझामलाई हटाएर म चाहिँ केही उद्देश्य पूरा गर्न जान्छु भन्ने जुन भावना लिएर प्रधानमन्त्रीज्यू जानुभयो, त्यो राम्रो पक्ष हो।

 भारतसँग हाम्रा धेरै मुद्दाहरू छन्, ती मुद्दाहरू सुल्झाउन कतिपय चिजहरू निकै कठिन पनि छन्। खास गरेर भैरहवा विमानस्थलमा दुईतर्फी उडान सञ्चालन हुने भन्ने कुरा आएको छ; त्यसलाई अब कार्यान्वयन गर्न सके र कार्यान्वयन गर्ने सम्बन्धमा बाँकी रहेका प्राविधिक समस्याहरू समाधान भएको खण्डमा कमसेकम एउटा भए पनि समस्या समाधान हुन्छ। त्यो स्वागतयोग्य नै कुरा जस्तो लाग्छ।

हाम्रा थुप्रै लामा मुद्दाहरू थुप्रिएको अवस्थामा भारतसँगको सम्बन्धमा एक कदम मात्र अलि अगाडि बढ्यो भने पनि राम्रै हो जस्तो मलाई लाग्छ। भारतसँग हामीले एकदमै राम्रो सम्बन्ध राख्नुपर्छ, त्यो हुनुपर्छ।

म चाहिँ के आशा गर्दछु भनेजसरी तत्परता देखाएर प्रधानमन्त्रीज्यूको भारत भ्रमण भयो, त्यस्तै भ्रमण अब चीनमा पनि हुनुपर्छ। त्यस्तै कार्यमूलक र उद्देश्यपूर्ण ढंगले चीनसँग कनेक्टिभिटी बढाउने, रेलवे लिंक, सडक लिंक, सञ्चार लिंक र विद्युत् लिंक विस्तार गर्ने काम हुनुपर्छ। चीन कृत्रिम बौद्धिकता (एआई) मा शीर्ष देश बनिरहेको छ र डाटा सेन्टरहरूको कारणले गर्दा अहिले चीनलाई अत्यधिक धेरै विद्युत् चाहिन्छ। हामी विद्युत् चीनलाई पनि बेच्न सक्छौँ। त्यसैले यस्तो कनेक्टिभिटीका थुप्रै सम्भावनाहरू चीनसँग छन्, त्यसलाई पनि उपयोग गर्ने ढंगले उद्देश्यमूलक रूपमा छिट्टै नै चीनको भ्रमण पनि उहाँले गर्नुहोस् र उहाँको सफलताको म कामना गर्न चाहन्छु।