विश्व मिडिया शिखर सम्मेलनको बेइजिङ सहमति : एआईको जिम्मेवार प्रयोगमा जोड

चीनको राजधानी बेइजिङमा नोभेम्बर ५ देखि ९ सम्म सातौँ विश्व मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ। ‘बौद्धिक युगमा सञ्चारमाध्यम : सहमतिबाट कार्यान्वयनतर्फ’ भन्ने मूल नारासहित आयोजित यस सम्मेलनमा संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थासहित ११२ देश तथा क्षेत्रका करिब ३३० वटा मूलधारका सञ्चारमाध्यम, थिङ्क ट्याङ्क तथा सरकारी निकायहरूको प्रतिनिधित्व गर्दै झन्डै ५०० जना प्रतिनिधिहरू सहभागी थिए। यस वर्षको शिखर सम्मेलन सिन्ह्वा समाचार एजेन्सी र बेइजिङ नगर सरकारको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागका प्रमुख ली शुलेईले उद्घाटन समारोहको मुख्य सम्बोधनका क्रममा भने, “वैज्ञानिक तथा प्राविधिक क्रान्ति, विशेषगरी एआईले विश्वव्यापी सञ्चारमाध्यम उद्योगमा गहिरो परिवर्तन ल्याउनेछ।” उनले सामग्रीको गुणस्तरमा निरन्तर सुधार गर्ने, सञ्चारमाध्यम उद्योगको डिजिटल रूपान्तरणलाई संयुक्त रूपमा अघि बढाउने, तथ्याङ्क र एल्गोरिदममा विद्यमान असन्तुलनलाई सम्बोधन गर्ने तथा सीमापार सञ्चारमाध्यम आदानप्रदानलाई विस्तार गर्ने प्रस्तावसमेत अघि सारे।

सिन्ह्वा समाचार एजेन्सीका अध्यक्ष फु हुआले सामग्री सिर्जना र सम्पादनसम्बन्धी विभिन्न कार्यहरू एकीकृत गरिएको ‘सिन्ह्वा स्टाइल’ नामक एआई सहायक प्रविधिको परिचय गराए। उनले मानवताका साझा मूल्यहरूको प्रवर्द्धनका लागि एआई प्रविधिलाई सक्रिय रूपमा अपनाउनुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।

सिन्ह्वाका प्रधान सम्पादक ल्यु यानसोङले शनिबार शिखर सम्मेलनमा भने, “एआईले अभूतपूर्व गतिमा समाचार उत्पादनको सम्पूर्ण प्रक्रियालाई पुनर्संरचना गरिरहेको छ। यसले सञ्चारमाध्यम उद्योगका लागि नयाँ अवसरहरू सिर्जना गर्नुका साथै जोखिम र चुनौतीहरू पनि खडा गरेको छ। प्रविधिको प्रयोगमा नैतिक मर्यादाको उल्लङ्घन र गलत सूचनाको व्यापक प्रसार यसका प्रमुख चुनौती हुन्।”

उनले प्रविधिसम्बन्धी विशेषज्ञता, ओपन सोर्स मोडेल तथा तालिमका स्रोतहरू सक्रिय रूपमा साझा गर्न र एआईबाट उत्पन्न जोखिमहरूको सामना गर्न सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

समारोहमा सातौँ विश्व मिडिया शिखर सम्मेलनको ‘बेइजिङ सहमति’ पारित गरियो। यस सहमतिले एआई युगमा विश्वव्यापी सञ्चारमाध्यम उद्योगको रूपान्तरण र विकासलाई अघि बढाउन संयुक्त प्रयास गर्न आह्वान गरेको छ। सञ्चारमाध्यमको विकासमा एआईको बढ्दो भूमिकालाई स्वीकार गर्दै सहमतिले यस क्षेत्रमा एआई प्रविधिको समावेशी र जिम्मेवार प्रयोगलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसको उद्देश्य एआई प्रविधिमा भएका प्रगतिबाट विकासका सबै चरणमा रहेका तथा सबै देशका सञ्चारमाध्यम संस्थाहरू लाभान्वित हुन सक्ने वातावरण सुनिश्चित गर्नु हो।

शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एआईको युगमा सञ्चारमाध्यमको भूमिका र यसले खडा गरेका चुनौतीहरूको सामना गर्न उद्योगले अपनाउनुपर्ने रणनीतिबारे छलफल गरे। उनीहरूले उन्नत प्रविधिमा सबैको पहुँच विस्तार गर्न र विश्वभरका सञ्चारमाध्यम संस्थाहरूको समानान्तर विकासका लागि आपसी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। साथै, एआईको प्रयोग विस्तार हुँदै जाँदा पत्रकारिताका नैतिक मूल्य–मान्यता कायम राख्न र समाचार सामग्रीको प्रामाणिकता सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

शिखर सम्मेलनले ‘एआई अनुप्रयोग मापदण्डको संयुक्त विकाससम्बन्धी विश्वव्यापी मिडिया पहल’ पनि सार्वजनिक गर्‍यो। सिन्ह्वाको अगुवाइमा सुरु गरिएको यस पहलमा प्रमुख सञ्चारमाध्यम संस्था तथा अन्य व्यावसायिक संगठनहरू सहभागी छन्। सूचनाको प्रामाणिकता सुनिश्चित गर्ने, तथ्याङ्कको सुरक्षा गर्ने र सञ्चारमाध्यमको नैतिकता कायम राख्ने यस पहलका प्रमुख उद्देश्य हुन्। यसमार्फत सञ्चारमाध्यमप्रति जनविश्वास कायम राख्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस पहलका पहिलो २२ सहभागी संस्थामा रुसको तास समाचार एजेन्सी, मलेसियाको राष्ट्रिय समाचार एजेन्सी (बर्नामा), दक्षिण अफ्रिकाको इन्डिपेन्डेन्ट मिडिया तथा चीनका पिपुल्स डेली र चाइना मिडिया ग्रुप पनि रहेका छन्।

यस पहलअन्तर्गत सहभागी संस्थाहरूले करिब दुई वर्षसम्म सहकार्य गरी सञ्चारमाध्यम क्षेत्रमा एआईका विभिन्न प्रयोगलाई समेट्ने र सञ्चारमाध्यम संस्थाहरूबाट प्रमाणीकरण गरिने मापदण्डहरूको एकीकृत रूपरेखा तयार गर्ने योजना बनाएका छन्। यसका साथै, एआई अनुप्रयोगहरूको विश्वव्यापी डाटाबेस निर्माण गर्न पनि पहलले आह्वान गरेको छ।

विश्व मिडिया शिखर सम्मेलन सन् २००९ मा सुरु भएको हो। अहिले यो सञ्चारमाध्यमबीच विचार र अनुभव आदानप्रदान तथा सहकार्यका लागि प्रमुख विश्वव्यापी मञ्चका रूपमा स्थापित भएको छ। यसअघि सन् २०२४ मा चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्चीमा यसको सम्मेलन आयोजना गरिएको थियो।