चीनले जित्न नथाल्दासम्म पश्चिमले खुला व्यापारलाई निकै मन पराउँथ्यो
शताब्दीयौँसम्म पश्चिमले विश्वका अन्य भागहरूमा आफ्ना उत्पादन निर्यात गरेर र अरूमाथि आफ्ना आर्थिक प्राथमिकताहरू लादेर समृद्धि हासिल गर्यो। चीनले भने विश्वव्यापी व्यापारलाई आत्मसात् गर्दै आफ्नो विकासमाथिको नियन्त्रण नगुमाई औद्योगिक महाशक्तिका रूपमा आफूलाई स्थापित गर्यो। अहिले चीनले पश्चिमलाई उसैको खेलमा हराउन थालेपछि, अरू कसैले जितिरहेको बेला खुला व्यापार निकै कम आकर्षक लाग्ने रहेछ भन्ने कुरा पश्चिमा जगतले बल्ल बुझ्दै छ।
अक्टोबरमा युरोपेली संघ (ईयू) र चीनबीच चिनियाँ हाइब्रिड सवारीसाधनको युरोप निर्यात सीमित गर्ने सहमति भयो। रोयटर्सका अनुसार, प्रारम्भिक कोटा प्रतिवर्ष ३ लाख ५० हजार सवारीसाधन तोकिएको छ, जबकि सन् २०२६ मा चीनबाट करिब ८ लाख सवारीसाधन आयात हुने अनुमान गरिएको थियो। चीनले यस व्यवस्थालाई निर्यात विस्तारका अवसरहरू कायम राख्दै वार्तामार्फत हासिल गरिएको सम्झौताका रूपमा व्याख्या गरेको छ।
यस्तो लाग्छ, व्यापार घाटाको समस्या त्यतिबेला मात्र गम्भीर बन्छ, जब युरोप आफूलाई घाटा बेहोर्ने पक्षमा पाउँछ।
दशकौँसम्म युरोप, विशेषगरी जर्मनीले विश्वभर कार, मेसिनरी तथा औद्योगिक उत्पादन निर्यात गरेर आफ्नो समृद्धिको आधार निर्माण गर्यो। जर्मनीको व्यापार बचतलाई आर्थिक शक्ति र उच्च प्रतिस्पर्धात्मक क्षमताको प्रमाणका रूपमा गौरवका साथ प्रस्तुत गरिन्थ्यो। विकासशील देशहरूले महँगा जर्मन कार आयात गरिरहँदा तिनका घरेलु उद्योगहरू युरोपेली उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका थिए। तर, बर्लिनमा कसैले पनि यसलाई विशेष चिन्ताको विषय ठानेको देखिँदैनथ्यो।
अहिले चिनियाँ कम्पनीहरूले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सवारीसाधन उत्पादन गर्न थालेका छन्। त्यसपछि अचानक युरोपले आयात नियन्त्रण गर्न चाहेको छ। यस्तो लाग्छ, युरोपेलीहरूले निर्यात गरिरहेसम्म मात्र स्वतन्त्र व्यापार उत्कृष्ट व्यवस्था हो।
यदि युरोप वास्तवमै चीनसँग सन्तुलित व्यापार सम्बन्ध चाहन्छ भने त्यसका लागि अर्को एउटा स्पष्ट उपाय पनि छ : चीनले वास्तवमै किन्न चाहेका वस्तुहरू उसलाई अझ बढी बेच्ने।
नेदरल्यान्ड्समा विश्वकै अग्रणी उन्नत सेमिकन्डक्टर लिथोग्राफी उपकरण निर्माता कम्पनी एएसएमएल (ASML) अवस्थित छ। चीनले यसका सबैभन्दा उन्नत ईयूभी (EUV) मेसिन तथा अन्य प्रतिबन्धित प्रविधिहरू खुसीसाथ खरिद गर्नेछ। तर, युरोपेली सरकारहरूले प्रायः वासिङ्टनसँग समन्वय गर्दै यिनै उच्च मूल्यका उत्पादनहरूको निर्यातमा प्रतिबन्ध लगाउँछन्। विडम्बना के छ भने, त्यसपछि उनीहरू चीनले पर्याप्त सामान खरिद नगरेको भन्दै गुनासो गर्छन्।
राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताले यस्ता प्रतिबन्धहरूलाई व्याख्या गर्न सक्छन्। त्यस्तै, सेमिकन्डक्टर उपकरणको निर्यात बढाउँदैमा युरोपको व्यापार घाटा समाप्त हुने पनि होइन। तर, यहाँ देखिएको विरोधाभास भने कायमै रहन्छ। आफ्ना सबैभन्दा मूल्यवान् निर्यातयोग्य वस्तुमध्ये केहीको बिक्रीमा जानाजानी प्रतिबन्ध लगाउने अनि त्यसपछि आफ्नो व्यापार साझेदारले पर्याप्त खरिद नगरेको भन्दै गुनासो गर्ने काम एकैसाथ गर्न मिल्दैन।
युरोपेलीहरूले व्यापार असन्तुलनको विषयमा पश्चिमले ऐतिहासिक रूपमा कस्तो व्यवहार गर्दै आएको थियो भन्ने कुरा पनि सम्झनु उपयोगी हुनेछ।
उन्नाइसौँ शताब्दीमा बेलायतले चीनबाट ठूलो परिमाणमा चिया, रेशम र पोर्सिलेनका भाँडाकुँडा आयात गर्थ्यो। तर, चीनले बेलायती उत्पादनप्रति खासै चासो देखाउँदैनथ्यो। बेलायती व्यापारीहरूले अवैध अफिम व्यापार विस्तार गरे। जब चिनियाँ अधिकारीहरूले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरे, बेलायतले चीनविरुद्ध युद्ध छेड्यो। पछि दोस्रो अफिम युद्धमा फ्रान्स पनि बेलायतसँग सामेल भयो। यसैबीच, अन्य पश्चिमी शक्तिहरूले चीनमाथि थोपरिएका असमान सन्धिहरूबाट लाभ उठाए।
चीनलाई आफ्ना बजारहरू खोल्न, ठूलो रकम क्षतिपूर्तिबापत तिर्न र आफ्नो भूभागसमेत सुम्पन बाध्य पारियो। हङकङ बेलायती उपनिवेश बन्यो। पश्चिमी शक्तिहरूले आफैँले सुरु गरेका युद्धको क्षतिपूर्ति चीनबाट असुले, जबकि चीनले आफूविरुद्ध भएको आक्रमणको बदलामा त्यस्तो कुनै क्षतिपूर्ति पाएन।
कल्पना गरौँ, चीन यति शक्तिशाली भयो कि उसले युरोपेली बन्दरगाहहरूमा आफ्ना युद्धपोत पठाएर व्यापार असन्तुलन सच्याउन युरोपेलीहरूलाई थप चिनियाँ उत्पादन खरिद गर्न बाध्य पार्यो। पश्चिमले त्यसलाई बर्बर आक्रमण भन्दै उचित रूपमै निन्दा गर्ने थियो। तर, पश्चिमी शक्तिहरूले चीनमाथि ठ्याक्कै यस्तै व्यवहार गरेका थिए।
आज युरोपले लगाएका आयात प्रतिबन्धहरूलाई अफिम युद्धसँग तुलना गर्न सकिँदैन। तर, इतिहासले एउटा दोहोरिइरहने मान्यतालाई उजागर गर्छ : पश्चिमका व्यापारिक स्वार्थलाई विश्वव्यापी सिद्धान्तका रूपमा प्रस्तुत गरिन्छ, जसको सम्मान बाँकी विश्वले गर्नुपर्ने अपेक्षा राखिन्छ।
चीनको उदयले यस इतिहासलाई अझ सान्दर्भिक बनाएको छ। चीन सम्पूर्ण विश्वको ग्लोबल साउथको प्रतिनिधि होइन, तर औद्योगिक रूपान्तरणको सबैभन्दा सफल उदाहरण भने निःसन्देह हो। बारम्बार ऋण संकटमा फस्ने र बाह्य शक्तिहरूले तोकिदिएका आर्थिक सुधारका सर्तहरू स्वीकार गर्न बाध्य हुने धेरै विकासशील देशहरूको विपरीत, चीनले आफ्नो वित्तीय प्रणाली, औद्योगिक नीति र विकास रणनीतिमाथि उल्लेखनीय नियन्त्रण कायम राख्यो।
चीनले अन्तर्राष्ट्रिय व्यापार, विदेशी लगानी र प्रविधि हस्तान्तरणलाई आत्मसात् गर्यो, तर आफ्नो अर्थतन्त्रमाथिको नियन्त्रण वासिङ्टन, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) वा विदेशी ऋणदाताहरूलाई सुम्पेन। उसले विश्व बैंकसँग सहकार्य गर्यो र अन्तर्राष्ट्रिय संस्थाहरूमा सहभागिता जनायो। तर, ती संस्थाका स्रोत र सुविधाहरूको उपयोग आफ्नै प्राथमिकताअनुसार छनोटपूर्ण ढङ्गले गर्दै आफ्नो विकासका प्राथमिकतामाथि नियन्त्रण कायम राख्यो।
यसैबीच, धेरै विकासशील देशहरूले दशकौँसम्म अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका संरचनात्मक समायोजन कार्यक्रमअन्तर्गत समय बिताए। उनीहरूले पटक–पटक ऋण पुनर्संरचना गरे, सार्वजनिक खर्च कटौती गरे र नयाँ वित्तीय सहायता खोजिरहे। तर, चीनले हासिल गरेजस्तो औद्योगिक रूपान्तरण गर्न सकेनन्। उनीहरूका कठिनाइका पछाडि अनेकौँ कारण थिए। तथापि, उपलब्ध इतिहासले पश्चिमी वित्तीय संस्थाहरूले सुझाएका आर्थिक नीतिहरू नै विकासको एक मात्र वैध मार्ग हुन् भन्ने मान्यतालाई उचित ठहर गर्दैन।
चीनले विश्वव्यापीकरणबाट आफूलाई आवश्यक पर्ने कुरा ग्रहण गर्यो, तर त्यसमा सहभागी हुन पश्चिमी वित्तीय प्रभुत्व स्वीकार गर्नुपर्ने सर्त मानेन।
सम्भवतः स्थापित पश्चिमी व्यवस्थासामु चीनले प्रस्तुत गरेको सबैभन्दा महत्त्वपूर्ण चुनौती यही हो। चीनको औद्योगिक सफलताले के प्रमाणित गरेको छ भने कुनै पनि देशले आफ्नो विकासमाथिको नियन्त्रण पश्चिमी वित्तीय संस्थाहरूलाई नबुझाइकन पनि विश्वव्यापी व्यापारमा सहभागी हुन सक्छ।
तथाकथित नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था अझै पनि पश्चिमी मुद्रा, वित्तीय संस्था, प्रविधि र राजनीतिक प्रभावको प्रभुत्व रहेको प्रणालीभित्र सञ्चालन हुन्छ। यस व्यवस्थाका नियमहरूलाई विश्वव्यापी सिद्धान्तका रूपमा प्रस्तुत गरिन्छ। तर, तिनको व्याख्या र कार्यान्वयनमा प्रायः सबैभन्दा बढी शक्ति र प्रभाव भएकाहरूको स्वार्थ प्रतिबिम्बित हुने गरेको छ।
चीनले आफ्ना उद्योगहरूको विकासका लागि अनुदान, संरक्षणवाद र राज्यको हस्तक्षेप अवश्य प्रयोग गरेको छ। तर, पश्चिमी अर्थतन्त्रहरूले आफ्नो औद्योगिकीकरणका क्रममा पनि यस्तै उपायहरू अपनाएका थिए। फरक के मात्र हो भने, पश्चिमी देशहरूले दशकौँदेखि आफूले रुचाएका आर्थिक व्यवस्थाहरूलाई विश्वव्यापी सिद्धान्तका रूपमा प्रस्तुत गर्दै आएका छन्, जबकि वैकल्पिक विकास रणनीति अपनाउने अन्य देशहरूको आलोचना गर्छन्।
युरोपले आफ्ना मोटर वाहन उद्योगहरूको संरक्षण गर्न हतार गरिरहँदा युरोपेली उपभोक्ताहरूलाई भने सुविधाजनक ढङ्गले बिर्सिएको छ। प्रतिस्पर्धी चिनियाँ सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदा स्थापित उत्पादकहरू र रोजगारीको संरक्षण हुन सक्छ। तर, यसको परिणामस्वरूप उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने, छनोटका अवसर घट्ने र किफायती तथा न्यून उत्सर्जन गर्ने प्रविधिको प्रयोग विस्तार हुन ढिलाइ हुने अवस्था पनि आउन सक्छ। वास्तवमा, चिनियाँ प्रतिस्पर्धासँग तालमेल मिलाउन संघर्ष गरिरहेका उद्योगहरूको संरक्षणका लागि युरोपेली उपभोक्ताहरूलाई बढी मूल्य तिर्न भनिँदै छ।
युरोपले अनुचित व्यापारविरुद्ध आफ्ना उद्योगहरूको रक्षा गर्न सक्छ। चीनले दिएको अनुदान र बजारमा लगाएका प्रतिबन्धहरूमाथि प्रश्न उठाउन पनि सकिन्छ। तर, यी चिन्ताहरूले एउटा विरोधाभासलाई मेटाउँदैनन्, जर्मनीको निर्यात बचतलाई आर्थिक सफलताका रूपमा उत्सव मनाउने तर चीनको निर्यात बचतलाई हस्तक्षेप आवश्यक पर्ने खतराका रूपमा हेर्ने दोहोरो मापदण्ड।
शताब्दीयौँसम्म पश्चिमले विश्वका अन्य भागहरूमा आफ्ना उत्पादन निर्यात गरेर र अरूमाथि आफ्ना आर्थिक प्राथमिकताहरू लादेर समृद्धि हासिल गर्यो। चीनले भने विश्वव्यापी व्यापारलाई आत्मसात् गर्दै आफ्नो विकासमाथिको नियन्त्रण नगुमाई औद्योगिक महाशक्तिका रूपमा आफूलाई स्थापित गर्यो। अहिले चीनले पश्चिमलाई उसैको खेलमा हराउन थालेपछि, अरू कसैले जितिरहेको बेला खुला व्यापार निकै कम आकर्षक लाग्ने रहेछ भन्ने कुरा पश्चिमा जगतले बल्ल बुझ्दै छ।
Source: https://countercurrents.org/2026/11/the-west-loved-free-trade-until-china-started-winning/
एकाइसौ शताब्दीको डकैती!
ग्लोबल साउथले निर्यातमुखी आर्थिक वृद्धिबारे किन पुनर्विचार गर्नुपर्छ: प्रभात पटन…
सामाजिक सञ्जाललाई बजारको गोप्य हतियार बनाउने राजनीति
भरोसाविनाको अर्थनीति
एलन मस्क अब ट्रिलियनर बनेका छन्: वास्तवमा एक ट्रिलियन भनेको कति हो?
संविधानले निर्देशित गरेको समाजवादको गन्तव्यभन्दा फरक बाटोमा आएको बजेट
आर्थिक विकास भनेको के हो?
प्रतिक्रिया